ad

विशेष

नेताहरू प्रायश्चित गर !

लोकमान प्रकरणमा सर्वाेच्च अदालतको फैसलापछि नेताको चरित्रका बारेमा पूर्वसभासद् तथा नेकपा (एमाले) नेता विजय पौडेलले आफ्नो फेसबुकमा लेखेका छन् – “न्याय खोज्न त अदातल जाने तर नेताहरूको नैतिकता खोज्न कहाँ जाने?” अहिलेका राजनीतिक दलका नेताहरूको चरित्र कति स्खलन भएको छ भन्ने त यही अभिव्यक्तिबाट पनि थाहा हुन्छ । अधिकांश नेताको चरित्र पौडेलको अभिव्यक्तिले बुझाउँछ । यद्यपि, उनी स्वयं परिवारको दोस्रो पुस्ताका राजनीतिक नेता हुन् । 

हाम्रो समाजमा विद्यालय, स्वास्थ्य संस्था, मन्दिर, पानीका धारासम्म राजनीति व्याप्त भएको छ । यस्तो अवस्थामा नीति र नैतिकताको के अर्थ ? अर्थ छ त आर्जनको मात्र । त्यसैले हाम्रो समाजमा शिष्टाचारको सट्टा पापचार, दुराचार, अत्याचार , व्यभिचार र भ्रष्टाचार बढेको हो । आदर्श समाजको व्याख्यान गर्ने नेताहरूले सत्तामा पुगेपछि त्यो आदर्शलाई बिर्सिएर अर्थाेपार्जनमा लिप्त भएका उदाहरण अनेकौं भेटिन्छन् । त्यसरी आर्जित सम्पत्ति यति बेला निजी लगानीका नाममा विद्यालय, स्वास्थ्य संस्था (अस्पताल)मा लगानी गरेर धनलाई वैधानिक बनाउने प्रतिष्पर्धा चलिरहेको छ । त्यसरी आर्जित सम्पत्तिको आर्जनमा स्थापित शैक्षिक संस्था वा अस्पतालले कस्तो सेवा प्रदान गर्लान् ? 

राजनीतिको जगमा समाज सेवाको भावना ओतप्रोत हुनुपर्छ । तर, सेवालाई बिर्सिएर राजनीति व्यापार भइरहेको छ । अहिले नेपाली समाजले गरेको नक्कल मात्र हो । नैतिकताविनाको नक्कल पनि हिंसाको अर्काे स्वरूप हो । त्यसले प्रतिशोधलाई मात्र महत्व दिन्छ । 

समाज गतिशील छ । त्यसैलाइ परिवर्तन भनिन्छ । उक्त सिद्धान्त समाज व्यवस्थामा पनि लागु हुन्छ । परिवर्तन अमूर्त हुँदैन । मूर्त परिवर्तनका लागि आर्थिक, राजनीतिक, सामाजिक साथै शैक्षिक, सांस्कृतिक पक्षको यथोचित समायोजन हुनुपर्छ । समाजको अवधारणामा नै समाज व्यवस्थाको चरित्र निर्भर भइरहेको हुन्छ । व्यक्तिको समूहलाई मात्र समाज भन्न सकिँदैन । अर्काेप्रति सम्मान भाव र एक अर्काको दुःख वा सुखमा साथी नहुँदासम्म त्यस्तो संगतलाई समाज भन्नु अत्युक्ति हुन्छ । मानवीय मूल्य र मान्यताको रीतिसँग समाजको अन्योन्याश्रित सम्बन्ध रहन्छ । 

मानवीय मूल्य र मान्यताको जगमा नैतिक मूल्य मान्यता रहनुपर्छ । नैतिक मूल्य मान्यताको जगमा व्यक्ति वा समाजको संस्कार रहेको हुन्छ । समाज व्यवस्थाको आधार व्यक्तिगत भोग विलासमा सीमित रहेको समाजमा व्यक्तिवाद र भौतिकवादको मान्यताले प्रधानता पाउँछ । त्यस्तो समाजमा प्रगति र समृद्धिको कल्पना गर्न सकिँदैन । अनि समाज तहसनहस हुने दिशामा उन्मुख हुन्छ । त्यस्तो समाजमा व्यक्तिको अस्तित्व के होला ? नैतिक मूल्य र मान्यता विहीन समाजमा भावनात्मक सम्बन्धको कुनै महत्व रहँदैन । समाज अस्तित्वविहीन हुनपुग्छ । त्यसैले पनि नेपाली समाजको परिवर्तनलाई  स्वस्थ बनाउन नैतिक मूल्य र मान्यतालाई स्थापित गर्न जरुरी छ । 
प्रजातन्त्रको आधार स्तम्भ समाज भएकोले प्रजतन्त्रको जगमा समाज व्यवस्था रहन्छ ।

समाज नीतिरूपी वृक्षको फल हो राजनीति । राजनीति ठीक हुन सामाजिक मूल्य मान्यतालाई समय सापेक्ष स्थापित गर्नैपर्ने हुन्छ । त्यस्तो हुन सकेन भने समाज पतनको दिशामा उन्मुख हुन्छ । समाजको नैतिकता त्यही समाजका व्यक्तिको चरित्रमा निर्भर रहन्छ । त्यसैलाई “राजनीतिको अध्यात्मीकरण” भनेका छन् महात्मा गान्धीले । “सर्वाेदयको आदर्श नै समाजको नैतिक एवं मानवीय आदर्श हो” । त्यसलाई गान्धीको समाजवाद वा राम राज्यको कल्पना भन्न सकिन्छ । 
गान्धीले तत्कालीन भारतीय समाजको अवस्थालाई तुलना गर्दै “हाम्रो दुर्गतिको मूल हो नैतिक मूल्यविनाको राजनीतिक वर्चस्व ।” भनेका छन् । अहिले पनि त्यो अवस्था भारतमा यथावत् छ । त्यही नक्कलमा हुर्किएको नेपाली समाज र नेतृत्वको झन् के कुरा ? 

परिवर्तन, शान्ति र सुव्यवस्थाको  कुरा गर्दा समय सापेक्ष परिवर्तनलाई आत्मसात् गर्न चुक्नु हँुदैन । समाजलाई समय सापेक्ष परिवर्तन गर्न सकिएन भने पनि स्थिरता र शान्ति सुव्यवस्था कायम गर्न बाधा उत्पन्न हुनसक्छ । परिवर्तन समाज विकासको नियम हो । त्यही परिवर्तन कहिले ढिलो गतिमा त कहिले आकस्मिक हुन पुग्छ । समय सापेक्ष भयरहित परिवर्तनलाई विकास भन्न भनिन्छ । आकस्मिक परिवर्तनलाई क्रान्ति भन्ने गरिन्छ । समाज परिवर्तनका कैयौं परिधि र क्षेत्र हुन्छन् – राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक आदि । 

उल्लेखित सबै क्षेत्रको परिवर्तनलाई मात्र राजनीति शास्त्रको भाषामा क्रान्तिकारी परिवर्तन मान्न सकिन्छ । अनिमात्र परिवर्तित अवस्थामा समाजले नयाँ संरचना र ढाँचामा आपूmलाई परिष्कृत गर्न सक्छ । अन्यथा नेपाली उखान “नयाँ बोतलमा पुरानो रक्सी ।” भनेजस्तै पात्र फेरिए पनि प्रवृत्ति उही रहिरहने छ । नेपालको परिवर्तन अहिले त्यस्तै भएको छ । 

दोषयुक्त हाम्रो समाजमा शान्तिको कल्पना गर्न कलियुगले आफ्नो आयु नै पूरा गर्नुपर्ने जस्तै भएको छ । भाषण र बोलीमा जे भनिए पनि चरित्रमा त्यो अभाव छ । यस्तो अवस्थामा समाज सुधार र शान्ति सुव्यवस्था कसरी सम्भव होला ? त्यसैले सबैभन्दा पहिला हाम्रो नेतृत्वले कम्युनिष्टहरूले भन्ने गरेको आत्माआलोचना वा प्रायश्चित गर्नु आवश्यक छ । 

भगवान बुद्धले भनेका छन् – “पाप कर्मबाट मुक्ति सम्भव छ, त्यसका लागि प्रायश्चित गर्न सक्नुपर्छ ।” त्यसैले मुलुकको राजनितीलाई निर्मलीकरण गर्नका लागि लोकमान प्रकरणमा गरेको महाभूलको दोषबाट मुक्तिका लागि राजनीतिक नेतृत्वले प्रायश्चित गर्न ढिलाइ गर्न हुँदैन । 

तपाईंको मत