site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
‘पागल’ केटी
Sarbottam CementSarbottam Cement

म संलग्न विद्यार्थी संगठनको तर्फबाट पर्सिपल्ट क्याम्पसमा नयाँ विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम राखिएको थियो । त्यसैको प्रचारप्रसारका लागि हामी क्याम्पसको पर्खालमा भित्तेलेखन गर्दै थियौं । पर्खालमा म लेखिरहेको थिएँ, जयबहादुर मलाई सहयोग गर्दै थियो ।

“तपार्इंहरू यही कलेजको विद्यार्थी हो ?” भित्तेलेखनमा केन्द्रित मेरो एकाग्रता स्त्री आवाजले भंग गरायो ।

“हो !” जयबहादुरले सकार्‍यो ।

Prabhu Bank
Agni Group
NIC Asia

“कुन लेभलमा पढ्नुहुन्छ तपार्इंहरू ?” स्त्री आवाज ‘लेभल’ शब्दमा जोड दिएर आयो ।

“दाइ थर्ड इयर, म सेकेन्ड इयर ....,” फेरि पनि जयबहादुरले उत्तर फर्कायो ।

Global Ime bank

“मान्छेहरू सही भन्छन्, यो देश बिगारेको पढेलेखेका मान्छेहरूले हो ।” यसपल्ट स्त्री आवाज गुनासो र व्यंग्यसहित आयो ।

भित्तेलेखन रोकेर म पछाडि फर्किएँ । उमेरले १८ टेक्दै गरेकी जस्ती केटीसँग आँखा जुध्यो । केटाको जस्तो छोटो कपाल, औसत नेपाली केटीहरूको उचाइ, गहुँगोरो वर्ण । खुट्टामा गोल्डस्टार जुत्ता– मेड इन नेपाल । उसको सौन्दर्यमा एकदम प्राकृतिक, न

मुहारमा कतै कृत्रिम शृंगार, न त नाक–कानमै सुनका गहना । यौवनले धपक्क बलेकी नवयौवना आफ्नै सुरमा बोलिरहेकी थिई ।

“तपाईंहरूलाई क्याम्पसको पर्खालमा फोहोर गर्न अलिकति पनि लाज लाग्दैन ?”

“हामीले के फोहोर गर्‍यौँ र ?” जयबहादुरले प्रतिप्रश्न गर्‍यो ।

“यति राम्रा अक्षर र’छन् । भित्तामा लेख्नुका साटो कापीमा लेखको भए कति गज्जब हुन्थ्यो ।” केटी जयबहादुरको प्रश्नलाई बेवास्ता गर्दै मेरो अक्षरतिर केन्द्रित भई ।

“होइन, तपाईँलाई हामीसँग के समस्या छ हँ ?” केटीको पाराले मेरो पारो चढायो ।

“मलाई तपाईँहरूसँग कुनै समस्या छैन तर कलेज ध्वस्त पार्ने तपाईँहरूको प्रवृत्तिसँग सख्त घृणा छ ।”

“क्या हो ! तपाईँ त हाम्रो कार्यक्रम भाँड्नतिर पो लाग्नुभयो । कुन विचारधाराको पर्नुभयो ?”

“आई एम डेमोक्र्याट,” केटीले गर्वका साथ भनी ।

“अच्छा । अब नेविसंघका केटाहरू हामीसँग डराएर बाझ्नलाई केटी पठाउन थाले है ?” जयबहादुर मज्जैले हाँस्यो ।

“एक्सक्युज मी ! म डेमोक्रयाट हुँ । यसको अर्थ म नेविसंंघ नै हुँ भन्ने होइन । प्रजातन्त्र नेपाली कांग्रेसको बिर्ता होइन ।”

एउटी सुन्दर युवतीसँग बाझ्न मेरो युवक मनले मानेन ।

म भित्तेलेखनतिर लागेँ । केटी हामीलाई भित्तेलेखन रोक्न आग्रह गर्दै थिई ।

“यसरी क्याम्पसको भित्तामा जथाभावी लेख्दा क्याम्पस नै कुरूप हुन्छ । क्याम्पसमा छौंँ कि राजनीतिक पार्टीहरूको अखडामा,

छुट्याउनै गाह्रो ।” केटी आफैँ गनगन गरिरही, हामीले बाल दिएनौं ।

“म क्याम्पस प्रशासनमा कम्प्लेन गर्छु,” यति भन्दै केटी हिँडी ।

“प्रशासनमा पनि हाम्रै मान्छे छन् । भनेपछि यो केटीले हाम्राविरुद्ध हामीसँगै उजुरी गर्ने भई .... हा हा हा ।” जयबहाुदर हाँस्यो ।

० ० ०

म माइतीघर हुँदै सिंहदरबारतर्फ हिँड्दै थिएँ । त्यहाँ सभा भइरहेको थियो । जोडजोडले मान्छेहरू नारा भट्टाइरहेका थिए ।
“म पनि पागल, तपाईं पनि पागल । हामी सबै पागल ।”

चिकित्सा शिक्षामा सुधारको माग राखी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी अनसनमा बसेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्राधिकार मिचेर चिकित्सा क्षेत्रमा भ्रष्टाचारलाई बढावा दिएको भन्दै प्रमुख आयुक्तलगायत आयुक्तहरूलाई कारबाही गर्नुपर्ने डा. केसीको माग थियो । त्यसको प्रतिरोधमा अख्तियारले विज्ञप्ति निकालेर डा. केसीलाई ‘पागल’को संज्ञा दिएको थियो । डा. केसीका समर्थकहरू ‘डाक्टर केसी पागल हुन् भने हामी पनि पागल हौँ’ भन्दै टाउकामा ‘पागल’ लेखिएको पट्टी लगाएर नारा भट्टाइरहेका थिए ।

डा. केसीको अनसनका कारण हाम्रै पार्टीका कतिपय नेताहरू संलग्न रहेर बन्न थालेको मेडिकल कलेजको काम बन्द अवस्थामा थियो । हाम्रो पार्टीको नेतृत्व जसरी भए पनि केसीको अनसन तुहाउने खेलमा थियो । मैले व्यक्तिगत रूपमा डा. केसीको आन्दोलनको पक्ष वा विपक्षमा आफ्नो दृष्टिकोण बनाइसकेको थिइनँ ।

कतिपय कमरेडहरू भन्ने गर्थे, “यो प्रतिक्रियावादी राज्य व्यवस्थामा सुधारको कुनै गुन्जाइस छैन । त्यसैले डाक्टर केसीको आन्दोलन निरर्थक छ ।”

त्यसैले पनि डा. केसीको अनसनप्रति मैले चासो लिएको थिइनँ ।

म हिँड्दै थिएँ । तत्कालै सभा सुरु भयो । एउटी केटी बोल्न थाली, “पागल डाक्टर गोविन्द केसीको समर्थनमा जम्मा हुनु भएका आदरणीय पागल साथीहरू ......!”

जोसपूर्ण आवाजमा केटीले भीडलाई अभिवादन गरी । त्यो आवाज मलाई परिचित लाग्यो । मैले ध्यान सम्पूर्ण रूपमा बोलिरहेकी केटीतर्फ केन्द्रित गरेँ । अस्ति क्याम्पसमा वाल पेन्टिङ गर्दा जयबहादुर र मसँग बाझ्ने केटी थिई ऊ । उसको जोसिलो र ओजिलो भाषणले मलाई भीडमा मिसिन प्रेरित गर्‍यो । ऊ भन्दै थिई, “साथीहरू । हामी नदीको किनार सफा गर्दैछौँ तर यहाँ नदीको मुहान नै फोहोर छ ।”

उसले चिकित्सा शिक्षामा सुधारका लागि आन्दोलन भइरहेको भए पनि यहाँ पूरै व्यवस्था नै भ्रष्ट छ भन्ने सन्दर्भमा उक्त वाक्य बोलेकी थिई । मैले पनि भीडसँगै ताली बजाउनबाट आफूलाई रोकिरहन सकिनँ ।

केटी भाषण सकेर मछेउ उभई । म ऊसँग बोल्न उत्सुक थिएँ । बोलाएँ, “हेलो ।”

“अरे तपाईं ? तपाईं पनि डाक्टर केसीको समर्थनमा ?”

“म राजेन्द्र खरेल ।”

“म तपाईंलाई चिन्छु नि ।”

“अनि तपाईं ?”

“म सिर्जु खड्का ।”

पागल केटीको नाम सिर्जु खड्का थियो । प्रतिक्रियामा मैले भन्न सकेँ, “आहा । कति सुन्दर नाम ।”

ऊ मुसुक्क हाँसी, “धन्यवाद ।”

मैले कुरा जोडेँ, “तपाईँ त राष्ट्रिय आन्दोलनहरू नेतृत्व गर्नु हुँदो रहेछ त ?”

“क्याम्पस राजनीतिबाट फुर्सद मिले तपाईंलाई पनि स्वागत छ ।”

“अनसनबाट ठूलै उपलब्धि होला जस्तो मलाई लाग्दैन,” मैले शंका व्यक्त गरेँ ।

“डाक्टर केसीले ठूलो कुरा केही पनि माग्नुभएको छैन । तपाईँका नेताहरूले ०७ सालयताका क्रान्तिहरूमा जनतालाई बाँडेका थोक सपनाहरूको फुटकरमा हिसाबमात्र माग्नुभएको छ,” ऊ आत्मविश्वास मुस्कान मुस्कुराई ।

सिर्जुको उच्च बौद्धिक समझदारीले म कायल भएको थिएँ । यो केटीसँग योभन्दा बढी तर्क गर्न मेरो वैचारिक हैसियतले भ्याउँदैन भन्ने लागेर सिर्जुसँग कलेजमा भेट्ने वाचासहित बिदावारी भएँ ।

० ० ०

एकदिन कलेजको गेटमा अचानक सिर्जुसँग भेट भयो । अभिवादन आदानप्रदानपछि मैले चिया पिउन क्यान्टिन जाने प्रस्ताव गरेँ ।
“जाऊँ न त,” उसले सहमति जनाई ।

चिया पिउँदै गर्दा मलाई उसलाई जिस्काउन मन लाग्यो, “माइतीघर मण्डलामा ५÷७ जना मान्छे प्लाकार्ड बोकेर उभिँदैमा व्यवस्था परिवर्तन हुन्छ त ?”

“केही हुँदैन भनेर हात बाँधेर बस्नु पनि त भएन ।”

“व्यवस्था भ्रष्ट छ । भ्रष्ट व्यवस्था परिवर्तन गर्न बल प्रयोग गर्नुपर्छ,” मैले आफ्नो मत राखेँ ।

प्रतिक्रियामा मुस्कुराउँदै सिर्जु बोली, “म शान्तिपूर्ण संघर्षबाट समाज परिवर्तन हुन्छ भन्ने कुरामा विश्वास गर्छु । बन्दुकको बलबाट स्थापित व्यवस्थाभन्दा शान्तिपूर्ण आन्दोलनबाट स्थापित व्यवस्था लामो समय टिकेको तथ्य त जगजाहेर नै छ ।”

चियाको चुस्की लिँदै ऊ अगाडि बोली, “धेरै टाढा किन जानू ? हाम्रै देशमा १७ हजारको जीवन आहूतिले खै त व्यवस्था परिवर्तन भएको ?”

“कम्युनिस्ट हुनुको नाताले अझै पनि मलाई सशस्त्र बल प्रयोगमा विश्वास छ,” मैले उसको कुरालाई काटेँ ।

“कम्युनिज्म इज टेस्टेड एन्ड फेल्ड सिस्टम इन द वल्र्ड,” उसले अनुहार बिगार्दै मेरो कुराको प्रतिवाद गरी ।

“माक्र्सवाद आजको विज्ञान हो ।” कुनै नेताले भाषणमा भनेको वाक्य मलाई याद आयो ।

“कार्ल माक्र्सले आफ्ना थेसिसहरूमा मान्छेलाई मेसिनको पुर्जाभन्दा बढी स्थान के नै पो दिएका छन् र ?” उसले माक्र्सवादप्रति गहिरो आक्षेप लगाई ।

मसँग माक्र्सवादको गहिरो अध्ययन छैन । गहिरो त के, मसँग माक्र्सवादको छिपछिपे ज्ञान पनि छैन । लहडमा कम्युनिस्ट हुनेमध्ये म पनि एक हुँ । सिर्जुले मेरो आस्थाको केन्द्रमा हमला गरेकी थिई । म क्याम्पसको चिनिएको विद्यार्थी नेता । बहसका हरेक कुनालाई थुनछेक गरेर उसले मेरो अहम्माथि प्रहार गरेकी थिई । मेरो अभिमानले त्यतिबेलै अठोट ग¥यो– यो केटीको कुरालाई प्रतिवाद गर्न पनि मैले माक्र्स, एंगेल्सका ठेलीहरू अध्ययन गर्नैपर्छ ।

० ० ०

क्याम्पसमा स्ववियू चुनाव नभएको धेरै वर्ष भइसकेको थियो । एकदिन हामीले स्ववियू चुनावको माग गर्दै क्याम्पस अगाडि चक्काजाम कार्यक्रम राखेका थियौं । म माइकबाट विरोध प्रदर्शन र चक्काजामको औचित्य पुष्टि गर्दै थिएँ । जयबहादुरहरू टायर पोल्नमा व्यस्त थिए । त्यसैबेला सिर्जु कलेज छिर्दै गरेको देखेँ ।

साँझ सिर्जुले फेसबुकमा स्टाटस अपडेट गरी, “मलाई टायर बाल्ने होइन, फूल फुलाउने राजनीति चाहिएको छ ।”
निःसन्देह त्यो स्टाटस हाम्रो विरोध गर्ने शैलीप्रति लक्षित थियो । मलाई उसको स्टाटस मप्रतिको व्यंग्य जस्तो लाग्यो ।

० ० ०

चौतर्फी दबाबपछि अन्ततः त्रिभुवन विश्वविद्यालयले स्ववियू चुनाव घोषणा ग¥यो । क्याम्पस चुनावमय भएको थियो । एकदिन जयबहादुरले खबर सुनायो, “हाम्रो संगठनबाट सभापतिको टिकट भरत दाइले पाउनुभएछ नि ।”

भरत दाइ उमेरले ५० को ढिकढाकमा थिए । २२ वर्षदेखि हाम्रो क्याम्पसको विद्यार्थी भइआएका थिए । उनको पार्टी हेडक्वार्टरसम्म सीधा पहुँच थियो । अघिल्लो आम निर्वाचनमा पार्टी अध्यक्षलाई चुनाव जिताउन भरत दाइले प्रशस्तै नोट र केटा परिचालन गरेका थिए । अध्यक्ष कमरेड खुसी भएर बक्सिसमा स्ववियू सभापतिको टिकट भरत दाइलाई दिँदै थिए भन्ने गाइँगुइँ सुनिएको थियो । जयबहादुर त्यसैलाई पुष्टि गर्दै थियो । 

“भरत दाइले स्योर चुनाव जित्छन् । २२ वर्षको तपस्याको फल पाउने भए बूढाले,” जयबहादुर उत्साहित थियो ।

स्ववियू सभापतिको टिकट सांसदको टिकटजस्तै आकर्षक छ । स्ववियू सभापति क्याम्पसका हजारौं विद्यार्थीको निर्वाचित नेता ।

त्यति शक्तिशाली नेता, जसले क्याम्पसका हरेक आर्थिक गतिविधिहरूमा सीधै हस्तक्षेप गर्न सक्छ । ठेक्का, टेन्डरहरूमा केटा परिचालन गर्न सक्छ । सहरका प्रतिष्ठित व्यापारी र तस्कर दाहिना हुन्छन् । त्यसैले क्याम्पसमा ‘दाइ’हरू स्ववियू टिकट पाउन वर्षौं कुर्ने गर्छन् । छोराछोरीलाई दूतावास धाएर विदेश पढ्न पठाउँछन् र बाउहरू यता विद्यार्थी राजनीति गर्छन् । कहिलेकाहीँ विरक्त लागेर आउँछ । हाय विद्यार्थी राजनीति !

एकदिनको बसाइमा सिर्जुले गम्भीर कुरा गरी, “पछिल्ला १० वर्षमा पाँच जना कम्युनिस्ट प्रधानमन्त्री भइसके । यो १० वर्षमा प्रत्येक सरकारमा कुनै न कुनै कम्युनिस्ट घटक सहभागी भएकै छन् । खै त जनताले अनुभूत गर्न सक्ने परिवर्तन ? देशको यो दुर्दशा हुनुमा कम्युनिस्ट पनि जिम्मेवार छन् ।” ऊ एकछिन रोकिई । केही सम्झेजस्तै गरी भन्न थाली, “अबको नेपालको राजनीति कुनै वादमा आधारित हुनु हुँदैन । वादमा आधारित राजनीति हामीले धेरै देखिसक्यौं, भोगिसक्यौं । अबको राजनीति संस्कारसहितको हुनुपर्छ ।”

सर्वहारा सांस्कृतिक क्रान्तिको इतिहास बोकेका कम्युनिस्टहरूले सिर्जुहरूबाट राजनीतिक संस्कारको कुरा सिक्नुपर्ने भयो ।

हामीबीच नेपाली राजनीतिका केही विसंगतिका बारेमा कुरा भए । विद्यार्थी राजनीतिमा मौलाइरहेका गुण्डागर्दी र अपराधीकरणका विषयमा कुरा भए ।

यही सिलसिलामा गम्भीर हुँदै उसले भनी, “तपार्इं मान्छे भलाद्मी देखिनुहुन्छ । यो फोहोरमा कसरी टिकिरहनु भएको छ ?” 
मैले शास्त्रीय जवाफ फर्काएँ, “म कन्टेनरको फोहोर सफा गर्न कन्टेनरभित्र छिरेको छु ।”

दुवै जना मज्जाले हाँस्यौँ ।

० ० ०

०६२÷६३ को जनआन्दोलनपूर्वको समय । माओवादीहरू छापामार युद्धमा थिए । सहरमा राजतन्त्रवीरोधी आन्दोलन सुरु हुँदै थियो । मेरा हजुरबुबा पुष्पलालकालीन नेपाल कम्युनिस्ट पार्टीका सदस्य । हजुरबाको त्यही लिगेसीका आधारमा हाम्रो घरमा जंगलतिर र सहरतिरका कमरेडहरूको बाक्लो आवतजावत हुन्थ्यो । म फुच्चे नै थिएँ । हजुरबुबालाई भेट्न को–को मान्छे आउँथे, न मैले कहिले चासो राख्थेँ, न त उनीहरूले नै मलाई भाउ दिन्थे ।

म ७ कक्षामा पढ्थँे । किशोरावस्थाको मन सिमलको भुवाझैँ हुन्छ । कहिल्यै स्थिर नहुने । मेरो मन त्यसको अपवाद कसरी हुन सक्थ्यो ! पुस महिनाको एउटा शनिबार दिउँसो म बार्दलीमा बसेर घाम ताप्दै दार्जिलिङतिरका लेखकले लेखेको प्रेमकथामा आधारित उपन्यास पढ्दै थिएँ ।

“तिमी के पढ्दैछौ बाबु ?” मोटो दरिलो पुरुष आवाजले म झसंग भएँ ।

मैले मेरो अगाडि एक जना दुब्लो र अग्लो मान्छे उभिरहेको देखेँ । अपरिचित मान्छेको लामो दाह्री थियो– तिल चामल भएको ।

आँखामा चस्मा थियो । ठाउकोमा क्याप टोपी । पछिमात्र थाहा भयो, अपरिचित त हाम्रो जिल्लाका नामी कम्युनिस्ट नेता भीष्म रहेछन् । भीष्मले मेरो नाम सोधे, मैले बताएँ । उनले मैले पढ्दै गरेको किताब हातमा लिए अनि गाता निरीक्षण गरे ।
त्यत्ति नै बेला हजुरबुबा आइपुग्नु भयो, “अंकललाई नमस्ते गरिस् ?”

मैले नमस्ते गरेकै थिइनँ । लाज लाग्यो । लजाउँदै नमस्ते गरेँ ।

भीष्मले मैले पढ्दै गरेको किताब हजुरबुबालाई दखाउँदै भने, “तुल्सीरामजी ! नातिले त यस्तो किताब पो पढ्दो रै’छ त ।”
हजुरबुबाले आफ्नो चस्मा मिलाउँदै भन्नुभयो, “भीष्मजी ! अचेलका केटाकेटी भनेको मान्दैनन् । के गर्छन्, के पढ्छन्, हामीले डिक्टेट गर्न पनि सक्दैनौं ।”

भीष्मले मलाई कापी र कलम ल्याउन भने । म दौडिँदै कोठाभित्र पसेर कापी र कलम ल्याएँ । कापीमा केही लेख्नुअगाडि भीष्मले मैले पढिरहेको किताब देखाउँदै भने, “बाबु ! तिमीले यस्तो किताब पढ्नु हुँदैन । तिमीले पढ्नुपर्ने केही किताबहरूको नाम

लेखिदिन्छु । यी किताबहरू खोजेर पढ्नू ।”
१. चम्किलो रातो तारा 
२. धन्यवाद ग्ल्याड महोदय 
३. अग्निदीक्षा 
४. नयाँ घर 
५. आमा
६. रातो चट्टान 
७. दुश्मनको अखडाभित्र 
८. युवाहरूको गीत

किताबको नाम लेखिसकेपछि भीष्मले भने, “आठौँ नम्बरको किताब पढिसक्दा तिमी युवा भइसक्छौं ।”

“तर मैले यी आठवटा किताब त केही दिनमै पढिसक्छु,” मैले उनको कुरामा शंका व्यक्त गरेँ ।

“तिमी जति छिटो यो किताबहरू पढिसक्छौ, त्यति छिटो युवा हुन्छौ,” भीष्मले जोडसँग भने ।
भीष्मले टिपाएका कति किताबहरू हजुरबुबासँग रहेछन् । कतिपय पुस्तकहरू हजुरबुबाले किनिदिनुभयो । मलाई छिट्टै युवा हुनु थियो । ढिला नगरी मैले ती किताब पढ्न थालेँ । कम्युनिस्ट सिद्धान्तबाट प्रभावित ती उपन्यासका कथा मैले पहिले पढेका कथाभन्दा पृथक थिए । मलाई ती कथाहरूले आकर्षित गरे । ‘चम्किलो रातो तारा’को बाल पात्र पान डोङ्जीसँग मैले पनि अध्यक्ष कामरेड माओत्सेतुङ्लाई भेट्न भावनाको तुफानी याङ्जी नदीमा पौडी खेलेर तरेको छु । ‘आमा’ उपन्यासको पावेल भ्लासोभसँगै जारशाहीका विरुद्ध नारा घन्काएको छु ।

भीष्महरू नियमितजसो हाम्रो घरमा आउँथे । उनीहरूको सरल र संघर्षशील जीवन ठ्याक्कै रुसी र चिनियाँ कथाका पात्रहरूसँग मिल्थ्यो । उपन्यास पढ्दापढ्दै र भीष्महरूसँग भेट्दाभेट्दै कतिबेला कम्युनिस्ट बन्न पुगेँ, पत्तै पाइनँ । जीवन शर्मा, रमेश, रायन र माइला लामाका गीतहरूले आगोमा घ्यूको काम गरे । दिनरात मेरो दिमागमा एउटै कुरा खेल्थ्यो, “क्रान्ति !”

सुत्दा चे ग्वेभाराको जीवनी लेखेको पुस्तक सिरानीमुनि राखेर सुत्थेँ र सपनामा देख्थेँ म पनि चे–ग्वेभारासँगै दक्षिण अमेरिकाका जंगलहरूमा छापामार युद्ध लड्दै गरेको । मेरो किशोरावस्था क्रान्तिकै सपना देख्दै बित्यो । मलाई चिनियाँ जनताले झैं हाम्रो देशमा पनि जनवाद ल्याउने रहर पलायो । रुसी जनताले झैं नेपालमा समाजवाद ल्याउने तीव्र इच्छा जाग्यो ।

युवा अवस्था टेक्दै गर्दा उच्च शिक्षा अध्ययन गर्न म काठमाडौं छिरेँ । काठमाडौँमा धेरै केन्द्रीय स्तरका नेताहरू बस्छन् । अफशोच !

आलिशान बंगलामा बस्ने र कारमा हुइँकिने मेरा कामरेडहरूसँग म आकर्षित हुन सकिनँ । उनीहरूलाई देख्दा रुसी र चिनियाँ कथाका खलनायकहरूको याद आउँथ्यो । क्याम्पसका विद्यार्थी नेताहरू माक्र्स र माओत्सेतुङको कुरा गर्र्दैनथे । उनीहरू पनि कमाउने र जमाउने धन्दाकै कुरा गर्थे । यसरी मेरो सपना ऐनाझैं फुट्यो । दुई वर्षसम्म म तिनै फुटेका सिसाका टुक्राहरू जोडजाड गर्नमै लागेँ । सपनाहरू जोड्जोड्दै म कतिबेला नालीमा परे, सिर्जुको आगमनपछि बल्ल थाहा पाएँ । लाग्यो, सिर्जु मलाई यो फोहोरबाट उद्धार गर्न आएकी हो ।

मलाई माक्र्सवादको वैज्ञानिक नियम थाहा थिएन । म त उपन्यास पढेर कम्युनिस्ट भएको मान्छे, भावनामा बगेर कम्युनिस्ट भएको मान्छे । मलाई कार्ल माक्र्सले आफ्नो ठेलीहरूमा के भनेका रहेछन् भन्ने जान्न तीब्र इच्छा जाग्यो ।

त्यसपछिका दिनहरूमा म विद्यार्थी राजनीतिमा कम सक्रिय हुन थालेँ र बढी समय अध्ययनमा लगाउन थालेँ । ‘पुँजी’को खण्ड १ दुई पटक पढेँ तर केही बुझिनँ । तेस्रो पटक पढ्दा अलिअलि बुझेजस्तो लाग्यो । त्यसमा रहेको अतिरिक्त मूल्यको सिद्धान्तबाट बढी प्रभावित भएँ । मलाई लाग्यो– अचेलका कम्युनिस्ट पार्टीहरू कारखाना हुन्् । नेताहरू कारखानाका पुँजीपति । हामीजस्ता युवा विद्यार्र्थी र भीष्महरू जस्ता भुइँ तहका कार्यकर्ताचाहिँ मजदुर । जसरी कारखानामा मजदुरहरूको अतिरिक्त मूल्यको शोषणबाट पुँजीपतिले पुँजी जम्मा गर्छ, मोजमस्ती गर्छ, पार्टीरूपी कारखानामा पनि त्यही हुँदैछ । तल्लो तहका कार्यकर्ताको टाउकामा टेकेर नेताहरू सांसद हुन्छन्, मन्त्री÷प्रधानमन्त्री हुन्छन् । ऐसआरामको जिन्दगी जिउँछन् । अनि जनताले ?

मलाई सिर्जु र उसका साथीहरूको याद आयो । उनीहरू नेपालमा नयाँ खाले क्रान्ति चाहन्छन् । यदि उनीहरू साँच्चै नेपाली जनतालाई शोषण र लुटबाट मुक्ति दिन चाहन्छन् भने उनीहरूले कार्ल माक्र्सलाई पढ्नैपर्छ अन्यथा उनीहरू स्वयम् शोषणको दुष्चक्रभित्र फस्नेछन् ।

० ० ०

मोबाइलको घण्टी बज्यो । जयबहादुरले फोन गरेको रहेछ ।

“दाइ ! सम्मेलन आइसक्यो, आर्थिक अभियानमा हिँड्नुपर्‍यो ।”

“जयबहादुर भाइ ! म त भ्याउँदिन । आज सिर्जुले भ्रष्टाचारविरोधी अभियानमा बोलाएकी छ । त्यहाँ जानुपर्छ ।”

“दाइ ! कुरा के हो ? तपाईँ त सिर्जुको प्रेममा पर्नुभयो कि के हो ? हँ ?”

मैले हाँसेर प्रतिक्रिया दिएँ । 

“दाइ ! एउटा बुर्जुवा केटीको लागि तपाई कम्युनिस्ट आन्दोलनबाट विचलित हुनु ठीक भएन ।”

“होइन भाइ ! म कम्युनिस्ट बन्न सिक्ने प्रयास गर्दैछु ।” मैले भनेँ अनि फोन राखेँ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ८, २०७३  ०९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC