विशेष

एम्बुलेन्स : अहिलेको वास्तविकता र हाम्रो आशा

सास फेर्न गाह्रो भएर ल्याइएकी अधबैंसे महिला इमरजेन्सीमा बोल्न नसक्ने अवस्थामा थिइन् । तीन दिनदेखि दमले च्यापेको रहेछ । विकट गाउँको स्वास्थ्य चौकीबाट सालमोल (आस्थालिन) भन्ने औषधि खाँदा पनि कम नभएर उनलाई अस्पताल ल्याइएको थियो । शरीरमा अक्सिजनको मात्रा जम्मा ७० प्रतिशत थियो । सामान्यतया अक्सिजनको मात्रा शरीरमा ९० प्रतिशतभन्दा बढी हुनुपर्दछ । तुरुन्त दम कम गर्ने बाफ लगाएपछि र अक्सिजन जोडेपछि बिरामीको अक्सिजन मात्रा बढेर ९० पुग्यो । झन्डै दुई घण्टाको यात्रामा उनले अक्सिजन पाएकी रैनछन् । एम्बुलेन्समा अक्सिजन सिद्धिएको रहेछ । 

पखाला र बान्ताबाट ग्रसित बच्चालाई अस्पताल ल्याइएको थियो । सलाइनको नलीमा बिरामीको रगत भरिएको थियो । किन यस्तो भयो भनेर बुझ्दा सलाइनको बोतल बिरामीको बुबाले समातेर ल्याएका रैछन् । एम्बुलेन्समा सलाइनको बोतल झुण्डाउने टुटी भाँचिएको रैछ । 
ज्वरोबाट ग्रस्त वृद्ध एम्बुलेन्सबाट अस्पताल ल्याइयो । बिरामीलाई चेक जाँच गर्दा खुट्टामा काटेको घाउ पनि देखियो । एम्बुलेन्सको बेडमा निस्केको काँटीले खुट्टा काटेको रहेछ । 

“एम्बुलेन्स” अर्थात् बिरामी लिन जाने र अस्पतालसम्म पुर्याउने वाहन । वास्तवमा एम्बुलेन्सको परिचय यत्तिमा सीमित हुनु हँुदैन । एम्बुलेन्स बिरामीको उपचार गर्ने थलो पनि बन्नुपर्छ । एम्बुलेन्समा अनुभवी स्वास्थ्यकर्मी, अक्सिजन तथा अन्य औषधी र उपकरणहरूको व्यवस्था हुनुपर्दछ । एम्बुलेन्स चालक सकेसम्म पारामेडिक्स नभए आधारभूत स्वास्थ्य तालिम प्राप्त व्यक्ति हुनुपर्दछ । बिरामी बेहोस हुँदा के गर्ने, प्रेसर घट्दा के गर्ने, अक्सिजन कम हुँदा के गर्ने, बिरामी धेरै काँपेमा के गर्ने जस्ता आधारभूत सीप एम्बुलेन्स चालकलाई हुनुपर्छ । 

अर्को महत्वपूर्ण कुरा बिरामीलाई रोगअनुसार कुन पोजिसन (उत्तानो वा कोल्टो) मा राख्ने र कसरी राख्ने भन्ने ज्ञान हो । उदाहरणको लागि कुनै व्यक्ति रुखबाट लड्यो र उसको हात खुट्टा कमजोर वा चल्दैनन् भने उसको घाँटी देखि तल मेरुदण्डसम्म गहिरो चोट लागेको हुनसक्छ । यस्ता बिरामीलाई सावधनी नअपनाई एम्बुलेन्समा राख्ने र उतार्ने गरिएमा ऊ पूर्ण रूपमा प्यारालाइसिसको सिकार बन्न सक्छ । यस्ता बिरामीलाई एम्बुलेन्समा राख्नुपूर्व घाँटी नचलोस् भनेर घाँटीमा कडा खालको सरभाइकल कोलार लगाईदिनुपर्छ, बीचको शरीर र मेरुदण्ड नचलोस् भनेर बिरामीलाई स्ट्रेचरमा बेल्टले बाँध्नुपर्छ । मुडोलाई जस्तै एकै चोटी उचालेर वा रोल गरेर बिरामी सार्नुपर्छ । यसो गर्दा कम्तिमा ३–४ जनाको सहयोग चाहिन सक्छ । यसो गरेमा बिरामीको घाँटीको र मेरुदण्ड मोडिन पाउँदैन र सम्बन्धित खतरा कम हुन्छ ।

मुटुको समस्या भएर सास फेर्न गाह्रो भएको बिरामी छ भने टाउको र छातीको भाग अलि अग्लो हुने गरी राख्नुपर्छ । यसो गर्दा बिरामीलाई सास फेर्न सजिलो हुन्छ । प्रेसर धेरै कम भएको बिरामी छ भने सलाइनको साथै उसको पोजिसनमा पनि ध्यान दिनु राम्रो हुन्छ । प्रेसर कम भएका बिरामीको खुट्टा अलि अग्लो पारी राखिएमा प्रेसर बढ्न मद्दत गर्छ । 

कुनै बिरामी बेहोस छ भने (घाँटी र मेरुदण्डको चोट हुनसक्ने बिरामीबाहेक) उसलाई देब्रे कोल्टो पारी सुताउनुपर्छ । यसो गरेमा पेटको खानेकुरा वा पाचन रस श्वासनलीमा सर्किने सम्भावना कम हुन्छ । हात, खुट्टा, करङ्ग वा अन्य हड्डीहरू भाँचिएको अवस्थामा भाँचिएको हड्डी नचल्ने गरी राख्नुपर्छ । भाँचिएको भाग धेरै चलेमा हड्डीले भित्री अंग, रगतका नली र नशालाई ठूलो क्षति पुर्याउन सक्छ । कुनै पनि कारणले नाकबाट रगत बगेमा तुरुन्त नाकको तल्लो भागलाई दुवै तर्फबाट थिच्नुपर्छ । बिरामी बेहोश छ भने वा दिमागको समस्याले हुने प्यारालाइसिसको शंका छ भने मुखबाट केही खान दिनुहुँदैन । यस्ता बिरामीको निल्न सक्ने क्षमता कमजोर बनेको हुन्छ । खानेकुरा खाँदा सर्किन सक्छ र बिरामीको ज्यान पनि जान सक्छ । हाम्रो समाजमा कोही वेहोश भयो भने पानी खुवाउने चलन छ, यसो गर्न हुँदैन । 

फेरि एम्बुलेन्सकै कुरा गरौं । एम्बुलेन्स सबै एकैनासका हुनैपर्छ भन्ने पनि छैन । एम्बुलेन्स धेरै थरिका हुन्छन् । एम्बुलेन्सको बनोट, स्वास्थ्यकर्मीको उपलब्धता, औषधी उपकरण र उपचार क्षमताको आधारमा एम्बुलेन्सलाई यसरी बर्गीकरण गर्न सकिन्छ । 
१) अत्याधुनिक आपतकालीन एम्बुलेन्स
यस्ता एम्बुलेन्सहरू विशेषगरी कार, भ्यान, जिप, मिनिवस, हेलिकप्टर र कतै कतै साना पानी जहाजका रूपमा हुन्छन् । तालिम प्राप्त स्वास्थ्यकर्मी, अत्याधुनिक उपकरणहरू (अक्सिजन मनिटर, इसिजि मनिटर, डिफ्बिरीलेटर, श्वास नलीमा हालिने पाइप, ल्यारीन्गोस्कोप, एम्बु ब्याग तथा भेन्टीलेटर आदि), अक्सिजन, आवश्यक सलाइन, इमर्जेन्सी औषधीहरू व्यवस्था गरिएको हुन्छ । यस्ता एम्बुलेन्स पनि दुई किसिममा विभाजन गर्न सकिन्छ । एकथरिमा अप्रेसनको पनि व्यवस्था हुन्छ, अर्कोमा हुँदैन । 
२. सामान्य एम्बुलेन्स
यस्ता एम्बुलेन्समा बिरामीलाई सुरक्षित तरिकाले राख्ने ठाउँ, अक्सिजन र सलाइनको व्यवस्था हुन्छ । चालक आधारभूत स्वास्थ्य तालिम प्राप्त हुन्छन् वा पारामेडिक्स हुन्छन् ।
३. रेस्पोन्स यूनिट एम्बुलेन्स
सामान्य बिरामीलाई ठाउँमै गएर उपचार गर्ने खालका एम्बुलेन्स । कार, मोटरसाइकल, साइकल वा घोडा जे पनि प्रयोग गर्न सकिन्छ । एम्बुलेन्स चालक स्वास्थ्य तालिम प्राप्त हुनपर्छ वा तालिम प्राप्त स्वस्थ्यकर्मी लिएर जानुपर्छ । 
हाम्रो देशको वास्तविकता
एक दुई अपवादबाहेक हाम्रो देशमा रहेको एम्बुलेन्स सेवा सामान्य खालका छन् । यसमा पनि धेरै त्रुटीहरू छन् । एम्बुलेन्स चालकलाई आधारभूत जीवन रक्ष्या (बेसिक लाइफ सपोर्ट) को तालिम छैन । सलाइन र अक्सिजन मिलाउन नसक्ने एम्बुलेन्स चालक पनि छन् । अक्सिजनको आपूर्ति राम्रो छैन । एम्बुलेन्स गाडीहरू प्रायः सबै जिर्ण छन् । नयाँ गाडी भए पनि बस्ने ठाउँ साँघुरो छ । बिरामीलाई अस्पतालबाट एम्बुलेन्समा राख्दा र ओराल्दा प्रयोग गरिने स्ट्रेचर र बेड कामै नलाग्ने खालका छन् । जस्तो बिरामी होस्, सवैलाई एकैनाशले एकठाउँबाट अर्को ठाउँमा सारिन्छ । यसरी सार्दा हुने जोखिम यस माथिनै उल्लेख छ । यसो हेर्दा लाग्छ, हाम्रा एम्बुलेन्स साइरन र चम्किने-नाच्ने बत्ती जडित ट्याक्सी हुन् । 

हाम्रो देश भौगोलिक कारणले विविधतापूर्ण छ र धेरै भू–भाग विकटमा छन् । बाटा धेरै साँघुरा छन् । कतै बाटो पनि छैन । गोरेटो, घोडेटो बाटोमा एम्बुलेन्स गाडी जाने कुरै भएन । त्यस्ता विकट ठाउँमा तत्कालको लागि मोटरसाइकल, साइकल, घोडा र मान्छे स्वयं एम्बुलेन्सको काम गर्न सक्छन् । प्रमुख कुरा बिरामीलाई आधारभूत स्वास्थ्या सेवा दिन सक्ने वा केही ज्ञान भएका व्यक्तिले साइकल, मोटरसाइकल, घोडा प्रयोग गरेर सेवा दिन सक्छन् । 

खासगरी पहाडी भेकमा अस्पताल पुग्न घण्टौं र कहिलेकाहीँ पूरै दिन पनि लाग्छ । इमर्जेन्सी बिरामी हो भने त्यति लामो समय बिनाउपचार यात्रा गर्दा ठूलो जोखिम हुन्छ । त्यसैले बिरामीलाई लैजाने व्यक्तिको स्वास्थ्य सम्बन्धी केही आधारभूत ज्ञान भएमा बाटोमा उपचार गर्दै लैजान सक्छ । सवैलाई आधारभूत स्वास्थ्य सम्बन्धी तालिम दिन असम्भवन छ । प्रत्येक गाउँका कम्तीमा २०–२५ जना व्यक्तिलाई आधारभूत स्वास्थ्य तालिम (खासगरी बिरामीलाई कसरी सुरक्षित तरिकाले ओसारपसार गर्ने) दिन सकिन्छ ।

उनीहरूले तालिम पाएपछि अरुलाई सिकाउँदै जान सक्छन् । अर्को समस्या ठेगाना पत्ता लगाउनेमा छ । गाउँघरतिर ठूलो समस्या नहोला तर दु्रतगतिमा आवादी बढ्दै गइरहेको सहर बजारमा एम्बुलेन्सले बिरामीको घरठेगाना पत्ता लगाउन सजिलै सक्दैन । जिपकोडको त कुरै छोडौं, सडक वा गल्लीका नाम, थर नम्बरको व्यवस्था सबैतिर छैन । बाटो पनि धेरै साँघुरा छन् । कहीँ कहीँ त एम्बुलेन्स जाने बाटो पनि हुँदैन । एम्बुलेन्सलाई घरमा बोलाउन प¥यो भने कि बाटोले दिँदैन, कि गाह्रो ठेगानाले दिँदैन । बिरामीको ठेगाना पत्ता लगाउने क्रममा बिरामीको अवस्था झन् बिग्रँदै जान्छ । 

सरकारले एम्बुलेन्सको बर्गीकरण गरी मापदण्ड बनाउनुपर्छ । एम्बुलेन्स चालक सकेसम्म पारामेडिक्स, नसके आधारभूत स्वास्थ्य तालिम लिएको व्यक्ति हुनुपर्छ । ड्राइभिङ्ग लाइसेन्स भए जो कोही एम्बुलेन्स चालक बन्न मिल्ने अहिलेको अवस्था निरुत्साहित पार्दै जानुपर्छ र निकट भविष्यमा बाध्यकारी नियम बनाई तालिम नलिएका व्यक्तिलाई एम्बुलेन्स चालक बन्न नदिने व्यवस्था गर्नुपर्दछ । वर्ष वर्षमा एम्बुलेन्स चालकको कम्तिमा आँखा तथा मानसिक स्वास्थ्य परीक्षण गरिनुपर्दछ । आँखा कमजोर हुँदा, मदिरापान गर्दा र मानसिक सन्तुलन बिग्रेमा एम्बुलेन्स चालकको मात्र होइन, त्यसमा सवार बिरामीको ज्यान पनि जोखिममा पर्छ । 

जिल्ला प्रशासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयले एक आपसमा समन्वय गरेर एम्बुलेन्स अनुुगमन टोली गठन गर्न सक्छन् । उक्त टोलीले नियमित रूपमा जिल्लामा दर्ता भएका र प्रयोगमा रहेका अन्य एम्बुलेन्समा आवश्यक उपकरणहरू छ कि छैनन्, गाडी चलाउन योग्य छ कि छैन, अक्सिजन छ कि छैन भनेर निरीक्षण गर्नुपर्छ । एम्बुलेन्स चालकलाई आधारभूत जीवन रक्षा तालिम दिन जिल्ला जनस्वास्थ्य कार्यालयले अगुवाई गर्न सक्छ । नयाँ मापदण्ड बनेपछि, बिना मापदण्डका सवारी साधनलाई एम्बुलेन्सको प्रयोगमा ल्याउन बन्देज लगाउनु पर्छ । स्वास्थ्य मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय र समाजसेवी संस्थाहरूले आम नागरिकलाई बिरामी ओसार्दा अपनाउनुपर्ने सावधानीको बारेमा निरन्तर सूचना प्रवाह गर्नु पर्दछ । 

अस्पताल होस् वा स्वास्थ्य चौकी सबैमा एम्बुलेन्स राख्नैपर्ने बाध्यकारी नियम बनाउनु पर्छ । पुराना जिर्ण भएका एम्बुलेन्सलाई नयाँ तथा सुविधा सम्पन्न एम्बुलेन्सले चाँडै नै विस्थापित गर्नुपर्छ । बिरामीले एम्बुलेन्स खोज्दै हिँड्ने होइन कि एम्बुलेन्सले बिरामी खोज्दै आउने वातावरण बनाउनु पर्छ । पर्याप्त मात्रामा एम्बुलेन्स भएमा र सरकारले यसलाई समस्याकै रूपमा हेरेमा त्यो दिन पर छैन, जब हामीले फोन नम्बर दबाएको केही मिनेटमा नै घर आँगनमा एम्बुलेन्स आइपुग्नेछन् र बिरामीले छिटो भन्दा छिटो स्वास्थ्य सेवा लिन पाउनेछन् ।

आशा गरौं, सरकार, खासगरी स्वास्थ्य मन्त्रालयले यसलाई विशेष चासोको रूपमा लिनेछ र एम्बुलेन्ससँग जोडिएका स्टेकहोल्डरसँग परामर्श लिई परिवर्तनको हाम्रो आकांक्षा चाँडै पूरा गर्नेछ । 

अन्त्यमा, मर्मस्पर्शी एउटा सत्य घटना सेयर गर्न चाहन्छु । करिब ९ वर्ष अगाडिको कुरा हो, म टिचिङ्ग हस्पिटलको इमर्जेन्सीमा काम गर्थें । खुट्टामा गोली लागेको बिरामीलाई धादिङ्गबाट ल्याइएको थियो ।

बिरामीका आफन्तको भनाइअनुसार धादिङ्गबाट काठमाडौं एम्बुलेन्सबाट आइपुग्दा ५ घण्टा लागेछ । बिरामीलाई जाँच्दा पे्रसर जिरो थियो । मुटुको धड्कन थिएन । अनेक प्रयास गर्दा पनि बिरामीलाई बचाउन सकिएन । यसमा दोषी को थियो होला ? डाक्टर ? बिरामी ? वा राज्य ? यो अनुत्तरित प्रश्न अहिलेसम्म मेरो मानसपटलमा घुमिरहेको छ ।

तपाईंको मत