काठमाडौं । निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम साढे ८५ प्रतिशत सकिएको छ ।
आयोजनाको काम अब साढे १४ प्रतिशत मात्र बाँकी छ । यो माघसम्मको तथ्यांक हो । हालसम्म आयोजना निर्माणमा ३२ अर्ब ९८ करोड रुपैयाँ खर्च भएको छ । आयोजनाको कुल लागत ३५ अर्ब २९ करोड रुपैयाँ भएपनि भूकम्प र नाकावन्दी र विभिन्न कारणले बढेर ४१ अर्ब ७८ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षको पुससम्म आयोजनाको प्रगति ३३.३३ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ । चालु आवको ६ महिनामा मात्रै ३३ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ । यो वर्षका लागि सरकारका तर्फबाट १ अर्ब रुपैयाँ बजेट छुट्टाइएको थियो ।
हालसम्म हेडवक्र्स सुरुङ खन्न अब १ हजार ३५० मिटर मात्र बाँकी रहेको आयोजनाका प्रवत्ता डा। गणेश न्यौपानेले बताए ।
उनकाअनुसार हेडवक्र्स कंक्रिट ८६, मुख्य सुरुङ खन्ने ८५, टेलरेस सुरुङ खन्ने सत्प्रतिशत, अडिटलगायत अन्य सुरुङ खन्न ८५, विद्युतगृह र ट्रान्सफरम क्याभर्न खन्ने शतप्रतिशत र विद्युतगृह ट्रान्सफरम क्याभर्न कंक्रिट भर्ने काम ९३ प्रतिशत सकिएको छ ।
पछिल्लो समयमा संशोधित नयाँ कार्यतालिका अनुसार तामाकोसीको पहिलो युनिट ०७५ असार ३१ गते सञ्चालनमा आउने छ । यस्तै बाँकी युनिट सोही वर्षको मंसिर २७ गते सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
भूकम्प र नाकावन्दीले आयोजनाको काम झन्डै डेढ वर्ष अवरूद्ध भएको थियो । भूकम्पले बाँधस्थलसम्म पुग्ने पहुँच सडक भत्काएपछि ३३७ मिटर लामो सुरुङ खनेर सुचारु भइसकेको छ ।
आयोजनामा सिभिल ठेकेदारमा चीनको सिनो हाइड्रो कर्पोरेशन, हाइड्रोमेकानिकल उपकरण आपूर्ति भारतको टेक्सम्याक लिमिटेड, इलेक्ट्रोमेकानिकल उपकरणमा अष्ट्रियाको एन्ड्रिज हाइड्रो र प्रसारणलाइन निर्माणमा भारतको केईसी इन्टरनेसनल रहेका छन् ।