साढे तीन वर्षको विदेश बसाइपछि अघिल्लो साता घरायसी कामले काठमाडौं गएको थिएँ । जम्मा ११ दिनको मेरो यो छुट्टीमा धेरै काम गर्नुपर्ने पनि थियो । थोरै बिदा, धेरै काम भएका कारण नेपालको बसाइ जुन रूपमा उत्साहपूूर्ण हुनपर्ने थियो, त्यो बनाउन सकिनँ । आमा, बुबा अनि अन्य आफन्त तथा साथीभाइलाई लामो समयपछि भेट्दा मनमा आनन्द हुने नै भयो तर केही यस्ता कुराहरू भए, जसले काठमाडौंको बसाइलाई बिनाकारण असजिलो बनाइदिए ।
धेरै काम भएकै कारण मलाई यसपटक काठमाडौंका सडकमा धेरै यात्रा गर्नुपर्ने थियो । करिब साढे तीन वर्षअघिमात्रै मैले नेपाल छोड्दा काठमाडौंका सडक फराकिलो पार्न सुरु भएकाले केही धूलो त त्यो बेला पनि थियो । सडकमा ट्रफिक जाम कम हुने अनुमानमा धुलोको पीडा केही हदसम्म कम महसुस गरेको थिएँ । तर, मैले त्यस्तो केही फरक अनुभव गर्न भने पाइनँ ।
सडक धेरै ठाउँमा फराकिलो भए पनि ट्राफिक जाम पहिलेको भन्दा धेरै थियो । त्यसमाथि काठमाडौैंको धूलो । समस्यामाथि झनै अर्को समस्या । ट्राफिकका संकेत र सडकमा लेन अनुशासन पालनाका लागि रेखाहरू थपिएका त रहेछन् तर ती पनि सबै धूलोले गर्दा अस्पष्ट । स्पष्ट देखिने ठाउँमा पनि लेन नियम कसैले पालना गरेकै थिएन ।
जहाँ पायो, त्यहीँ जेब्रा क्रसिङ । तर, यस्तो क्रसिङको मतलब कसैलाई एकरत्ति पनि छैन । कसैले कसैलाई पालो दिने, अरुलाई प्राथमिकता दिने, पैदलयात्रुलाई दिनुपर्ने प्राथमिकता, सम्मान र अनुशासन कुन चराको नाम हो– न त निजी, न त सार्वजनिक सवारीचालकलाई थाहा छ । डरलाग्दो ओभरटेक, बिनाकारण निरन्तर हर्न बजाउँदै हुँइकिने सवारी साधन, जहाँ पायो, त्यहीँ बाटो काट्ने पैदलयात्रुको बानी, नदेखिने वा साना/ठूला व्यापारिक विज्ञापनले छोपिएका ट्राफिक संकेत, आवश्यक ठाउँमा कम ट्राफिक प्रहरी, अनावश्यक ठाउँमा ज्यादा, साँघुरा सडक–गल्लीमा पनि अस्तव्यस्त सवारी साधन, बटारिएका÷अटेरी र रुखा ट्याक्सी चालक, उनीहरूको मनलाग्दो भाडादर– यी सबै मैले छोटो बसाइमै अनुभव गर्न भ्याएँ ।
घटना १
त्रिभुवन विमानस्थलमा जहाज अवतरणपछि विमानस्थलबाट निक्लिँदा रातको करिब ११ बजेको थियो । हामी पाँच जना थियौं । लगेज नआइपुगेका कारण भोलि लिन आउँदा गर्नुपर्ने कागजी प्रक्रियामा विमानस्थलका कर्मचारीले राम्रो सहयोग गरे । बाहिर निक्लनासाथ हरियो नम्बर प्लेटधारी ट्याक्सीका लाइन । ट्याक्सी पनि सजिलै पाइयो तर भाडा रहेछ त्यहाँबाट जैसीदेवलसम्मका लागि एक हजार । ट्याक्सी चालकले भने, “दिउँसो पाँच सय, राति १ हजार ।” उनका अनुसार नियम नै यही हो एयरपोर्टबाट छुट्ने ट्याक्सीका लागि । फेरि हाम्रो लगेज पनि केही थिएन । तर, ट्याक्सी भने नयाँ थियो ।
तर, भोलिपल्ट दिउँसो लगेज लिएर फर्किने ट्याक्सी चालकले सोही दूरीका लागि १२ सय रुपैयाँ मागे । यसपटक केही लगेज थियो तर मान्छे केबल २ जनामात्रै थियौं । विमानस्थलमा नयाँ रंग भएका प्लेट र ट्याक्सीको बारेमा समाचार धेरै नै पढेको थिएँ तर चालकको मनपरीमा केही परिवर्तन भएको रहेनछ । सबै गफ रहेछन् ।
भाडामा एकरूपता कतै छैन । एउटै दूरीका लागि ट्याक्सीपिच्छे फरक भाडा र प्रत्येकपल्ट पहिलेको भन्दा धेरै । मिटर छ तर त्यसमा जान कोही मान्दैन । सुरुमै भाडमा बार्गेनिङ, नत्र नजाने ।
घटना २
बिहेको भोजका लागि म र मेरो भिनाजुलाई जैसीदेवलबाट नयाँबजार पुग्नुपर्ने भयो । हामीसँग एक घण्टा समय थियो त्यहाँसम्म पुग्न । जाममै परे पनि त्यो समय प्रशस्त थियो हाम्रा लागि । भूकम्पले भत्काएको जैसीदेवल मन्दिरदेखि सुन्धारसम्म हामीले करिब १५ वटाजति ट्याक्सी र तिनका चालकलाइ नयाँबजार जान अनुरोध ग¥यौं तर एक जना पनि जान मानेन । पैसाको त कुरै छैन, सीधै नजाने भने । वरिपरि एक जना पनि ट्राफिक थिएनन् । सडकमा जताततै सेता र काला रंगका ट्याक्सी पार्क गरिएका थिए तर मेरो गन्तव्यसम्म जान कोही तयार भएन ।
मैले ट्राफिकको कार्यालयमा फोन गरेर करिब ५ वटा ट्याक्सीको नम्बर टिपाएँ– ट्राफिककै कर्मचारीको आग्रहमा । उनले के गर्न नम्बर टिपाए, मलाई थाह छैन । मैले केहीको तस्बीर पनि खिचे । तर जान कोही तयार भएन ।
सुन्धारा पुगेपछि एकजना ट्राफिक प्रहरी भेटेँ र सबै समस्या भनें । उनले आफ्नै अगाडि ट्याक्सी स्ट्यान्डमा पार्क गरेर राखिएको ट्याक्सीलाई एकपटक आग्रह गर्न भने । मैले त्यसै गरें । तर त्यो ट्याक्सीले पनि मानेन । कारण सोधें । उनले कसैलाई कुरेर बसेको ठाडो जवाफ दिए ।
यो दृश्य देखिरहेका ती ट्राफिक ट्याक्सी चालकनजिकै आएर ‘किन नजाने ?’ भनेर सोधे । उनले पनि मैलेजस्तै जवाफ पाए । प्रहरीले चालकलाई झपार्दै हामीलाई ट्याक्सीमा बस्न आग्रह गरे । उनी अगाडिको सिटमा बसे र चालकलाई ट्राफिक कार्यालयतर्फ लैजान भने । तर, पनि चालकले ट्राफिकलाई टेरेनन् । ट्राफिक प्रहरीले कागजपत्र निकाल्न र खुरुक्क ट्याक्सी अगाडि बढाउन भन्दै झर्किएपछि चालकले ट्याक्सी हिँडाए । यसैबीचमा चालक, ट्राफिक प्रहरी र मेरो वादविवाद पनि भयो । मैले त्यो सबै मेरो मोबाइलमा रेकर्ड गरेँ ।
मैले ट्राफिक प्रहरीलाई भनें, “चालकलाई ट्राफिक कार्यालयमा लगेर कारबाही गर्नुस्, हामी अर्को कुनै ट्याक्सी खोजेर जान्छौं ।”
त्यसपछि चालकले ट्राफिक प्रहरीलाई भने, “तपाईं झर्नुस्, म उहाँहरूलाई पु¥याउँछु ।”
तर, मैले मानिनँ । ट्राफिक प्रहरीसँगै ट्राफिक कार्यालय पुगरेमात्रै झर्ने अड्डी लिएँ ।
हामीलाई ती ट्राफिक प्रहरीले पनि ठगे । न्युरोडको शालिकमुनि लगेर ट्याक्सी रोके । विशालबजार अगाडिपट्टि रोकिएका ट्याक्सीमा नयाँबजार जान पो भने ।
मैले भनें, “किन यहाँ रोकेको ? सबै जना ट्राफिक कार्यालय जाऊँ । त्यहीँ गएर टुंगो लगाउँला ।”
ट्राफिक प्रहरीले घुमाउरो पाराले चालकलाई उन्मुक्ति दिने जुक्ति निकाले र हामीलाई ट्याक्सीबाट झारेरै छाडे । मैले पनि कुरा बुझँे । ट्राफिकलाई तथानाम गाली गर्दै म र भिनाजु न्युरोडको त्यो अस्तव्यस्त शालिकमुनि झ¥यौं ।
फेरि अर्को ट्याक्सी खोज्नुको विकल्प थिएन । दिउँसो पुराना साथीहरूसँग बसेर केही गिलास बियर खाएकाले आफैंले मोटरसाइकल वा अन्य सवारी साधन चलाउन पनि सकिएन ।
शालिक अगाडि रोकेर राखिएका ट्याक्सीलाई आग्रह गरें । यहाँ पनि कसैले जान मानेनन् । फेरि शालिकमुनि उभिएका एक ट्राफिक प्रहरीलाई इशारा गरेर बोलाएँ । उनी त्यही अघिका ट्राफिक प्रहरी रहेछन् । यसअघिका चालकलाई कारबाही गर्छु भनेर हामीलाई ट्याक्सीबाट झारेका उनी त्यहीँ उभिएका रहेछन् । उनले ट्याक्सी चालकलाई कारबाही गरेनछन्, प्रष्टै देखियो ।
यहाँ पनि बीच सडकमा ट्याक्सी चालक, प्रहरी र मेरो बीचमा ठूलै विवाद भयो । सडकमै भएकाले सबैले यो रमिता देख्ने नै भए । यहाँ पनि मैले केही फोटो खिचें तर हुल र ट्याक्सी चालकसँगको वादविवादमा फोटो भने स्पष्ट आएनछन् । यसैबीच पछाडिपट्टिको एक ट्याक्सी चालक नयाँ बजार जान तयार भए । त्यो पनि मिटरमा । शायद मैले सबैको फोटो खिचेको र ट्राफिक प्रहरी पनि त्यही देखिएकाले उनी सुटुक्क भिनाजुको आग्रहमा त्यता जान तयार भएका होलान् जस्तो लाग्यो ।
हामी निर्धारित समयभन्दा करिब २ घण्टापछिमात्रै भोजमा पुग्यौ । मैले यो घटना भइरहँदा खिचेका तस्बिर पनि यहाँ समावेश गरेको छु ।
काठमाडौंबाट सिड्नी उडेको दिनदेखि यो लेख लेख्दासम्ममा ती ट्राफिक प्रहरीले सबै ट्याक्सी चालकलाई कारबाही गरे होलान् भनेर विश्वास गर्ने मसँग कुनै आधार छैन । न त यस्ता सूूचनाको जानकारी कसैले दिन्छ । तर, नियम लागू गर्ने अख्तियारी पाएकाहरूले नै आफ्नो जिम्मेवारी ननिभाउने हो भने मजस्ता हजारौं सर्वसाधारणले दुःख पाउने र अनावश्यक रूपमा कैयौं प्रतिशत महँगो भाडा तिर्न बाध्य हुनेछन् । अहिले भइराखेका पनि छन् । यस्तोमा ती प्रहरीले सबै चालकलाई कारबाही नगरेको भए उनलाई हदैसम्मको कारबाही हुनुपर्छ । ती प्रहरी, केही ट्याक्सी र चालको तस्बिर पनि यहाँ उपलब्ध छन् ।
सडकमा धूलोको समस्या त अब कसलाई भनेर समाधान हुने होला र ! प्रहरीका हाकिम र देशका टाउके भनिएकाहरू ठूलो पद कुन पार्टीका समर्थकलाई दिने भन्नमै झगडा गरेर जगहँसाइमा लागेकै छन् । यी सबै कुरा सोच्दै पनि देशका नेता र नियम पालनाकर्ताहरू देखेर भित्रभित्रै लाज लाग्यो ।
दिउँसो साथी सुदर्शनले भनेको कुरा सम्झिएँ । उनी भन्दै थिए, “विदेश पुगेर नेपालको बारेमा नराम्रो नलेख्नु । देशभक्ति÷राष्ट्रवादी पारा नदेखाउनू, सामाजिक सञ्जालमा तिम्रो उछितो काढ्छन् ।”
एक मन यो लेख पनि लेखूँ कि नलेखूँ जस्तो भयो । तर, केही समयका लागि विदेश गएकै कारण कसैले आफ्नो देशमा भएको यस्तो अस्तव्यस्तता आँखा चिम्लेर बस्न सक्ला र ? कि अध्ययन र जीविकोपार्जनका लागि बिदेसिन बाध्य पारिएका वा रहरले नै भए पनि बिदेसिएकाले देशको चिन्ता गर्न नहुने हो र ? यो सोच पनि त्यस्तै विकृत सोच हो, जस्तो सोच ठग ट्याक्सी चालक, ट्राफिक प्रहरी, व्यवसायी, डक्टर वा अरु पेसाकर्मीको हुन्छ ।
म २७ वर्षपछि विदेश आएको हुँ । स्कुले शिक्षा पास गरेपछिका करिब ११ वर्ष मैले पनि नेपालमै अध्ययन र अध्ययन गर्दा देखि स्वावलम्बी बन्न काठमाडौंमा नै संघर्ष गरेको हुँ । आफूू पनि बनौं र देशलाई पनि बनाऔं भन्ने सोचले साना–ठूला सबै काम गर्दागर्दै बिदेसिनुअघिको आधा दशक पत्रकारितामा बिताएको हँु । पत्रकारिताबाटै पनि समाजमा केही सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने मान्यताले त्यो बेला मजस्तै धेरै साथीहरूलाइ यो पेशाले अभिप्रेरित गरिरह्यो । अझै पनि यो पेशामा मेरा थुप्रै साथीहरू लागेकै छन् । कति विदेशमा छन् त कति स्वदेशमै । अझै पनि नेपाल फर्किएपछि पत्रकारिता नै गर्ने सोच छ । पहिलेको भन्दा फरक, बृहत् र परिस्कृत पत्रकारिता । यो सोच पनि विदेशी अनुभवले सिकाएको हो ।
यो स्वदेश, विदेश भनेको एकदमै सामान्य कुरा हो । क्षणिक पनि । आज बिदेसिएकाहरू भोलि स्वदेश फर्किन सक्छन् । हाल देशमा केही गरिरहेकाहरू भोलि बिदेसिन पनि सक्छन् । यो विश्वव्यापीकरणको सामान्य प्रक्रियामात्रै हो । यसलाई आडम्बर र खोक्रो राष्ट्रवादसँग जोड्नुको कुनै अर्थ छैन । अनेक तिकडम गर्दा पनि आफू देश–विदेश जान नसक्ने र अरु गयो भने ईष्र्या गर्नेको जमात ठूलो छ हाम्रो देशमा । त्यस्तैले हो– बिदेसिएका नेपालीलाई गाली गर्ने । चुरो कुरो हो– सोचाइमा सकारात्मक परिवर्तन आउनु । चाहे त्यो ट्याक्सी चालकको होस् वा प्रहरीको, डक्टरको होस् वा इन्जिनियरको, विद्यार्थी होस् वा शिक्षकको ।
११ औं दिनमा सिड्नी उड्नका लागि विमानस्थल पुग्यौं । विमानस्थलको सुरक्षा व्यवस्था कडा हुन्छ, हुनुपर्छ । तर, नेपालको हालत के छ भन्ने कुरा सबैलाई जगजाहेर छ । ढोकैमा प्रहरीले टिकट चेक गर्ने । सेक्युरिटी जाँचपछि बोर्डिङपास लिएर अध्यागमन जानुपूर्व फेरि प्रहरीले बोर्डिङ पास चेक गर्ने, अध्यागनमको लाइनमा बस्ने सबैलाई त्यहाँका प्रहरी र अन्य कर्मचारीले पीडितको नजरले हेर्ने । यी सबै सोेचाइका नकारात्मक पक्ष हुन् ।
बोर्डिङ पास लिएपछि म श्रीमतीसँगै अध्यागमनको फर्म भर्न लागें । तिर्खा लागिरहेको थियो । श्रीमतीले पनि पानी ल्याउन भनिन् । मैले फर्म भर्ने स्थानवरपर सबैतिर हेरें– पसल कतै देखिनँ । नभेटाएपछि अघि लिफ्ट चडेर माथि आएको ढोकासम्म पुगेर पसल खोजँे । कतै देखिनँ । तल जाने पनि कतै बाटो थिएन । भएको एउटा लिफ्ट पनि तल जानका लागि बन्द गरिएको थियो । फर्किएँ । एकजना प्रहरी मेरो पछिपछि आएका रहेछन् । उनले रुखो स्वरमा ‘के खोजेको ?’ भनेर सोधे । मैले ‘पानी किन्न पसल खोजेको, भेटिनँ’ भने । उलने फेरि रुखो स्वरमा ‘उता अगाडि जति भने नि पसल छन्, उतै जाऊ’ भने । सुन्दा नमीठो लाग्यो । बोर्डिङ पास लिनेबित्तिकै विमानस्थलमा कतै हेर्नै नहुने, हिँड्नै नहुने, केही बोल्नै नहुने पनि हुन्छ र ?
अध्यागमनको काम सकाएपछि फेरि प्रहरीको सुरक्षा जाँच । त्यहाँ पनि नम्र बोल्ने एक जनाबाहेक अन्य सबैको बोली रुखो थियो । अध्यागमनका कर्मचारीले भने अन्य यात्राको समयमा भन्दा राम्रो व्यवहार गरे ।
अन्तिम सेक्युरिटी जाँचपछि राति ११ बजेतिर बोर्डिङ गेटअघिको प्रतीक्षालय बिदेसिन लागेका नेपालीले खचाखच थियो । पानीलगायत अन्य अत्यावश्यक वस्तु किन्ने पसल जम्मा एउटा देखियो । आधा लिटर पानीको बोतलको मूल्य रहेछ २५० रुपैयाँ । विमानस्थालमै कतै निःशुल्क पानी पिउने व्यवस्था छ कि भनेर हेरेँ । रहेछ । तर, खै के भएर हो– सबै पानी बाहिर पोखिएर पोखरी बनेको थियो । त्यसपछि भने २५० रुपैयाँको विदेशी पानी किनेर खानै प¥यो । दिनभरको दौडधूप र थकानले मुख सुकेको थियो हामी दुबैको । त्यति पानीले आँत पनि भिजेन । दुबैले एक–अर्कालाई हेरेर विमानमै पानी पिउने संकेत ग¥यौं । अन्तर्राष्ट्रिय विमानस्थलका पसलहरूले कर र अन्य सरकारी दस्तुर छुटसहितका सामान बेच्ने भएकाले बाहिरका पसलभन्दा सस्ता हुन्छन् । तर, हाम्रो विमानस्थलमा जाबो एउटा आधा लिटर पानीको मूूल्य २५० । त्यो पनि विदेशी । नेपालको पानी विदेश निर्यात भन्ने पनि गफै त भो ।
विदशीबाट सिकौं
अब छोटो विदेशको गफ गरौं । गफजस्तो लागे पनि यो सबै साँचो हो । यता सिड्नीमा ट्याक्सीले सर्वसाधारण ठग्दैनन् । भाडा कसरी तय गरिएको हो, मैले म चढेकै ट्याक्सीको कुनै भागमा टाँगिएको देख्छु । रात र दिनको दर यता पनि फरक हुन्छ तर त्यो फरक पनि वैज्ञानिक हुन्छ । ट्याक्सी आफैंले कतै जान्छु वा जान्न भन्दैनन् । खाली छ भने सेवाग्राहीलाई गन्तव्यमा पु¥याइछाड्छन् । यताका सडक–सडक, भित्ता–भित्तामा ‘प्रहरी तपाईंको साथी’ लेखिएको छैन तर प्रहरीले साथीको भन्दा राम्रो बोली व्यवहार र शालीन व्यवहार प्रदर्शन गर्छन् ।
सामान्य अवस्थामा विमानस्थलमा हात हालेरै कसैले कसैको शारीर जाँच गर्दैनन् । सुरक्षाकै लागि गरिने जाँचमा पनि मलाई सेवा दिएजस्तो भान परिरहेको हुन्छ । सेवा प्रदान गर्नेको मुहारमा मुस्कान भएकै हुन्छ । ‘कृपया’, ‘धन्यवाद’जस्ता शब्द स्वतःस्फूर्त निस्कन्छन् । खाने पानीका लागि पैसा चाहिँदैन । यताका विमानस्थलमा जहाँ पनि स्वस्थ पिउने पानी सजिलै उपलब्ध हुन्छ । किन्नु नै परे पनि सामान्य पसलसरह वा त्योभन्दा सस्तोमा अत्यावश्यक सामान विमानस्थलनका पसलमा सजिलै किन्न सकिन्छ । विमानस्थलका ड्युटी फ्री पसलहरूमा किनमेल गर्न जो पनि जान सक्छन् । पुलिसले बोर्डिङ पास चेक गर्दैनन्, न त लगेज र अन्य सामान नै । अध्ययगमनको गेटमा मात्रै अध्यागमनका कर्मचारी प्रहरी हुन्छन् । त्यहाँ कसैले शारीर छोएर वा चलाएर जाँच गर्दैैनन् ।
यताका जेब्रा क्रसिङ्मा पैदलयात्रुले पहिले प्राथमिकता पाउँछन् । लेन अनुशासन पालना गर्नाले करिब ९० प्रतिशत ट्राफिक जामको समस्या आफैं हल हुन्छ । हर्नको आवाज विरलै सुनिन्छ । मापसे जाँच गर्नका लागि मुख च्यातिरहनु पर्दैन । शहरको सौन्दर्य र स्वस्थ वायु कायम गर्न यताको सरकारले अर्बौं डलर खर्च गरेको हुन्छ । जति नै व्यस्त सडक वा राजमार्ग भए पनि दायाँवायाँका रुखहरू सकेसम्म काटिइँदैनन् । निर्माणका कार्यहरू सकेसम्म अस्थाई बार लगाएर वा कुनै वस्तुले छोपेर सम्पन्न गरिन्छन् । ताकि निर्माणकार्य गर्दा निस्कने धूवाँ, धूलो र ध्वनिले सर्वसाधारणलाई कमसेकम हानि गरोस् । ट्राफिकका संकेतहरू स्पष्ट र सबैले देख्ने स्थानमा राखिएका हुन्छन् । चालकले गल्ती गरोस् र जरिवाना असुल्छु भनेर यहाँका ट्राफिक कुनामा लुकेर बस्दैनन् । मादक पदार्थ सेवा गरेर चलाएकै भरमा कसैलाई यहाँ कारबाही भइहाल्दैन । पहिले सेवन गरेको मात्राको निक्र्यौल हुन्छ, अनिमात्रै आवश्यकताअनुसार कारबाही हुन्छ । ट्राफिक नियम उल्लंघन अपराध होइन, त्यसैले कसैलाई नियमम उल्लंघन गरेकै भरमा अपराधीझैं हतकडी पनि लगाइन्न ।