site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तिम्रो लोग्ने खै ?
Ghorahi CementGhorahi Cement

 

 

 

Agni Group

दक्षिणी ब्रसेल्सको त्यो पार्कमा जाँदा सुनिता सुर्ताले सिट्ठी थिई । त्यही पार्क, जसले उसको दिमागमा धपेडीको घण्टी बजाइरहन्छ । पोखरीको पल्लोपट्टिको व्यस्त पाटोले कहिल्यै आकर्षण गरेन ।

वल्लोपट्टिको त्यो ठिंग रूखको सामुन्नेको एकांकी सिट सुनिताको अभ्यस्त ठाउँ हो । आज त्यहाँ अर्कै युवती बसिरहेकी छे । देख्दैमा थाहा हुन्छ- ऊ बेबी-सिटर हो । नजिकै उभिएको केटो निकै मुडमा गफ दिँदै थियो र प्रतिक्रियामा त्यो केटी खितखित गरिरहेकी थिई ।

Global Ime bank

त्यस युवतीका टिमिक्क मिलेका दाँत थिए र कुमसम्म छोटाइएको कपाल । अनुहारमा नछाँटिएको आँखीभौं, सुख्खा ओंठ र काननेर पातलो झुसे रौं । जिउ त बान्की परेकै हो तर खान्की नपुगेजस्तो ।

त्यो केटीको ढाँचाकाँचा देख्दा सुनिताको दिमागमा फेरि घण्टी बज्यो । ऊ त्यसरी नै बच्चा घुमाउन स्ट्रोलर लिएर आउँथी । रूखतिर फर्केर त्यही कुनो सिटमा बस्थी । बज्यैको कुकुरले तीनचोटि परिक्रमा गरेर त्यही रूखसँग भुक्थ्यो वा कुरा गर्थ्यो । त्यो देख्दा ऊ हैरान मान्थी । अजय आउँथ्यो, गफास्टक हँसाउँथ्यो, अनि त सारा दुनियाँलाई बिर्सेर खितखिताउँदै ऊ घर फर्कन्थी । ती दिन खुसीले बितेका थिए, वर्तमानमा पीडादायी स्मृति बनेर । उसको अन्तर्दृष्टिमा अनौठो लाग्यो र आफैँलाई सोधी- को होली यो केटी ?

त्यो केटोले बोल्दाबोल्दै चंखे आँखाले सुनितालाई झुलुक्क हेर्‍यो । सुनिता तर्की ।

 

० ० ०

 

पाँच वर्षअघि हिउँदको मुखमा सुनिता ब्रसेल्स आएकी थिई । एक युरोपेली दम्पतीले उसलाई ल्याएका थिए । काठमान्डुको एउटा अन्तर्राष्ट्रिय संस्थामा काम गरेको त्यो दम्पतीको घरमा सुनिता बेबी-सिटिङ गर्थी । त्यो दम्पती र बच्चोले सुनितालाई असाध्यै मन पराउँथे । उनीहरूको काठमान्डु पोस्टिङ सकिएपछि ब्रसेल्स सरूवा भयो । उनीहरूले सुनितालाई पनि सँगै ल्याए ।

सुनिता बेल्जियम जाने भएपछि उसका साथीहरूले 'मस्ती मार्ने भई' भनेर हौस्याएका थिए । ऊ पनि युरोपमा के-के नै होला भनेर तरंगित भएकी थिई । उसले पनि त त्यतिखेरसम्म विदेशी भूमिमा पाइला टेक्न पाएकी थिइन । एकपटक मुम्बई जान कस्सिएर साथ लागेकी थिई । भैरहवा काटेपछि बोर्डरमै फर्काइदिएका थिए । पछि हो उसलाई थाहा भएको- ऊ त धन्दावालाहरूको फन्दामा परेकी रहिछे । त्यसपछि उसलाई विदेश भनेको अमूर्त भूतजस्तो लाग्थ्यो ।

ती युरोपेली दम्पतीकोमा काम गर्दै जाँदा उसको वास्तविक र काल्पनिक संसार सबै बदलियो । विदेश जाने साहस त आयो तर ब्रसेल्समा उसले गुप्तबासझैं बिताई । सुनिता मालिककै घरमा बस्थी । अगाडिबाट देख्दा सय वर्ष पुरानो जस्तो लाग्ने घरपछाडि फराकिलो बगैंचा थियो । हप्तामा दुई दिन एक बगैंचे आएर चिटिक्क पार्थ्यो ।

मौसम ठिहिरो चिसो थियो, तैपनि आकाश खुलेको दिन ऊ त्यतै टहलिन्थी । घरबाहिर कहिल्यै आफूखुसी एक्लै गइन । एकदिन छुट्टी मागिन । त्यो दम्पती विकेन्ड- खासगरी आइतबार सुनितालाई ‘आफ्नो समय’को लागि प्रोत्साहित गर्थे । सुनिता भने छुट्टी पनि बच्चासँगै खेलेर बिताइदिन्थी । ऊ जाओस् पनि कहाँ ? त्यो सहर उसले पटक्कै चिनेकी थिइन । त्यहाँ फ्रेन्च भाषा बोलिन्थ्यो, ऊ फिटिक्कै बुझ्दैनथी । त्यो परिवारबाहेक उसले चिनेको एकजना पनि कोही थिएन । त्यो सहरको धेरै सिस्टम उसको लागि साइन्स फिक्सन जस्तो लाग्थ्यो ।

हिउँद गयो र गयो वसन्त पनि । ग्रिष्म छिप्पिइसकेको थियो । सुनिताको साहूले एक दिन नयाँ कुरा निकाल्यो, "सुनिता, तीज कार्यक्रममा जान्छ्यौ ?"

उसलाई साहूले ठट्टा गरेझैं लाग्यो- तिजको कार्यक्रम यो साहूलाई कसरी थाहा हुन्छ ?

साहूको अनुहार भने गम्भीर थियो । तीज पर्वबारे साहू-साहुनीलाई राम्ररी थाहा थियो । पोहोर तीजमा सुनिताले साहुनीलाई रातो सारीमा सिँगारेर पशुपति लगेकी थिई र साहुनीले हातको पारा लगाई-लगाई नाचेकी थिई । त्यो हुलमा ६ फिटभन्दा अग्ली साहुनी हात्ती नाचेजस्तो देखिन्थ्यो । कसैले सानो भिडियो खिचेको रहेछ । त्यो हेरेर पछि ती बेस्करी हाँसेका थिए ।

नेपाल छोडेपछि पहिलोचोटि सुनिताले रातो कुर्ता-सुरूवाल नेपाली शैलीमा लगाई । साहूले गाडीमा छोडिदियो । यसपालि चाहिँ साहुनी गइन । बेल्जियममा पहिलोचोटि सुनिताले आफ्नो भाषामा धित मर्ने गरी गफ गरी । धित मर्ने गरी गाई । र, धित मर्ने गरी नाची ।

त्यसको २ हप्तापछि साहू-साहुनी काममा गएको दिन ढोकामा नौलो अनुहार देखियो । बोलेपछि थाहा भइहाल्यो- ऊ नेपाली रहेछ । सुनिताको थातबाससम्म चिन्ने ।

"यतै नजिकै काममा आएको थिएँ । बहिनी यतै बस्छ्यौ भन्ने सुनेको थिएँ । चेलीबेटीको हालखबर के छ भनेर नि !" उसले बत्तीसै दाँत देखाएर भन्यो, "तिम्रो घर नुवाकोट होइन ?"

"हो, तर मैले त हजुरलाई यसअघि देखेकी थिइनँ नि ।"

"लौ, लुभेनमा त्यसरी नाचेकी," उसले भन्यो, "तिमीले बिर्से पनि त्यस्तो राम्रो नाच्नेलाई देख्नेले बिर्सेका छैनन् ।"

नाचेको प्रसंग सुन्दा सुनिता लज्जावती झारझैं सप्याकसुपुक भई । ऊ नाच्न त रहर गर्थी तर के ढंगले नाचुँली भनेर सन्देह गर्थी ।

एक कप कफीको बाफमा तिनले थप चिनापर्ची गरे ।

"काम कस्तो छ ? साहू–साहुनी जाती छन् ?" अजयले सोध्यो ।

सुनिताले टाउको हल्लाई मात्र ।

"सजिलै छ भने ठिकै छ । नत्र यहाँ काम फालाफाल पाइन्छ," कुर्सीबाट उठ्दै गर्दा आश्वस्त स्वरमा उसले भन्यो, "यसो २-४ महिना बारमा उभियौ भने यहाँको काम र भाषा सबै सिकिहाल्छ्यौ । त्यसपछि त सर्भिसमा राम्रो गर्न सक्छ्यौ ।"

त्यसअघि उसले आफू एक रेस्टुरेन्टको मालिक भएको उल्लेख गरेको थियो ।

अर्को दिन त्यो मान्छेले सुनितालाई एउटा पार्कमा लग्यो । त्यस दिनपछि बच्चा स्ट्रोलरमा लिएर सुनिता पार्कमा बारम्बार जान थाली । ठूलो रूखको आसपासमा उसलाई मन पर्ने एउटा एकांकी कुनाको सिट थियो । अजय त्यहीँ आइपुग्थ्यो । आकाशको तारादेखि धरतीका सारा कुरा गर्थे उनीहरू ।

सुनिताको साहू छक्क पर्‍यो, जब उसले छुट्टी मागी । उसले एकदिनको लागि मात्र होइन, पूरै सप्ताहन्तको लागि छुट्टी मागेकी थिई । साहूले छुट्टीको माग अनुमोदन गर्‍यो । अलिकति पकेट खर्च पनि दियो ताकि उसलाई ब्रसेल्सको छुट्टीमा रस बसोस् ।

"तिम्रो उमेर भनेकै घुम्ने र रमाइलो गर्ने हो," साहूले भनेको थियो, "के कसो रमाइलो गर्छ्यौ ? मलाई सुनाउन नबिर्सनू नि ।"

ब्रसेल्समा पहिलो छुट्टीको रात उसको २२ वर्षे जीवनको डायरीमा कहिल्यै नबिर्सने मिति बन्यो । अजयसँगको त्यो अनुभव उसको जीवनमै पहिलो थियो । त्यसअघि पनि गाउँमा उसको एउटा केटासँग उठबस नभएको होइन तर ती अल्लारे चकचकमात्र थिए । उसको नैतिक बल सुषुप्त रूपमा यति सचेत थियो कि उसका हर्मोनहरू पनि नियन्त्रित थिए र चकचके कान्छालाई उसले बाँकी अर्को चोटि भन्दै थाँती राख्ने गर्थी । ब्रसेल्समा भने अजयका आश्वासनहरूको इन्धनले ऊ निथ्रुक्क भएकी थिई र उसका चाहनालाई निषेध गर्न असमर्थ थिई । ऊ अजयको मन अतृप्त राख्न चाहन्नथी ।

सुनिताले छोटकरीमा अजयलाई ‘३२ वर्षको अविवाहित रेस्टुराँ व्यापारी’ भनेर चिनेकी थिई । जीवनमा उसका थुप्रै प्रोजेक्टहरू थिए । त्यसमध्ये एउटा प्रोजेक्टमा उसले बिहे गर्ने, घर बसाउने योजनाबारे सुनितासँग अन्तरंग छलफल गरेको थियो ।

 

० ० ०

 

बेबी सिटिरको भिजा सकिँदासम्म सुनिता नेपाल फर्किदिए हुन्थ्यो जस्तो साहूले गरे । ऊ एक वर्षको लागि आएकी थिई । वर्ष सकिन महिना दिन पनि बाँकी थिएन । साहूले प्रकृया नअपनाए भिजा थपिने कुरै थिएन । उनले भिजाको प्राविधिक पक्षलाई हेरे, भावनात्मक पक्षलाई वास्तै गरेनन्- जस्तो सुनिताले महसुस गरेकी थिई । उसले आफ्नै घर र आफ्नै बच्चा जस्तो गरी काम गरेकी थिई तर साहूले काममा खटाइएकी नोकर्नीभन्दा बढी सोचेका रहेनछन् भन्ने सम्झेर उसलाई पीडा भयो ।

"तिमी फर्कने टिकट लिइदिएको छु," साहूले खबर गरेका थिए ।

साहूको कुरामा उसले सुन्यानसुन्यै अन्तै हेरेकी थिई, प्रतिक्रियाविहीन ।

उसले आफ्नो प्रतिक्रिया अजयलाई दिई, "यहाँ बस्नै मिल्दैन भन्छ साहू । म त नेपालै फर्किन्छु ।"

सुनिताको कुरालाई अजयले पटक्कै अप्रत्याशित मानेन । उसले हलुकासँग यत्ति भन्यो, "तिम्रा कपडा एउटा ब्यागमा कोचेर यहाँ आऊ, सक्किगो नि । म छु नि ।"

सुनिताले अलिकति चिन्ता र अलिकति भरोसाको नजरले अजयलाई हेरी । उसलाई बस्न धेरै रहर थिएन । उसको मन प्रतिदिन अल्झेको अजयको जोडबलले मात्र थियो ।

"एउटा सानु समस्या छ । त्यो सक्किएपछि हामी बिहे गरौंला," उसले भन्यो ।

"कस्तो समस्या ?" रमरम डराएको स्वरमा उसले सोधी ।

"तिमीलाई थाहा छ नि । यहाँ बस्ने पेपर बनाउन कति नाटक गर्नुपर्छ ! एउटी फुपूसँग बिहे गरेको थिएँ तर अब करिब-करिब काम सक्कियो । मेरो पेपर पक्का भइसक्यो । त्योसँग डिभोर्स मागेको छु," उसले थप्यो, "डिभोर्स प्रोसेस नसकिएसम्म अलिकति गारो हुन्छ क्या । काम सकियोस् अनि हाम्रो सुरू हुन्छ ।"

त्यो छोटो र अप्रीतिकर कहानी सुनेपछि सुनिता आकुल-व्याकुल भई । उसले यत्ति सोधी, "हाम्रो बिहे त हुन्छ नि ?"

"मैले तिमीलाई कतिचोटि भनिसकेँ ?" उसले दाहिने हात छातीमा राखेर भन्यो, "कसम ! मैले भनेको मान सब ठीक हुन्छ ।"

काठमान्डु फर्कने टिकट भएको अघिल्लो दिउँसो साहू-साहुनी घरमा थिएनन् । सुनिताले घरका कोठाहरू चहारिरही । उसले कफी बनाई, धेरैपल्ट । टिभी खोली, बन्द गरी धेरैपल्ट । सानु फुच्चे एकाध घण्टा उँधेर उठ्दा ऊ घटघट पानी पिउँदै सोफामा सुइय्य गरिरहेकी थिई । चार वर्षको फुच्चे एकाएक सुनिताको अगाडि उभियो र भन्यो, "सर्ट खोल ।"

"किन ?" सुनिताको मुखबाट फुत्कियो ।

"आई मेक यु फिल गुड," फुच्चेले भन्यो ।

"कसरी ?"

"मामु अपसेट भयो भने म ढाडमा मालिस गर्दिन्छु," फुच्चेले भन्यो, "हजुरलाई पनि त्यस्तै गर्दिन्छु ।"

फुच्चेका कुराले सुनिताका आन्द्रा मरीमरी हाँसे । बेचैनी बेपत्ता भयो । साँझपख साहुनी घर फर्किइन् । सुनिताको सकस दबेको ज्वरोझैं बढिहाल्यो । ऊ घरिघरि झ्यालबाट बाहिर हेर्थी, शायद खुला परिवेशले आँखालाई शीतल बनाउला कि भनी । साहुनी जिउ पखाल्न बाथरूमभित्र छिरेकी थिइन्, पुन्टे झोला बोकेर सुनिता घरबाहिर निस्की । ऊ त्यो घर फर्किन, न भोलिपल्ट एयरपोर्ट पुगी ।

सुनिताको अनुभव र विज्ञेषज्ञता बेबी-सिटिङमै थियो । उसले पुनः त्यही काम पाई । दक्षिण युरोपेली मूलका कुनै पानीजहाज कम्पनीमा काम गर्ने श्रीमान् र कस्मेटिक उत्पादक कम्पनीमा काम गर्ने श्रीमतीका २ वर्षे जुम्ल्याहा नानी थिए । श्रीमान् घरमा धेरै बस्दैनथे र बस्दा पनि धेरै बोल्दैनथे । श्रीमती हँसिली थिई र मनका कुरा भनिहाल्थी ।

"अनि पहिलेको काम किन छोडेकी त ?" साहुनीले सोधी, कनिष्ठलाई खाना खुवाउँदै । सुनिताले जेठो जुम्ल्याहालाई खुवाउने जिम्मा पाएकी थिई ।

"म काम सकेर फर्कनेवाली थिएँ । अजयले यहीँ बस्ने, बिहे गर्ने भन्यो, रोकिएँ," उसले भनी ।

"अजयले चाहिँ कहाँ काम गर्छन् नि ?"

"उसको रेस्टुरेन्ट छ । हाम्रो बिहेपछि मैले पनि त्यहीँ गर्ने कुरा छ ।"

सानो रहस्य बुझेझैं साहुनीले टाउको हल्लाई । काम मिलेकोमा सुनिता खुसी नै थिई । ऊ पूरै सन्तुष्ट त थिइन किनभने उसको तलब पहिलेको ठाउँभन्दा निक्कै कम थियो । तैपनि तत्काललाई गर्जो टार्ने स्रोत भयो भनेर चित्त बुझाएकी थिई । ऊसँग वर्क परमिट पनि त थिएन । कागजी काम नसकिन्जेल हो, त्यसपछि त आफ्नै व्यापारमा अजयसँग काम गर्ने हो भनेर ऊ भित्रभित्रै गदगद थिई ।

वर्षादको अर्को दिन ऊ भान्सा कोठामा छिर्दै थिई, केही गडबड लाग्यो । भान्सा भद्रगोल थियो । किन त्यो सुव्यवस्थित र सुग्घर देखिएन भन्ने सोचेकी मात्र थिई, बत्तिएर बाथरूमतिर छिरी । टाउको दुखेको होइन, पेट बटारिएको होइन । दुईपल्ट हिक्क भएको थियो, घाँटी पोल्यो, रगत आयो कि भनेर वास-बेसीनमा थु गरी तर केही थिएन । साहुनीलाई के भन्नु ? ऊ आफ्नै छायादेखि डराउन थाली । फोन गर्दा अजयले ‘पत्ता लगाउँछु’ भन्यो । आत्तिएरै उसले बाँकी दिन धकेली ।

‘पोजिटिभ !’ तिनले पालैपालो एउटै शब्द दोहोर्‍याए । अजयले एउटा टेस्टर ल्याएको थियो । सुनिता चिसोले जमेजस्तो अरठ्ठ भई । यो असजिलो समयमा बच्चा पाउने कुरा सजिलो थिएन । गर्भपतन गर्ने कि भनेर उनीहरूले तर्कबितर्क पनि गरे । सुनिता ओभरस्टे गरेर गैरकानुनी हैसियतमा थिई । अरू कसैको स्वास्थ्य बिमा कार्डमा जाने कि भनेर पनि छलफल भयो । तर कसको कार्डमा ? त्यत्तिकै रह्यो । एकदिन अजयले सुनितालाई नयाँ ठाउँमा लग्यो र भर्ना गरायो । भन्यो, "त्यो फुपू गोरिनीसँगको डिभोर्सको प्रक्रिया नसकिन्जेलसम्म मात्र हो ।"

सुनिता कारितासको भवनमा बस्न थालेपछि अजय व्यापार-स्यापारमा ज्याद्री व्यस्त हुन थाल्यो । उसको आईजाई कम भयो । एकपटक उसले व्यापारको सिलसिलामा लन्डनमा छु भनेर फोन गरेको थियो । अर्को महिना काठमान्डुमा आकस्मिक आइपुगेँ भनेर खबर गर्‍यो । प्रसूतिको बेला ऊ अस्पतालमा पुग्न पनि भ्याएन । अस्पताल र नगरपालिकाका मान्छेले सुनितालाई 'बच्चाको बाबु को हो ?' भनेर सोधे । उसले नाम दिई । तिनले अनुपस्थित बाबुको परिचयपत्रको निस्सा मागे र विवाह दर्ताको प्रमाणपत्र खोजे । त्यो त सुनितासँग थिएन । अस्पताल र नगरपालिकाका मान्छेले बाबुको नामबिनै बच्चाको नाम दर्ता गरे । तिनको रेकर्डमा ऊ ‘कुमारी आमा’ भई ।

हतासमा बतास उदासलाग्दो उच्छवासका साथ चलेझैं लाग्थ्यो । सात समुद्रपार कारितासको आश्रय र बिरानो अस्पतालमा नाबालक बच्चा लिएर जीवन गुजार्नुपर्दा सुनिताको मन धरक्कै रोयो । ऊ पछिल्लो चोटि कहिले हाँसेकी थिई, यादै गर्न सकिन । अजयसँग भेट नभएको महिनौं भइसकेको थियो । उसले दुःखम् सुखम् नेपालै फर्कने अठोट गरी ।

नेपालमा उसको परिवार, छिमेक र समाज आँखा अगाडि नाचिरह्यो । तिनको माया दया खट्किरह्यो । उसका दुई आँखा छेउबाट ठूलो आँशुको थोपा गुल्टँदै गएर मुखको कुनामा लुप्त भए । उसको थकित शरीरले दुःखी मस्तिष्कलाई भन्यो- फर्क, फर्कीहाल् ।

सोच्दासोच्दै ऊ झल्याँस्स भई, "अहिलेसम्म बच्चा जन्मेको कुरा भनेकै छैन । भनुँ पनि कसरी ? यत्तिकै गाउँ फर्के थूःथूः गर्लान् नि, बिनाबाउको बच्चा ल्याई भनेर !"

बच्चा ३ महिनाको भइसकेको थियो ।

झमझम झरी परेको दिन, वर्षाद छेल्न नसकेको सानो छाता ओढेर अजय टुप्लुक्क आइपुग्यो । बेस्करी चिसो पसेको सुनिताको मनमा अलिकति आँत आयो । उसले अजयलाई पिलपिल हेरी ।

"सबै कुरा बिस्तारै राम्रो हुन्छ," अजयले आश्वस्त पार्‍यो, "तर डिभोर्सको कुरा अझै पूरै टुंगिएको छैन, कुर्नुपर्छ ।"

सुनिताको जोडबल गर्ने शक्ति क्षीण भइसकेको थियो । अजयलाई देख्दा मात्र पनि धेरै साहस र ढाडस मिलेको थियो ।

लामै तुल टाँगेर अजयले आफू हराएको संसारसँग पुल जोड्यो । बोल्दाबोल्दै उसले काठमान्डुमा अर्की स्वास्नी र दुइटा बच्चा छन् भन्यो । सुन्दासुन्दै सुनिता लल्याकलुलुक भई । उसको जागृत हुँदै गरेको साहस र ढाडसको सूचक एक्कासि शून्यमा झर्‍यो । ऊ निःशब्द भई ।

भोलिपल्ट फेरि आएर अजयले फकाउन थाल्यो, "के गर्ने त नि, दुइटा स्वास्नी भइहाल्यो । उसलाई उहीँ राख्छु । तँलाई यहाँ माया दिएर राख्छु ।"

"बिहे गरेर कि रखौटी बनाएर ?"

"यहाँ राख्छु," अजयले हावाको सानो झोंक्का छातीमाथि लग्यो र भन्यो, "मनकी रानी बनाएर ।"

"मनकी रानी !" सुनिताले कारितासको आश्रयस्थल वरिपरि कटाक्षले नजर घुमाउँदै भनी ।

"नरिसा हेर्," अजयले भन्यो, "कहिलेकाहीँ सोचे जस्तो हुन्न । अलिअलि दुःख पर्‍यो भनेर हिम्मत हार्नु हुन्न, विश्वास गुमाउनु हुन्न ।"

यो बिरानो मुलुकमा अजयबाहेक उसले एक पित्को चिनेको कोही थिएन, जोसँग उसले केही आशा गर्न सकोस् ।

यो मान्छे क्रेजी छ तर मलाई उसको आवश्यकता छ– मनमनै सोची ।

रसिला आँखाले बच्चालाई हेरी । उसले दायाँ हत्केलाले मुख छोपेकी थिई । एकै छिनमा आँसु बरर्र पारी ।

 

० ० ०

 

एक मुठा कागजपत्र हातमा बोकेर सुनिता कारितासको अफिसमा पुगेकी थिई । सोसल असिस्टेन्टले बोलाएको नाम कानमा पर्दा उसका आँखा टाठा भए- सपना लामा ।

उसले त्यो महिलालाई पहिल्यै देखिसकेकी थिई । तर कुन राष्ट्रियताकी होली भन्ने गम्दागम्दै खुम्चिएकी थिई । यसअघि ऊ धेरै पटक झुक्किएकी थिई ।

"कहिले भाषाको समस्या, कहिले कानुनी समस्या, कहिले के समस्या । कालिदासलाई आफ्नो समस्या भने काम गर्छन्," सपनाले भनी ।

"कालिदास ?"

"यही क्या, कालिदासमा आइरहन्छ्यौ ?"

"ए ! म त यहीँ कारितासमै बस्छु ।"

"अनि तिम्रो बूढो खै नि ?"

सुनिताको आँखा रूझेको देखेर उतिन्खेरै सपनाले बित्थामा सोधेछु भन्ने ठानी ।

"आम्मै, यस्तो नानी लिएर," सपनाले बच्चाको अनुहार हेरी, बच्चोले दन्तहीन मुस्कान दियो । उसले थपी, "हिम्मतिली रहिछौ ।"

सुनिताले ब्याग छामछुम गरेर एउटा फोटो निकाली ।

सपनाले त्यो फोटोवाललाई राम्ररी चिन्दी रहिछ, "गएको महिना त हो त्यसले श्रीमती र छोराछोरी ल्याएको ।"

सुनिताले आफ्नो हबिगतलाई सिनेमाको पर्दामा रमिते बनेर दृश्यांकन गरी । उसको आँखा अगाडि कुनै सिनेमाको दृश्य झल्झल्ती आयो । त्यो सिनेमा हेर्दा ऊ रोएकी थिई । अहिले त उसको आँशु पनि सकिएको छ ।

अर्को दिन अजय सुनिताकोमा आउँदा च्वाप्पचुप्प हतारमा चुम्मा खायो र पाइन्ट खोलेर कुनातिर फाल्यो । आडैमा टाँस्सिएर बस्यो ।

"पाइन्ट किन खोलेको ?" सुनिताले ठाडै भनी, "घरमा श्रीमती छे । उसैकोमा जानू नि ।"

सुनिताको मन ऊ सजिलै पढ्न सक्थ्यो । उसलाई हतार भइसकेको थियो तैपनि मनमनै सोच्यो– आज पापड बेलेरै फकाउनुपर्ने भयो ।

"अब म फकाएर फकिनेवाला छैन," उसले भनी, "म पुलिसमा उजुरी गर्छु ।"

ऊ जुरूक्क उठ्यो र नाकको डाँडीबाट सुनितालाई हेर्‍यो । सुनिता हलचल नगरी बसिरही र पर्लक्क माथि हेरी । सदैव देखेभन्दा फरक लाग्यो उसलाई त्यो मान्छे- पात्लो, पित्ले भुँडी र झुसे ।

"बकबक गर्दैमा तेरो राज चल्छ ?" त्यसले थप्यो, "तँ आफै इल्लिगल छेस्, के मुद्दा हाल्छेस् ?"

"मलाई के हुन्छ ? बढीमा जेल हाल्लान् रे ! अहिले पो जेलभन्दा के राम्रो छ र ? लौ डिपोर्ट गर्लान् रे ! यहाँ बस्न किन मरिहत्ते गर्नु छ र ?" सुनिताले त्यही भनी, जुन उसले हिजैपल्टदेखि यस्तै जवाफ दिन्छु भनेर मनमा खेलाइरहेकी थिई ।

"तैंले खोजेको चाहिँ के ?"

सुनिता आफ्नो सिटबाट बिस्तारै उठी र उसको सामने भई ।

"मलाई धोका दिइहाल्यौ । बच्चा त सकार आफ्नो रगत भएपछि," सुनिता सास फेर्न रोकिएकी थिई, अजयको रगत तात्यो ।

उसले औंला ठड्याउँदै भन्यो, "तँ यहाँ बस्न पाए त हो ! तँ तुरून्तै नेपाल जा । नत्र मै डिपोर्ट गराउने वातावरण बनाउँछु ।"

अघि कुनातिर फालेको पाइन्ट खोजेर उसले टक्टकायो र लगाउन थाल्यो । हतारमा फसनर लगाउँदा कतै च्यापियो र ऊ कुक्रुक्क पर्‍यो ।

"ए~~ मलाई डिपोर्ट गराउने ?" अजयको कुराको हाइलाइट टिपोट गरेझैं उसले दोहोर्‍याई, बिस्तारै तर सख्त लवजमा, "मैले भनिसकेँ– फर्कन परे फर्किउँला तर यस्ता फटाहालाई म छोड्दिन । मुद्दा हाल्छु, हाल्छु ।"

सुनिताले देखी- भर्खरैसम्म रिसले लाललाल देखिएको अजय धूर्त पाराले खितखित गर्दैछ । उसले सुनिताका कुरालाई हाउगुजीभन्दा ज्यादा नठानेको ऊ बुझ्न सक्थी । उसको पूरै अनुहार एउटा नकाबजस्तो लाग्यो ।

"तैंले मुद्दा हालिस् भने," उसले भन्यो, "तेरा ती फोटा र भिडियोको काम आउने भो । पोर्नो बनाएर इन्टरनेटमा राखिदिन्छु । फेसबुक र इमेलबाट पठाइदिन्छु– तेरा सबै नातेदारले देख्ने गरी ।"

लामो समयदेखि सुनितालाई त्यही कुराको डर थियो, त्यही सुनी ।

एकपटक उसले क्यामेरा पिलपिल देखेकी थिई र अजयसँग खै-खै गरेकी थिई । उसले क्यामेरा हत्तपत्त समातेको थियो र शब्दहरू जोडजाड गरेर आफूलाई व्यवस्थित गरेको थियो । लटपटाउँदै सोधेको थियो, "खै यहाँ के छ ?"

सुनिताले 'फेरि यस्तो नखिच्नू है' भनेर बिन्ती गरेकी थिई ।

उसले खिच्दिनँ त भनेको थियो तर तुरून्तै जोडेको थियो, "खिचे नै भने पनि लोग्नेस्वास्नीकै त हो ।"

सुनिताको दिमाग खराब भएको थियो त्यस दिन र ऊ बेस्सरी निराश बनेकी थिई । अनि अजयले दुई दिन लगाएर फकाएको थियो ।

उसको विस्मृतिको त्यो कुरा कुनै मूक भूत भएर आयो र उसलाई तर्सायो ।

"त्यो कुरा पनि खुलाएर पुलिसकोमा रिपोर्ट गर्छु," उसले भनी ।

त्यसपछि सुनितालाई त्यो पित्ले भुँडीवाला भूतले स्विचमा हात पुर्‍याएजस्तो लाग्यो । घम्लङ्ग कालो सिरकले छोपेजस्तो भयो । थिचे जस्तो भयो । उकुसमुकुस भयो ।

"मलाई छाडिदे, छाडिदे," ऊ धेरैबेरसम्म चिच्याएर रोई ।

एकछिनपछि ऊ कक्रक्क परी । अजय असिनपसिन हुँदै बाहिरतिर दौडियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ८, २०७३  ०८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC