विशेष

राष्ट्र र राष्ट्र निर्माताको सम्मान गरौँ !

गोरखाका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारका लागि युद्ध गर्दा नेपाल राष्ट्र निर्माण गर्ने सपना पनि नदेखेका हुनसक्छ । तर, उनको त्यही राज्य विस्तारको प्रयास अन्ततः आजको नेपाल राष्ट्र निर्माणको जग बसेको सत्यलाई भने विवेक भएको कसैले पनि अस्वीकार गर्न सक्तैन । उनले राज्य विस्तारका क्रममा दमन र क्रूरता पनि अपनाएको हुनसक्छ । त्यसका लागि पृथ्वीनारायण शाह र गोर्खाली सेनालाई कलंक पनि लागेको छ । तैपनि, यस क्रममा पृथ्वीनारायण शाहले युद्ध गरेको आजभन्दा साडे दुई शताब्दी पहिले हो भन्ने बिर्सन मिल्दैन । त्यसमाथि विजयी राजाले पराजित भूमिमा राजधानी सारेको र नाम पनि अपनाएको उदाहरण इतिहासमा बिरलै पाइन्छ । पृथ्वीनारायण शाहको कूटनीतिक चातुर्य नै भए पनि यस पक्षको उचित मूल्यांकन त परै रहोस् राम्ररी चर्चासम्म पनि भएको छैन । भारतमा अंग्रेजहरू व्यापारीका रूपमा आएर शासकका रूपमा प्रकट हुन थालेका थिए । नेपालमाथि उनीहरूको गिद्धे दृष्टि सुरुदेखि नै परेको थियो । धर्म प्रचार र व्यापार अंग्रेजहरूले उपनिवेश विस्तारका लागि प्रयोग गर्दैआएका थिए । नेपाल उपत्यका पृथ्वीनारायण शाहको कब्जामा आउनुभन्दा पहिले नै पादरीहरूको प्रवेश भइसकेको थियो । पृथ्वीनारायण शाहविरुद्ध अंग्रेजहरूले आक्रमण पनि गरेका थिए । यी सबैबाट के स्पष्ट हुन्छ भने एउटा बलियो मुलुक बन्न नसकेको भए पक्कै पनि नेपालका बाइसी, चौबीसी र उपत्यकाका राज्यहरूलाई अंग्रेजले भारतमा विलय गराउने थिए । त्यस अवस्थामा अहिलेका क्षेत्रीय तथा जातीय साम्प्रदायिकतामा आँखाले हेरेर पृथ्वीनारायण शाह र परोक्षमा नेपाल राष्ट्रकै अवमूल्यन गर्नेहरूले कताको राज्य माग्ने थिए होलान् ?

नेपाल भन्ने मुलुक नै नभएको भए सायद पृथ्वीनारायण शाहको सम्झना पनि हुने थिएन । नेपाल नामको मुलुक अहिलेसम्म स्वतन्त्र र सार्वभौम रहेकैले यसलाई एकीकरण गर्ने अभियन्ताको सम्झना गरिएको हो । अहिले पृथ्वीनारायणलाई राजा महेन्द्र वा ज्ञानेन्द्रका क्रियाकलापसँग जोडेर सत्तोसराप गर्नेहरू वा उनको राज्य विस्तारलाई नेपाल राष्ट्र निर्माणको जग नठान्नेहरूले पृथ्वीनारायण शाह नभएका भए नेपालको अस्तित्व हुने थिएन भन्ने पनि बिर्सेका छन् वा बुझ पचाएका छन् । पृथ्वीनारायण शाहले बाइसी चौबीसी राज्य एउटै बनाउँदा आआफ्नो जातीय राज्य गुम्यो भनेर कहिले कोहोलो मच्चाउने 'कबिला युगका सरदार'हरूले पनि उनले एकीकरण नगरेको भए तिनका कुनै पनि राज्यहरू स्वतन्त्र र सार्वभौम रहने थिएनन् र भारतको कुनै एउटा कुना बन्ने थिए भन्ने बिर्सेका छन् । यस्तै मनोगत र दूराग्रहपूर्ण सोच राखेर पृथ्वीनारायण शाहको योगदानको अवमूल्यन गर्नेहरू जुन दिन तन्द्राबाट बिउँझनेछन् त्यही दिन तिनले सत्यको बोध गर्नेछन् । तर, २०६३ सालपछि सत्तामा रहेकाहरूले नियोजितरूपमा पृथ्वीनारायण शाहको अवमूल्यन गरिरहेका छन् । ती भने कृतघ्न नै हुन् । कारण, पृथ्वीनारायण शाहले नेपाल एउटै नबनाइदिएका भए तिनले कहाँ शासन गर्थे ?  अहिले पृथ्वीनारायण शाहको आलोचना गर्ने क्रम बढेर गएको छ । उनका वंशजहरूको शासन नेपाली जनताले समाप्त पारिदिएका छन् । पृथ्वीनारायण शाहका सन्तानले नेपाली जनतामाथि दमन गरेर निरंकुश शासन चलाए । तर, त्यही कारणले पृथ्वीनारायण शाहको योगदानको अवमूल्यन गर्नु विवेक र तर्कसम्मत देखिँदैन । 

नेपाल एकीकरण दिवसका रूपमा पुस २७ लाई सरकारले माने पनि नमाने पनि नेपाली हुनुमा गर्व गर्ने र नेपाल स्वतन्त्र र सार्वभौम मुलुक रहिरहोस् भनेर चाहनेहरूले पृथ्वीनारायण शाहप्रति अवश्य पनि श्रद्धा र कृतज्ञता प्रकट गर्नेछन् । राज्यको उच्च पदमा बसेर राज्यकै स्वतन्त्रता र सार्वभौमसत्ता विरुद्ध षड्यन्त्र गर्नेहरूलाई 'पञ्चमांगी' भनिन्छ । अहिले नेपालमा यस्ता पञ्चमांगीको बिगबिगी देखिएको छ । पृथ्वीनारायण शाहको अवमूल्यन यस्तै पञ्चमांगी प्रवृत्ति हो । नेपाल नभएको भए हुन्थ्यो वा स्वतन्त्र राष्ट्रका रूपमा नरहोस् भन्ने चाहना गर्नेहरूले मात्र नेपाल एकीकरण दिवसको विरोध गर्छन् । नेपालको स्वतन्त्रतामा गर्व गर्ने सबैले यस्ता पञ्चमांगी तत्त्वविरुद्ध स्पष्ट र दह्रोसँग पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेर देशभक्तिको सन्देश दिनुपर्छ । सरकारी अड्डा बन्द गर्दैमा वा नगर्दैमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर लगाएको गुन वा उनीप्रतिको श्रद्धा कम हुने हैन ।

राष्ट्र निर्माताका रूपमा पृथ्वीनारायण शाहको उच्च मूल्यांकन गर्दै हामी उनीप्रति श्रद्धापूर्वक सम्मान प्रकट गर्छौँ । साथै, नेपाली हुनुमा गर्व गर्ने र नेपाल स्वतन्त्र तथा सार्वभौम रहिरहोस् भन्ने चाहनेहरू सबैलाई राष्ट्रिय एकीकरण दिवसका उपलक्ष्य बधाई तथा शुभकामना प्रकट गर्छौँ !      


  

तपाईंको मत