site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
म किन चुरे बचाउन चाहन्छु ? 
Ghorahi CementGhorahi Cement

म तराईंमा जन्मेको मान्छे हुँ । त्यहाँ पहिले राम्रो बाटो पनि थिएन । पहाडमा गोरेटो र घोडेटो बाटो थिए भने तराईमा घोडेटो र बयलगाडा । बाटोघाटो केही थिएन, जताजतै जंगलैजंगल थियो । चुरेको फेदमा चारकोसे झाडी थियो ।

चुरेमा वनजंगल निकै घना थियो । वन्यजन्तु र जीवजन्तु थिए । तल तराई त्यसबेला स्वर्ग नै थियो । तराईमा धान, दलहन, तेलहन, गहुँ, सबै अन्नको भण्डार थियो त्यो । 
त्यहाँ पानी थियो, त्यसैले पनि उब्जनी प्रशस्तै हुन्थ्यो । तराईमा फलफूल त्यत्तिकै थियो । माछा, पशुपालन, दूध राम्रो हुन्थ्यो ।
त्यसबेला पनि तराईमा गाईभैंसी चराउने प्रचलन थियो ।

Agni Group

हाम्रा वस्तुभाउ ६ महिना चुरेको फेदमा रहेको जंगल क्षेत्रमा र ६ महिना तल रहन्थे ।
त्यो मेरो अनुभव छ । म आफैं पनि त्यहाँ गाई र भैंसी चराउन पुग्थें ।  मलाई त्यसबेलादेखिकै अनुभव थियो । 
पछि जनताको साथ, समर्थन र मायाले नै म राष्ट्राध्यक्षसम्म भएँ ।  मैले जहिले पनि राष्ट्र जोडेर जानुपर्छ भन्ने धारणा राख्थेँ । यो मेरो र राष्ट्रको स्वार्थ थियो । तराईको जमिन र चुरे मिलाएर मुलुकको ३४ प्रतिशत भूमि हुन्छ । त्यसको संरक्षण गर्नुपर्छ अनिमात्र पहाड र तराई बलियो हुन्छ भन्ने मान्यता मैले राख्थें ।
मैले देखेको त्यो घना जंगल हाम्रै उमेरमा समाप्त हुने भयो भन्ने चिन्ता मलाई जहिले पनि लाग्थ्यो । हामीले देख्दादेख्दै चुरेको त्यो जंगल समाप्त हुँदैछ । ढुंगा माटो, बालुवा खेर गइरहेको छ । यसले मरुभूमिकरण गराउँदैछ भन्ने मलाई पहिले नै लागेको थियो ।
म राष्ट्राध्यक्ष हुँदा मैले राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने लाग्यो । मैले सबै पक्षसँग छलफल गरें । मैले मेरा सल्लाहकारसहित बाहिर रहेकाहरुसँग पनि छलफल गरेँ । कसैले शिक्षा, कसैले स्वास्थ्यका क्षेत्रमा काम गर्नुस् भनेर मलाई सुझाव दिए ।

मैले उनीहरूलाई जवाफ दिएँ, त्यो त मैले रिटायर्ड भएर पनि गर्न सक्छु । तर अहिले मलाई यस्तो कुरा दिनु छ, जहाँ पहाड र मधेसलाई पनि जोड्न सकियोस्, मुलुकलाई पनि फाइदा पुगोस् । त्यसले मधेस र पहाडलाई जोड्न सकोस् ।  त्यसपछि मैले एउटा प्रस्ताव अघि सारेँ । चुरेलाई केन्द्रमा राखेर काम गरौं भन्ने मेरो प्रस्ताव थियो । जसले गर्दा मैले भनेका कुराहरु पूरा हुन सक्नेछन् ।
चुरेलाई केन्द्रमा राखेर काम गर्ने हो भने मधेसी र पहाडी दुवै मिल्नुपर्छ । किनकि चुरे बचाउन दुवै पक्षको भूमिका उत्तिकै रहन्छ । त्यो मेरो थिम पनि थियो । ६० प्रतिशत जनसंख्या र ३४ प्रतिशत भूमिको रक्षा पनि गर्नुपर्नेछ ।
त्यो ‘कन्सेप्ट’ मेरो दिमागमा आएपछि मैले त्यसबेलाका अर्थसचिव रामेश्वर खनालसँग कुरा गरेँ । उहाँ कन्भिन्स हुनुभयो । उहाँले नै सुरेन्द्र पाण्डेलाई भन्न लगाउनुभयो । मैले उहाँलाई पनि बोलाएर यो कार्यक्रमका बारेमा जानकारी गराएँ । उहाँ पनि सकारात्मक हुनुभयो । त्यसपछि प्रधानमन्त्री माधवकुमार नेपाललाई बोलाएँ ।
त्यसपछि मैले भनेँ, माधवजी ! तपाईं प्रधानमन्त्री हुनुहुन्छ । म यो मुलुकको राष्ट्राध्यक्ष छु । हामी दुवै जना मधेसका बासिन्दा हौं तर मधेस मरुभूमि हुँदैछ । यसलाई तपाईं र हामी मिलेर जोगाउनुपर्छ । मधेसलाई मरुभूमिकरण हुन दिनुहुँदैन । 
मैले उहाँसँग डिटेल छलफल गरेँ ।  त्यसपछि यो अभियान सुरु गरिएको हो । माधव नेपालसँग छलफल गरेको केही समयपछि रामेश्वर खनाल आउनुभयो । 
अर्को दिन रामेश्वर खनाल आएर सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम राखेका छौं भनेर भन्नुभयो । मैले उहाँलाई भनेँ, मेरो नाममा नराखौं । यसले आफ्नै नाममा राख्यो भनेर फेरि विवाद हुन्छ ।
रामेश्वर खनालको जवाफ थियो–राष्ट्र जबसम्म रहन्छ तबसम्म राष्ट्रपति रहन्छ । गणतन्त्र आएको छ, यो डा. रामवरण यादवको नाममा राख्न लागेको होइन, राष्ट्रपतिको नाममा राख्न खोजेको भनेपछि म कन्भिन्स भएँ ।
म १५ वर्षको उमेरसम्म गाउँमा गाईभैंसी हेरेरै बसेको मान्छे हुँ । मलाई त्यसबेलादेखिको अनुभव थियो । त्यसैले नै मैले यसलाई कसरी बचाउने भनेर कुराकानी गरेको हुँ । 
चुरेको माटो र ढुंगा उत्खनन् पहिलेदेखि नै भएको हो । कसैले क्रसर उद्योग र सिमेन्ट फ्याक्ट्री चलाउँछ भने त्यो उसको कुरा हो, कहाँबाट चुनढुंगा ल्याउने ? कहाँबाट अन्य कच्चा पदार्थ ल्याउने ? उसैले तयारी गर्नुपर्छ तर चुरेको दोहन गर्न पाइँदैन । यो ६० प्रतिशत जनताको जीवनसँग जोडिएको छ । र त्यो भूमि मरुभूमिकरण हुँदैछ, यसलाई जोगाउनैपर्छ ।
अहिले पूर्वको जंगल खतम भइसक्यो । पश्चिमतिर सर्दैछ । कैलालीसम्मको जंगल फडानी भइरहेको छ । रुख कटान हुन्छ, त्यसपछि आएको पानीले पहिरो जान्छ, त्यो तल खेतमा गएर जम्मा भएको छ । अनि जमिन मरुभूमिकरण हुँदैछ ।  अब अहिले पनि फेरि यसलाई खुला गर्ने कुरा सुन्दैछु । रामेश्वर खनालकै पालामा धेरै राम्रा आन्तरिक काम पनि भएका छन्, ती काम र उपलब्धिलाई अब गुम्न दिनुहुँदैन । 
राजमार्गको वरिपरी क्रसर उद्योग राख्न नदिने भन्ने काम उहाँले नै गर्नुभएको हो । 
अहिले बर्दीवासमा जाने हो भने राजमार्गभन्दा माथि नै चुरेको फेदमा क्रसर उद्योग राखिएको छ, यो गर्न मिल्छ ?
सिरहा, महोत्तरीलगायतका जिल्लामा पानीको समस्या भएको थियो । बर्दीबासबाट लगेर पानीको आपूर्ति गरिएको हो । पानीले नै द्वन्द्व सिर्जना गर्न सक्छ, त्यसैले यसलाई बेलैमा ध्यान दिन जरुरी छ । 
...
म २०४८ सालमा स्वास्थ्यमन्त्री भएँ । त्यसबेलाको ‘क्याबिनेट’मा एउटा प्रस्ताव आयो । 
जंगलसम्बन्धी प्रस्ताव थियो त्यो, ‘घरसारपुर्जी’ । त्यसबेला मैले यो बारेमा निकै सोचेँ । यो प्रस्ताव किन आयो ? र कसरी ल्याइयो होला ? 
मैले यो प्रस्ताव ल्याउने मन्त्रीसँग केहीबेर बहस नै गर्नुपर्यो ।  यो कुरा गिरिजाप्रसाद कोइरालाले सुनिरहनुभएको थियो । गिरिजाबाबुले मलाई सोध्नुभयो, तपाईं किन यस्तो भन्दै हुनुहुन्छ ?

Global Ime bank

मैले उहाँलाई भनेँ– ‘गिरिजाबाबु, मेरो क्षेत्र भिमानसम्म छ । पहाडी गाविस पनि पर्छ । त्यहाँ जंगल कटान भइरहेको छ । त्यो जंगलबाट प्रशस्तै काठ निकालिन्छ अनि त्यो केही महिना पुरेर लुकाइन्छ । त्यसपछि घरसारपुर्जी बनाएर लगेर अन्तै बेचिन्छ । त्यसको २ वर्षमा जंगल खत्तम हुन्छ । मैले यो कुरा गिरिजाप्रसाद कोइरालाको अगाडि राखें । तर त्यसपछि पनि काठ निकासीमा कमी आएन ।
...
मेरो जीवनको अनुभवले नै त्यो बचाउनुपर्छ भन्ने निष्कर्ष निकालेको हो । यो बचाउने हो भने अन्नको भण्डार बच्छ । तराई हरियाली हुन्छ । हिमालमा बरफ पग्लिन्छ, पहाडमा जंगल छ, पानी पर्छ । त्यसलाई सोसेर चुरेले राख्छ । त्यहाँबाट त्यो पानी तराई पुग्छ । तर त्यही चुरेको जंगल विकासको नाममा आफ्नो धर्तीलाई खत्तम बनाएर त भएन नि !
आउने पुस्तालाई के उपहार दिनुुहुन्छ ? बालुवा ? भनेर मैले पटक–पटक भन्ने गरेको छु । 
म ढल्केवर क्षेत्रमा पहिले चुनाव लडेको थिएँ । त्यसबेला एकजनाले परवलको कुरा गरे, उनले त्यसबाट आउने आम्दानीको पनि मलाई जानकारी गराए ।

अनि मैले उनलाई भनें–अहिले त परवल खान्छौ, सबैलाई खुवाउँछौ, अनि पैसा पनि कमाउँछौ तर पहिले यहाँ जंगल थियो, त्यसलाई बचाउन सकिएको भए सबैले दूध दही खान पाउँथे, पानी पिउन पाउँथे । अबको केही समयपछि यही परवल पनि पाइँदैन ।

अहिले मैले फेरि सुन्दैछु, चुरेबाट ढुंगा गिटी निकासी खुलाको तयारी गरिएको छ । यो राष्ट्रघाती कदम हो । मेरो जिन्दगीमा चारकोसे झाडी गयो, चुरेको जंगल समाप्त हुँदैछ भनेर म निकै चिन्तित छु ।

३४ प्रतिशत भूमि र ६० प्रतिशत जनसंख्याको जीवनसँग जोडिएको छ । हाम्रो पुस्तालाई धान खेत र चुरेको जंगल उपहार दिने कि मरुभूमि ?  यो सारा नेपालीले सोच्नुपर्ने कुरा भइसकेको छ ।
(बाह्रखरीका लागि पूर्वराष्ट्रपति यादवले बलराम पाण्डेसँग गरेको कुराकानीका आधारमा) 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७३  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC