site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

गत वर्षको भूकम्प लाखौं नेपालीका निम्ति असह्य विपत्ति भयो भने केहीले यसै विपत्तिलाई कमाउने मौका पनि बनाए । लगभग संसारभर नेपालका भूकम्पपीडितका नाममा पैसा उठाइयो । नेपाल र नेपालीलाई माया गर्नेहरूले उदारतापूर्वक पैसा दिए । त्यस्तो पैसा कति उठ्यो, कति सही काममा खर्च भयो र कति हिनामिना भयो भन्ने हिसाबकिताब सम्भवतः कसैसँग पनि छैन । सरकारले यसरी संकलित रकमको हिसाब खोज्ने प्रयास पनि गरेन । सुरुमा उठेका सबै पैसा सरकारी खातामा जम्मा गर्नुपर्छ भन्ने ऊर्दी जारी गर्‍यो । वास्तविक स्वयंसेवीहरू सरकारी ऊर्दीले तर्से र पैसा उठाउनै छाडे । तर, केहीले संस्थागत र व्यक्तिगत हैसियतमा पनि पैसा जम्मा गरे । यसरी पैसा जम्मा गर्ने सबैको नियतमा शंका गर्नु अन्याय हुन्छ तर केही दूतावासलगायत संस्था र व्यक्तिले भूकम्पपीडितका नाममा उठाएको पैसा हिनामिना गरेको वा हिसाबकिताब पारदर्शी नबनाएको आरोप लागेको छ । अमेरिकाको वासिङ्टन डीसीस्थित नेपाली दूतावासले पनि भूकम्पपीडितका नाममा उठेको रकम सबै नेपाल नपठाएको र त्यसको हिसाबकिताब पनि सार्वजनिक नगरेको सामाचार हालै प्रकाशित भएको छ । यसैगरी त्यहाँका नेपालीहरूको एउटा संस्थामा भूकम्पपीडतिका नाममा संकलित रकम हिनामिना भएको विवाद चर्केको थियो । अमेरिकास्थित नेपाली दूतावास र संस्था अपवाद पक्कै होइनन् । अरू दूतावास र विशेषगरी अन्तर्राष्ट्रिय संस्थाहरूले पनि भूकम्पपीडितका नाममा उठेका पैसा हिनामिना गरेका वा लुकाएका हुनसक्छन् । यस्तो पैसाको खोजी गर्नु सरकारको कर्तव्य पनि हो । यसले सरकारको विश्वसनीयता पनि बढाउनेछ।

भूकम्पपीडित क्षेत्रको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय समुदायले उपलब्ध गराउने प्रतिबद्धता गरेको रकम सबै नेपाल आइसकेको छैन । आएकै रकम पनि पीडितका हितमा खर्च हुनसकेको छैन । त्यसमा पनि अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था, स्थानीय गैरसरकारी संस्था र समूहहरूमार्फत् गरिएका कतिपय खर्चको औचित्य सिद्ध हुन सक्तैन । पीडितलाई प्रत्यक्ष लाभ हुने काममा अत्यन्त कम र व्यवस्थापनका नाममा असन्तुलितरूपमा धेरै रकम खर्च भएका थुप्रै समाचार सार्वजनिक भएका छन् । नेपाल रेडक्रस सोसाइटी यसको उदाहरण बन्न पुगेको छ तर अपवाद भने हैन । संयुक्त राष्ट्रसंघीय तथा अधिकांश अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको खर्च गराईको प्रवृत्ति नेपाल रेडक्रसको भन्दा खासै फरक देखिँदैन । त्यसो त पीडितहरूले पाएको लाभका तुलनामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नै अहिलेसम्म गरेको खर्चको औचित्य सिद्ध हुन सक्तैन । यस्तो अवस्था थाहा पाएमा दाताहरू थप सहायता दिन पक्कै हिचकिचाउँछन् । बेलैमा यसलाई सम्बोधन नगर्ने हो भने पुनःनिर्माणका लागि आवश्यक रकमको थप अभाव हुनेछ । 

सरकारले भूकम्पपीडितका नाममा कुन दूतावासबाट कति पैसा संकलन भयो र रकममध्ये कति पुनःनिर्माणको काममा कहाँ खर्च भयो भन्ने यथार्थ जानकारी दिन एउटा श्वेतपत्र जारी गर्नु अहिलेको सन्देह कम गर्ने एउटा उत्तम उपाय हुनेछ । त्यसक्रममा राज्यका तर्फबाट भए गरिएको खर्चको विवरण पनि पारदर्शीरूपमा सार्वजनिक गरिएमा अझ राम्रो हुनेछ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा नेतृत्व परिवर्तन भएको छ । राजनीतिक नियुक्ति भएकाले प्रमुख कार्यकारी अधिकृतको परिवर्तन खासै अनौठो विषय पनि होइन । त्यसमाथि अहिलेसम्मको प्रगति यसै पनि सन्तोषजनक थिएन । तर, अहिलेसम्म भए गरिएको खर्च र उपलब्धिका बारेमा यथार्थ विवरण सार्वजनिक नहुँदासम्म कार्यकारी प्रमुख परिवर्तनको औचित्य पनि सिद्ध हुँदैन । प्राधिकरणले आफूले भए गरेका काम र लागत सार्वजनिक गरेपछि अरू संघ, संस्था र निकायसँग पनि भूकम्पपीडितका नाममा संकलन भएको रकमका सम्बन्धमा हिसाबकिताब खोज्ने नैतिक अधिकार हुनेछ । अहिलेसम्म पूर्ण जानकारी नभए केही दिनको समय दिएर प्राधिकरणले सबैलाई आफूले गरेको काम र खर्चको विवरण बुझाउन सूचना जारी गर्न सकिन्छ । त्यसरी संकलित विवरण पारदर्शीरूपमा सार्वजनिक गरिएमा साना वा ठूला दातालाई आफूले दिएको रकम सदुपयोग भए नभएको जानकारी हुनेछ । राम्रो काम गर्ने संस्थाका लागि पनि प्राधिकरणको यस कार्यबाट लाभ हुनेछ । दाताहरूप्रति कृतज्ञता प्रकट गर्न पनि त यस्तो जानकारी र विवरण आवश्यक र उपयोगी हुन्छ । यसैले पुनःनिर्माण प्राधिकरण र सरकारले पनि भूकम्पपीडितका नाममा संकलित रकमको पूरा हिसाबकिताब तथा खर्चको विवरण तत्काल संकलन र सार्वजनिक गर्न ध्यान दिऊन् । नेपालीप्रति सद्भाव राख्ने दाताहरूको उदारताबाट बेइमानहरूलाई अनुचित फाइदा लुट्न दिनुहुँदैन !  

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ८, २०७३  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC