site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सरकार ! स्वास्थक्षेत्रको ‘राक्षस राज’ कहिले नियन्त्रण गर्ने ?

‘नमस्ते सर’ 
छोरालार्ई एमबीबीएसको नयाँ सत्रमा भर्ना गराउन काठमाडौंको एक मेडिकल कलेजमा पुगेका अभिभावक बडो हँसिलो मुद्रामा कोठाभित्र पसे । 
‘नमस्ते, बस्नुस् ।

...

खुलै छोडिएको ढोकाको ‘विशेष निगाहले’ म बाहिरबाटै भित्रको दोहोरो कुराकानी सुन्नेमात्र होइन अलि कष्ट गरे देख्ने भाग्यमानी बन्न पुगेँ ।
‘यसको भर्ना गर्न आएको’ ।  आईओएमले दिने काउन्सिलिङ पाएपछि आएका तिनले सँगै बसेको छोरालार्ई देखाँउदै भर्ना प्रक्रियाबारे चासो राखे ।
 ‘हामीलार्ई दिइएको सिट लगभग पूरा भइसक्यो । तैपनि, म कोसिस गरुँला’ ।

Prabhu Bank
Agni Group
NIC Asia

 एक सय पन्ध्र जना पढाउने कलेजमा जम्मा २० जना भर्ना भएको जानकारी बाहिर आउँदा पनि उनले यसरी भने कि मानौं उनको कलेजले यी विद्यार्थीलार्ई भर्ना लिन विशेष पहल नै गर्नुपर्नेछ ।

बाबुको नाम ? आईओएमको परीक्षामा पास हुने विद्यार्थीको नामावली हेर्दै उनले सोधे ।

Global Ime bank

ए, ५० आएको रहिछ है । बढो उत्साहकासाथ पो बोले उनी ।

यस्तो कम नम्बरको विद्यार्थी भर्ना लिँदा हामीलार्ई समस्या पर्न सक्छ । तर तपाईँलाई त्यसै फर्काउन मेरो मन मानेन । ढुक्क हुनुस् ,तपाईँको छोरो डाक्टर बन्ने पक्का भयो ।  ‘अनि ... अभिभावक बोल्नमात्र के लागेका थिए कलेज प्रतिनिधिले हत्त न पत्त बोलिहाले – “एकमुष्ट दिने भए ६० लाख । किस्तामा हो भने ७० लाख” ।
अझ अघि बढेर उनले भने – तपाईँलाई त मिलाइदिएको । फेरि अरूलाई नभन्नु है । हाम्रो पनि घटाइदिनोस् न भन्दै आउनेछन् ।

पछि बुझ्दा थाहा भयो – विद्यार्थीको कम नम्बरले कलेजवालालाई पैसाको बार्गेनिङ गर्न सजिलो बनाइदिनेरहेछ ।

‘आइओएममा सम्पर्क राख्दा त ३७ देखि ४२ लाखको बीचमा पर्छ भन्नुहुन्थो त । नियमनकारी निकायले तोकेकोभन्दा दोब्बर लिन पनि मिल्छ र सर’ ? अभिभावकले आफ्ना कुरा राखिहाले ।

‘यो कुरा तिनले तपाईँलाई कसरी भने भन्ने मलाई थाहा भएन र जान्न पनि चाहन्न । उनीहरूकै कुरा मान्ने भए भर्ना पनि त्यतै गराउनु भए हुन्छ । अझ, परीक्षामा पासमात्र भएको कारणले तपाईँको छोराका लागि मैले  विशेष पहल नै गर्नुपर्छ । हेर्नुस, भर्ना गर्ने भए कुरा अगाडि बढाम्, नत्र यहाँ पढ्न मरिहत्ते गर्ने अरू पनि धेरै जना छन् । अझ एउटा कुरा, यो सब भद्रगोल गोविन्द केसी भन्ने व्यक्तिकै कारण भएको हो’ ।

उनले यो जसरी भने त्यो सुन्दा लाग्थ्यो उनी त्यसो भन्न अभ्यस्त भइसकेका छन् ।

उनीहरूबीच यो वार्तालाप हुँदैगरेका बेला आईओएमले एमबीबीएसको भर्नाका लागि नवौं सूची निकालिसकेको थियो भने मेडिकल कलेजहरूमा भर्ना हुने विद्यार्थीको संख्यामा खासै वृद्धि भएको थिएन ।

नयाँ सत्र सुरु भएर प्रथम परीक्षा हुनुपर्ने बेलामा भर्नाको अन्तिम तानातान रोचक र उत्तिकै पीडादायक पनि थियो । बाहिर एकोहोरो भएर तिनका कुरा सुनिरहेको मेरो मनमा कैयौं प्रश्न उब्जे । के पैसाको मोलमोलाइ मिल्दैमा एमबीबीएस अध्ययन गर्ने बाटो खुल्ने हो ?
कमजोर विद्यार्थी भन्दै भर्ना लिइरहेको अवस्थामा कलेजले तिनलाई पढाइमा राम्रो गर्न नसके हुने वर्ष खेरजाने (इयर लस) र एनएफटीसमेत लाग्ने बारेमा सचेत गराउनु पर्दैन ?
भर्ना हुन आएका विद्यार्थीबाट पैसाको मोलमोलाइबाहेक अरु केही सुन्न नचाहने कलेज प्रशासनले विद्यार्थी कलेजको हातामा प्रवेश गर्नेबित्तिकै सुरु हुने ‘¥यागिङ’ रोक्न कुनै पहल गर्नुपर्दैन ?
प्राक्टिकल कक्षाहरूमा एनाटोमीको ल्याबमा एउटा क्याडबरमा कैयौं विद्यार्थी भरपर्नुपरेको र साधारण सीपसमेत नसिकी सर्टिफिकेट हात परेको भन्ने चिन्ताजनक अवस्था सञ्चार माध्यममा आइरहँदा लाखौं लाख खर्च गर्ने अभिभावक  आफैं पनि चिन्तित हुनुपर्दैन ? 

भर्ना लिने बेला जोसुकैलाई लिने तर निश्चित् अंक नआएमा परीक्षामा सामेल हुन नदिने भनी विद्यार्थीलाई मानसिक तनाव दिने परिपाटीबारे सुरुमै अभिभावकलाई जानकारी गराउनु कलेजको दायित्वभित्र किन पर्दैन ? 

एउटै कक्षाका विद्यार्थीबीच कसैलाई तीस लाख अनि कसैलाई सत्तरी लाख लिने कलेजलाई कुनै कारबाही हुन सक्तैन ?

अझ विडम्बना, जसले चिकित्सा शिक्षामा भर्ना हुनआउँदा पैसाबाहेक अरु कुरै नगरी विद्यार्थीलाई पहिलो चरणमा नै यो क्षेत्रमा रहेको चरम व्यापारीकरणको सगौरव पर्दाफास गर्छन् उनीहरू नै पढाउन आउँदा भने सुरुमै विना कुनै हिचिकचाहट भन्ने गर्छन् – ‘तिमीहरू आजबाट व्यक्तिगत सम्पत्तिबाट सामूहिक सम्पत्ति भयौ । अब पैसालाई तिलाञ्जली दिएर तिमीहरूले समाजको लागि खट्नुपर्छ’ । यो कस्तो मजाक ?

अब प्रश्न जरुर आँउछ, यिनको मनपरी नियन्त्रण कसले गर्ने ? नियामक निकायलाई खुला चुनौती दिँदै अभिभावकमा अनावश्यक आर्थिक भार लाद्ने मेडिकल कलेजको यो भ्रष्टाचारको जालोलाई अविलम्ब रोक्न सरकार अगाडि आउनुपर्दैन ? 

मेडिकल क्षेत्रमा भइरहेका विकृतिको सप्रमाण पर्दाफास भइरहँदा पनि भर्ना हुन चाहने अभिभावक आफैँ अलि चनाखो भई कलेज प्रशासनसँग जिम्मेवार ढंगले प्रस्तुत हुने बेला आएन ?

नियमनकारी निकायको आदेशलाई खुला चुनौती दिएर मेडिकल कलेजमा हुनेगरेका भ्रष्टाचारका बारेमा सबैतिरबाट आवाज उठिरहँदा सरकार अगाडि आउनु पर्दैन ?

हाम्रो पुस्ता धन्न भाग्यमानी रहेछ । हामीले आफ्नो प्राणको बाजी थापेर पनि गरिब जनताको स्वास्थ सेवाको लागि लड्ने योद्धा एक जा भने पनि पाएका छौं ।

जनताका लागि बाँकी जीन्दगी भनी सत्तामा पुग्नेहरू आफ्ना जिम्मेवारीलाई बिर्सँदै व्यक्तिगत स्वार्थमा लिप्त भइरहँदा डा.गोबिन्द केसी भने चुपचाप जनताकै लागि लडिरहेछन् । 

माफियाको चक्रव्यूहमा नराम्ररी फसेको सरकार गोबिन्द केसीका हरेक अनशनमा सम्झौता त गर्छ तरपछि सम्झौतालाई टोकरीमा फालेर गलाउने, धम्काउने दुष्प्रयास गरिरहेछ ।

सरकारको यो रबैयाबाट आजित भएका डा.केसीले सरकारलाई दिएको ३ साताको अल्टिमेटम सकिने दिन पनि नजिक आउँदै छ । 

तैपनि, माफियाद्वारा परिचालित केही झुन्ड बडो निल्र्लज पाराले एउटै रटान लगाइरहन्छन् – गोबिन्द केसी विदेशमा विद्यार्थी पठाउने गिरोहद्वारा परिचालित छन् । उनी नेपालमा मेडिकल कलेज नखोलियोस् भन्ने चाहन्छन् । बुझेर पनि बुझ पचाउने यिनीहरूलाई कसैले केही भन्नुपर्दैन । डा.केसीको इतिहास हाम्रा लागि खुला किताब बनिसकेको छ ।

तर यो सत्याग्रहलाई सतहमा बुझ्नेहरूले अनि सामान्य जनताले पनि एउटा प्रश्न पक्कै गर्नेछन् – आखिर डा.केसीको यो निष्कर्षहीन अनशनको शृंखला कहिलेसम्म ? उत्तर स्पष्ट छ – सरकारले अघिल्लो अनशनमा गरेका सम्झौताको अक्षरशः पालना नहुँदासम्म डा. केसीको अनशन चलिरहन्छ । यही कुरा हामीले बुझाउने प्रयत्न गर्नुपर्छ ।

गोविन्द केसी अब अनशन बस्नु नपरोस् भन्ने चाहने सबंले सरकारलाई आजैदेखि झकझकाएर माग पूरा गर्न दबाब दिई अनशन सुरु हुनुअगावै समाधान गरेर सहयोग गर्न पाए !

दुर्गम नेपालको स्वास्थसेवाको बारे म अर्को उदारण प्रस्तुत गर्न चाहन्छु । 
मेरो घर गोरखा सदरमुकामबाट ५० किमी टाढा छ । बाटो खुलेको दशक भइसक्दा पनि अवस्था पहिलाकै जस्तो छ । धन्न वर्षको ७ महिना भने पनि गाडी चल्छ । बाटोको अबस्था कस्तो दयनीय छ भने त्यति दूरी पार गर्न कम्तीमा ७ घन्टा लाग्छ ।

अझ, अलिकति पानी परेको बेला त गाडी फसेर एउटै ठाँउमा आठ घन्टासम्म बिताएको सम्झना छ । 

 त्यस्तो दूरदराजका नागरिकको स्वास्थमा सरकारलाई के मतलब ?  

बिहे गरेको १८ दिनपछि  खाडी गएका एक गाउँले दाइकी पत्नी गर्भवती भइन् । तीन घन्टा पैदल हिँडेर उनी स्वास्थचौकीमा बुझ्न आइन् । बच्चाको अबस्था ठीक रहेको र कुनै चिन्ता गर्नुपर्दैन भनी त्यहाँ कार्यरत अहेबले भने । बच्चा जन्मने दिन नजिकिँदै जाँदा खप्न नसक्ने भएपछि तिनी स्वास्थचौकी नजिकै कोठा लिएर बस्न थालिन् । 

‘समस्या त जटिल भएछ । यहाँ सकिँदैन । जति सक्यो चाँडो सदरमुकाम लैजानू । केही चिन्ता लिनु नपर्ने भनिएकै कारण ढुक्क रहेकी ती महिलालाई स्वास्थकर्मीको भनाइले ठूलै बज्रपात भयो । गाँउमा नगन्य संख्यामा रहेका पुरुषको पहलमा उनलाई स्टे«चरमा राखेर गाडीसम्म लगी सदरमुकाम दौडाइयो । विडम्बना, उनले गाडीमा नै सन्तान जन्माइन् । 

जन्म लिनेबित्तिकैको रुवाइबाहेक बच्चालाई कहिल्यै नरुवाउने कसम खाएकी ती भाउजुको सपना पूरा भएन । बच्चा पेटभित्रैबाट चुपचाप आयो र गयो । उपस्थित सब स्तब्ध ।

मेरो मनमा प्रश्न घुमिरहे ।

दूरदराजमा  गरिबको कोखबाट जन्म लिनु नै अभिशाप ठहरिने यस देशमा संसार देख्न समेत नपाई मृत्यु रोज्ने विवशता  स्वाभाविक हो वा राज्यको “नियोजित हत्या” ?  नियतिलाई सरापेर कहिलेसम्म महिलाहरूले आफैँलाई धिक्कार्ने ?

यी र यस्ता कैयौं लापरबाही हुन नदिन सरकार आफैँ सचेत हुनुपर्नेमा उल्टै स्वास्थसेवालाई जनताको पहुँचमा पुगोस् भन्ने गोविन्द केसीलाई अलमल्याउने नैतिकहीन शृंखलाको मुकदर्शक कहिलेसम्म हामी बनिरहने ?

चितवनमा बसेर चिकित्सा शिक्षा लिन थालेपछि बिरामी हुँदा यहाँ आउने मेरी आमा चकित खानुहुन्छ । टोलैपिच्छे अस्पताल रहेको यहाँ आउन हजारौं खर्च गरेपछि घर फर्किने बेला सधैँ भन्नुहुन्छ – ‘बाबु, सरकारले हाम्रो ठामका त्यत्रा मान्छेका लागि किन एउटा जानेको डाक्टर पठाउँदैन । यहाँ त यत्रा रहेछन’ । 

सरकार ! म कसरी भनौ मेरी निरक्षर आमालाई यो देशमा दूरदराजका जनताले स्वास्थसेवा पाउन् भनेर ज्यानको बाजी लगाउनेलाई ‘पागल’ भनिन्छ भनेर ?

सरकार ! कसरी सम्झाउँ म मेरी आमालाई संविधानमा लेखिएको हरेक नेपालीको स्वास्थ सेवा पाउने अधिकार देखाउने दाँतमात्र हो भनेर ?

सरकारको विभेदकारी नीतिका कारणले मृत्यु हुने दूरदराजका नेपालीले उल्टो आफ्नै नियति, विवशता,भाग्य अनि पूर्व जन्मको पाप ठानी सरकारको गल्तीलाई ढाकछोप गर्ने छाड्नुपहिल्यै सरकार सचेत हुँदैन होला ?

डा.केसीको सत्याग्रहले जनमानसमा चिकित्साक्षेत्रमा रहिआएको विकृतिलाई जनतामा लैजान सहयोग गरेको छ । अनशनकै कारण यस क्षेत्रमा कैयौं सुधार भएका छन् र हुने तरखरमा पनि छन् । जनताविरुद्धमा जानुअघि सत्ताको ठेकेदारहरूलाई कैयौंपल्ट सोच्न बाध्य बनाइदिएका छन् अनशनका परिणामले ।

यहाँसम्म आइपुगेको आन्दोलनलाई गति प्रदान गर्नुपर्नेमा उल्टै शंकाको दृटिले हरेर  कमजोर भयौँ भने अहिलेसम्मका उपलब्धि पनि खोसिने प्रबल सम्भावना छ । डा.केसीले देखाएका बाटोमा आँखा चिम्लिएर हिँडे पनि कुनै दुर्घटनामा पुगिनेछैन । तर, अहिले बीचमा बसेर टोलाइरह्यौँ भने हाम्रा अरू कैयौं पुस्ताले हार्नेछन् । अनि हामी एउटा सुन्दर मौका गुमाएकोमा पश्चाताप गरिरहेको हुनेछौँं ।

पहिलो अनशनयता अहिलेसम्म डा.केसीले मूल मर्ममा कहिल्यै सम्झौता गर्नुभएको छैन । तर, अब उहाँको आन्दोलनलाई नयाँ बाटो प्रदान गर्नेतिर पनि सोच्नैपर्छ । सधैंँ कुनै सम्झौतामा गएर अन्त्य हुने अनशनलाई केही समय थाती राखेर चिकित्साक्षेत्रको बेथितिबाट प्रभावित पक्षबीच सहकार्य गरेर सरकारलाई थप दबाब दिनैपर्छ ।

अनशन उत्कर्षमा पुगेपछि हुने डा.केसीको प्रशंसाको साटो अन्य बेलामा उनले उठाएको मागलाई कसरी फराकिलो पार्न सकिन्छ भन्ने बारेमा शुभचिन्तकले विमर्श गरिरहनुपर्छ । सरकारलाई झुकाएर सम्झौता गर्न बाध्य पारे पनि त्यसको कार्यन्वयनमा समाजका अन्य पक्षलाई पनि समेट्नुपर्ने आवश्यकता रहेको महसुस गरिसक्ता पनि यो पक्षमा विचार नगर्नु हामी सबैको गैरजिम्मेवारी हुनेछ ।

डा.केसीको अनशनले हाम्रो सोचबाहिरका कैयौं सकारात्मक उपलब्धि हासिल भएको छ ।  आन्दोलनलाई आफ्नो निहित स्वार्थअनुसार व्याख्या गर्ने समूहबाट सचेत रहँदै अगामी बाटो तय गर्नुपर्छ । डा.केसीलाई लगाइने निकृष्ट लाञ्छना मेटाएर उनको मागका बारेमा समाजका सबैलाई जानाकारी गराइरहनुपर्छ ।

 डा.केसी सारा नेपालीका आशाका किरण हुन् । उनलाई निभ्न दिनुहुन्न ।
गोरखा
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ५, २०७३  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC