काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले पृथ्वीनारायण शाह नेपालका महान् पुत्र भएको बताएका छन् ।
बुधबार एकता दिवसको अवसर पारेर नागरिक समूहले आयोजना गरेका कार्यक्रममा उनले शाह जस्तो दूरदर्शी सोच र सबैलाई एकसाथ लिएर जाने कूटनीतिक नीतिले आजको नेपालको सिर्जना गरेको धारणा राखे ।
त्यो बेलाको नेपाल दक्षिण एसियाकै शक्तिशाली मुलुक भएको चर्चा गर्दै नेता महतले मुलुकलाई उन्नतिको दिशामा लैजान आर्थिक नीति सुधार गर्नुपर्नेमा जोड दिए । देशलाई एकतामा बाँधिराख्न जातजाति, भाषाभाषी, मधेस, पहाड र हिमाललाई टुक्र्याउन नहुने उनको भनाइ छ ।
नयाँ शक्ति नेपालका सदस्य सुनील खड्काले पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै राजनीतिक दलले विचारको एकीकरण गर्नु अहिलेको आवश्यकता भएको जिकिर गरे ।
देशलाई डुब्नबाट बचाउन युवा प्रत्यक्ष राजनीतिमा आउनुपर्ने उनको विचार थियो । नागरिक समूहका संयोजक निगम हुमागाईंले राज्यले बुधबारको दिनमा सार्वजनकि बिदा नदिएर राष्ट्र निर्माताको अपमान गरेको आरोप लगाए । रासस