काठमाडौं । निर्माता माधव वाग्लेले निर्माणका हिसावले चलचित्र ‘लुट–२’ साउथ इन्डियन जस्तो रहेको दाबी गरेका छन् । निर्माणमा कुनै कसर बाँकी नराखिएको भन्दै उनले भने, “मेकिङका हिसावले चलचित्र निकै स्तरिय बनेको छ । साउथ इन्डियन जस्तो मेकिङ छ ।”
उनले ‘लुट–२’ बद्लाको कथा भएको स्पष्ट पारे । “‘लुट’ मा हाकु कालेले आफ्नै समूहका साथीलाई धोका लिएर अर्को समूहलाई लिएर बैंक लुटेपछि थुनिएकाहरुले हाकुसँग कसरी बद्ला लिन्छन् यही नै सिक्वेलको मुख्य कथा हो ।” निर्माता वाग्लेले भने ।
आफ्नो चलचित्रले १७ करोड मन्दा धेरै व्यापार गर्ने उनको भनाइ छ । चलचित्र राम्रो बनेको र दर्शकले समेत प्रतिक्षा गरेका कारण ‘लुट–२’ को व्यापार १७ करोड भन्दा धेरै हुने निर्माता वाग्लेले बताए ।
“‘छक्का पञ्जा’ ले १६ करोड ग्रस कलेक्सन गर्यो । यो भन्दा हाम्रो चलचित्रले राम्रो व्यापार गरेर नेपाली चलचित्र उद्योगमा अर्को नयाँ रेकर्ड बनाओस भन्ने हो,” वाग्लेले भने, “नेपाली चलचित्र पनि राम्रा बन्छन् भन्ने कुरा स्थापित हुन पनि यसले व्यापारमा नयाँ इतिहास निर्माण गरोस् भन्ने हाम्रो चाहना हो ।”
यही फागुन १३ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको चलचित्र ‘लुट–२’ को कथा ‘लुट’ को निरन्तरता भएको वाग्लेले बताए । ‘लुट–२’ का मुख्य पात्र सौगात मल्लले ‘लुट’ मा भएका गल्तिलाई सँच्याएर ‘लुट–२’ बनाइएको भन्दै चलचित्र दर्शकले मन पराइदिनेमा आफू विश्वस्थ रहेको बताए ।
“सकेसम्म हामीले चलचित्रमा मेहनत गरेका छौं । केही गल्ति गरेजस्तो लाग्दैन,” मल्लले भने, “व्यापार यति नै गर्छ भनेर त अहिले नै भन्न सकिँदैन तर राम्रो कलेक्सन गर्छ भन्ने हाम्रो अपेक्षा छ । उनले चलचित्रमा यो पटक कमेडीलाई समेत प्राथमिकतामा राखिएको जानकारी दिए ।
निश्चल बस्नेतले निर्देशन गरेको चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, विपिन अधिकारी, सिर्जना सुब्बा, ऋचा शर्मा लगायतका कलाकार फस्टकास्टमा छन् ।
चलचित्रमा माधव वाग्लेसँगै नरेन्द्र महर्जन र निर्देशक निश्चल बस्नेतको पनि लगानी छ । चार वर्षपछि बनेको ‘लुट’ को यो सिक्वेल अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, सिंगापुर लगायतका देशमा लाग्ने भएको छ । यसैगरी युरोपका देशमा पनि चलचित्र हलमै लगाउने विषयमा कुराकानी भइरहेको वाग्लेले जानकारी दिए । उनका अनुसार ‘लुट–२’ प्रोजेक्टरमा नभइ हलमा सरोबरबाटै लाग्नेछ ।