– सफर पोखरेल
लेख्दै मेट्दै,
फेरि लेख्दै मेट्दै,
कुनै कविता म रच्न खोज्दैछु
मानौं यो कुनै बालुवाको बगर हो
जहाँ म
मायाका कणहरु लेख्न खोज्दैछु ।
छालजस्तै उर्लिन्छन् भावहरु मनमा
तिमी किनार बनेर पर उभिएकी छ्यौ
र, म त्यही किनारलाई छुन खोज्दैछु ।
केहीबेर अघि,
जुन गल्ली हुँदै तिमी गयौ
र हरायौ अँध्यारोमा,
त्यही बाटोका डोबहरु पछ्याउँदै
यी पाइलाहरु अघि बढ्न खोज्छन् ।
तर त्यो गल्लीको बाटो
कहाँसम्म पुग्छ र रोकिन्छ,
वा रोकिन्न,
थाहा छैन मलाई ।
म र मेरा पाइलाहरु फरक हौं
म मेरो मस्तिष्कले चल्छु,
मेरा पाइलाहरु मायाले चल्छन् ।
मेरो कुनै कथा छैन
र मान्छेहरुले देखेजस्तो
वा अनुमान गरेजस्तो पनि होइन
किनकि मलाई थाहा छ,
यो अथाह छ
र, यसको कुनै अन्त्य छैन ।
जे कुराको कुनै अन्त्य छैन
त्यसलाई शुरु म कहाँबाट गरूँ !!
म नास्तिक होइनँ
यत्ति हो,
मलाई भगवानमा विश्वास लाग्दैन
कुनै दिन तिम्रो दीर्घायुको कामना गर्दै
कुनै मन्दिरमा उभिएर धूप बालेछु भने,
नसम्झ मैले भगवानलाई सम्झिएँ ।
त्यो पल मैले तिमीलाइ सम्झेको हुनेछु
मैले नसम्झिए पनि
मेरो मनले सम्झिएको हुनेछ ।
तिमीले नसुन्न खोज्दाखोज्दै पनि
मैले मेरो मन तिम्रो अगाडि पोखिदिएँ
बिस्कुनजस्तै छरिएको मन
तिमीले देख्यौ वा देखिनौ,
थाहा छैन मलाई ।
बेला-बेला लाग्छ,
मैले मेरो मन तिम्रो सामुन्ने पोखेर
रित्तो-रित्तो बनाएँ यसलाई
अब तिमीलाई सुनाउन
केही बाँकी छैन यसमा ।
र फेरि लाग्छ,
मेरा भावनाहरु तिमीसम्म नपुग्दै
बाटैमा हराए कि कतै !
बिलाए कि कतै !
फेरि कताकताबाट भरिएर आउँछ मन
र सोच्छु-
तिम्रो सामुन्ने पोखिऊँ फेरि म ।
तर जसै तिम्रोअघि हुन्छु
शब्द हराउँछन्
बोली बिलाउँछ
म त अमूक र अवाकजस्तो हुन्छु ।
र पनि,
केही शब्दहरु खोजेर,
मन बटुलेर,
लेख्दै मेट्दै,
फेरि लेख्दै मेट्दै,
कुनै कविता म रच्न खोज्दैछु
मानौं यो कुनै बालुवाको बगर हो
जहाँ म
मायाका कणहरु लेख्न खोज्दैछु ।