site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
बीपी स्वास्थ्य प्रतिष्ठान राजनीतिक अखडा बन्दै, कांग्रेस र एमालेको लडाइँले कर्मचारीको तलब रोकियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपाली कांग्रेस र नेकपा एमालेको राजनीतिक ‘इगो’ का कारण कर्मचारी र चिकित्सकले तलब भत्ता बुझ्न पाएका छैनन् ।

प्रतिष्ठानमा कार्यरत १६ सय ३९ जना कर्मचारीले तलब भता नपाएका हुन् । प्रतिष्ठानमा तलब तथा भत्तामात्रै मासिक ७ करोड रुपैयाँ  वितरण हुने गरेको  छ । स्वास्थ्य र शिक्षाजस्तो संवेदनशील क्षेत्रमा स्थानीय ठुटे नेताले राजनीति गरेपछि प्रतिष्ठानको गरिमा धमिलो हुँदै गएको स्थानीय सरोकारवाला बताउँछन् ।

प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्रप्रसाद दासले कार्य अवधि समाप्त हुने भएपछि प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठलाई १० लाखसम्मको आर्थिक व्यवहार गर्न सक्ने र चिकित्सक, कर्मचारीको तलबभत्ता वितरण गर्न सक्ने अख्तियारी तोकेका थिए । तर, नेकपा एमालेको सिफारिसमा रजिष्टार नियुक्त भएका श्रेष्ठले त्यसलाई कार्यान्वयन गर्न सकेनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उपकुलपतिले गत पुस २० गतेदेखि प्रतिष्ठान छाडेपछि अहिले राजनीति दौडधूप बढेको छ । यो खिचातानीले कर्मचारी, चिकित्सक मात्र नभएर प्रशासन र सेवाग्राहीसमेत प्रत्यक्ष मारमा परेका छन् । नेपाली कांग्रेसको टीका लगाएर आएका कर्मचारीहरूको साझा संगठन ‘कर्मचारी कल्याण समाज’का उपाध्यक्ष उमेश थापा रजिष्टारविरुद्ध बाधक बने । 

उपकुलपति पदावधि सकिनु अघि प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठलाई  तत्कालीन उपकुलपति प्राध्यापक डाक्टर बलभद्रप्रसाद दासले प्रतिष्ठानको नियमित काम कारबाही सञ्चालन गर्न दिएको अधिकारमाथि थापाले प्रश्न उठाएपछि प्रतिष्ठानको सम्पूर्ण काम कारबाही प्रभावित बन्यो । 

Global Ime bank

थापा कांग्रेस निकट भएकाले एमाले निकट रहेका श्रेष्ठलाई अधिकार दिएको भनेर प्रा.डा. दासको बिदाइ कार्यक्रममा उनले मञ्चमै विरोध गरे । सार्वजनिक रुपमा विरोध भाषण गरेका उनले रजिष्टार श्रेष्ठले पाएको अख्तियारीलाई नै विवादित बनायो । 

दासले प्रतिष्ठानको हितका लागि रजिष्टारलाई १० लाख सम्म खर्च गर्न पाउने र चिकित्सक र कर्मचारीलाई तलव भता खुवाउन पाउने अधिकार दिएका थिए । तर,, यो राजनीतिक चुक्लीबाजका कारण डा. दासले गरेको अधिकार प्रत्यायोजन फिर्ता लिनु पर्यो । 

उपाध्यक्ष विरोध गर्ने, अध्यक्ष अधिकार प्रत्यायोजनको कुरा गर्ने 

प्रतिष्ठानको कर्मचारी कल्याण समाजका उपाध्यक्षले अधिकार प्रत्यायोजनको खुलेर विरोध गरे तर यता अध्यक्ष सुजेन्द्र तामाङले भने बिहीबार विज्ञप्ति जारी गर्दै प्रतिष्ठानमा उपकुलपति नियुक्ति नहुँदासम्मका लागि शिक्षक तथा कर्मचारीहरुले नियमित तलब तथा भत्ता वितरण गर्न प्रतिष्ठानका वरिष्ठ पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्न अनुरोध गरेका छन् ।
समाजका अध्यक्ष सुजेन्द्र तामाङद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “उपकुलपति नियुक्तिमा ढिलाई हुन गएमा प्रतिष्ठान सञ्चालन, विकास र विस्तारमा प्रतिकुल असर पुग्ने भएकाले विभागीय मन्त्रालय तथा सहकुलपतिको हैसियतले उपकुलपति नियुक्ति गर्ने कार्यमा विशेष अग्रसरता लिई यथाशक्य नियुक्ति गर्न समेत अनुरोध छ ।”

उपकुलपति नियुक्तिमा ढिलाइ भएपछि प्रतिष्ठान अस्तव्यस्त

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सरकारले उपकुलपति नियुक्तिमा ढिलाइ गरेका कारण प्रतिष्ठान प्रशासन अस्तव्यस्त हुन थालेको छ । प्रतिष्ठान पुस २० गतेदेखि उपकुलपति विहीन छ । 
निवर्तमान उपकुलपति प्राध्यापक डाक्टर बीपी दासको पाँच वर्षे कार्यावधि सकिएपछि अहिले प्रतिष्ठान उपकुलपति विहीन भएको हो । प्रतिष्ठानलाई हाँक्ने मूल नेतृत्व नै नभएपछि अस्पतालको सेवाबाहेक  दैनिक प्रशासनिक, शैक्षिक तथा आर्थिक कार्य सम्पादनमा कठिनाइ हुन थालेको छ ।

प्रतिष्ठानका महत्वकांक्षी अरबौँको योजनाहरू समेत अलपत्र हुन थालेको छ ।   आर्थिक प्रशासनबाट कुनै पनि आर्थिक कारोबार हुन सकिरहेको छैन । प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठका अनुसार  दैनिक तीन हजार बिरामी उपचारका लागि आउँछन्, आठ सय शैयामा बिरामी लडिरहेका छन् । चिकित्सक, नर्स, प्राविधिक सहित एक हजार ६ सय ३९ जना कर्मचारी छन् ।

प्रतिष्ठानमा कार्डियोलोजी (मुटु) र अंकोलोजी (क्यान्सर) को परियोजना चलिरहेको छ । ती सबै हेर्नका लागि नियमित खर्च निकासी बन्द भएको छ । उनका अनुसार उपकुलपति नियु्क्ती ढिलाइले कार्डियोलोजीका लागि १५ करोड रुपैयाँ र अंकोलोजीका लागि ३ करोड रुपैयाँ सरकारले उपलव्ध गराएपनि तोकिएको समयमा विधि र प्रक्रिया अगाडि बढाएर कन्सल्ट्यान्ट नियुक्तका लागि निर्णय गर्न नसके उक्त रकम फ्रिज हुने अवस्था सिर्जना भएको छ ।

सरकारले प्रतिष्ठानको उपकुलपति नियुक्तीका लागि हालसम्म प्रक्रिया अगाडि बढाएको छैन । प्रक्रिया बढाउनका लागि सहकुलपति वा स्वास्थ्यमन्त्रीको अध्यक्षतामा तीन सदस्यीय कमिटि गठन गरेर त्यसले पठाएको सिफारिसको आधारमा कुलपति वा प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्ने प्रावधान रहेको छ । तर हालसम्म सिफारिसका लागि कमिटी समेत बन्न नसक्दा  प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया अझै लम्बिन सक्ने संकेत देखिएको छ । 

उपकुलपतिमा कसले मार्ला बाजी ? 

यतिबेला उपकुलपति बन्न प्रतिष्ठानका कनिष्ठदेखि वरिष्ठ चिकित्सकहरूको दौड धूप बढेको छ । उपकुलपति बन्नका लागि आंकाक्षीहरू रातारात राजनीतिक दल , मन्त्रीदेखि प्रधानमन्त्री सम्मलाई ‘सोर्स’ लगाइरहेका छन् । प्रतिष्ठान स्रोतका अनुसार प्रतिष्ठानमा कांग्रेस, नेकपा माओवादी केन्द्र समर्थित पदाधिकारी उपकुलपति बन्ने दौडमा छन् ।

प्रतिष्ठान स्थापना कालदेखि कार्यरत सर्जिकल विभागका युरोलोजिष्ट प्राध्यापक डा चन्द्रशेखर अग्रवाल (सीएस अग्रवाल), रेडियोलोजी विभागका प्राध्यापक डा राजकुमार (आरके) रौनियार, मेडिसिन विभागका प्राध्यापक डा प्रल्हाद कार्की, हाडजोर्नी भिभागका प्राध्यापक डा गुरु खनाल, प्याथोलोजिष्ट तथा अस्पताल निर्देशक प्रा. अरविन्दकुमार सिन्हा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति समेत रहेकी प्रा डा संगिता भण्डारीलगायतले शक्ति केन्द्रतिर दौड लगाइरहेका छन् । 

यता निवर्तमान उपकुलपति प्राडा दास आफैँ पनि उपकुलपति पदलाई निरन्तरता दिन इच्छुक रहेको चर्चा छ । राजनितिक भागबण्डा भएमा  एमालेबाट उपकुलपतिका लागि कोही पनि सिफारिस हुने नैतिकता छैन । प्रतिष्ठानमा रजिष्टार तुलबहादुर श्रेष्ठ एमालेबाट पहिले नै नियुक्त भएकाले एमालेले यो नैतिकता गुमाइसकेको छ । 

यता कांग्रेस र नेकपा माओवादी केन्द्र समर्थितहरू बीच नै प्रतिश्पर्धा देखिएको छ । प्रतिष्ठान भित्रै उपकुलपतिका आकांक्षी मध्ये नेकपा माओवादी केन्द्र समर्थित डा गुरु खनाल एकमात्र धावक हुन् । कांग्रेस समर्थित आकांक्षीहरू डा सिएस अग्रवाल, डा राजकुमार रौनियार, डा प्रल्हाद कार्की समानान्तर रुपमा शक्ति केन्द्र धाइरहेका छन् ।

निर्वतमान उपकुलपति प्राडा दास र डा अरविन्दकुमार सिन्हा भने खुल्ला राजनितिको समर्थनमा नदेखिएकाले उनीहरू कामको मूल्याङ्कन गरेर स्वतः उपकुलपतिमा नियुक्तीको बाँसुरी बजाइ रहेका छन् । स्मरणीय कुरो प्रतिष्ठानको हालसम्मको इतिहासमा दोहोरिएर कोही पनि उपकुलपति भएका छैनन् ।

(धरानबाट रणध्वज लोहारको सहयोगमा)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७३  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC