काठमाडौं । प्राइम कमर्शियल बैंकको नाफा १९ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा बैंकले ५५ करोड ९७ लाख १७ हजार रुपैयाँ नाफा गरेको छ । गत असोजमा बैंकले २५ करोड १० लाख रुपैयाँ नाफा गरेको थियो । ३ महिनामा नाफा दोब्बर बढाएको छ ।
बैंकले आज सार्वजनिक गरेको चालु आवको पहिलो अर्धवार्षिक वित्तीय विवरणअनुसार निष्क्रिय कर्जा अनुपात १.३ प्रतिशत रहेको छ । यस्तै कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ७६.३ प्रतिशत छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६६ पैसा छ ।
समीक्षा अवधिमा बैंकले ५५ अर्ब रुपैयाँ बढी निक्षेप परिचालन गरेको छ । गत असोजमा बैंकले ५२ अर्ब ४१ करोड रुपैयाँ निक्षेप परिचालन गरेको थियो । ३ महिनामा बैंकको निक्षेप परिचालन ३ अर्ब रुपैयाँ बढी छ ।
यस्तै कर्जा लगानी ४६ अर्ब ५ करोड रुपैयाँ छ । गत असोजमा बैंकको कर्जा लगानी ४२ अर्ब ३४ करोड रुपैयाँ थियो । ३ महिनामा कर्जा लगानी ४ अर्ब रुपैयाँ बढी छ ।
बैंकले रियलस्टेट क्षेत्रमा ५ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेको छ । यस्तै ओभर ड्राफ्ट साढे १३ अर्ब प्रवाह गरेको छ । बैंकको चुक्तापुँजी ४ अर्ब ९४ करोड रुपैयाँ छ । आउदो असारसम्म बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउनुपर्नेछ ।