site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
माओवादी केटो
Ghorahi CementGhorahi Cement

सबिता आचार्य

Twitter : @AcSabita


 

Agni Group

एकैछिन अघिसम्म आमाको अनुहार उज्यालो थियो । अचानक अँध्यारिनुभयो ।

आमालाई के भयो, थाहा पाउनै सकिनँ ।

Global Ime bank

मैले नचिनेका एकजना पाहुना घरमा आएका थिए । ती पाहुना आएदेखि नै आमाको अनुहारबाट कान्ति हराएको थियो । कोही भित्र आउँदा पनि तर्सेर हेर्नुहुन्थ्यो ।

आमालाई 'को हो त्यो मानिस ?' भनेर पनि सोध्न सकिनँ ।

हातमा चिया बोकेर त्यो नयाँ मान्छे बसेको ठाउँमा आमा आउनुभो । म पनि आमाकै पछि लागेर गइदिएँ ।

मैले नचिनेको मान्छेलाई डराई-डराई चिया दिन हात लम्काउनुभो आमाले । अनि, उसको ढाडमा हात राख्दै बिस्तारै भन्नुभो, "मेरो घरमा पनि माओवादी पस्यो !"

मलाई एकदमै डर लाग्यो, "ला... यो त माओवादी पो रै'छ । अब के गर्ने होला ?"

दिदी स्कुलबाट आउँदा 'आज हाम्रो स्कुलमा माओवादी आएर पढाइ नै भएन' भन्नुहुन्थ्यो प्राय: ।

दिदीले त्यसो भन्दा मलाई माओवादी हेर्न खुब रहर लाग्थ्यो ।

तर, आज आफ्नै घरमा माओवादी देखेर डर लाग्यो !

आमा त्यो माओवादीसँग कुरा गर्न लाग्नुअघि मलाई भन्नुभो, "तल बाटोतिर हेर् त नानी ।"

मैले बुझिहालेँ, पुलिस आएका छन् कि भनेर हेर्न पठाउनुभएको हो । बाहिर गएर पुलिस आए कि भनेर हेर्न थालेँ । त्यही बेला बुवा आउनुभो । ढोकैमा उभिएर सोध्नुभो, "ढोका किन लगाएको?"

म बुवानजिक पुगेँ । अनि उहाँको कानमा खुसुक्क भनेँ, "माओवादी आ'का छन् के ! माओवादी !"

"के भन्छे यो ?!" झोक्किँदै भित्र पस्नुभो ।

म बाहिरै थिएँ । देखिने ठाउँसम्म आँखा बिच्छ्याएर बाटोमा पुलिस हेरेँ र भित्र गएँ । पुलिस आएका थिएनन् ।

अचम्म त त्योबेला परेँ, जतिखेर त्यो माओवादीले बुवालाई, "आराम हुनुन्छ ?" भन्दै खुट्टैमा ढोग्यो !

बल्ल मैले थाहा पाएँ त्यो मान्छे को रहेछ !

आमा र बुवा डराई-डराई कुरा गर्नुभएको थियो । मचाहिँ घरिघरि बाहिर-भित्र गरिरहेकी थिएँ ।

केही बेरपछि आमाले मलाई अह्राउनुभो, "दाइलाई नमस्ते गर् नानी ।"

मनमनै लाग्यो– यस्तो माओवादीलाई पनि केको नमस्ते गर्नू र !

अहिले मेरो घरमा माओवादी आयो भन्ने थाहा पायो भने पुलिसले के गर्ला भन्ने डरले म खुम्चिएँ ।

अनि नमस्ते-समस्ते गर्न मन लागेन । गरिनँ । आमाले कर पनि गर्नुभएन ।

बुवाआमाले त्यो माओवादी दाइसँग कुरा गरेको घोरिएर सुन्न थालेँ । अनि पो थाहा पाएँ ऊ त मेरो आफन्त नै पर्ने रहेछ । ऊ त मेरी आमाको दिदीको छोरा अर्थात् मेरो आफ्नो दाइ पो रहेछ !

अब मलाई ऊसँग डर लाग्न छोड्यो ।

ऊ दिन बिराएर हाम्रो घर आउँथ्यो । बिस्तारै त्यो माओवादी केटो मेरो दाइमा परिणत हुन थाल्यो । घर आउँदा उसले मलाई चक्लेटहरु ल्याइदिन्थ्यो । अब बल्ल त्यही पहिलेको 'माओवादी केटो' मेरो सबैभन्दा प्यारो र आफ्नै दाइ भयो ।

गाउँमा गड्याप-गड्याप हिँड्ने जोकोही माओवादी देख्नेबित्तिकै 'विकल्प दाइ कता हुनुहुन्छ ?' भनेर सोधिहाल्थे ।

गाउँमा माओवादी बढ्न थालेपछि पुलिसको संख्या बढ्दै थियो । घरदेखि पारिपट्टी पुलिस चौकी थियो । त्यसैले पनि हामीलाई दाइ आउँदा एकदमै डर लाग्थ्यो ।

एकदिन विकल्प दाइले अर्का एकजनालाई पनि लिएर आयो । त्यसपछि हाम्रो घरमा माओवादीको आवतजावत बढ्न थाल्यो । कहिले राति बसेर जान्थे त कहिले एक-दुई दिन बसेर । टोल-छिमेकमा कसैले थाहा पाउँछन् कि भन्ने डर हामीलाई सधैँ हुन्थ्यो । त्यही भएर दाइ आउनेबित्तिकै हामीले कुनै एउटा कोठामा उसलाई राखेर बाहिरबाट ढोका लगाउँथ्यौँ । संकटकालको समय थियो । दाइ खुसुक्क भित्र आउँथ्यो, भित्रै बस्थ्यो । खाना पनि त्यही कोठामै खान्थ्यो । अनि खै के–के कुरा गर्थ्यो । मजस्ता केटाकेटीलाई भित्र गइहाल्न मनाही थियो ।

धेरै दिनपछि दाइ तीनजना अरू मान्छे लिएर आयो । बेलुका खाना खाएपछि बुवा-आमासँग बसेर यताउतिका कुरा गर्न थाल्यो ।

वर्षाको समय । बाहिर मुसलधारे पानी परिरहेको थियो । दाइले आफू त्यहाँ आउनुको कारण भन्न थाल्यो, "हामी अब यो चौकी आक्रमण गर्ने तयारीमा छौँ । त्यसैले सानिमा भोलि बिहान हामीसँग जंगल जानुपर्छ । हामी घाँस काट्ने निहुँ पारेर तपाईँसँग जान्छौँ र त्यहाँको नक्सा बनाएर ल्याउँछौँ ।"

दाइले आफ्नो कुरा सकेकै थिएन । एक्कासि बुवा पड्किनुभो, "हैन तैँले हाम्लाई मार्ने विचार गरेको छस् कि क्या हो !! तँ त बूढा बाउआमा छोडेर जंगल पसिस् पसिस्, अब हाम्लाई पनि अप्ठ्यारोमा पार्न खोज्छस् ?"

बुवाका आँखा राताराता भएको देखेँ, "जान्ने सानिमा ! तँ एक्लै जा ! तँ त गैहाल्छस्, हाम्लाई त हो नि गाह्रो हुने !"

दाइले बुवालाई सम्झाउँदै के–के कुरा भन्यो तर पनि बुवा भोलि आमालाई पठाउन राजी हुनुभएन ।

मलाई पनि डर लाग्न थाल्यो, केही गरी आमा जंगल जानुभयो भने ? केही गरी पुलिसले थाहा पाए भने ? यी कुरा सोच्दामात्रै पनि मन जिरिंग भयो ।

आमा जान तयार हुनुभएन । दाइले बुवा–आमालाई मनाउन सक्नुभएन ।

भोलि बिहान घरदेखि अलि पर गएर चौकी आक्रमणका लागि नक्सा तयार पार्‍यो । अनि खुसुक्क घर आएर बुवा-आमासँग फुस्फुसायो, "चौकीमा जतिबेला पनि आक्रमण हुन सक्छ, आफ्नो ख्याल गर्नुहोला !"

"म बाँचेँ भने फेरि आउँछु... नत्र यत्ति नै भयो...," जाने बेला बुवा–आमाको खुट्टामा ढोग्यो दाइले ।

देखेँ- बुवाआमाका आँखा रसिला भएका थिए । बेस्कन कुरा त बुझिनँ मैले । तर, दाइ घमासान युद्ध मैदानमा जान लाग्दै थियो । गोली लाग्छ कि भन्ने पीरले म निस्सासिएँ । मेरा आँखा पनि रसिला भए । म रुन थालेँ । दाइले मलाई अँगालेर ढाडमा थप्थपायो । र, 'राम्ररी पढ् है' भन्दै सरक्क गयो ।

दाहिने हात बेलाबेला अनुहारतिर लगिरहेको देख्यौँ ।

केहीबेरमा दाइ अलप भयो । हामी घरभित्र पस्यौँ । आमा धेरैबेरसम्म सुक्सुकाउनुभयो । बुवाको पनि घाँटीमा केही अड्कियो । बुवा-आमा रोएको यसअघि देखेकी थिइनँ ।

देखेँ । म बेस्कन रोएँ ।

मेरो माओवादी दाइ त्यो दिन हामीबाट बिदा भएर गयो ।

हामी भने कहिले चौकीमा आक्रमण गर्ने हुन् भन्दै डराएर बस्न थाल्यौँ । दाइ गएको तीन दिनपछि असुरक्षा धेरै भयो भनेर चौकी सदरमुकाममा सारे ।

० ० ०

चौकी सरेको एक हप्तापछिको एउटा बिहान ।

घरनजिकै बन्दुक हो कि बम पड्किएको ठूलो आवाज आयो, एक्कासि ।

मैले लुकेर कौसीमा चढेर प्रहरी चौकी भएको ठाउँतिर हेरेँ । त्यहाँ आगो पुत्ताइरहेको थियो ।

धूवाँसँगै आकाशतिर एउटा ध्वनि फैलिइरहेको थियो, "नेकपा माओवादी जिन्दावाद, क्रान्ति सफल पार्नेछौँ, नेकपा माओवादी जिन्दावाद !"

चौकीमा आगो लागिरहेकै बेला फेरि मेरो माओवादी दाइ घर आयो । दाइलाई देख्दा हामी सबै खुसी भयौँ । डर मिसिएको खुसी त्यहीबेला जानेँ ।

जाने बेला दाइले बुवा आमालाई फेरि ढोग्यो ।

मलाई थप्थपाइरहेको उसलाई सोधेँ, "पुलिस नभएको चौकीमा किन आगो लगाएको ?"

"सिंह बस्ने गुफामा फेरि सिंह जुनसुकै बेला आएर बस्न सक्छ, त्यही भएर आगो लगाएको ! क्रान्ति सफल हुनेछ," दाइ मसँग बर्बरायो ।

सिंह ? आगो ? क्रान्ति ? मैले केही बुझ्नै सकिनँ ।

दाइ दगुर्दै पर पुगिसकेको थियो । म कराएँ, "के भनेको दाइ, मैले त केइ बुझिनँ ।"

"नानी म फेरि आउँछु र सबै कुरा भन्छु !!" दाइ दाहिने हात हल्लाउँदै गयो । पछाडि फर्किएन ।

बुवा, आमा र म टोलाइरह्यौँ ।

० ० ०

कति साल हो, ठ्याक्कै याद छैन । फागुनको महिना सल्यानको शीतलपाटीमा माओवादी र सरकारी सेनाबीच ठूलो भिडन्त भयो । हामीले समाचारमा सुन्यौँ- धेरै संख्यामा माओवादी मरे रे !

मलाई एकदमै डर लाग्यो । झुस्स दाह्री पालेको, मैलो सर्ट लगाएको दाइलाई सम्झिएँ । चिहिरिन मन लाग्यो । बुवा–आमा पनि डराउनुभयो ।

"अब एकदमै ठूलो लडाइँ हुँदैछ । के हुन्छ थाहा छैन । बाँचिन्छ कि मरिन्छ...!"

दाइले जाने बेला भनेको यो वाक्यको नमीठो झंकार बेस्सरी सुनेँ ।

"यस्तो भनेर गएको थियो के भयो, मेरो बाबु..." आमा रुन थाल्नुभयो । आमा त्यसरी रोएको देख्दा म अमिलिएँ । एकदम नरमाइलो लाग्यो । बुवा अर्कोपट्टि फर्किएर सुँक्क-सुँक्क गर्न थाल्नुभयो । म आमाको काखमा लुटुपुटु गरेर भक्कानिएँ ।

केही घण्टापछि थाहा पायौँ, मलाई कुरा बुझाउन आउँछु है नानी भनेर गएको दाइ नआउने भयो फर्केर !!

आमा दाइको घर (आफ्नी दिदीको घर) जाने सुर कस्नुभयो । म पनि आमाको पछि लागेर गएँ ।

ठूलीआमाको घर पुग्दा देखेँ, त्यहाँ देखिनसक्नु दृश्य थियो । अरू थुप्रै माओवादीहरु समवेदना दिन घरमा आएका थिए । हरियो रङले घर आक्रान्त थियो । परिवारका सदस्यको अनुहारचाहिँ एकदम फिक्का ! लाग्यो– मृत्युको रङ त्यस्तै फिक्का हुन्छ !

उनीहरु क्रान्तिकारी भाषण गरिरहेका थिए ।

ठूलीआमा बेहोस हुनुहुन्थ्यो । मलाई त्यहाँको वातावरण देखेर एकदमै नरमाइलो लाग्यो । एकदमै चिच्याएर रुन मन लागेर घाँटी एक्कासि भुक्लुक्क भयो ।

दाइले भनेका कुरा दिमागमा चलचित्रको दृश्यजस्तै चलमलाउन थाले । सानै थिएँ । तर, मष्तिस्कमा परेको चोट निकै ठूलो !

पिँढीमा कुर्सीमाथि दाइको फोटो थियो । फोटोको छेउमा बत्ती बलिरहेको थियो । दाइ मुस्कुराइरहेको थियो ।

तर, हाम्रो घरको बत्ती निभेको थियो । दाइ अब फेरि कहिल्यै मुस्कुराउन नसक्ने भएको थियो ।

एउटी आमाको काखको दियो निभिसकेको थियो ।

श्रीमतीको सिउँदोको रङ सधैँलाई पुछिएको थियो ।

'म फेरि आएर तँलाई सबै कुरा बुझाउँछु है नानी' भनेर दाहिने हात हल्लाउँदै गएको दाइ त्यसपछि कहिल्यै फर्किएन ।

मैले कुरा बुझ्नै पाइनँ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ७, २०७३  १०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC