site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

नेपालको कूटनीतिक सक्रियतासँगै बाहिरी हस्तक्षेप पनि केही वर्ष यता बढ्दै गएको छ । नेपालका उच्च पदाधिकारीहरूको विदेश भ्रमणको संख्या र निरन्तरता सम्भवतः नेपालकै इतिहासमा अहिले जति पहिले कहिल्यै थिएन । त्यसो त सामान्य कर्मचारी गए हुने कार्यक्रममा मन्त्री जाने र मन्त्री गए पुग्ने बैठकमा प्रधानमन्त्री नै जान तम्सने भएकाले पनि भ्रमणको संख्या बाक्लो देखिएको हुनसक्छ । तर, सामान्य भ्रमणहरूबाहेकै पनि विदेश भ्रमण विशेषगरी चीन र भारतको भ्रमणमा जाने राजनीतिक नेताहरूको संख्या हेर्दा त्यस्ता भ्रमणप्रति गम्भीर हुनुपर्ने बेला आएको देखिन्छ । अहिले चीनको नेपाल–चीन सम्बन्ध, तिब्बत मामिला  तथा पूर्वाधार विकासका विज्ञको टोली काठमाडौंमा छ । यो टोली नेपाल–चीनसम्बन्धी दुईदिने सम्मेलनमा सहभागी हुन काठमाडौं आएको हो ।  नेपालका प्रमुख राजनीतिक दलका नेताहरू पनि सहभागी हुने सम्मेलनमा चिनियाँ टोलीले दुई देशबीचको सम्बन्धको आधार, विश्वास, चासो र पूर्वाधार विकासबारे हुने छलफलमा भाग लिने बताइएको छ । स्वाभाविकरूपमा  चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका सदस्यसमेत सहभागी टोलीले नेपालमा राजनीतिक भेटघाट पनि गर्ने नै छ । यस्ता टोलीको घोषितमात्र हैन अघोषित कार्यसूची पनि हुनेगर्छ । अर्कातिर, नेपालका परराष्ट्रमन्त्री प्रकाशशरण महत भारतमा भएको ‘राइसिना डाइलग’मा भाग लिएर बुधबारै फर्केका छन् । यो राइसिना डाइलग धेरै हदसम्म भारतको हित सम्वर्धन गर्ने रणनीति निर्माण गर्न र विश्वमा भारतीय प्रभाव वृद्धि गर्न आयोजना गरिने मञ्च हो । भारत गएपछि परराष्ट्र मन्त्रीले भारत सरकारका पदाधिकारीसँग भेट गर्नु स्वाभाविकै हो । 

यी दुवै घटना खासै महत्त्वपूर्ण र नौला हैनन् । तर, यस्ता क्रियाकलापले दिने सन्देश भने नेपालको राष्ट्रिय स्वतन्त्रता र सार्वभौम सत्तालाई सुदृढ बनाउने प्रकारको हुँदैन । नेपाल भारत, चीन वा पश्चिमका मुलुकहरूसँग बढी नजिक हुन खोज्दा हस्तक्षेप पनि उत्तिकै बढी सहनुपर्ने जोखिम हुन्छ । यस्ता उदाहरण नेपालको इतिहासमा बग्रेल्ती भेटिन्छ । नेपालका राजनीतिक नेता र कर्मचारीहरूलाई व्यक्तिगतरूपमा पनि प्रभावमा पार्न विभिन्न प्रलोभन दिइने गरेको छ । भारतीय दूतावासले राजनीतिक नेताहरूका लागि वा तिनको सिफारिसमा दिने गरेको प्रत्यक्षपरोक्ष सहयोगले नेपाली समाजमा एक प्रकारको ईर्ष्या र आकर्षणमात्र हैन वितृष्णा पनि उत्पन्न गरेको छ । केही वर्ष यता चिनियाँ पक्षले पनि नेपालका पत्रकार, सरकारी कर्मचारी, राजनीतिक दलका नेता, कार्यकर्तालगायतलाई सैरसपाटा र मेजमानी बढाउँदै लगेको छ । राजदूतले योजना बाँड्ने भारतीय अभ्यासको सिको चिनियाँ दूतावासले पनि गर्न थालेको छ । यस्ता सबै क्रियाकलापको वास्तविक उद्देश्य त सरकारी संयन्त्रमा रहेका व्यक्तिलाई प्रभावित गर्ने नै हो । पहिलो पटक माओवादी सरकारमा गएका बेला नेपालका मन्त्रीहरू दसैं मान्न ल्हासा गएको घटना निकै चर्चित भएको थियो । पश्चिमा मुलुक र राष्ट्रसंघ तथा गैरसरकारी संस्थाहरूले पनि नेपालको सरकारका सबै अंगलाई प्रभावित पार्न व्यक्तिगतरूपमा 'गुन' लगाउने गर्दैआएका छन् ।

यस्ता क्रियाकलापले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप बढाउने गर्छ । कथित 'ट्य्राक २' कूटनीति गरिब मुलुकका शासकदेखि प्राज्ञसम्मलाई खरिद गर्न प्रयोग भएको अनेकौँ उदाहरण छन् । नेपाली प्रतिनिधिले विदेशमा गएर वा स्वदेशमै पनि विदेशीले आयोजना गरेको कार्यक्रममा तिनका गल्ती औँल्याउन सकेको देखिँदैन । नुनको हैन गुनको सोझो गर्ने प्रवृत्ति संस्कार बनिसकेको नेपाली समाजमा सरकारी वा गैरसरकारी कुनै क्षेत्रले पनि आतिथेयलाई नेपालको हितका बारेमा बताउने वा बुझाउने गरेको देखिँदैन । बरु, धेरैजसो साखुल्ले भएर आन्तरिक सूचना जानकारी दिएर 'अनौपचारिक गुप्तचरी' गर्ने गरेको पाइन्छ । चिनियाँ सम्मेलनमा नेपालका पूर्वप्रधानमन्त्रीलगायत उच्च पदाधिकारीले भाग लिनुपर्ने वा भारतको 'राइसिना डाइलग'मा परराष्ट्र मन्त्रीले नै भाग लिनुपर्ने कुनै आवश्यकता र औचित्य पनि देखिँदैन । त्यसबाट नेपालको राष्ट्रिय हित प्रवर्धनमा कुनै योगदान भएको पनि देखिँदैन । यसैले नेपालले  कूटनीतिक सक्रियता बढाएर बाहिरी विश्वसँग धेरै सम्पर्क र वैयक्तिक सम्पर्क विस्तार गर्ने अहिलेको नीति र अभ्यासमा पुनर्विचार गर्नु आवश्यक छ । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप कम गर्ने हो भने नेपालको भूमिमा छिमेकीको हितविपरीतका क्रियाकलाप हुन नदिने तर प्रशासन र समाजमा उनीहरूको घुसपैठ तथा हस्तक्षेप पनि नियन्त्रण गर्ने रणनीति अपनाउनुपर्ने देखिन्छ । नेपालले कूटनीतिक विस्तार धान्न सक्तैन । अहिलेकै नीति र अभ्यास कायम राख्ने हो भने राष्ट्रिय स्वतन्त्रता उपहास बन्न जानेछ । सुझबुझहीन कूटनीतिक सक्रियता बाहिरी हस्तक्षेपलाई निम्तो दिनुमात्र हो ।   

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ५, २०७३  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC