काठमाडौं । दक्षिण कोरियाको प्रसिद्ध इलेक्ट्रोनिक्स कम्पनी सामसङका प्रमुख लि जे योङलाई त्यहाँको ठूलो राजनीतिक काण्डकी विवादित पात्र चोइ सुन सिललाई राजनीतिक फाइदा प्राप्त गर्नका लागि चन्दा दिएको आरोप लागेको छ ।
सामसङका प्रमुख लिसँग त्यहाँका सरकारी वकिलहरुले चोइ सुन सिल काण्डसँग सम्बद्ध विषयको बारेमा सोधपुछ गरेको बीबीसीले जनाएको छ ।
राष्ट्रपति पार्क गेउन हेकी साथीसमेत रहेकी चोइले राष्ट्रपतिलाई प्रभावमा पारी सम्बन्धलाई दुरुपयोग गरेको आरोप लागेको थियो । यसबाट चोइले ठूलो आर्थिक तथा अन्य फाइदा उठाएको सार्वजनिक भएको थियो ।
सामसङले चोइ सुन सिलले सञ्चालन गरेको विभिन्न च्यारिटी संस्थाहरुलाई चन्दा दिएको आरोप लागेको छ । सामसङमा अर्को एक कम्पनीको विवादित विलयका लागि राजनीतिक सहयोग लिने उद्देश्यले सो चन्दा प्रदान गरेको बताइएको छ । चोइ सुन सिलको सोही काण्डका कारण राष्ट्रपति पार्कलाई गत डिसेम्बरमा महाभियोग लगाइएको थियो ।
बिहीबार बिहान रिपोर्टरहरूसँग कुरा गर्दै सामसङका प्रमुख लिले यस काण्डका कारण जनताका अगाडि राम्रो इमेज प्रदर्शन गर्न नसकेको भन्दै गहिरो माफी माग्न चाहेको बताएका थिए ।
यसअघि चेइल इन्डस्ट्रिज र सामसङ सि एण्ड टीबीच मर्ज भएको थियो । सो मर्जर सम्झौताका लागि राष्ट्रपतिको सहयोग र समर्थन पाउन चोइ सुन सिल र उनको छोरीको कम्पनीलाई सामसङले ३.१ मिलियन डलर दिएको थियो ।