site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पार्ट टाइम जब
Sarbottam CementSarbottam Cement

"फेरि किताब भनेजस्तरी सर्टेट छैन !" ऊ थोरै झर्कियो । म केही बोलिनँ । अभ्यस्त भइसकेकी छु । सधैंजस्तो काममा ममाथि असन्तुष्टि पोख्छ ऊ । कहिले पोख्ने कुरामा, कहिले नपोख्ने कुरामा । वास्तवमा मान्छेको रिस उसको अहमको शक्ति प्रदर्शन हो । शक्तिशाली छु भनेर देखाउने माध्यम हो । ऊ पनि केही फरक छैन । ममाथि झर्किएर आफ्नो शक्ति प्रदर्शन गरिरहन्छ ।

"यो दुइटा किताब किन सँगैसँगै ?" अर्को प्रश्न थप्यो ।

परबाट हेरेँ, एउटा चेकभको 'लेडी विथ द डग', अर्को टल्सटयको 'अना करेनिना' उसको हातमा थिए । दुइटै किताब परबाटै चिन्छु । दुइटै मलाई मन पर्ने लेखक, शायद काम गर्दागर्दै पढेँ होला । अनि हतारले ठाउँमा राख्न बिर्सेकी हुँदी हुँ !

Prabhu Bank
Agni Group
NIC Asia

हुन त कुनै ठूलो गल्ती होइन । फेरि रसियन रसियनलाई सँगै मिसाइदिएँ के नै गल्ती गरेँ र ? कुनै अमेरिकन राइटर र रसियनलाई सँगै राखिदिएको भए पो गल्ती गरेको हुन्थ्यो ।

यदि किताबमा लेखकको आत्मा बस्थ्यो भने टल्सटय र चेकभ सँगै बसे होला । रसियन भोड्काको कुरा गरे होला ! कस्तो रमाइलो भयो होला ! चेकभ र टल्सटय ठूलो टेबलमा भोड्का राखेर दुइटा कुर्सीमा बसेर गफ गर्दै गरेको कल्पना गरेँ, छेउमा आगो ताप्दै । रसिया भनेपछि बाहिर हिउँ पनि पर्दै होला। मनमनै हाँसो पनि उठ्यो । कस्तो अचम्म अचम्म सोच्न पुगेकी म ?

Global Ime bank

"मैले राइटरलाई अल्फाबेटिकल्ली सर्ट गर्ने भनेको ! यस्तो भो भने म कहिल्यै किताब चाहेको बेला भेट्टाउँदिनँ ! अस्ति पनि एउटा मान्छे आएर मुराकामी खोज्यो, मैले भेट्टाइनँ," ऊ फत्फताइरह्यो ।

हुन त म भएको बेला ती ग्राहक आए भने पक्कै मैले किताब भेट्टाउनेछु । म त किताब आँखा चिम्लेरै चिनिदिन्छु तर ऊ किताब पढ्दैन, त्यही भएर किताब उसका लागि शब्दकोषका शब्दजस्ता भनेकै ठाउँमा हुनुपर्छ । नत्र भेट्टाउँदैन । उसका लागि त किताब एउटा व्यापार गर्ने वस्तु ! उसको पढ्ने बानी भएको भए यस्तो हुने थिएन । ऊ मलाई जागिर दिने मान्छे, मैले उसको दोष देखाउन मिल्दैन अनि म चुपचाप पचाइदिन्छु ।

कहिलेकाहीँ सोच्छु, छोडिदिउँ यो जागिर ! केही त भेट्टिएला । यत्तिकै कमाइ हुने यो सहरमा, यो भीडमा । यो पनि पार्ट टाइममात्र त हो । म हप्ताको चार दिन आउँछु किताब मिलाउनलाई यहाँ । कलेजको फि र बाँच्नलाई मात्र पुग्ने तलब छ । पक्कै भेटिएला राम्रो पार्ट टाइम जब । कतै पढेकी थिएँ, इमिडियट बोसको मान्छेको प्रगतिमा सबैभन्दा ठूलो हात हुन्छ । म त उसको गालीमात्र सुन्छु । मेरो प्रगतिमा उसको हात त परको कुरा !

कहिलेकाहीँ म उसलाई सपनामा देख्छु । तर दुइतिर दाह्रा पलाएको, आँखाबाट रगत चुहिन आँटेजस्तो । मैले अस्ति हेरेको मुभीको ड्र्याकुलाको जस्तो । अनि मेरै रगत खान लागे जस्तो । ऊ नजिकै आएर रगत चुस्नुअघि भन्छ, "मैले राइटरहरुलाई अल्फाबेटिकल्ली सर्ट गर्ने भनेको, तिमीले फेरि टेरिनौ !"

झस्यांग भएर उसलाई पुलुक्क हेरेँ । उसको अनुहारमा मेरो सपनाको जस्तो कुनै दाह्रा छैनन् । त्यो फगत सपना हो ।

"यो सकेसम्म चाँडो अल्फाबेटिकल्ली सर्ट गर," उसले आदेश दियो । कुनै मिलिट्रीको माथ्लो तहले तल्लो तहलाई दिएजसरी । छाती चौडा पारेर 'ओके मेजर ओभर एन्ड आउट' भनुम् जस्तो गरी । तर, त्यसो नगरी टाउकोमात्र हल्लाएँ । मलाई उसले हेप्छ, यो सत्य हो । प्राइभेट जागिरमा हेपाइ खाइन्छ । अनि काममा प्रोफेसनालिज्म पनि हुन्न । काम पर्मानेन्ट टाइपको हुँदो हो त उसले मलाई यसरी हेप्ने थिएन । मैले गर्ने कामहरुको निश्चित मापदण्ड हुन्थ्यो । तर यहाँ त ऊ मेरो इम्मिडियट बोस, मेरो म्यानेजर अनि मेरो हर्ताकर्ता । बाँधिएको महसुस गर्छु, त्यस्तो काम पनि खोइ के काम, जसमा मलाई बुझ्ने मान्छे छैनन् ।

बाटोमा धूलो उडाउँदै एउटा गाडी चर्को हर्न बजाउँदै गुज्रिन्छ । तर, चर्को हर्नमै खुसी छु । उसको आवाज दबाउनेछ त्यसले यदि ऊ फेरि करायो भने !

० ० ०

बादल लागेकोले होला, मौसम धुम्म छ । बिहान मेरो मुड अफ, अहिले मौसमको । मलाई बाहिर निस्किन मन छैन । त्यसमाथि धूलोले गाँजेको छ यो सहरलाई । भोक नलागेको भए बाहिर निस्किन्न थिएँ होला तर भोक लाग्यो । करिब १ बजेको हुँदो हो, मेरो इम्मिडियट बोसलाई भनेर बाहिर निस्किएँ । उसले टाउको हल्लाउँदै गर्दा मलाई सम्झाउन छोडेन, "चाँडै आऊ !"

खाजा खान टाढा जान पनि मन छैन । बाटोपारिको मःम: पसल, सबैभन्दा थोरै दूरीमा भएको खाजा पसल । मेनु पनि हेर्नु नपर्ने । एउटा बफ मःम: भन्दे पुग्ने । पसलमा पुगेर त्यत्ति नै भनेर मैले झ्याल बाहिर चिहाएँ । मास्क लगाएकी ट्राफिक दिदी एउटा टेम्पु रोकेर चलान काट्दै थिइन् । ट्याम्पुकी दिदी भने शायद चलान नकाट्न आग्रह गर्दै थिइन् । यो सहर युद्ध मैदान नै हो । प्रत्येक पल कोही शिकार हुन्छ कोही शिकारी । दिदीहरुको झगडा ध्यान दिएर नियालिरहेकै बेला अचानक पिसाबले चाप्यो ।

"टोइलेट कता छ ?"

मःम: पसलेले कुनातिर औँला तेर्स्यायो । हत्तपत्त गएँ । कमोड रहेछ, फ्लस बिग्रेको । बस्न मन लागेन । टोइलेट सफा गर्दैनन् मान्छेहरु । सबैभन्दा पहिला चाहिने वस्तु । सरसफाइका लागि, लाजगालका लागि । उनीहरुको होटलको सरसफाइ पनि त्यसमा आएर दाँजिनेछ । तर, सफा गर्दैनन् । त्यत्तिकै फर्केर आएँ । टेबलमा खुट्टा जोडेर बसेँ । च्यापेको बेला त्यो आसनबाहेक अरु आसनमा बस्न सकिन्न ।

पानी राखिदिने भाइ फाटेको गन्जी लाएर नजिकै आयो । पानी राखिदिएर खिस्स हाँस्यो । धेरै आइरहने भएर होला, ऊ मलाई चिन्छ । हुन त म ऊसँग बोल्दिनँ तर उसले हाँस्दा मुस्काई टोपल्छु । आज मुस्कान बनावटी छ । कारण तपाईंलाई पनि थाहा छ, म फरक आसनमा छु । ध्यान केन्द्रित छ मेरो अन्यत्रै !

मःम:को ढक्कन खोल्नेबित्तिकै बाफ र बासना दुइटै हरर्र आयो । छिट्टो खाएर पारि जानु छ बुक सपमा ! त्यहाँ टोइलेट सफा छ, धेरैले युज पनि गर्दैनन् । मःम:का डल्ला चपाउन थाल्दा ट्राफिक दिदी फेरि दृष्टिमा आइन् । शमयद चलान काटिसकेर अरु गाडीलाई बाटो देखाउँदै !!

अचानक मनमा अनौठो विचार आयो ।

"तिनलाई पिसाब किन आउँदैन ?"

मनमनै उत्तर पनि दिएँ, "आउँछ, कतै जान्छिन् होला !"

नियालेर हेरेँ । नजिकै अरु ट्राफिक छैनन् । मास्क छेउमा कानबाट चुहिएको पसिना परैबाट देखिन्छ । छेउका गाडीले उडाएको धूलोको बीचमा उनको सिठ्ठी सुनिन्थ्यो अनि हात देखिन्थ्यो ।

मनसँग फेरि विवाद गरेँ, "भनेको बेलामा जान त पक्कै पाउँदिनन् ।"

मनले कुनै कुनाबाट उत्तर आयो, "तर जागिर पर्मानेन्ट हो !"

यो उत्तरमा चित्त बुझाउने वा नबुझाउने मलाई थाहा छैन ।

अन्तिममा मनलाई जितेरै छोडेँ, "पर्मानेन्ट नै सबै थोक होइन !"

० ० ०

काम सिध्याएर फर्किँदै गर्दा अब्दुललाई देखेँ । देख्नेबित्तिकै बिर्सेको काम याद आयो ।

"डाक्टरसा'प, मेरो जुत्ता ठीक हुन्छ कि हुँदैन, हेर्दिनू न !" अब्दुललाई जिस्क्याएँ । अब्दुल हामी काम गर्ने बुक सपकै छेउमा जुत्ता बनाएर बस्छ । कहिलेकाहीँ बिहान चाँडो आइपुग्छु । अनि अब्दुलसँग चिया खान्छु । अब्दुलको पसल छेवैमा एकजना दिदी मीठो चिया बनाउनुहुन्छ । कम्तीमा अब्दुललाई र मलाई चिया मीठो लाग्छ । ऊ अहिले ९ मा पढ्दै छ तर खासै स्कुल जाँदैन । जाँच दिनमात्रै जान्छु, बेलुका पढ्छु भन्छ ।

"ह्या दिदी पनि ! फुकाल्नू न त," ऊ मलाई हेर्दै हाँस्यो । उसको छेवैको मुडामा बसेर जुत्ता खोलिदिएँ । उसले ध्यान दिएर जुत्तालाई हेर्‍यो । मतिर पुलुक्क हेर्दै भन्यो, "१० मिनेट लाग्छ ।"

"अनि पैसा ?"

"चियामा सिध्यो !" खिस्स हाँस्यो अनि धागो छान्न थाल्यो दत्तचित्त भएर । बाहिरको अँध्यारोमा रंग खुट्याउन नसकेर होला, धागोहरुलाई घोइरिएर हेर्‍यो । कुनै कुचीकारले क्यान्भास कोर्न रंग छाने जस्तो । उसको काम रमाइलो छ । कसैले अह्राउँदैन । यहाँ धागो राख, यहाँ नराख रंग मिलाएर राख पनि भन्दैन । उसलाइ जे मन लाग्छ, गर्न पाउँछ ।

"कति मेहनत गरेको ?" मैले फेरि जिस्क्याएँ ।

"धागोको रंग मिलाउनुपर्छ दिदी, म बलियो बनाइदिन्छु, मैले सिलाको ठाउँबाट चाहिँ फाट्दैन ।" ऊ हाँस्दा उसको गाला थोरै खाल्डो पर्छ । मनमोहक । कहिलेकाहीँ गालामै पनि सु-पोलिस लागिराखेको हुन्छ तर उसको मुस्कानले ती दागहरुलाई फिक्का पार्छ । जीवनलाई तिनै दागहरुले न हो इन्द्रेणी बनाउने, नत्र त पुरानो चलचित्र जस्तो हुन्थ्यो, श्यामश्वेत !

"कति कमाइ भो त आज ?" अनायसै सोधेँ । सामान्यतया म उसलाई सोध्दिनँ । तर खै आज के भो !

"काँ दिदी ! आज नगर प्रहरी आयो अनि लाठी हानेर भगायो ! अघि २ बजे त फर्केको !" सर्ट थोरै माथि सारेर हातको डाम देखायो । त्यो उत्तर चिताएको थिइनँ ।

"धेरै पढेपछि राम्रो काम पाउँछ होला नि त दिदी !" फेरि सर्ट तल झार्‍यो । घोरिएँ ।

"ल भयो !" उसले जुत्ता फिर्ता गर्‍यो ।

"कति भयो ?" फेरि सोधेँ ।

"दिदी पनि, पाप लगाउनुहुन्छ मलाई ! भोलि चिया खुवाउनू न त !"

उतिर बढाएको २० को नोट पनि लिएन । हात बिस्तारै आफ्नै गोजीतिर फर्काएँ । अनि आफूचाहिँ फेरि बुक सपतिरै फर्किएँ । मेरो इम्मिडियट बोस अझै काममै थियो । मैले ढोका खोलेँ । उसले अचम्म मानेर मलाई हेर्‍यो ।

मैले उसलाई लगेर देखाएँ, "मैले मुराकामीलाई अहिले यहाँ राखेकी छु ! तपाईंलाई देखाउन आएकी !"

"ए ओके," टाउको हल्लायो, थोरै हाँस्यो अनि आफ्नो ठाउँतिर लाग्यो । दाह्रा थिएन, एकदमै सामान्य मान्छे । सधैं भेटिरहने लाखौँ मान्छेहरु जस्तै । म भने नजिकै गएर त्यो किताबलाई सुम्सुम्याएँ । अनि फेरि चेकभ राखेको सेल्फमा गएँ ।

खुसुक्क किताबलाई भनेँ, "म कतै जाँदिनँ तिमीलाई छोडेर । हुन त इम्मिडियट बोस ठीक छैन तर पनि मलाई मेरो पार्ट टाइम जब मन पर्छ ।"

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७३  ०८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC