site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चाहना हिरो, भए निर्माता
Ghorahi CementGhorahi Cement

कति मान्छे त्यस्तै हुन्छन्, हात्तीको देखाउने दाँतजस्तै । हेर्दा रूप सफेद देखिए पनि मन कुरूप हुन्छ ।

हिरो हुने रहर लाग्यो । सुनील रावल निर्देशकका घरमा ढोका ढक्ढक्याउन पुगे । चार जना निर्देशकको घर पुगे । निर्देशकले हिरो बनाइदिन्छु पनि भने । तर, चारै जनाको एउटै सर्त थियो– चलचित्रमा हिरो हुन पैसा लगानी गर्नुपर्छ । थोरै माग्नेले २ लाख मागे, धेरै माग्नेले ८ लाख । निर्देशकको असली रूप देखेपछि हिरोको भूत दिमागबाट सर्लक्कै उत्रियो ।

“निर्देशकको नाम त म आज लिन्नँ,” सुनील भन्छन्, “तर तपाईं यति बुझ्नुस् उहाँहरू त्यो बेलाको टप निर्देशक तथा निर्माता हुनुुहुन्थ्यो । केही त अहिले पनि निर्देशन तथा निर्माणमै हुनुहुन्छ ।”

Agni Group

त्यही आदर्श नामलाई पछ्याउँदै ढोका ढक्ढक्याउन पुगेका रावलको मनै म¥यो । हिरो बनाउने निर्देशक तथा निर्माताको खेल देखेर उनलाई लाग्यो– कला हैन पैसा पो बिक्दोरहेछ यहाँ ।

० ० ०

Global Ime bank

सुनील १२ कक्षाको परीक्षा दिएर बसेका थिए । ६ महिना ग्याप भयो । गाउँकै अंकल पर्ने उदयसिंह बोहरा चलचित्र, टेलिचलचित्र बनाउँथे । उनकै टेलिचलचित्रमाा सानो रोल पनि पाए । त्यो सिरियलको नाम उनलाई अहिले याद छैन । होस् पनि कसरी ! त्यो टेलिचलचित्र नै ‘डब्बा’ भयो । तर, त्यही चलचित्र हो सुनीललाई हिरोका लागि लखेट्ने । हिरोको मोह जगाइदिने । त्यसैले हो उनलाई निर्देशकको घरसम्म पुर्याएको । र, त्यसैले हो निर्देशक तथा निर्माताको मास्क उतारिदिएको पनि ।

कैलाली टिकापुरमा ६ कक्षा पढ्दा हो उनले पहिलो नेपाली चलचित्र हेरेको । चलचित्र थियो ‘अन्याय’ । चलचित्र हेरुन्जेल उनलाई पनि आफू हिरो हुन्छु भन्ने लागेको थियो ।

“गीत सुन्दा गायक हुन्छु भन्ने लाग्थ्यो, फिल्म हेर्दा हिरो हुन्छु भन्ने लाग्थ्यो,” सुनील हाँस्दै भन्छन्, “फिल्म हेरेर बाहिर निस्किँदा साथीभाइको सर्कलमा पुगेपछि हिरोको सपना बिर्सिहाल्थें । शायद केटाकेटीमा सबैलाई यस्तै हुँदो हो ।”

त्यो समय चलचित्र निकै कम बन्थे । टीकापुरमा चाडपर्वमा मात्रै नेपाली चलचित्र लाग्थे । नेपाली चलचित्र उनी कुनै पनि छुटाउँदैन थिए । “त्यो बेला मलाई सबैभन्दा मन पर्ने हिरो भुवन केसी । उनी मुसुक्क हाँस्दा उनको जुँगा पनि मुस्काउँथ्यो,” उनले भुवनप्रतिको आफ्नो मोह सुनाए ।

विद्यालयको अध्ययन सकियो । सुनीललाई परिवारले काठमाडौं ल्याएर छोड्दियो । उनी युनाइटेड एकेडेमीको होस्टलमा बसेर पढ्न थाले । “होस्टल यति कडा थियो कि १८ घण्टा पढ्नैपर्ने । खाए खा नखाए घिच् भन्ने जस्तो थियो,” उनी सम्झिन्छन् ।

सुनीललगायत उनका साथीहरू एक दिन गार्डलाई फकाएर अडियो भिजुअल रुम पुगे । शुक्रबारको रात थियो । नेपाल टेलिभिजनबाट नेपाली चलचित्र आउँथ्यो । त्यो हेर्न उनीहरू हुलै बनेर गएका थिए ।

एक छिनपछि कलेजका तीन जना फाउन्डर हलिउड सिनेमाको शैलीमा एकैपटक गेटबाट बाइक हुइँ..हुइँ..हुइँ.. पार्दै कलेज प्रवेश गरे । सुनीलसहित उनका साथीहरूको भागाभाग भयो ।

कक्षा १२ मा पढ्दै थिए । ११ कक्षामा आएका विद्यार्थीका लागि प्रज्ञा भवनमा स्वागत कार्यक्रम राखिएको थियो । एक जना विद्यार्थीले होस्टल आउन ढिलो गरेछन् । ती विद्यार्थी नआएको खबर पुगेपछि फाउन्डरहरू कलेज आएका रहेछन् ।

सुनील भागेर दुई तलामाथि पुगे । फाउन्डरहरू छतमा जाँदै गरेको थाहा पाएर उनी दुई तलामाथिबाट पानीको पाइपबाट बिस्तारै आर्मी प्यारासुटबाट ओर्लिएजस्तो ओर्लिए । गेटमा के पुगेका थिए– फाउन्डरले भने, “ओई रावल, पर्खी तँलाई ! कहाँ भाग्दैछस् ?” उनी समातिए । भोलपिल्ट लोकल अभिभावक पूर्णबन्धन भण्डारी (गाउँले अंकल)लाई बोलाएर आइन्दा फेरि त्यस्तै हर्कत नदोहोर्याउने सर्तमा कलेजले एकपटकलाई माफी दियो ।

“यति कडा थियो होस्टल, दोहोर्याए सिधै रेस्टिकेट,” रावलले ती दिन सम्झिँदै भने, “तर यसरी लुकेर फिल्म हेर्नुको मजै बेग्लै हुन्थ्यो । त्यो मजा म शब्दमा व्यक्त गर्नै सक्दिनँ ।”

दुई वर्ष सुनील त्यहीँ बसे । उनले वार्डेनलाई पनि सम्झिए, “यति हरामी हुन्थे तिनीहरू, कुरै नगरौं ।”

आफू २ वर्ष होस्टल बसे, भाइ १६ वर्ष । उनको भाइ त परिवारभन्दा पनि साथीभाइलाई बढी खोज्थे । त्यही कुरा सुनीलको मनमा गढिरहेको थियो । त्यसैले जन्मियो ‘होस्टल’ । होस्टल मन पराइयो । र, जन्मियो ‘होस्टल रिटन्र्स ।’

० ० ०

निर्माता तथा निर्देशकले पैसा मागेपछि हिरोको भूत उत्रिएको थियो । बीबीएस सकेर आईएमईमा ६ वर्ष काम गरे । ६ वर्षसम्म चलचित्रले उनको दिमागमा कहिल्यै ढोल ठोकेन । सुनील काममै एकत्रित भए ।

एक दिन पुरानै साथी भेटिए । त्यो क्रम बाक्लियो । उनीहरूले भने, “सुनील तँ हिरो हुने सपना देख्थिस्, अब फिल्म बना न त ।”
यो क्रम बाक्लिँदै भयो । उनलाई नेपाली चलचित्रले आकर्षण गर्न छोडिसकेको थियो । हिन्दी र अंग्रेजी फिल्म हेर्थे । उनी मात्रै होइन, कलेज पढ्ने टिनेजरले नेपाली फिल्म नै हेर्न छाडिसकेका थिए ।

उनको मनमा एउटा कुरा आयो– म फिल्म त बनाउँछु तर टिनेजरले हेर्ने । टिनेजरलाई पनि नेपाली फिल्म हेर्नुपर्छ भन्ने बनाउँछु ।
समय थियो– राजेश हमाल, विराज भट्ट र निखिल उप्रेतीको । एक्सन स्टार स्टारर चलचित्रको दबदबा थियो । सुनीलले भने संयम पुरी, विल्सनविक्रम राईलगायत नयाँ अनुहारलाई लिए । उनी स्वयं पनि चलचित्रमा देखिए । सुरज सुब्बा नाल्बोले उनलाई खुब मेहनत गराए, सिकाए ।

त्यतिबेला सुनीलले बुझे– हिरो बन्ने सपना गलत समयमा हुर्काएछु । चलचित्रको कखरा पनि नसिकी रहरैरहरमा निर्देशकका दैलोमा पुगेछु ।
चलचित्रकर्मीहरूले नै सुनीलको आलोचना गरे । उनी सम्झन्छन्, “एउटा बैंकको मुर्गा आएको छ रे, संयम र विल्सन विक्रमलाई लिएर भिडियो चलचित्र बनाउँदैछ रे’ भन्थे । मेरो ब्याक बाइटिङ गर्नेहरूलाई राम्रो चलचित्र बनाएर देखाइदिन्छु भनेर मेहनत गर्थें ।”

सुरज सुब्बाले उनलाई निकै सहयोग गरे । सुनीललाई पनि खेल्न उनलै आग्रह गरे । सुरजले नै उनलाई अभिनय सिकाए ।

चलचित्र तयार भयो । संविधानसभा भर्खर भंग भएको थियो । ठाउँ–ठाउँमा बन्द थियो । धेरैले ‘चलचित्र नलगा’ भने । उनलाई भने मनोरञ्जनलाई कुनै पनि कुराले छेक्दैन भन्ने लाग्थ्यो । त्यसैले लगाए । चलचित्र पहिलो हप्ता, दोस्रो हप्ता, तेस्रो हप्ता हाउसफुल भयो । चल्दै गयो । ३ करोड ग्रस कलेक्सन गर्यो । भिडियो फिल्म मेकर भन्नेको मुख बन्द भयो । सुनील पहिलो चलचित्रबाटै अब्बल निर्मातामा दरिन पुगे ।

सुनील सम्झन्छन्, “‘शायद’को स्क्रिप्टमा मैले यति धेरै मेहनत गरें कि हुलका हुल नयाँ जेनेरेसनका मान्छे ल्याएर उनीहरूका विचार बुझ्थें । यति राम्रो स्क्रिप्ट तयार भयो । त्यसलाई मैले चलचित्रमा ५० प्रतिशत पनि देखाउन सकिनँ । बजेट सोचेको भन्दा दोब्बर पुग्न लागेको थियो, पहिलो चलचित्र भएकाले अनुभव थिएन । अहिलेको जस्तो भए अब १० वर्ष त्यतिको फिल्म नबन्ने चलचित्र बन्थ्यो त्यो । स्क्रिप्टअनुसारको चलचित्र खिच्न नसकेको पछुतो मलाई चितामा सुतेको क्षण पनि लागिरहनेछ ।”

० ० ०

भोक लाग्दा पाएको आहारको पो स्वाद हुन्छ, अघाएको बेला पाएको आहारको के महत्व ? उनलाई जुन बेला हिरो हुने रहर थियो, त्यो अहिले मरिसक्यो । “मलाई हेरेर म सुहाउँदो कथा, म नै नभई नहुने स्क्रिप्ट आए अलग कुरा, होइन भने मलाई अहिले हिरोको रहर छैन,” सुनील स्पष्ट छन् ।

उनको आत्मा मर्यो । आत्मा मर्दाको पीडा उनले जिउँदैमा अनुभूत गरे । त्यो आफ्नो छटपटाहट फेरि अरुले भोग्नु नपरोस् भनेर उनले नयाँ अनुहार लिन थाले । संयम, विल्सन, अनमोल केसी, सुशील श्रेष्ठ, नाजिर हुसेन उनकै दुर्गिश ब्यानरबाट स्थापित भए ।

कला पैसामा बिक्री हुँदैन र पैसासँग आत्मा साटिँदैन भन्ने मूलमन्त्र छ सुनीलमा । उनले पनि नयाँसँग आफैंलाई झैं पैसा माग्न सक्थे तर त्यो महाभूल कसैले नगरोस् भन्ने उनको सोच छ । त्यसैले त उसले ‘शायद’ देखि ‘होस्टल’ र ‘होस्टल रिटन्र्स’मा नयाँ अनुहारलाई लिए । र, हिट चलचित्र बनाए । तीन वटै चलचित्रबाट उनी स्थापित बने ।

अहिले ‘लाउरे’ निर्माणको घोषणा गरेका सुनीलसँग एउटा ड्रिम छ, नेपालीपन बोकेको चलचित्र बनाउने । नेपाली चलचित्रलाई विश्व बजारमा चिनाउने ।

“यहाँ त्यस्ता धेरै विषय छन्, जुन विश्वमा कहीँ छैनन् । महिनावारी हुँदा गोठमा बस्नुपर्छ । त्यहीँ सर्पले टोकेर किशोरीको ज्यान जान्छ । यहाँ मान्छे मरेपछि उसको लास गिद्धलाई खुवाइन्छ । सबै दाजुभाइकी सगोल पत्नी हुन्छे । यस्ता धेरै मौलिक विषय छन्, जो विश्वको आँखामा पर्छन्,” सुनील भन्छन्, “‘क्याराभान’को विषय यहीमध्येको एउटा त हो नि !”

प्रस्तुति: नरेश फुयाँल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७३  ०७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC