विशेष

हर्ट अट्याक (हृदयाघात) बारे ८ भ्रम र यथार्थ

डा. मिलन प्रकाश श्रेष्ठ, मुटुरोग विशेषज्ञ

१. बेहोश नै भा'को छैन कहाँ ह्दयाघात हुनु ?

ह्दयाघात (हर्ट अट्याक) मुटुसँग सम्बन्धित समस्या हो । ह्दयाघात हुँदा मानिसलाई छातीमा प्रचण्ड पीडा महसुस हुन्छ । छाती दुखाइ ठूलो ढुंगाले थिचेजस्तो, केही कुराले छातीको वरिपरि बानेको जस्तो प्रकृतिको हुन्छ र दुखाइ देब्रे पाखुरा, देब्रे चिउँडोतिर पनि सर्न सक्छ ।

कतिपय अवस्थामा यस्तो पीडा नभई छातीमा हल्का गह्रौंपनमात्रै महसुस पनि हुनसक्छ । कतिपय अवस्थामा छाती र पेटको बीच भागमा दुख्ने हुन सक्छ । त्यसैले ह्दयाघातमा बेहोश हुनुपर्छ भन्ने छैन । तर, ठूलो ह्दयाघात भएर मुटुको मांशपेशीमा ठूलो क्षति पुगी मुटु कमजोर हुन पुगेमा वा ह्दयाघातपछि मुटुको चाल तथा रक्तचाप तलमाथि भएको अवस्थामा मानिस बेहोश पनि हुनसक्छ ।

२. ह्दयाघात तीन पटक भयो भने मरिन्छ

मानिसको मृत्यु हुन ह्दयाघात तीन पटक हुन जरुरी छैन । पहिलो ह्दयाघात नै ठूलो प्रकृतिको भयो मानिसको मृत्यु हुन सक्छ । ह्दयाघात भएपछि छोटो समयमै आवश्यक उपचार नपाएमा पहिलो ह्दयाघातले पनि मानिसको मृत्यु हुनसक्छ ।

तर, ह्दयाघातले मुटुको सानो भागमा मात्र क्षति पुर्यायो वा ठूलै ह्दयाघातको पनि तुरन्तै आवश्यक उपचार भएमा जीवन गुमाउनु पर्दैन । एकचोटी ह्दयाघात भइसकेपछि फेरि/फेरि हुनसक्ने भएकोले फेरि नहोस् भनेर विरामीलाई स्टेन्ट राख्ने (एन्जियोप्लाष्टि) वा बाइपास अपरेशन गर्ने सल्लाह पनि दिइन्छ । रक्तनलीको अवस्था सामान्य देखिएको अवस्थामा विरामीलाई जीवनभर औषधी खाने सल्लाह दिइन्छ । रक्तनलीको अवस्था हेर्नको लागि कोरोनरी एन्जियोग्राम भन्ने जाँच गरिन्छ ।

३. ह्दयाघात हुँदा इसीजीमा खराबी देखिनै पर्छ

इसीजी एक किसिमको जाँच हो । ह्दयाघात हुँदा धेरैजसो अवस्थामा इसीजीमा प्रष्ट देखिन्छ । तर कहिलेकाहीँ ह्दयाघात भइसक्दा पनि इसीजी बिलकुल नर्मल देखिन्छ । विशेषगरी ह्दयाघातको शंका लागेमा डाक्टरले विरामीको छाती दुखाइको किसिम, इसीजी रिपोर्ट तथा ह्दयाघातको लागि गरिने रगतको जाँचको रिपोर्टको सहयोग लिन्छन् । इसीजी नर्मल आएको खण्डमा तर छाती दुखाई ह्दयाघातको जस्तै लागेमा अस्पतालमा कम्तीमा २४ घण्टा भर्ना गरेर २/३ पटक रगत, इसीजी आदि जाँच दोहोर्याएर ह्दयाघात भए नभएको निक्र्यौल गरिन्छ ।

यो अवस्था डाक्टर तथा विरामी दुवैको लागि कठिन स्थिति हो । डाक्टर ह्दयाघात भइसकेको हो भने नछुटोस् भन्ने चाहन्छन् भने विरामी मलाई केही भएको छैन, डाक्टरले यतिकै अस्पताल भर्ना गर्न खोज्यो, अथवा आर्थिक लाभ लिन खोज्यो भन्ने सोचाइ पनि राख्ने गर्छन् । यो कुरामा विरामीलाई विश्वास गराउन सधैं नै गाह्रो परेको देखिन्छ । तर, यस्तो अवस्था आइपरेमा डाक्टरको सल्लाह अनुसार कम्तीमा २४ घण्टा अस्पताल बसेर जाँचहरु दोहोर्याएर ह्दयाघात भए नभएको प्रष्ट भएर मात्रै घर फर्केको राम्रो हुन्छ ।

४. ह्दयाघात भएपछि मुटुको अवस्था कामै नलाग्ने हुन्छ

मुटुका मांसपेशीमा अक्सिजन पुर्याउने काम मुटुका रक्तनलीले गर्छन् । यही रक्तनलीहरु साँगुरिँदै गएमा वा रक्तनलीमा रगत जमेर रगतको आपूर्ती नभएमा मुटुको मांसपेशी मर्न जान्छन् । यस अवस्थालाई ह्दयाघात भनिन्छ ।

ह्दयाघात भएको अवस्थामा विरामीले आवश्यक उपचार तुरुन्तै पाएमा मुटुको मांसपेशीलाई क्षति हुनबाट जोगाउन सकिन्छ । आवश्यक उपचार भन्नाले बन्द भएको रक्तनली खोलेर रक्तसञ्चार गराउने नै हो । रक्तनली खोल्नको लागि नशाबाट चलाइने इन्जेक्शनको प्रयोग धेरै ठाउँमा गरिन्छ भने ठूलो अस्पतालहरुमा एन्जियोप्लाष्टि गरेर स्टेन्ट राख्ने पनि गरिन्छ ।

यी दुवै मध्ये कुनै पनि उपाय ह्दयाघात भएपछि जति छिटो गर्यो, त्यति नै बढी मांसपेशी जोगाउन सकिन्छ । ह्दयाघात भएको १२ घण्टाभित्र गर्न सके यी दुवै उपचारले विशेष महत्व राख्छ । यी दुवै मध्ये इन्जेक्सनको माध्यमबाट बन्द भएको रक्तनली ६० देखि ७५ प्रतिशतसम्म तथा एन्जियोप्लाष्टिको माध्यमबाट ८५ देखि ९५ प्रतिशतसम्म खोल्न सक्ने विश्वास गरिन्छ ।

५. म चुरोट सेवन गर्दिनँ, उच्च रक्तचाप, सुगर पनि छैन, मलाई ह्दयाघात हुँदैन

उच्च रक्तचाप, सुगर, उच्च कोलेष्टेरोल भएका व्यक्तिहरु, चुरोट पिउने, शारीरिक व्यायाम नगर्ने, मोटोपना बढी भएका व्यक्तिहरु ह्दयाघातको उच्च जोखिममा पर्छन् । तर, यी सबै समस्या नभएका व्यक्तिहरुमा ह्दयाघात हुँदैन भन्ने होइन । परिवार वा नजिकको नातामा कसैलाई ह्दयाघात भएको थियो भने त्यस्ता व्यक्तिलाई पनि ह्दयाघात हुने सम्भावना बढी रहन्छ ।

६. किन अस्पताल भर्ना हुनुपर्यो ?

ह्दयाघात भएपछिको अवस्था एकदमै खतरायुक्त हुन्छ । ह्दयाघात भएपछिको केही समय (सामान्यतया २४ देखि ७२ घण्टा) रक्त सञ्चालन, मुटुको चाल, रक्तचाप आदि कुराहरुमा तलमाथि भइरहन सक्छ । यस्तो अवस्थामा समस्याअनुसार तत्कालै उपचार नगरेमा विरामीको मृत्यु पनि हुन सक्छ ।  यो अवस्थामा आरामले विशेष महत्व राख्छ । आराम गर्नु भनेको मुटुलाई पनि आराम दिलाउनु हो ।

ह्दयाघात पछिको अवस्थामा धेरै बोल्दा पनि मुटुमा असर पर्न सक्ने हुँदा विरामीलाई पूर्ण आरामको अवस्थामा राखिन्छ । साथै मुटुको चाल, रक्तचाप, श्वासप्रश्वास आदि हेर्दै विरामीको उपचार गर्नुपर्ने हुँदा विरामीलाई सीसीयूमा राखेर उपचार गरिन्छ ।

सीसीयू जस्तो वार्डमा तालिम प्राप्त चिकित्सक, नर्सिड. स्टाफ हुने र मुटुको गतिविधि हेर्न सकिने कार्डियाक मनिटर, आवश्यक परेमा विद्युतीय झट्का दिने डिफिब्रिलेटर तथा कृत्रिम श्वासप्रश्वास दिने भेन्टिलेटर आदिको सुविधा पनि हुन्छ । जुन अरु वार्डमा उपलब्ध हुँदैन । त्यसैले अस्पतालकै अरु वार्डमा त नहुने कुरा घरमा बसेर औषधी खाएर हुने कुरै भएन । तर विरामीको अवस्था सामान्य हुँदै गएर खतरामुक्त देखिएमा सीसीयूको बसाई धेरै छोटो हुन्छ ।

७. ह्दयाघात त बूढाबूढी भएपछि हुने समस्या हो

केही वर्ष अगाडिसम्म ह्दयाघातलाई ६० वर्षमाथिको उमेरकालाई हुने समस्या भनेर लिइन्थ्यो । तर हाल आएर ४० वर्षभन्दा मुनिका व्यक्तिहरुमा पनि यो समस्या प्रशस्तै देखिन थालेको छ । यसको मुख्य कारणमा चुरोट तथा अन्य सूर्तीजन्य वस्तुको नियमित सेवन गर्ने व्यक्तिहरु, उच्च रक्तचाप, सुगर तथा कोलेष्टेरोलको समयमै उपचार नगर्नु, नियमित मानसिक तनावमा रहनु र वशांणुगत कारणले पनि सानो उमेरमा ह्दयाघात हुनसक्छ । यस्ता कुराहरुलाई समयमै ध्यान पुर्याउन सके ह्दयाघातको खतराबाट मुक्त रहन सकिन्छ ।

८. मलाई छाति दुखेकै छैन, कसरी ह्दयाघात हुन्छ ?

ह्दयाघातको मुख्य लक्षण छाती दुखाई भएपनि कुनै कुनै समयमा छाती नदुखी सास फेर्न गाह्रो हुने मात्रै पनि हुनसक्छ । सास फेर्न गाह्रो हुनुको साथै विरामीलाई छटपटी हुने, चिट्चिट् पसीना आउने, ढुकढुकी बढ्ने आदि पनि हुनसक्छ ।

कतिपय अवस्थामा छाती र पेटको बीचको भागमा दुखाई लिएर आएको विरामीमा ग्यास्टिक भन्दै उपचार गरेका तर पछि ह्दयाघात नै भइसकेको पनि भेटिएको छ । त्यसैले जोखिममा रहेका व्यक्तिले ग्याष्टिक हो भनेर लापरवाही गर्नु हुँदैन । यस्तो अवस्थामा विरामीको लक्षणहरुको साथै इसीजी तथा रगतको जाँचहरुको सहयोग पनि लिइन्छ ।

(डा. श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत छन्)

तपाईंको मत