site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
रेखा थापाको आग्रहः ‘मलाई एक भोट है’
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्यामेराअगाडि बसेर ‘एक्सन–कट’मा रमाउने चर्चित नायिका रेखा थापा आइतबार भृकुटीमन्डपमा असिनपसिन देखिन्थिन् । केही समयअघि राप्रपा प्रवेश गरेकी नायिका थापा पार्टी एकता महाधिवेशनका ३४ सय प्रतिनिधिको आकर्षणको केन्द्र थिइन् । ‘एक भोट मलाई है !’ भन्दै सबै मतदातालाई भेट्न भ्याइरहेकी उनलाई देख्ने जोकोही फोटो खिच्न लालायित हुन्थे र क्यामेरा तेर्स्याइहाल्थे ।

महाधिवेशनको दौडधूपकै बीचमा बाह्रखरीका लागि नायिका थापासँग अक्षर काकाले गरेको कुराकानीको सारसंक्षेप :

क्यामेरा अघिल्तिर उभिएर हाउभाउ गर्ने कलाकार राजनीतिक मैदानमा उत्रिएर भोट माग्दै हुनुहुन्छ, कस्तो अनुभव भइरहेको छ  ?
तात्विक भिन्नता केही पाएकी छैन । फिल्म चलाउने बेलामा पनि मलाई यस्तै दौडधूप र भागदौड हुन्छ । हतारोले गाँजि नै रहेको हुन्छ । त्यहाँ दर्शकहरूलाई ‘प्लिज ! मेरो फिल्म हेरिदिनुहोस् भन्नुपर्छ !’

Prabhu Bank
Agni Group
NIC Asia

फिल्म हलसम्म दर्शकलाई नपुर्‍याउँदासम्म चलचित्र सफल हुँदैन र फिल्मको उद्देश्य पूरा हुँदैन । विजय हासिल पनि गर्न सकिँदैन । यहाँ पनि उसैगरी भोट मागिरहेको छु । अनुहार देखेरै थाहा पाउनुहुन्छ, म कुनै मतदाता/प्रतिनिधिकहाँ पुग्न छुटाएकी छैन । त्यो विजय र यो विजयमा मैले कुनै फरक अनुभूत गरेकी छैन ।

मतदाताहरूलाई के भनेर अपिल गरिरहनुभएको छ ?
आजका मतदाताहरू अत्यन्तै सजग र सचेत हुनुहुन्छ । उमेदवार र उसको व्यक्तित्व, समाजमा उसले पार्न सक्ने प्रभाव, देशप्रति निभाउन सक्ने भूमिकाका विषयमा उहाँहरू जानकार हुनुहुन्छ । त्यसैले पुराना राजनीतिकर्मीसरह मतदातालाई प्रभावित पार्नुपर्ने कुनै आवश्यकता ठानेकी छैन मैले, त्यसको औचित्य र उपादेयता पनि छैन । त्यो ‘रेस’मा लाग्नु पनि हुँदैन म । 

Global Ime bank

अहिलेका मतदाताले कुनै अमुक पार्टीको अमुक महाधिवेशनका लागि मात्रै सोच्ने होइन, देशकै निर्वाचनको बारेमा दृष्टि पुर्याउनुपर्छ, पार्टीको भन्दा ज्यादा चिन्ता देशको हुनुपर्छ । त्यसैले सही, नेतृत्व, सही दृष्टिकोण भएको उमेदवारको बारेमा विचार पुर्‍याउनुपर्छ । यो नेतृत्व आएमा देशलाई समृद्ध बनाउन सक्छ भन्ने विचार–विमर्शका आधारमा नेतृत्व चयन गर्नुपर्छ । पार्टीको नेतृत्व चयनमा पनि तिनै कुरा ध्यान दिनुपर्छ ।

आफूमा क्षमता छैन भने मतदातालाई चाकडी गरेर हुँदैन । चाप्लुसी गरेर एक–दुईपटक निर्वाचन त जित्न सकिएन तर टिकाउ र दीगो हुँदैन । हामी चाकडी र चाप्लुसीमा अल्झँदा मुलुकको यो दुर्दशा भयो । देश तहसनहस भयो । उमेदवारले मत माग्यो कि मागेन प्रमुख कुरा होइन, मुख्य कुरा उसभित्र त्यो क्षमता छ कि छैन भन्ने हो ।

हामीकहाँ फगत झोले प्रवृत्ति हावी भयो । हात जोडेर एकछिन फकाए त जसले पनि मत दिइहाल्छ नि ! त्यस्तो हुँदा सही नेतृत्व आउँदैन । पार्टीको चुनाव त एउटा कुरा हो, राष्ट्रिय चुनावमा पनि त्यही भयो भने मुलुक त पछाडि पर्छ नि ।

हिजो मलाई उहाँहरूले नै कलाकार बनाउनु भएको हो, नायिका/निर्माता बनाउनु भएको हो । आज पनि उहाँहरूले नै मलाई केन्द्रीय सदस्यमा विजयी बनाउनुहुन्छ । र, मैले उहाँहरूको मतलाई खेर जान दिने छैन ।

रेखा थापाप्रति प्रतिनिधिको कस्तो उत्साह छ ?
राप्रपामा म भर्खरै जोडिए पनि उहाँहरूका लागि म नौलो व्यक्ति होइन । पर्दामा बारम्बार देखिएको मान्छे हुँ म । चलचित्रको माध्यमबाट उहाँहरूले मेरो क्षमता र व्यक्तित्वको मुल्यांकन गरिसक्नुभएको छ ।

भेट हुँदा रेखा थापा पार्टीको नेतृत्वमा मात्रै होइन, देशकै नेतृत्वमा आउनुपर्छ भन्ने उहाँहरूको अपेक्षा छ । मलाई देख्दा उहाँहरूको अनुहारमा एक किसिमको खुसी सलबलाएको पाउँछु । उहाँहरूको मायाबाट उत्साहित छु म । 

बढीजसो प्रतिनिधिले रेखा थापासँग के अपेक्षा राख्छन् ?
यहाँ फगत केन्द्रीय सदस्यको कुरा भइरहेको छ । रेखा थापाले कुशल नेतृत्व प्रदान गर्न सक्छिन् भन्ने उहाँहरूमा विश्वास छ । रेखा थापा कस्तो प्रकारको नारी हो, उसको एजेन्डा के हो भन्ने बारेमा मैले मतदाता/प्रतिनिधिहरूलाई दोहोर्‍याइ–तेहेर्‍याइ बुझाइरहनुपर्ने विषय होइन । सबैले बुझिसक्नु, जानिसक्नु भएको छ ।  देशको कलाकार हुनुको नाताले उहाँहरूले त्यस्तो अतिरिक्त केही अपेक्षा राख्नु भएजस्तो मलाई लाग्दैन । कलाकारिता क्षेत्रमा एउटा सफलता हात पारिसकेको व्यक्ति पार्टीलाई आवश्यक छ भन्ने नै उहाँहरूको सोचाइ छ ।  

कलाकार त देशको गहना, राष्ट्रिय व्यक्तित्व, एउटा पार्टीको कार्यकर्ता बन्दा उसको भूमिका खुम्चँदैन ?
राप्रपाबाहेक म अन्य पार्टीमा थिएँ भने यो प्रश्न उपयुक्त हुन्थ्यो । यो पार्टी अरु पार्टीजस्तो होइन, धेरै फरक छ । राष्ट्रियता यो पार्टीको मूल मन्त्र हो । हिन्दु राष्ट्र यसको लक्ष्य हो । राष्ट्र निर्माता पृथ्वीनारायण शाह जसले यो मुलुक एकीकृत गरे । देशलाई एक ढिक्का बनाए । एकताको सूत्रमा कसे । उहाँलाई नायकको रूपमा शिरमा राखेर हिँडेको पार्टी हो यो । राप्रपा नेपाली माटो सुहाउँदो, मौलिक पार्टी हो । यहाँलाई अवगत नै भएको विषय हो, अन्य पार्टीहरूका नायक विदेशी छन् । जनताले गर्वगर्न लायक, छाती फुलाएर हाम्रो भन्न सक्ने पार्टी हो राप्रपा ।

यस्तो अर्ग्यानिक पार्टीमा लाग्दा उसको भूमिका खुम्चँदैन, झनै विस्तृत र फराकिलो बन्छ । अर्को म राष्ट्रिय कलाकार हुँ । तथापि म एउटा आम नागरिक पनि हुँ, मैले नागरिकता लिएको छु, भोट हाल्ने अधिकार राख्छु भने पार्टी चयन गर्न किन पाउँदिन ? मेरो स्वतन्त्रताको कुरा हो यो । पेशा कलाकार हो, तर राजनीतिमा लागेर देशको सेवा गर्न नपाउने भन्ने हुन्छ र ?

म देशको गहना होइन, अंग हुँ । कलाकार राष्ट्रका गहना भनेर म कहिल्यै पनि मान्दिनँ । मलाई सजाउने अधिकार कसैलाई छैन । संस्कृति, रितिरिवाज, परम्परा, धर्म मूल्य मान्यताको जीवनन्ताभित्र हुर्किएकी मान्छे हुँ । तिनैकुराको संरक्षण, संवद्र्धन गर्ने पार्टीमा छु । यसकारण मलाई गर्वानुभूति छ । 

राप्रपाको कुन पक्षले तपाईंलाई छोयो  ?

देखिरहनुभएको छ नि, राप्रपाका सौम्य, भद्र कार्यकर्ता । उनीहरूको हातमा इँट्टा छैन । राँको बोकेर हिँड्दैनन् । हतियार बोकेर मान्छे मार्न पनि हिँडेका छैनन् ।

ध्वंस, विध्वंसमा कहिल्यै विश्वास राख्दैनन् । सालिन र भद्र व्यक्तित्वका धनी छन् । यिनै कुराले म ज्यादा प्रभावित भएँ । तसर्थ पनि यो महाधिवेशनले सही र योग्य नेतृत्वको चयन गर्नेछ । 
 

चलचित्रमा जगतमा नायिका/निर्माता/निर्देशन भइसकेको/गरिसकेको मान्छे, त्यहाँ के पूरा गर्न सक्नु भएन र पार्टीको झन्डा बोकेर मैदानमा ओर्लनुभयो ?
चलचित्रले सूचना र सन्देशमात्रै सम्प्रेषण गर्ने सामथ्र्य राख्छ, समाज बदल्ने सामर्थ्य चलचित्रले राख्दैन । चलचित्रमा म महिलाको एजेन्डा उठाउँछु । चलचित्रमै काम गर्ने सिलसिलामा थुप्रै ठाउँमा जाँदा महिलाहरूले गुनासो पोख्नुहुन्छ– मलाई श्रीमानले कुटपिट गर्नु हुन्छ । मैले अंश पाइनँ । म दुव्र्यवहारमा परेँ, आदि । 

समाजमा महिलामाथि अन्याय, अत्याचार, विभेद, हिंसा, दुर्व्यवहार, बलात्कार अद्यावधिक छ । महिलाहरूले समाजमा भोग्नु परेको पीडा सुन्दा मलाई असाध्यै पीडाबोध हुन्छ । आँखा रसाउँछ । मैले कतिपयलाई मोटिभेट गरेँ । तथापि त्यो क्षणिक हो । कानुनी उपचार, नीतिगत उपचार मसँग छैन ।  

त्यस्तो उत्पीडन, शोषण दमनमा परेका दिदीहरूहरूका लागि पनि म राजनीतिमा आउनुको विकल्प छैन । उनीहरूकै मुक्तिकै लागि मुट्ठि कसेर होमिएको हुँ । रिल लाइफमा भिलेनलाई कुटेर, डाङडाङडुङडुङ गरेर मात्रै हुँदैन, रियल लाइफमा पनि महिलाको मुक्तिका लागि केही गर्नैपर्छ भनेर राजनीतिमा होमिएको हुँ । 

राप्रपामार्फत मुलुक परिवर्तनका लागि आगामि दिनमा रेखा थापाले खेल्ने भूमिका के हो ?
नवीन सोच छ ममा । पुरानो राजनीतिक ह्याङओभरबाट बाहिर आइसकेको छु म । म युवा हुँ । चलचित्रमा पनि दश–पन्ध वर्ष अझै काम गर्न सक्छु, नायिका, निर्माता, निर्देशकको हिसाबले ।

राजनीतिमा लागेर जनतालाई उत्प्रेरण जगाउने आवश्यकता देखेको छु मैले । चार वर्ष अगाडि मेरै मतदाता नामावलीमा नाम थिएन । जनता जगाउँदै हिँड्ने मान्छेकै मतदाता नामावलीमा नाम नहुँदा मलाई अप्ठ्यारो लाग्यो, तर मलाई कसैले मोटिभेट गरेन । भोट किन हाल्नुपर्छ भनेर बुझाएन ।

अतः प्रत्येक नागरिकलाई मतदान गर्ने अधिकारको बारेमा सुसूचित गर्नुपर्छ, अन्यथा मुलुकले सही नेतृत्व पाउँदैन । लहड, आग्रह, पूर्वाग्रहको आधारमा होइन, योग्यता र सक्षमताको आधारमा नेतृत्व चयन गर्नुपर्छ नत्र मुलुकले दुर्दशाबाट मुक्ति पाउँदैन भन्ने कुरालाई जोडदार रूपमा अघि बढाउन चाहन्छु । 

अहिले पनि देश विप्रेषणमा चलिरहेको छ । एयरपोर्टबाट लाम लगाएर युवा विदेश पठाउने र तिनले पठाएको पैसाले घर परिवार मात्र होइन देशै चलाउनुपर्ने अवस्था छ । युवा विदेशमा पसिना बगाउने, यहाँ हामी तिनीहरूको पैसा ठट्टामा उडाउने दुःखद् अवस्थाको अन्त्य हुनुपर्छ । बूढा बाआमालाई एक्लै छाडेर, भर्खर विवाह गरेर विदेशीएका युवा र तिनको परिवारको आँसु देशलाई भारी भइसक्यो ।

२० वर्ष अगाडिका उद्योगधन्दा कलकारखाना खोई ? अरु देश २० बाट ४०  पुर्‍याउने, हामी शून्यमा झार्ने ! यस्तो विद्रुप अवस्थाको अन्त्य हुनैपर्छ । जनयुद्धका नाममा हिजो सारा कुरा ध्वस्त बनाइयो, ती सबै कुरा बनाउनुपर्नेछ । त्यसका लागि पनि म राप्रपामा होमिएको हुँ ।

राजनीतिमा होमिनुभयो,  पदप्रतिको लालसा कत्तिको छ, कुनैदिन प्रधानमन्त्री हुन्छु भन्ने लाग्छ ?
राप्रपा धार्मीक पार्टी हो । खरानी धस्ने सबै जोगी हुँदैनन् । जसले खरानी धसेर हिँडेको हुन्छ, पवित्र उद्देश्य राखेको हुन्छ उसले जोगी हुँ भनेर चिनाइ पनि रहनुपर्दैन । ममा पदप्रतिको कुनै लालसा छैन ।

प्रधानमन्त्री बन्ने अभिलाषा छैन मेरो । पद पाउँछु भनेर राजनीतिमा आएकी पनि होइन । राजनीति मेरो सेवाभाव हो, अरु कुरा कलाकारिताबाटै कमाउन चाहन्छु  । पद चाहिने नयाँ जोगीलाई हो, मलाई कुनै आवश्यकता छैन । 

मुलुकमा राजा फर्कने सम्भावना कत्तिको देख्नु भएको छ ?
महाधिवेशनले टुंग्याइसकेको विषय हो यो । जनताले चाहे भने नफर्कने कुरै छैन । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७३  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC