काठमाडौं । भोजभतेर भन्नेबित्तिकै मदिरा जोडिएर आउँछ । मदिरारहित पार्टीलाई खल्लो मान्छन् धेरैजसोले । कतिपय समुदायमा त मदिरालाई अभिन्न र अनिवार्य वस्तुको रूपमा लिइन्छ । ‘सोसल’ हुन भए पनि मदिरा पिउनेको संख्या बढ्दो छ । नेपालीहरूको मदिरा प्रेमलाई ‘क्यास’ गर्दैै उत्पादक कम्पनीहरुले पनि नयाँ नयाँ ब्रान्ड र फ्लेभरमा मदिरा बजारमा ल्याइरहेका छन् ।
सरकारले भने सार्वजनिक कार्यक्रम, विवाह तथा अन्य उत्सवलाई मदिरारहित बनाउन भन्दै मदिरा निरुत्साहित नीति ल्याएको छ ।
स्वास्थ्य मन्त्रालयले बनाएको राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति २०७३ मा सार्वजनिक समारोह, विवाह उत्सवलगायत कार्यक्रमलाई मदिरारहित बनाउने उल्लेख छ । सरकारी तथा सार्वजनिक निकायबाट आयोजना हुने कार्यक्रमहरूमा मदिराजन्य पदार्थको प्रयोग तथा वितरण गर्न पूर्ण रूपमा निषेध गर्ने नीतिमा छ । आम उपभोक्ताले पनि बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म मदिरा किन्न पाउनेछैनन् ।
मन्त्रीपरिषद्बाट सोमबार पारित भएको नीतिमा फुटकर मदिरा किन्ने उपभोक्ताले एक दिनमा १ लिटरभन्दा बढी मदिरा खरिद गर्न नपाउने व्यवस्था छ । नीतिमा भएको व्यवस्था कार्यान्वयन भए÷नभएको अनुगमन र कारबाहीका लागि स्थानीय स्तरदेखि नै छुट्टै सञ्जाल र संरचना निर्माण गर्ने मन्त्रालयको योजना छ ।
२१ वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई मदिरा खरिद, बिक्री र सेवन गर्न निषेध गरिएको छ । यससम्बन्धी सूचना प्रवाह तथा चेतना अभिवृद्धिका लागि मन्त्रालयले प्रवद्र्धनात्मक कार्यक्रमहरू गर्नेछ ।
स्वास्थ्यमन्त्री गगनकुमार थापाका कानुनी सल्लाहकार राजु कटुवालका अनुसार सरकारको यो नीति कार्यान्वयनका लागि चाँडै कानुनी व्यवस्था गरिनेछ । खासगरी मुटुसम्बन्धी रोग, कलेजो एवं विभिन्न प्रकारका क्यान्सर रोगको मूल कारण मदिराको जथाभावी सेवन भएकाले यसलाई नियन्त्रण गर्न मदिरा नीति ल्याइएको उनले बताए ।
मदिरा सेवन न्यूनीकरण गर्न राष्ट्रिय मदिरारहित दिवस मनाइने, मदिराको बोतलको कम्तीमा ७५ प्रतिशत भागमा मदिरा सेवनको कारणले भएको सिरोसिस भएको कलेजो वा मुटुरोगको चित्र र ‘मदिरा सेवन स्वास्थ्यका लागि हानिकारक छ’ भन्नेजस्ता चेतावनीमूलक स्वास्थ्य सन्देश लेख्ने, मदिरा उपभोग गर्ने अन्तिम मिति र मदिराको गुणस्तर उल्लेख गर्नुपर्ने व्यवस्था गरिने नीतिमा उल्लेख छ ।
मदिरा सेवनका कारण थुप्रै स्वास्थ्य समस्या निम्तिने गरेको चिकित्सकहरू बताउँछन् । मदिराकै कारण सडक दुर्घटना, घरेलु हिंसा तथा आत्महत्यासमेत बढेको तथ्यांकले देखाउँछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार मदिरा सेवनका कारण विश्वमा ४ प्रतिशत युवाको ज्यान जाने गर्छ । त्यस्तै, मदिरा सेवन मृत्युको आठौं कारक तत्वको रूपमा रहेको छ ।
के छ मदिरा नियन्त्रण तथा नियमन नीतिमा ?
- नेपाल सरकार, स्थानीय निकाय र विकासका साझेदारहरूबाट हुने कार्यक्रममा मदिरा नियन्त्रणको विषयलाई समावेश गर्न प्रोत्साहन गरिने
- सञ्चारमाध्यममा मदिराको विज्ञापन तथा समाचार सम्प्रेषणलाई निषेध गर्ने
- चलचित्र, टेलिफिल्म, नाटकजस्ता मनोरञ्जनात्मक कार्यक्रममा मदिराको प्रवद्र्धन हुनेगरी अभिनय वा विज्ञापन गर्न नपाइने
- सार्वजानिक स्थलमा मदिरा उत्पादन तथा बिक्रीवितरण गर्न नपाइने
- मदिरा उत्पादन तथा बिक्रीवितरण गर्न अनिवार्य रूपमा लाइसेन्स लिनुपर्ने
- सार्वजनिक, शैक्षिक, पर्यटकीय, खेलकुद, मनोरञ्जन स्थलहरू, धार्मिक, पुरातात्विक, ऐतिहासिक स्थलहरू र सरकारले आवश्यक ठानेका अन्य स्थानहरूलाई मदिरा निषेधित क्षेत्र तोक्ने
- गुणस्तरहीन मदिरा सेवनबाट उपभोक्तालाई पुगेको क्षतिको उत्पादकले क्षतिपूर्ति तिर्नुपर्ने
- घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरणलाई निरुत्साहित गर्ने
- मदिरा उत्पादन, विक्रीवितरण र उपभोगसम्बन्धी कानुन बनाउने