site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
एक साहित्यकारको राजनीतिक यात्रा
Sarbottam CementSarbottam Cement

विश्वमा केही व्यक्तिहरू यस्ता छन्, जो एउटा क्षेत्रमा मात्रै चर्चित छैनन् । विश्वप्रसिद्ध साहित्यकारहरू विश्व राजनीतिमा पनि राम्रैसँग जमेका थुप्रै उदाहरण छन् । म्याथ्यु लेविस, बेन्जामिन डिजरायली, जिम्मी कार्टर, विन्स्टन चर्चिल तथा ग्यारी हार्ट केही त्यस्ता नाम हुन्, जसले विश्व राजनीतिक मञ्चमात्रै होइन, साहित्यमा पनि महत्वपूर्ण योगदान दिएका छन् । चर्चिलले त सन् १९५३ को साहित्यको नोबेल पुरस्कार पनि पाएका थिए । उनको ‘अ टेल अफ् द रिभोलुसन इन् लाउरानिया’ र ‘द प्रिजनर अफ् द जेन्दा’ चर्चित पुस्तक हुन् । ‘द प्रिजनर अफ् द जेन्दा’मा आधारित भएर सोही शीर्षकमा हलिउड चलचित्र पनि बनेको छ ।

त्यस्तै, अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको ‘द होर्नेट्स नेस्ट’ पनि निकै नै चर्चा कमाउन सफल कृति हो । त्यसैगरी विश्वसाहित्य तथा विश्व राजनीतिमा चर्चित व्यक्ति हुन्, चेक साहित्यकार तथा राजनितिज्ञ वाक्लाव हावेल ।

चेक गणतन्त्रका जनकका रूपमा परिचित हावेलले विश्वसाहित्यमा पु¥याएको योगदान त छ नै, उनले तत्कालीन चेकोस्लोभाकियाको चेक गणतन्त्र र स्लोभाकियाको रूपमा विभाजनका लागि भएको आन्दोलनलाई शान्तिपूर्ण ढंगले अवतरण गराउनुका साथै चेक गणतन्त्रलाई एकदलीय तानाशाही व्यवस्थाबाट उदार लोकतान्त्रिक व्यवस्थामा लैजान प्रमुख भूमिका खेलेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् १९३६ मा तत्कालीन चेकोस्लोभाकियाको प्रागमा जन्मेका वाक्लाव हावेललाई साम्यवादी व्यवस्था विरोधीका रूपमा चिनिन्छ । त्यतिमात्रै होइन, विश्व राजनीतिमा साम्यवादी व्यवस्थाको अन्त्य हुनुमा हावेलको महत्वपूर्ण भूमिका छ भनिन्छ ।

युरोपबाट साम्यवादी व्यवस्थाको अन्त्य हुनुमा खासगरी तीन व्यक्तिको विशेष भूमिका थियो भनिन्छ । ती तीन व्यक्तिहरूमा हावेलका साथै मिखाइल गोर्वाचेभ तथा लेच वालेसाको हात रहेको मानिन्छ । हावेलका साथी तथा बेलायतका लागि चेक राजदूत माइकल जान्तोभ्स्कीले हावेलको बायोग्राफी ‘अ रिभ्यु अफ हावेल : अ लाइफ’मा जनाएअनुसार हावेलको जन्म धनी परिवारमा भएको थियो । उनको बाल्यकाल सुखसयलमै बितेको थियो । हावेलका बुवा रेस्टुरेन्ट व्यवसायी थिए । उनीहरूको प्रशस्त जग्गा जमिन थियो । त्यतिबेला चेकोस्लोवाकियामा साम्यवादी सरकार थियो । सन् १९४८ त्यहाँको सरकारले हावेल परिवारको सम्पत्ति जफत गरी राष्ट्रियकरण गरेको थियो । बुर्जुवा परिवारको भन्दै उनलाई औपचारिक शिक्षाबाट बञ्चित गर्ने प्रयास गरिएको थियो तर पनि उनले जसोतसो माध्यमिक तहको शिक्षा आर्जन गर्न सफल भए र विश्वविद्यालयतहको शिक्षा पनि आर्जन गर्न सफल भए ।
हावेलले सानै उमेरदेखि नै नाट्य क्षेत्रमा काम गर्ने अवसर पाएका थिए । उनले सन् १९५९ मा प्राग थियटरमा काम सुरु गरेका थिए ।

Global Ime bank

त्यसपछि उनले इभान भिस्कोसिलसँग मिलेर नाटकहरू लेख्न थालेका थिए । सन् १९६८ मा उनी बालसटे«ड थियटरका लागि आवासीय नाटककारका रूपमा काम गर्न थाले, जसले गर्दा उनी रंगमञ्चमा राम्रैसँग जम्न थाले । उनले रंगमञ्चलाई साम्यवादीविरोधी अभियानको माध्यम पनि बनाए । साम्यवादी सरकार र कर्मचारीतन्त्रमाथि प्रहार गर्दै उनका व्यंग्यात्मक नाटकहरू मञ्चन हुन थाले ।

उनले चेक रंगमञ्चमा मात्रै होइन, विश्व रंगमञ्चमै प्रसिद्धि कमाइरहेका थिए । तर, साम्यवादी सरकारलाई आफ्नो आलोचना गरेको मन परेन र उनका नाटकहरूमाथि प्रतिबन्ध लाग्ने काम सुरु भयो । त्यतिमात्रै होइन, सन् १९७९ मा उनलाई पक्राउ गरी चार वर्षका लागि जेल पनि हालियो ।

उनका नाटकहरू आफ्नै देशमा प्रतिबन्धित भइरहँदा विश्वका विभिन्न मुलुकहरूमा भने मञ्चन भइरहेका थिए । उनका नाटकहरू तथा थियटरहरूलाई तत्कालीन चेकोस्लोभाकियामा भएको भेल्भेट रिभोलुसन अर्थात् मखमली क्रान्तिको हेडक्वार्टरका रूपमा समेत लिइने गरिएको छ । उनका नाटहरू नै थिए, जसले आम नागरिकहरूलाई साम्यवादी सरकारका विरुद्धमा गोलबद्ध गर्न सफल भएका थिए । उनी सन् १९६८ मा भएको उदारवादी सुधार (प्राग स्प्रिङ)का सक्रिय अभियन्ता पनि थिए । त्यसैकारण उनको राहदानी जफत गरिनुका साथै उनका नाटकहरूमाथि प्रतिबन्ध लगाइएको थियो । सन् १९७० र ८० को दशकमा उनलाई पटक–पटक पक्राउ गरियो । उनी चेकोस्लोभाकियामा मानवअधिकार रक्षाका लागि निरन्तर लडिरहेका थिए । त्यही नै थियो उनलाई साम्यवादी सरकारले पक्राउ गर्नुको कारण ।

वाक्लाव हावेलको पहिलो एकल नाटक थियो सन् १९६३ मा मञ्चित ‘द गार्डेन पार्टी’ । यो नाटकले कर्मचारीतन्त्रको कार्यप्रति व्यंग्यात्मक टिप्पणी गरेको थियो । त्यस्तै, सन् १९६५ मा उनको बहुचर्चित नाटक ‘द मेमो¥यान्डम’ आएको थियो । यो नाटकले पनि कर्मचारीतन्त्र र उनीहरूले शक्तिका लागि गर्ने संघर्षका कारण मानवीय सम्बन्धमा पुगेको असरलाई चित्रण गरेको छ । उनले आफ्ना नाटकमार्फत तत्कालीन चेकोस्लोभाकियाको एकदलीय शासन व्यवस्थाप्रति आलोचना र आम नागरिकलाई एकदलीय व्यवस्थाले निम्त्याएको तानाशाही व्यवस्थाका बारेमा अवगत गराउने काम गरेका थिए । उनले सन् १९८० को दशकको अन्त्यसम्म नै नाटकहरू लेख्ने काम गरेका थिए । जब सन् १९८९ मा चेक गणतन्त्रको राजधानी प्राग सहरका सडकहरू सरकारविरोधी प्रदर्शनकारीहरूको भीडले भरिन थाल्यो, हावेल एकाएक साहित्यिक हिरोबाट राजनीतिक हिरो बन्न पुगे । पूरा प्राग सहर नै एउटा थियटरका रूपमा गोलबद्ध भएको थियो । उनी त्यस शान्तिपूर्ण आन्दोलनका निर्देशक थिए अनि आम नागरिकचाहिँ कलाकार ।

हावेल नागरिक समाजका अग्रज नै मानिन्थे । उनले नेतृत्व गरेको नागरिक समाज (सिभिक फोरम) गैरसाम्यवादीहरूको समूह थियो, जसले एउटा बलियो प्रतिपक्षको भूमिका निभाइरहेको थियो । सन् १९८९ डिसेम्बरको अन्त्यतिर सिभिक फोरम र कम्युनिस्ट सरकारका बीचमा संयुक्त सरकार बनाउने सम्झौता भयो । दुई पक्षबीच भएको सम्झौताअनुरूप डिसेम्बर २९ का दिन हावेल चेकोस्लोभाकियाको अन्तरिम राष्ट्रपति बन्न सफल भए । जुलाइ १९९० मा फेरि उनी राष्ट्रपतिमा निर्वाचित भएर सन् १९४८ देखि एकछत्र राज गर्दै आएको कम्युनिस्ट सरकारको रेकर्ड तोड्दै पहिलो गैरकम्युनिस्ट नेता बन्न सफल भए । सन् १९९२ मा जब चेकोस्लोभाकिया युनियनमा चेक र स्लोभाकिया अलग–अलग राष्ट्र बन्नुपर्ने भन्दै खटपट सुरु भयो, हावेलले त्यसको विरोध गर्दै राष्ट्रपति पदबाट राजीनामा दिए । सन् १९९२ मा उनी नयाँ राष्ट्र चेक गणतन्त्रका लागि राष्ट्रपति चुनिए । तर, प्रधानमन्त्री वाक्लाव क्लाउसले हावेलको राजनीतिक अधिकारमाथि कटौती गरेपछि उनको भूमिका खुम्चिएको थियो । सन् १९९८ मा उनी फेरि झिनो मतान्तरले राष्ट्रपतिमा निर्वाचित भए । उनकै कार्यकालमा सन् १९९९ मा चेक गणतन्त्र नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन (नाटो)को सदस्य राष्ट्र बनेको थियो ।

तेस्रो कार्यकालका लागि संवैधानिक व्यवस्था नभएको र स्वास्थ्य स्थितिको प्रतिकूलताका कारण हावेलले सन् २००३ मा पदत्याग गरे । आफ्नो कार्यकालभर चेक गणतन्त्रमा थुप्रै सुधार भए पनि आफूले कल्पना गरेको जति भने काम गर्न नसकेको हावेल बताउँथे । उनी सरकारमा आएपछि आम नागरिकहरूलाई भन्ने गर्थे, “तपाईँहरूको सरकार, तपाईंहरूकै हातमा फर्किएको छ ।” पक्कै पनि हावेलकै कारण चेक गणतन्त्रमा लोकतान्त्रिक व्यवस्था पुनर्बहाली भएको थियो भन्न सकिन्छ ।

वाक्लाव हावेल ठूला–ठूला अन्तर्राष्ट्रिय विवादहरू शान्तिपूर्ण वार्ताबाटै समाधान गर्न सकिन्छ भन्ने मान्यता राख्दथे । अमेरिका र तत्कालिन सोभियत संघबीचमा चलेको शीत युद्ध रोक्न हावेल आफैँले अहम् भूमिका खेलेका थिए । उनी सन् १९९१ को नोबेल शान्ति पुरस्कारका प्रमुख दाबेदार पनि थिए । उनले नोबेल शान्ति पुरस्कारका लागि आफ्नो मनोनयन अस्विकार गरेका थिए तर उनले त्यसै वर्ष म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सु कीलाई प्रस्ताव गरेका थिए । यो कुरा सु कीले पनि पटक–पटक आफ्ना मन्तव्यहरूमा खुलाएकी छन् । उनले हावेलले आफूलाई आशाको दियो बालिदिने काम गरेको बताएकी थिइन् । 

वाक्लाव हावेल राष्ट्रपति पद त्याग गरेपछि पनि चर्चामै रहे । सन् २००८ मा रुसी सेना जर्जियामा छिरेपछि त्यसको उनले खुलेर विरोध गरेका थिए । उनले युरोपियन युनियनका नेताहरूलाई यस सम्बन्धमा विशेष कदम चाल्न आग्रह पनि गरेका थिए । हावेलले भनेका थिए, “हामी आफ्नो आँखा बन्द गरेर बस्नु हुँदैन, पश्चिमको सबैभन्दा ठूलो परीक्षा हो यो ।”

विश्वव्यापी रूपमा आर्थिक मन्दीको संकट आइलागेपछि पनि उनले विश्वभरका नेताहरूलाई भावुक अपिल गरेका थिए । ‘हामी धनी हुने नाममा आधारभूत मानवीयताका कुरा बिर्सनु हुँदैन’ भन्दै उनले सम्पूर्ण विश्व समुदाय एकजुट भएर समस्या समाधानमा लाग्नुपर्ने बताएका थिए ।

हावेल सन् १९६८ मा सोभियत सेना चेकोस्लोभाकियामा छिरेर अलेक्जेन्डर डुबसेक जस्ता उदारवादी साम्यवादी नेताहरूलाई हटाएपछि साहित्यिक रंगमञ्चबाट राजनीतिक रंगमञ्च प्रवेश गरेका थिए । त्यसो त उनले साहित्यिक रंगमञ्चलाई नै राजनीतिक टिप्पणी तथा विरोध गर्ने माध्यम बनाएका थिए । सोभियत संघको घुसपैठलाई उनले थियटर तथा नाटकका माध्यमबाटै विरोध गरेका थिए । उनले नाटकबाट मात्रै होइन, आफ्ना शक्तिशाली निबन्धहरूबाट पनि एकदलस्य तानाशाही व्यवस्थाको विरोध गरेका थिए ।

सन् १९७८ मा आफ्ना लेखनहरूमा प्रतिबन्ध लाग्दालाग्दै पनि उनले ‘द पावर अफ द पावरलेस’ निबन्ध लेखेर सोभियत संघलाई तानाशाही परम्पराको निरन्तरता भनेर टिप्पणी गरेका थिए । उनले ‘सत्यमा बाँच’ भन्ने नाराका साथ आफ्नो अभियानलाई जारी राखेका थिए ।  त्यसैले उनलाई साम्यवादी सरकारले भड्काउवादी भन्दै जेल हालेको थियो । जब उनले संयुक्त रूपमा मानवअधिकार घोषणपत्र चार्टर ७७ लेखे, पश्चिमी दुनियाँको नजरमा परे र उनको समर्थनमा बोल्न थाले ।

विश्वका विभिन्न राजनेताहरूमध्ये अत्यन्तै शालिन, शान्तिवादी, लजालु स्वभावका र अध्ययनशील थिए वाक्लाव हावेल । प्रायः हल्का जुँगा र सर्लक्क कोरिएको कपालको चर्चा हुँदा हावेलको सम्झना आउने गर्छ । चेकोस्लोभाकियामा हिंसात्मक घटना भइरहँदा उनले दिएको ‘झुट र घृणालाई सत्य र प्रेमले जित्नुपर्छ’ भन्ने अभिव्यक्तिले आम नागरिकलाई शान्तिपूर्ण आन्दोलनको बाटोमा डोर्‍याएको थियो ।

सधैँ शान्तिपूर्ण आन्दोलनका पक्षमा रहेका हावेल जेलमा रहँदा निकै नै धूमपान गर्थे । उनी बिस्तारै चेन स्मोकर बनेका थिए । अत्यधिक धूमपानका कारण उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो । उनको एउटा फोक्सो पनि झिकिएको थियो । त्यसपछि उनलाई श्वासप्रश्वासमा कठिनाइ बढेको थियो । श्वासप्रश्वासकै समस्याका कारण सन् २०११ डिसेम्बर १८ मा उनले प्राग अस्पतालमा देह त्याग गरे ।

उनले धेरै वर्षपछि सन् २००८ मा लेखेको नाटक ‘लिभिङ’मा आधारित चलचित्रको निर्देशन पनि गरेका थिए । उनी अमेरिकी र स्विडिस उच्च नागरिक अवार्डबाट पनि सम्मानित भएका छन् । उनले चेक गणतन्त्रका लागि मात्रै होइन, थाइल्यान्ड र म्यानमारका तानाशाही शासकहरूका विपक्षमा पनि आवाज उठाएका थिए । उनको योगदानलाई सम्झँदा साहित्यले विश्व राजनीतिलाई सही बाटोमा डोर्‍याउन सक्छ भन्ने कुरा पुष्टि गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ८, २०७३  १०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC