site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
धूवाँ
Sarbottam CementSarbottam Cement

कहाँ हो कहाँ कुखुराको भाले बास्यो । मैले झ्यालको पर्दा थोरै हटाएर चिहाएँ– अँधेरो पातलो हुँदै थियो । तर, कुहिरोको खोलबाट उज्यालो निस्किन गाह्रो मानिरहेको थियो ।
मनभित्र पीडा र बेचैनीको द्वन्द्व उत्कर्षमा थियो । कारण– रातको दोस्रो प्रहरदेखि म निदाएको थिइनँ । सम्झनाको देउरालीमा छुटेका असंख्य अतीतले मलाई चिमोट्दै थिए । सहर झरेको झन्डै दशकपछि अतीतले मलाई औडाह बनाउँदै थियो । सहरमा मलाई टेक्ने सजिलो भुइँ थिएन ।
म अभैm त्यै भीरपानीको पाखे थिएँ, जसलाई सहरले धोएर सुकिलो बनाउन सकेको थिएन । सहरको खाक्सीले धेरै घोट्यो तर ममा चमक ल्याउनै सकेन । र, त घृणा फ्याँकेर मलाई लखेटिरहेको थियो– त्यै भीरपानीको डाँडातिर, जहाँ मैले हाँसो, खुसी र उमंगको बालापन छोडेर आएको थिएँ ।
दोस्रो पटक कुखुरो बास्यो । मैले फेरि झ्यालको पर्दा पन्छाएँ । अहिले भने कुहिरो धकेल्दै उज्यालो गाढा हुँदै थियो । म ओछ्यानबाट उठेँ । भएको एक जोर कपडा र पातलो जकेट शरीरमा हुलेँ । भ्यागुते झोला भिरेँ । ढोकामा ताल्चा झुन्ड्यार म निस्केँ– आफैंलाई थाहा नभएको दैनिकी ताकेर ।
पुसको चिसो । कुहिरो शीतका थोपा चुहाउँदै बेग हान्दै थियो । अज्ञात पीडाले म दुखिरहेको थिएँ । विगत सम्भेmँ । आफैंलाई नियालेँ । आफ्नो दयनीय कायप्रति आफैंलाई टिठ लाग्यो । मैनबत्तीझैं आँखा पग्ले । चिसो भुइँमा दुई थोपा तातो आँसु खस्यो । पुसको चिसोले तातो आँसुलाई गिज्यायो ।

मलाई कहीँ जानु थियो तर जाने ठाउँ थाहा थिएन । टाढा कि नजिक ! औपचारिक कि अनौपचारिक ! एउटा अनौठो दैनिकीमा निस्केको थिएँ म । मनमनै गमेँ– म जान्छु । पक्कै टाढा जान्छु । यो सहर र यहाँका मान्छेभन्दा टाढा– भीरपानी, चौडुङको पाखो र मिर्दी खोलाजस्तै ठाउँतिर ... ।
घरबेटी बा ख्वाक ख्वाक गर्दै भ¥याङ झर्दैै रै’छन् । सोधे, “ब्यान ब्यानै जारोमा काँ जान ल्याको नाटी ?”
बूढा रसिला छन् । माया गरेर मलाई नाटी भन्छन् । मैले तीन महिनादेखि कोठाको भाडा तिरेको थिइनँ । तैपनि उनको मायामा कमी आएको थिएन । लाग्थ्यो, यो सहरमा उनीमात्र हुन् मलाई टिठ्याउनी ।
स्वचालित बन्दुकजस्तै मुखबाट बोली खस्यो, “बा कलेज जान ला’को !”
“ह्या नाटी यस्टो जारोमा पनि के कालेज कालेज भन्छ । भो पर्डैन आज न जा ।”
“होइन बा आज जानैपर्छ के,” भन्दै म गेटबाहिर निस्केँ ।
बूढा कराउँदै थिए, “ए नाटी, टल पन मैचाकोमा एक कप च्या खाएर जा । अलि टाटो हुन्छ ।”
बूढा अझ कराउँदै थिए । म कुहिरोको धूवाँ हत्केलाले छोप्दै ओरालो झरेँ । चक्रपथ बस, कार र मोटरसाइकलका हर्नले ढाकिसकेको थियो । खलाँसीका मुख बज्दै थिए, “बालाजु, महाराजगन्ज, टिचिङ, कान्ति... नयाँ बसपार्क, बसुन्धारा, चाबेल, बौद्ध, जोरपाटी, बेँसीगाउँ..बेँसीगाउँ...।”
‘कान्तिपुर’ मेरै अघि घ्याच्च रोकियो । म त्यसैमा चढेँ । कुहिरो र हुस्सुको गुम्बजभित्र अलमलिएको मिरमिरे उज्यालोमा म बसपार्कतिर हाँकिएँ ।
बसपार्क बसको बजार– यहाँबाट दिनहुँ सयौं बसले उपत्यका छोड्छन् । त्यति नै भित्रिन्छन् । भित्रिँदा डाँडापाखामा हुर्केका वैंश बोकेर आउँछन् । लेकदेखि बेँसीसम्म बूढाबूढी, लाटा–गाँडा, काना, लुला–लङ्गडा, डुँडा–खोरन्डा र दूधेबालक मात्र छुट्छन् । सिंगो यौवन सोहोरिएर सिनित्त हुन्छ । गाउँको सुन्दर काँचुली झार्न राजधानी आउने–जाने बसले धेरै सहयोग गरेका छन् ।
एकोहोरो बसका हर्न बजिरहे, ट्याँट्याँ टूँ टूँ...त्यहाँ कोलाहलको भूत नाचिरहेको थियो ।
म रनभुल्ल परेँ । हृदयमा भवनाको पिङ मच्चिन थाल्यो– कहाँ जाऊँ ? कुन बस चढौं ? मनमा दन्केको आगो निभाउन कोसी झरूँ वा गण्डकी तरूँ । कि मस्र्याङ्दीमै डुबौं !
“नारानघाट, बुटवल....दाङ तुल्सीपुर... नेपालगन्ज, नेपालगन्ज...धनगढी, महेन्द्रनगर... ।”
“डुम्रे, दमौली, पोखरा, बागलुङ... स्याङ्जा, वालिङ, मिर्मी... ।”
“ल पूर्व पूर्व सर्लाही, लालबन्दी... धरान, धनकुटा... पूर्व पूर्व.. झापा, बिर्तामोड, काँकरभित्ता...।”
खलाँसीको खलाँतीबाट यस्तै आवाज निस्किरहे ।
टाटेपाटे कमेजमाथि बाँकटे जकेट भिरेको ख्याउटे केटो मेरो कानैनिर चिच्यायो, “दाइ कहाँ जाने हो ? पूर्व हो ? ल आउनुस् जाने भए यो गाडी पशुपतिनगर जान्छ । सिट खाली छ, बसिहाल्नुस् ।”
बसको अगाडि लेखिएको थियो– इलाम–पशुपतिनगर ।
केटोले सजिलो बाटो देखाइदियो । अन्योलको कुहिरो उसैले हटाइदियो । म त्यही बस चढेँ ।
बसमा मान्छे कोच्चिएका थिए । कोही उभिएका, कोही बसेका त कोही कानमा एयरफोन घुसारेर आफ्नै दुनियाँमा उड्दै थिए ।
“भाइ सिट त खाली छैन नि,” मैले तीतो पोखेँ ।
बोली नखस्दै केटो बोल्यो, “दाइ जाँ खाली छ त्यैँ बस्नुस् । अहिले मिलाउँला ।”
म उभिए नजिकै एउटा सिट खाली रै’छ । झ्यालपट्टि एउटी युवती बसेकी थिइन् ।
जम्मै सिट भरिभराउ तर त्योमात्रै खाली थियो । सोचेँ– युवतीकै आफन्तका लागि रोकिएको होला ।
घ्यार..घ्यार गर्दै बस अघि बढ्यो । खाली सिटमा बस्ने मान्छे आएनन् । अरू कोही बसेको पनि थिएन । जेसुकै होस् भन्दै म बस्न कस्सिएँ । तर, थ्याच्च बस्न सकिनँ । युवती मुस्कानको एउटा थुंगा मतिर फ्याँकेर झ्यालतिर फर्किइन् ।
उनको मुस्कानले ‘सिट खाली छ’को संकेत गरेजस्तो लाग्यो । बस कलंकीतिर मोडियो । तर, त्यो सिटमा बस्ने आँट कसैले गरेन । अब भने मैले मुख खोलेँ, “सिट खाली हो !”

Prabhu Bank
Agni Group
NIC Asia

बसको ‘हेडलाइट’झैं उनको मुहार धपक्क बल्यो, “हजुर, खाली नै छ । बस्नुस् न ।”
यतिन्जेल उभिएका खुट्टालाई सन्चो भयो । मैले ती युवतीलाई मनमनै साधुवाद दिएँ ।
बसको झ्याल टम्म नलाग्दो रै’छ । झ्यालका कापबाट हुस्सु छिरिरहेको थियो । पिलन्धरे जकेट र घाँटीमा बेरेको रातो गलबन्दीले चिसोको धूवाँ छेक्न सकेको थिएन । भुइँचालोको कम्पनझैं छिनछिनमा मेरो मुटु हल्लिरहेको थियो ।
युवतीले लगाएको ओभरकोट र पैतालादेखि घुँडासम्म तन्किएको ‘बुट’ देख्दा मभित्र न्यानो पलायो । मैले युवतीको ठाउँमा आफू बसेको कल्पिएँ । उनमा ढकमक्क यौवनका फूल फुलेका थिए । भमरा झुम्मिने गरी वैंशको डाली लच्किएको थियो । आफू वैंश भरिएको सुकिलो युवक सम्झें । जाडो अझ कम भयो तर मुटु हल्लिन छोडेको थिएन ।
सिटमा गुट्मुटिएर सिमलको भुवाझैं म उडिरहेँ– हावाको जहाजमा डाँडा काटेर टाढा टाढा । क¥याङकुरुङ पुरानो बस्तीबाट बसाइँ सरेझैं म सहर छोडेर जाँदै थिएँ– अन्त्यहीन दिशातिर ।
बसले नागढुंगालाई पछाडि छोड्यो । हुस्सु र कुहिरो उछिन्दै पारि–पारि पखेरामा घामका किरण खस्दै थिए । मनको तह भने ओसिलै थियो । मुटु काम्न छोडेको थिएन । सँगै बसेकी युवतीले हल्लिरहेको मेरो जुम्सो ज्यान हेरिरहेकी थिइन् ।
मुहारमा चिसोले कोरेका रेखाचित्र, फुटेको ओठ, पातलो शिशुपाल काय र त्यो कायलाई मुश्किलले छोपेको पातलो जकेट नै मेरो परिचय थियो । परिचय थप उदांगो नहोस् भनेर मैले तीन दिनदेखि नमाझेका दाँत ओठभित्रै लुकाएको थिएँ । उनले मलाई हेरिरहँदा ममा लाज, संकोच र गरिबीको बाढी ह्वात्तै उर्लेर आयो । सहरका सुकिला मान्छेले झैं उनले पनि मलाई घृणाले हेरेकी हुन् भन्ने लाग्यो । र, त उनलाई छोइएला भनेर म सिटको छेउमा कुक्रुक्क बसेको थिएँ– दुई हातले ज्यान बाँधेर ।
बस नौबिसेबाट ओरालो दोडिन थाल्यो ।
“सुन्नुस् न ।”
कसैले बोलायो । मैले बोली सुन्न चाहिनँ । किनकि डल्लो परेरै भए पनि म यो सिटमा बस्नु थियो । कसैले उठाएर लखेट्यो भने म उभिनुपथ्र्यो । उभिने कल्पनाले पनि मैले कसैको बोली सुनिरहेको थिइनँ ।
“हेल्लो, सुन्नुस् न ।”
मेरो शरीर बिस्तारै हल्लियो । मलाई करेन्ट लागेजस्तो भयो । टाउको झ्यालतिर घुमाएँ । तिनै युवती ‘हेडलाइड’ जस्तै मुस्कान फ्याँकिरहेकी थिइन् । उनको मुस्कानले ममा उष्णता थपेन । उल्टै चिसो बढायो ।
मनमा रिसको काँडा उम्रियो– यो केटीले पक्कै मलाई उठ्न भन्छे । यसको कोही मान्छे आएजस्तो छ ।
मनमनै मुर्मुरिएँ– यसका बाजे अघि भने बस् भनी । अहिले...
म बोलिनँ । टाउको पुरानै अवस्थामा घुमाएँ ।
“हेल्लो सर, के भयो ?”
मेरो शरीर यसपटक झनै जोडसँग हल्लियो । ममा अझ ठूलो भुइँचालो गयो ।
बिजुली गतिमा दिमागका नसा दौडिए– यी सहरिया भनाउँदालाई गाउँको मान्छे देख्नै नहुने, हेपिहाल्नुपर्ने ! सिट छोड भनेकी त होला नि ! मरे मर्छु, यसको छेउमा बस्दिनँ ।
“तपाईं त गज्जब हुनुहुँदो रै’छ । बोलाउँदा नि नबोल्ने !”
उही ओभरकोट, घुँडासम्म तन्किएको कालो बुट र घामजस्तै चम्किलो अनुहारले मेरो रुग्ण कायको फोटो खिचिरहेको थियो ।
म झर्कें, “किन ?”
“जाडो भएको छैन ?”
म आफैंमा खुम्चिएँ, “छैन ।”
“तपाईंको शरीर काँपिरहेको छ । यी मसँग सल छ ओढ्नुस् ।”
“पर्दैन । अब जाडो कम भइसक्यो,” मैले उनको आग्रह पन्छाएँ ।
‘तपाईं त गज्जबको मान्छे ! ल ओढ्नुस्’ भन्दै मेरो खिरिलो ज्यान गुलाबी पछ्यौरीले ढाकिदिइन् । पछ्यौरी हटाउने आँट ममा पलाएन ।
पछ्यौरीले भित्रैबाट तातो उमा¥यो । मैले आफूलाई आगोको रापमा सेकाएको अनुभूति गरेँ । के बोलूँ बोलूँ भयो । युवतीलाई धन्यवाद भन्न सकिनँ । अघि झर्केर बोलेकोमा मेरो शिर झुक्यो ।
मनमा कुरा खेले– यो केटी को हो ? मप्रति किन दया देखाएकी छे ?
“ढुक्क भएर ओढ्नुस् । फरक पर्दैन । मेरो सलमा मोहनी मिसिएको छैन । मलाई मोहनी लगाउन नि आउँदैन । ‘मन्धुम’ले मोहनी लगाउन सिकाउँदैन । माया गर्न सिकाउँछ के ।”
उनले बोलेको आधामात्र बुझें । सल, मोहनी, मन्धुम, माया– म भावनाको रहमा घुमिरहेँ । उनी मुसुक्क हाँसिन् र झ्यालतिर फर्किन् । मैले ओठका झ्यालबाट पहेंला दाँत देखाएँ ।

बस मलेखुमा रोकियो ।
खलाँसी चिच्यायो, “ल चिया नास्ता खान झर्नुस् । धेरै बेर रोक्दैन ।”
म झरेँ । अगाडि एमानको साइनबोर्डमा लेखिएको थियो, “राहुल होटल एन्ड लज ।”
“एकछिन मेरो ब्याग समाइदिनुस् न !” उनै युवती हिउँ रङका दाँत देखाउँदै मेरो अघि उभिएकी थिइन् ।
मन भन्दै थियो– हरे शिव ! के आपत् आइलाग्यो ? गाँजा, चरेस र विदेशी नशालु वस्तु ओसार्नेले सोझा मान्छे जालमा पार्छन् र आफू उम्किन्छन् भन्ने सुनेको हो । यो केटी त्यस्तै हो कि क्या हो !
युवती फेरि बोलिन्, “प्लिज समाइदिनुस् न ।”
मैले गाह्रो मानेर ब्याग समातेँ । वरपर उभिएका मान्छेले क्वारक्वार्ती मेरो मुख हेरिरहे । म मुन्टो भुइँतिर झुकाएर उभिइरहेँ । केही बेरमा उनी फर्किइन् ।
उनको ब्याग सुम्पेर म पन्छिएँ । ‘ट्वाइलेट’को ढोकैमा ऐना राखिएको रै’छ । ऐनामा आफ्नो मुख हेरेँ– झुस्स दारी, जगल्टे कपाल, कलेटी परेका ओठ र धमिलो अनुहार !
आफ्नो मुख हेरेर आफैंलाई लाज लाग्यो । ती सुन्दरीको अघि म कसरी बस्न सकेँ ! उनले मेरो यो रूपमा किन आँखा गाडिन् ?
पातलो जकेट नियालेँ । हिजो राति भात खाँदा चुहेको दालको टाटो आलै देखिन्थ्यो । मलाई झन् बढी लाज लाग्यो । अब कसरी युवतीको अघि उभिने ? धन्न पुरानै भए पनि पाइन्टमा हिजो राति इस्त्री गरेछु ।
म ट्वाइलेट छिरेँ । पुराना गोल्डस्टार जुता पानीले हल्का पुछेँ । जकेटमा लागेको दाल पखालेँ । अनुहार मिचिमिची धोएँ र आफू सुकिलो हुने प्रयास गरेँ ।
युवती पर उभिएकी थिइन् । म उनको नजिक जान सकिनँ । त्रिशूली नदीतिर आँखा फ्याँकेर झोक्राइरहेँ– पशुपतिनगर जाने बस चढेको छु । कहाँ हो त्यो ठाउँ ? कहिले पु¥याउला ? म कहाँ बसूँला, कसले खान देला मलाई ? प्रश्नै प्रश्नले मन कोतरिरह्यो ।
युवतीको बोली कानमा बज्यो, “तपैं त कस्तो एक्कोरो मान्छे, बोल्दा नि नबोल्ने ! लु जुम चिया खान ।”
उही ओभरकोट, छालाको बुट र हिमालमा टल्केको कलिलो घामजस्तो अनुहार ।
मेरो खल्तीमा सय रुपैयाँ थियो । मैले यसबाट कति छाक टार्नु छ । म कसरी जान सक्छु चिया खान ? प...र त्रिशूली छाल उराल्दै ‘डाइभ’ हान्दै थियो । म भने अभावको त्रिशूलीमा डुब्दै थिएँ ।
युवती ठुस्किइन्, “के सारो टोलाको हो तपैं त । जुम न भनेको चिया खान !”
उनको आग्रह टार्न सकिनँ । पछि पछि डोरिएँ ।
“साहुजी दुई प्लेट चना र कालो चिया ल्याउनू त ।”
मैले कालो चिया खान्छु भनेर उनले कसरी थाहा पाइन् ? खिरिलो केटाले हाम्रो अघि दुई प्लेट चना राखिदियो, सँगै चिया पनि । छिनमै प्लेट रित्तियो ।

Global Ime bank

“साहुजी कति भयो ?”
भुँडीको बोसो हल्लाउँदै जुँगामुठे साहु बोल्यो, “एक सय दस ।”
उनले नीलो ब्यागबाट हजारको नयाँ नोट निकालेर दिइन् । म अँधेरो भएँ, उनको अनुहार हेर्नै सकिनँ ।
घुटुक्क थुक निलेँ– हजार रुपैयाँको नोट देख्ने साइत मेरो जीवनमा कमै जु¥यो । धेरै वर्षपछि आज जुरेछ । त्यो हजारले म कति दिन बाँच्थेँ हुँला !
खलाँसी चिच्यायो, “ल बसौं बसौं...।”
हामी आ–आफ्नै सिटमा बस्यौं । यसपालि म अघिभन्दा कमै खुम्चिएँ । आफूलाई अघिभन्दा केही सुकिलो कल्पना गरेँ । युवती मसँगै टाँसिइन् ।
“तपैं त सारो टोलाउनुहुँदो रै’छ त ।”
उनले यसो भन्दा मेरा ओठ खुलेनन् । उनको बोली नसुनेझैं गरेँ ।
मलाई पनि उनीसँग बोलूँ बोलूँ लाग्यो । मनको कुनामा अनौठो कुतकुती लाग्यो ।
मैले सोधेँ, “तपाईंको नाम के हो ?”
प्रश्न खस्न नपाउँदै उनका ओठको गति बढ्न थाल्यो, “नीलिमा राई, घर इलाम । बाबा यूकेमा बस्नुहुन्छ । प्लस टू सकेर गाको । बाबासँग एक महिना बसेर अस्तिमात्र युकेबाट फर्केको हो ।”
मेरा ओठ फेरि टालिए । उनले सोधिन्, “तपैंको नि ?”
“घर स्याङ्जा । क्याम्पस पढ्न काठमान्डू बस्छु,” मैले आफ्नो बारे यत्ति भनेँ ।

बस गतिमान थियो । यो सडकमा गुडेको थिएन । उडेको भान हुन्थ्यो । त्रिशूलीको पानीमा मिसिएको चिसो हावाको गतिमा भीरका टाउकाबाट खसेका सेता छहरा र घाँसे पखेरा पनि उसैगरी उडेको देखिन्थ्यो ।
नीलिमाको ओभरकोटबाट यूकेको अत्तर बसाइरहेथ्यो । झ्यालबाट छिरेको मसिनो हावा उनको कालो कपालमा पिङ खेल्दै झ्यालबाट बाहिर र भित्र गर्दै थियो । बसका यात्रु आ–आफ्नै दुनियाँमा थिए । बस नारानघाट छोडेर पूर्व मोडियो ।
हुस्सुले तराईंलाई ग्वाम्लांग अँगालो हालेको थियो । शीत चुहाउँदै उडेको हुस्सुलाई जित्न नसकेर घामका किरण आकाशमै थाकेका थिए । नीलिमाको पछ्यौरीले मेरो ज्यान छोडेको थिएन । यो तातोले ममा भावनाको मूल फुटाउँदै गएको थियो ।
बस हेटौंडाबाट पनि अघि बढ्यो । म भावनाको पिङ मच्चाएर सैलुङको टुप्पातिर पुगेको थिएँ– हुस्सुभित्र बाटो खोजिरहेको चरोजस्तै रैछ जीवन...
बसमा पुरानो हिन्दी गीत बज्यो–
ए कहाँ आ गए हम यँु ही साथ साथ चल्ते
तेरी बाहों मे है जानम मेरे जिश्म जा पिघलके ...

“तपैं त जत्तिबेला नि टोलाको टोलाकै । गफ गरुम् न हो । बोलेर मन खिइन्छ र ?” नीलिमाका हत्केलाले मेरो कुम बेस्सरी हल्लायो ।
मैले ओठको झ्याल थोरै खोलेँ, “नबोलौं कहाँ भनेको छु र ! एक्लै कोसँग बोलौं त नि ?”
उनका हिउँ रङका दाँत टल्के, “खुपै बोलेजस्तै छ ।”
मैले जवाफ फर्काइनँ । उनका दाँत फेरि टल्के, “तपैं कहाँसम्म जाने ?”
नीलिमाको प्रश्नले झस्कायो– कहीँ जाने भनेर हिँडेको भए पो ठाउँ थाहा हुन्छ । हावा जसरी चलेको छ, म त्यसरी नै बग्दै छु । कहाँ जाने, कसलाई भेट्ने र कहाँ बस्ने मेरो टुंगो छैन । आकाशमा उड्ने चराको बरु बस्ने, खाने र डुल्ने टुंगो होला । तर, मेरो छैन । अहँ छँदै छैन । उनलाई म के भनौं !
उनी झर्किइन्, “म त बोल्दिन हौ, तपैंसँग । कस्तो एक्कोरो मान्छे यार !”
जाने ठेगान थिएन तर हत्तपत्त मुख खुल्यो, “झापासम्म ।”
“ए हो र ! इलाम जानुभाको छ ? चियाबारी घुम्नुभाको छ ?”
“अहँ छैन,” मैले यत्ति बोलेँ ।
“झापा आएर इलाम नघुमे त के मज्जा ? निक्कै रमाइलो पो छ त इलाम ।”
मेरा आँखा नीलिमाको निख्खर गोरो अनुहारमा टाँसिएको टाँसियै भए । लाग्थ्यो– उनको अनुहार नौनीले धोइएको हो ।
“जुम् न त इलामसम्म । चियाबारी घुमाइदिउँला । एक÷दुई दिन बसेर ‘साकेला’ नाचुम्ला । अनि म तपैंलाई झापा छोड्नु आउँला नि, हुन्न ?”
पाँच÷छ घन्टाको यात्रामा उनले किन यति आत्मीयता देखाइन् ? अहँ मैले बुझेकै छैन । सोचेँ– नीलिमा मेरी स्कुले साथी यानिमा गुरुङजस्तै छिन् । हिउँजस्तो अनुहार, लामो कपाल, थेप्चो नाक र कानमा झुन्डिएको यार्लिङ सबै उस्तै । बोलीमा पूर्वेली लवज, फरक यत्ति थियो ।

पुसको चिसोमा तराईमा आन्दोलनको आगो बलेको रै’छ । ठाउँ–ठाउँमा सडक जाम थियो । हूलका हूल मान्छे सडकमा जम्मा भएर टायर बालेका देखिन्थे, तिनका वरिपरि पुलिसका भ्यान । कराई टोपी लगाएर बन्दुक भिरेका पुलिस सडक सुरक्षामा खटिएका थिए । बस निकै पातलो चलेको थियो । ज्यान र बसको जोखिम लिएर सडकमा ओर्लिने हिम्मत कमैले गरेका थिए ।
बस चन्द्रनिगाहपुर बजारमा रोकियो । त्यहाँ सय÷दुई सय मान्छेको भीड थियो । हुस्सु र तुवाँलोको धूवाँ चिर्न सडक बीचमा मुढा जोतेर आगो बालिएको थियो । ह्वारह्वार्ती बलेको आगोले आन्दोलनलाई कति सघाएको थियो ? यकिन थिएन, तर एकसरो लुगामा ज्यान ढाकेका हरेकको चिसो आगोले पगालेको देखिन्थ्यो ।
बाहिर आगोको रापमा सेकिएका अधिकांशले ‘प्लाकार्ड’ समातेका थिए–
पहाडीया मधेस छोडो !
मधेसी जनता हाइ हाइ !
सामन्ती पहाडिया बाइ बाइ !
पहाडिया सरकार मूर्दावाद !
एक मधेस एक प्रदेश जिन्दावाद !
नारा भट्याउँदै आगो वरिपरि उफ्रिनेमा अधिकार प्राप्तिको मोह थिएन । लाग्थ्यो– त्यहाँ धेरै दिनदेखि सडक महोत्सव चलिरहेको छ । आगो ताप्दै नारा गाउन बालबालिका खुब रमाइलो मानिरहेका थिए ।
बस यहाँबाट अघि बढ्ने सम्भावना देखिएन । बसभित्र यात्रु अलमल्ल थिए । नीलिमा ममा टपक्क टाँसिएकी थिइन् ।
परबाट हान्ने गोरुझैं एउटा पन्ध्र÷सोह्र वर्षको केटो सुर्रिंदै आयो । नजिकै आएर भुइँमा फ्याँकिएको लामो न लामो मुंग्रो समातेर बसमाथि जाइलाग्यो । ड्राइभर फुत्त ओर्लेर मान्छेको भीडमा मिसियो । सबै यात्रु ओर्लिए ।
सडक महोत्सवमा ‘भालुको रिस खनियाँमाथि’ हुँदै थियो । बस फुटाउने संख्या बढ्दै गयो । पन्ध्र मिनेटसम्म यो क्रिया चलिरह्यो । हामी चढेको बस अब बस रहेन । घाटमा जलाएर बाँकी रहेको मानव हाडखोर भयो ।
नीलिमाले मेरो पाखुरा बेस्सरी समातेकी थिइन् । मान्छे निलुँलाजस्तो मात्तिएको भीडमा उनले आफ्नो रक्षाकवच मैलाई ठानिछन् !
यता मेरो मुटुले ठाउँ छोड्दै गयो । मभित्र डरको भूत मोटायो– यो ‘फकिर’ जीवनलीला तुवाँलोको धूवाँभित्र छोपिने भयो ।
“बाबाले भद्रपुरसम्म प्लेनमा जानु त्यहाँबाट इलाम जानु सजिलो हुन्छ भन्नुभाको थियो । मलाई बसमै जानु रमाइलो लाग्छ भनेर आएँ । अब कसरी घर पुग्ने ?” यत्ति भन्दै नीलिमा हिक्का छोडेर रोइन् ।
म बोल्न सकिनँ । उनलाई समातिरहेँ । नीलिमाका दुई हात दाम्लोजस्तै मेरो कम्मरमा बाँधिएका थिए ।
बस नजिकै दोस्रो हूल मिसियो । हूलबाट आवाज आयो, “मादर...को आग लगा दो ।”
एउटा कलियो केटोले टायर गुडाउँदै हाडखोर बाँकी रहेको बस नजिक ल्यायो । अर्कोले टायरमा आगो झोस्यो । बस जल्न थाल्यो– चैतमा खरबारीमा लागेको डढेलोझैं । यो छिनमै खरानी भयो । खरानीबाट उडेको धूवाँ आकाशमा तैरिँदै तेरिँदै गयो । माथि अझै माथि पुगेर तुवाँलोमा मिसियो ।
उत्तरबाट उड्दै आएका एक जोडी पानी हाँस हामीमाथिको आकाशमा नपुग्दै छुट्टिए । दुवैले नमीठो सुस्केरा हाले– च्या च्या ऽ ऽ ऽ

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७३  ०७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC