काठमाडौं । अक्टोबर २१, २०१६ मा अपलोड गरिएको चलचित्र ‘लुट–२’ को गीत ‘ठमेल बजार’ ०१७ को फेब्रुअरी २० मा करोड क्लवमा प्रवेश गर्यो । ४ महिनामा युट्युबमा एक करोड पटक सर्च भयो । यो गीतका सर्जक कालिप्रसाद बास्कोटाले बाह्रखरीसँग भने, “खै के भनौं म ? यो खुसीको कुरा हो, म ‘लुट–२’ को टिमलाई धन्यवाद दिन्छु ।”
चलचित्र रिलिज हुनुभन्दा अगाडि नै एक करोडपटक हेरिएको यो पहिलो गीत हो । यसअघि चलचित्र ‘छक्का पञ्जा’ र ‘वडा नम्बर ६’ को गीत ‘सुर्के थैली खै’ र “पूर्व पश्चिम रेल’ पहिेलोपटक क्रमशः युट्युबमा एक करोड पटक हेरिएको थियो ।
“दर्शक, स्रोतालाई यसको धन्यवाद भन्न चहान्छु गीत मन पराइदिनु भएकोमा,” बास्कोटाले भने ।
गीतमा कालिप्रसाद बास्कोटा, मिना निरौला र भानुभक्त ढकालको स्वर छ भने कालिप्रसाद र एकतारेको शब्द छ । गीतमा संगीत पनि कालिप्रसादले नै भरेका हुन् । यही गीतले मिना निरौलालाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित गर्यो भने यही गीतको भिडियोबाट एसिला राईले पनि रजतपटमा आफूलाई चिनाउन सफल भइन् ।
“गीतले राम्रो सफलता पाएको छ, मलाई खुसी लागेको छ,” मिनाले भनिन्, “स्रोता तथा दर्शकको माया अगामी दिनमा पनि रहनेछ भन्ने अपेक्षा गरेकी छु । म कालिप्रसाद दाइलाई विशेष धन्यवाद ।”
भिडियोमा एसिला राईसँगै सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की लगायतले अभिनय गरेका छन्. ।
यसरी जन्मिएको थियो ठमेल बजार
‘लुट–२’ निर्देशक निश्चल बस्नेतले ‘लुट–२’ का लागि गीत बनाउन कालिप्रसादलाई आग्रह गरे । उनले पनि नाइ भन्न सकेनन् । ‘लुट’को आइटम गीत ‘उध्रेको चोली’ हिट थियो । त्यसलाई चुनौती दिने गीत कालिप्रसादले गर्नुपर्ने थियो । त्यो आफैंमा कठोर काम थियो ।
कालिप्रसाद हिन्दी सिनेमाको आइटम गीतको कपी गर्न चाहँदैन थिए । आफ्नै मौलिक केही गर्नुपर्छ भन्ने थियो ।
उनलाई नेपाली मौलिकता पनि झल्किने र डान्सबारमा पनि बज्ने खालको गीत तयार पार्नु थियो । उनले पुराना अग्रज श्रष्टाका गीत सुन्न थाले । बच्चु कैलाश, फत्तेमान, तारादेवी, नारायण गोपाल, गोपाल योञ्जनका गीत सुने ।
उनीहरूका गीत आधुनिक भए पनि तिनमा लोकलय मिसिएको हुन्थ्यो । उनले पनि त्यस्तै नयाँ तर मौकिल अनि आकर्षक गीत सिर्जना गर्नु थियो ।
उनले गीतमा सभ्य र शालिन शब्द छाने । यसका लागि उनले सबिन सिंह (एकतारे)सँग सहकार्य गरे । युवाले प्रयोग गर्ने शब्दमा खेले । लोकलय मिश्रित लय तयार पारे ।
लय र शब्द त तयार भयो, एरेन्जमेन्ट पनि भयो । चाहियो स्वर । त्यस्तो स्वर, जसले उनको लय र शब्दलाई न्याय गरोस् । उनको दिमागमा धेरैको नाम आयो । तर, विश्वास भने गरिहाल्न सकेनन् । अन्ततः उनको दिमागमा एउटा नाम आयो– मीना निरौला । मीनासँग एउटा एल्बममा काम गरेका कालिप्रसादलाई उनको स्वरको स्केल थाहा थियो, मीठास थाहा थियो ।
मीनालाई फोन गरे । माइतीघरस्थित एक स्टुडियोमा भेट भयो । कालिप्रसादले गितारमा मेलोडी सुनाए । मेलोडीमा शब्द पनि मिसाए ।
मीनालाई आफूले पाँच वर्षपहिले खोजेको गीत आज भाग्यको लहरामा लहरिँदै लहिरिँदै आफ्नै गलामा आइपुगे जस्तो पो लाग्यो । हुन्न भन्ने कुरै थिएन । बरु उनलाई भगवान् सम्झन मन लाग्यो ।
मिनाले सम्झिन्, “मैले मोबाइलमा मेलोडी र कागजको टुक्रामा शब्द टिपेँ । र अनामनगरतर्फ लागें ।”
तीन दिनपछि स्टुडियोमा डेट थियो ।
उनले खासै यो गीतका लागि रियाज र अभ्यास गर्नै परेन, किनकि उनको स्वर नै यस्तो लय र गीतका लागि थियो । तर, पनि दुई दिन मिरमिरेमा करिब ४५–४५ मिनेट अभ्यास गरिन् ।
तीन दिन बित्यो । डेटको समय आयो । उनी जमलस्थित डोरेमी पुगिन् । भानुभक्त ढकालसँगै गाइन् । कालिप्रसाद भने थिएनन् । उनी अमेरिका थिए । उनको भाग अमेरिकाबाट फर्किएपछि गाएका थिए ।