site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
एक ठगेश्वरको रामकहानी
Sarbottam CementSarbottam Cement

वास्तवमा म ठग नै हुँ । ठग्नु मेरो मूल पेशा हो । मैले धेरैलाई ठगेको छु । जानाजान मैले अरुबाट कमिसनका नाममा नाजायज आर्थिक लाभ लिएकै हो । यसैले मलाई सबैले ‘ठगेश्वर’ भनेर चिन्नु र बोलाउनु अस्वाभाविक होइन । मेरो आयआर्जन नै यही हो ।

यसले नै मेरो ‘मन–पेट’ र ‘धन–पेट’ भरेको छ । यसबाटै मेरो उपस्थिति अहिलेसम्म यहाँ छ । एकसरो लुगा–फाटो लगाएर निर्धक्क हिँड्न पाएको छु । नत्र मेरो हाल के हुन्थ्यो कसले कल्पना गरेको होला र ??

अहिले समाजले मलाई ठगेश्वर भनेर जुन नाम दिएको छ, यो सही र सटिक छ । मेरो विचारमा यो त मेरो पेशा र कर्मअनुसारको नाम हो । मलाई यही ठगीधन्दाले नै गाँस, बास र कपास दियो त मैले के बिराएँ ? यो त कर्मको फल हो ।

Prabhu Bank
Agni Group
NIC Asia

म ठान्छु, समाज यसरी नै बनेको हुन्छ । म पनि यही समाजको एक जन्तु जो हुँ । सबै सबैजस्तो हुँदैनन् । सबैले सबैको जस्तो काम पनि गर्दैनन्, जसरी म जस्तो अरु बन्न सक्दिनँ । यो मेरो विशेषता हो । सबैले नाम पनि उस्तै राख्दैनन् । म यही सिद्धान्तबाट चल्ने प्राणी हुँ । अरुले जे–जे गर्छन्, मैले पनि त्यही गर्नुपर्छ भन्ने के छ ?

हो, मलाई ठगेश्वर हुनुमै गर्व छ । म यही नामले चिनिन चाहन्छु । आखिर, मैले चाहेर पनि अब यो नाम फिर्ता हुनेवाला छैन । किनकि मैले गरेकै यही हो । मैले कमाएको नाम नै यही हो त कसरी अर्काे हुन्छ अब ? अरुलाई मेरो नाम ठगेश्वर हुनुमा किन टाउको दुखाइ ? अहिलेको जमानामा कामअनुसार नाम हुनु कुनचाहिँ आश्चर्य हो र ? मान्छेहरू अहिले अरुको कुरा बढी सुन्न र गर्न मन पराउँछन् । मलाई यसैमा अचम्म लाग्छ । मान्छे आजभोलि पनि किन ‘रामराज्य’को कल्पना गर्छन् ? के यो ‘रामकहानी’ गाउने युग हो र भन्या ? म भन्छु यो ‘राम–नाम’ जपेर चल्ने लोक पनि होइन । यो ‘राम–राम’को मन्त्रले बनेको लोक कदापि हुँदै होइन । हामी कुन लोकमा छौं भन्ने समेत मान्छे ख्याल गर्न सक्दैनन् ।

Global Ime bank

राम भजनले आज कसैको पेट भरेको छ ? कसैले झुपडी जोडेको छ ? कसैले आडम्बर नै सही तर म हुँ भन्ने खोक्रो शान देखाउन पाएको छ र ? मान्छेहरू अझ पनि कुन ‘ढुंगे युग’ कि ‘सत्य युग’को झैँ कुतर्क गरेर हिँड्छन् । कहाँसम्म भने मान्छेहरू ‘मुखमा राम–राम बगलीमा छुरा’ भन्ने सर्वप्रचलित उखानसमेत भुसुक्कै बिर्सेर बस्न सकेका छन् । मलाई यही अनौठो लागिरा’छ ।

मान्छेहरू चर्चा गर्छन्– यसले विचरा, निमुखा, सोझा र नवपिँढीलाई भुलभुलैयामा पार्‍यो । काम र दामको ठेगान नभएकाहरूलाई नराम्ररी ठग्यो । नभएको कुरा बेचेर ढाड सेक्ने काम गर्‍यो । अरुको गाँस कटाएर आफूले भुँडी भर्‍यो ।

यो त सही हो नि । मैले गरेकै त्यही हो । जो टाठा–बाठा छन् उनीहरू आफ्नो लागि के गर्नुपर्छ, आफैं जान्दछन् । जो पुराना हुँदै गएका छन्, उनीहरू नयाँ ठाउँ र परिवेशसँग जानकार भइसक्छन् । जो पहिलै जाने बुझेका छन्, उनीहरू कसैको लहैलहैमा लाग्नु हुँदैन भन्नेमा सजग हुन्छन् । अनि फस्ने, ठगिने, पीडित बन्ने भनेकै विचरा, सोझा र नवपिँढी नभएर अरु को हुन्छ त ? यो त जताततै हुन्छ नि । के नौलो भो र ?

हो, नवआगन्तुक र सोझा मानिसलाई ठग्न सजिलो हुन्छ । मैले त्यस्ता व्यक्तिलाई नै पहिलो निशानामा पार्ने गरेको छु । मेरो क्षमता, योग्यता र कला भनेको ढाँट, छल र प्रलोभनबाहेक अरु के पो छ र ? म वास्तविक कुरालाई ढाँट्न, नभएको कुरालाई छलछामयुक्त बनाउन र नहुने कुरालाई झुक्याएर हुने बनाउन माहिर छु । उनीहरू मेरो कुरामा मख्ख पर्छन् । मेरो प्रलोभन मीठो मान्छन् । मेरो आग्रह नाइ–नास्ती गर्दैनन् । मेरा बोली सत्य हुन् भनेर विश्वास गर्छन् । हामी भाइ–भाइ हौं भनेर आफ्नो मुठ्ठी सुम्पिन्छन् ।

मेरो अनुहार हेरेर सेतो कागजमा सही गर्छन् । झिना–मसिना हजारौं काला अक्षरमा के लेखिएको छ, मलाई नै थाहा हुँदैन । विचरा तिनलाई के मैले भन्नु ? यसमा मेरो मात्र के दोष त ?

यो लोकमा कोही नयाँ आगन्तुक मेरो पहिलो रोजाइको पात्र हो । मैले यस्ता व्यक्तिलाई मेरो बुताले भ्याएसम्म पानीमुनि गए पनि छोड्ने गरेको छैन । चानचुने कुरा हो र हत्तपत्त छोड्नलाई ? पूरै कमिसनको कुरा पो छ त जीवनभर । ऊ बाँचेसम्म म बाँच्न कमिसनको मुहान नै ऊ हो भने मैले किन छोड्नु र उनीहरूलाई ?

त्यसैले उनीहरूको स्वागतमा म लम्पसार गर्न किन्चित पछि हट्दिनँ । धाउँदै, पछ्याउँदै उनीहरूको दैलोसम्म पुग्ने कष्ट छोड्दिनँ । बाह्र–सत्ताइस कुरा गरेर ‘हो क्यारे’ भन्ने बनाउन बाँकी राख्दिनँ । अरु सबै झुट, ममात्र सही भनेर दारा किट्न छुटाउन्नँ । यो त नभई हुँदैन है भनेर मनोवैज्ञानिक त्रास देखाउन कम्ता मेहनत गर्दिनँ ।

मजत्तिको प्राणीले गरेर खानु कम्ती चुनौती छैन यो राजमा । यो जोकोहीले गर्नै सक्दैन । जसले गरेको छ, मेरै जस्तो गरेको छ । यहाँ आएर पनि मान्छेलाई यतिसम्म गर्नु चानचुने कुरा होइन । झुक्याउनु, फकाउनु अनि लुट्नु के केरा खानुजस्तो सजिलो हो र भन्या ?
अरुको भागबाट खोसेर खान बडो स्वादले जिब्रो फड्कार्नु पर्छ यसको लागि । पछिसम्म आउने कमिसनका लागि दलालीको कुन हदसम्म गिर्नुपर्छ, मलाई मात्र थाहा छ । अर्काको भाग खान दशधारा र्‍याल काड्दै मृत्यु–पत्र बेच्न सक्नु चानचुने कुरा होइन नि ।
ती पात्र जो मेरो सामुन्ने परेपछि हत्तपत्त उम्किन पाएका छैनन् । अपवाद त कहिलेकाहीँ चल्ला पनि चिलको पञ्जाबाट उम्किन सक्छ नि । तर, म हरेश खाने जन्तुचाहिँ होइन । मेरो कुकुर कुदाइकै कारण मैले पाएको स्याबासी र मेरा दुई–चार लोक पर्यटनले पनि यसको पुष्टि गर्छन् नै ।

अरे बाबा, अरुले के काम गर्छ, के खान्छ, के लाउँछसँग मेरो किन सरोकार हुनु भन्या ? यो त मेरो चिन्ताको विषय नै होइन । यो त अरुको पर्सनल कुरा हो नि । अरुको निजी मामिलामा यतिसाह्रो चियो गर्ने मेरो बानी छैन । बस् मलाई मेरो धन्दा चलाउनु छ– मात्र ठगीधन्दा । यो पनि अरुलाई फकाई–फकाई । झुक्याई–झुक्याई । गुलियोमा भुलाई–भुलाई । नभएको सपना देखाई–देखाई ।
म अरुको उतिविधि खोजीनिती गर्दै हिँड्ने त्यस्तो पाखण्डी होइन । कसले के खान्छ, कति खान्छ, कस्तो खान्छ, कहाँ खान्छ, के मतलब ? त्यसले के गरेर कति कमाउँछ, मेरो किन गिद्दे दृष्टि ? उसले कस्तो लाउँछ, मलाई किन चासो ? मेरो त एउटै पेशा हो– दलाली । 

दलालीको आफ्नै परिभाषा होला । यसको पनि आफ्नो धर्म होला । नीति होला । नियम होला । कर्तव्य होला । तर, तर मलाई के मतलब ? मेरो दलाली मेरै पाराको छ । कसैले डाहा गर्दैमा हुन्छ र ? त्यसैले त म ठगेश्वर हुँ । ठग्नु मात्र मेरो काम हो ।

“ए दलाल, के कुरा गरेको तिमीले ? किन यतिविघ्न कर्कश स्वर गरिरहेका छौ ? को हौ तिमी ? तिमी यहाँ किन र कुन उद्देश्यले आएका छौ, होस् गर । यो जनताको न्याय पाउने अखडा हो । अदालत हो । न्यायालय हो । मन्दिर हो । आस्था हो ।”
“म...म ठगेश्वर हुँ प्रभो । एउटा बिमा दलाल । यो मेरो रामकहानी हो प्रभो । आगे, हजुरको जो आज्ञा ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ८, २०७३  १०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC