ad

विशेष

बन्दुकको टुप्पोमा आमाको अनुहार देखें

सानैदेखि सुन्दै आएँ- अमेरिका सपनाको संसार हो भनेर । त्यसैले म पनि १२ कक्षा सकेर अमेरिकातिर लागेँ । घरबाट कहिल्यै एक्लै कतै टाढा नगएको छोरी, ममी तीज-तिहारमा मामाघरबाट समयमै घर नआउँदा फोन गरेर ह्वाँ-ह्वाँ गरेर रुने छोरी एक्लै सपना पूरा गर्ने रहरले अञ्जान देशतिर उडी ।

सन् २००८ अगस्ट १८ को दिन । अमेरिकाको एयरपोर्टमा मध्यरात प्लेनबाट झरें । हामीलाई लिन युनिभर्सिटीबाट एकजना आएका थिए । उनैसँग गाडीमा युनिभर्सिटीतिर लाग्यौं । राति भए पनि बत्तीको उज्यालोले सडकहरू राम्रा देखिन्थे । नेपालमा पो लोडसेडिङको अँध्यारो हुन्थ्यो, यो देशमा त जताततै उज्यालो । राति पनि त्यस्तो उज्यालो देख्दा म रत्तिएँ ।

हाम्रो कलेज सहरबाट टाढा थियो- एउटा गाउँमा । अमेरिकाको गाउँ पनि हाम्रो काठमान्डुभन्दा गजबको लाग्यो ।

मनैमन सोचें- ओहो ! म पनि अमेरिका आइपुगेँ ! खुसीको सीमै थिएन ।

अमेरिका आउनेबितिकै न फोन थियो, न इन्टरनेटको नै सुविधा । त्यतिबेला नेपालमा पनि बाक्लो इन्टरनेट थिएन । यहाँ आएको ३ दिनपछि सबै नेपालीलाई इन्टरनेसनल अफिसले नेपाल कल गर्न दियो २-३ मिनेट ।

फोनको घन्टी बज्यो । ममीले फोन उठाएर 'हेलो' भन्नुभो ।

घरबाट कहिल्यै टाढा नगएकी भएर होला, ३-४ दिनपछि ममीको स्वर सुन्दा सही नसक्नु भएर भक्कानिएँ । उता ममी पनि रुन थाल्नुभो । उहाँले कुरा गर्न नसकेपछि अंकलसँग कुरा गरेँ, "म ठीक छु, राम्रैसँग आइपुगेँ, हजुरलाई कस्तो छ ? कता होइसिन्छ ? भाइहरु कता छन् ? सबैलाई सम्झेको छु भन्दिस्यो है ।"

त्यति कुरा गर्दा नै पालो सकियो । मामाका एकजना साथी हुनुहुन्थ्यो टेक्सासमा । २ महिनाजतिमा उहाँले एउटा फोन पठाइदिनुभो । त्यसपछि भने घरबाट अलि धेरै फोन आउँथ्यो ।

अमेरिका आइपुगेको २ साताजति त खुब रमाइलो भएको थियो । घरको याद पनि कमै आउँथ्यो । कहिले ओरिएन्टेसन भनेको छ, कहिले इन्टरनेसनल डिनर भनेको छ, कहिले कुन बिल्डिङमा के प्रोग्राम भनेको छ । नयाँ-नयाँ लुगा लगाउँदै, चिटिक्क परेर गइन्थ्यो । दशैं आएको जस्तो लाग्थ्यो ।

तर, एउटा अजंगको समस्या थियो । नेपालमा हुँदा दुई छाक भात खाएको बानी, यहाँ त भातै खान नपाइने । भर्खर नेपालमा त्यत्रो डलर साटेर ल्याएको, जे किन्न लागे पनि दिमागले नेपालीमा हिसाब गरिहाल्थ्यो । अनि जे पनि महँगो लाग्थ्यो । बाहिर गएर खाना खान पनि मनले मान्दैनथ्यो । त्यसैले कलेजमा कतै फ्रीमा खाना बाँडिरहेको छ भन्ने सुन्नै हुँदैनथ्यो नेपालीहरूलाई, बिहेमा जन्ती भोज खान गएझैं जान्थ्यौं, प्लेटमा अटाई नअटाई ल्याउँथ्यौं ।

कलेजमा काम पाउन निकै गाह्रो भयो । त्यो सेमेस्टरमा नेपाली ५५-६० जना थियौं, त्यसैले कामै नपाइने । त्यही पनि हरेस नखाई दिनदिनै काम खोज्न जान्थ्यौं साथी र म ।

हामी एकजना अमेरिकी बूढोको घरमा बसेका थियौं । उनकी श्रीमतीचाहिँ फिलिपिनो रहिछिन् । बूढी देख्दा डरलाग्दी भए पनि मनकी चाहिँ राम्रै थिइन् । उनी फिलिपिनो रेस्टुराँ चलाउँथिन्, घरकै अगाडि ।

एकदिन म र साथी उनैसँग काम सोध्न गयौँ । उनले घण्टाको ३ डलर दिने बताइन् । काम नपाएर भौँतारिरहेको बेलामा ३ डलर पनि धेरै लागेर 'हुन्छ' भन्यौं । अर्को दिन क्लास सकाएर पछाडिको ढोकाबाट काममा गयौँ ।

बूढीले २ बोरा प्याज दिएर भनिन्, "ल काट, यही हो काम ।"

साथी र म एकअर्काको मुख हेराहेर गऱ्यौं ।

नखाऊँ भने दिनभरिको शिकार, खाऊँ भने कान्छा बाउको अनुहार ।

हामीलाई पनि त्यस्तै भयो । गर्दिनँ भनेर जाऊँ भने नेपालबाट ल्याको पैसा सकिन लागिसकेको थियो । लौ न गरुम् त भनुँ भने २ बोरा प्याज काट्नुपर्ने !

घरमा ममीले भान्सामा सघाउन बोलाउँदा सधैं सक्दिनँ भनें । अमेरिकामा पहिलो काम पाएको, प्याज काट्ने । त्यो पनि २ बोरा ! मैले आमा सम्झिरहें ।

साथी र म कुरा गर्दै, आँखाभरि आँसु बनाउँदै २ बोरा प्याज काट्यौं । साढे ३ घन्टा लाग्यो, १० डलर हात पऱ्यो ।

पहिलो कमाइ १० डलर ! त्यतिबेला समयमा नेपाली लगभग ८ सय हुन्थ्यो । त्यो पनि धेरै लाग्थ्यो ।

यसैगरी घोटिँदा घोटिँदै पहिलो सेमेस्टर सकियो । त्यसपछि म पनि ट्रान्सफर भएर बोस्टन गएँ, जहाँ मामाको साथी हुनुहुन्थ्यो ।

अमेरिकी जीवन तब सुरु भयो, जब बोस्टन पुगें ।

स्टुडेन्ट भिसामा आएको, जहाँ पायो त्यहीँ काम नपाइने । काम नगरी पनि नहुने । कलेजको फी, खाने/बस्ने खर्च उस्तै । नेपालबाट लिएर आएको ऋण छँदै थियो, फेरि-फेरि पैसा मगाउन पनि नसकिने । जसरी पनि काम गर्नैपर्ने बाध्यता थियो । त्यस्तैमा 'कन्भिनियन्ट' स्टोरमा काम पाएँ । स्टोरमा काम पाउँदा पनि कति खुसी लाग्ने । अमेरिकामा काम पाउँदा जतिको खुसी अरु कुनै कुराले लाग्दैन ।

२ दिन कलेज, ५ दिन काम । खान, बस्न पुगेकै थियो । नेपालको ऋण पनि त तिर्नु थियो । अर्को सेमेस्टरलाई पैसा पनि जम्मा गर्नुपर्ने । त्यति कामले पुगेन भनेर अर्को स्टोरमा काम खोज्न थालेँ । समरको बेला कलेज बिदा हुने भएकाले अर्को स्टोरमा पनि काम पाएँ । हप्ताको ७०-८० घण्टा काम गर्न थालेँ । कहिलेकाहीँ त सय घण्टा पनि काम गर्थें ।

नेपालमा बसेर कुरा गरेजस्तो सपनाको देश रहेनछ अमेरिका । २० वर्षको उमेरमा हप्ताको सय घण्टा स्टोरमा उभिएर, चिप्स खाएर, रातमा ३-४ घण्टा सुतेर आफ्नो सपना पूरा गरिने देश रहेछ अमेरिका !

अमेरिकी जीवन चलिरहेको थियो, काम-कलेज-कोठा-काम-कलेज-कोठा !

नेपालमा दशैं सुरु भएको थियो ।

बुधबारको दिन थियो, म कलेज गएर काममा ४ बजेतिर पुगेँ । त्यो स्टोरमा त्यही एकदिन बेलुकी काम गर्थेँ । सानो स्टोर थियो, ग्राहक सबै नियमितै हुन्थे । बसोबास गर्ने क्षेत्र थियो त्यो । स्टोरअगाडि एउटा अमेरिकी रेस्टुराँ थियो । स्टोर ९ बजे बन्द हुन्थ्यो । ८ बजेबाट क्लोजिङको काम गर्न थालेँ, फाटफुट मान्छेहरु आइरहेका थिए । त्यस्तैमा ममीले फोन गर्नुभो । फोन स्पिकरमा राखेर कुरा गर्दै थिएँ, एकजना ग्राहक आयो । त्यो अश्वेत ग्राहक यो स्टोरको नियमित थियो । बियर लिन आएको रहेछ । क्लोजिङको बेला आएकाले मनमा हल्का रिस उठिरहेको थियो । त्यही पनि बियर दिनैपऱ्यो, रजिस्टरमा रिङ गरेँ । रजिस्टर ढोकानजिक नै थियो । ममीसँग बोलिरहेको हुँदा मैले त ख्यालै गरेकी थिइनँ । अगाडिको दृश्य देखेर मेरा हातखुट्टा गले ।

ऊ अर्का ग्राहकको ढाडमा बन्दुक राखेर चिच्याइरहेको थियो । बन्दुक देख्नेबितिकै मेरो सात्तो उडिसकेको थियो । हतार-हतार ममीसँगको फोन काटेर फ्याँकें । ऊ मेरो छेउ आयो । मोटो र अग्लो थियो ।

हंशले ठाउँ छोडिसकेको थियो । हातखुट्टा थरथर काँपिरहेका थिए । भर्खर ममीसँग दसैंको कुरा गरेको झल्झली सम्झिएँ । उसले बन्दुक टाउकोमा तेर्स्यायो । त्यो बन्दुकको टुप्पोमा मैले आमाको अनुहार देखें ।

त्यत्तिकैमा एकजना ग्राहक आइपुगे । अगाडि बन्दुक तेर्सिएको देखेर उनी पनि ठमठमी भए । बन्दुकधारीले रजिस्टरमा बन्दुकले ठोक्दै भएभरको पैसा मागिरहेको थियो । म अलि पर थिएँ । उसले रजिस्टर ठोक्दाठोक्दै बन्दुकबाट गोली निस्किएर अघि भर्खर छिरेका ग्राहकको कोखामा लाग्यो । उनी बुंग ढले । मेरो शरीरका कुनै इन्द्रियले काम गरेका थिएनन् । म त्यहाँ थिएँ कि थिइनँ भन्ने महसुस पनि गरेकी थिइनँ । मानौं म शून्य र अँध्यारोमा कतै गुजुल्टिएर बसेकी थिएँ । चिच्याएर रुन पनि सकिनँ ।

बल्लबल्ल रजिस्टर खुल्यो, उसले सबै पैसा झिक्यो र आफ्नो झोलामा राख्यो । आफ्नो बन्दुकबाट निस्किएको गोलीले छेउको मान्छे ढलिसकेको पनि उसलाई याद थिएन । नशामा चूर भएजस्तो लाग्थ्यो । ऊ होशमा थिएन र म बाँचें । नत्र मलाई पनि गोली हानेर भाग्थ्यो होला ।

मेरा आँखा घरिघरि भुइँमा ढलिरहेका व्यक्तिमाथि जान्थे । म हतास थिएँ । मैले गर्न सक्ने केही थिएन ।

मेरो जीवन बन्दुकको टुप्पोमा अड्किएको थियो । मैले मृत्युलाई धेरै नजिकबाट देखें । बन्दुकधारीले जसरी पनि गोली हान्छ भन्ने लागेर बाँच्ने आशा त्यागिसकेकी थिएँ । तर भाग्यले ऊ पैसा पोको पारेर भाग्यो । मैले हतार-हतार स्टोरको फोन समाएँ । ढोका लक गरें र त्यही ढोकामुनि बसेर ९११ मा कल गरें । म रोइरहेकी थिएँ । रजिस्टर पछाडि घाइते रुँदै थिए । म उनको छेउ पनि जान सकिनँ डरले । उनले त्यहीँ सास छोड्छन् जस्तो लागिरहेको थियो । मरेको मान्छे भनेपछि डरले १० कोस टाढा भाग्ने म आज आफ्नै आँखाअगाडि त्यस्तो दृश्य देखिरहेकी थिएँ ।

९११ मा फोन उठ्यो । मैले सबै बेलीविस्तार लगाएँ । उताबाट आवाज आयो, "कत्ति नडराउनुस्, हामी आइहाल्छौं तुरुन्तै ।"

मैले रुँदै भनें, "एकजनालाई गोली लागेको छ, छटपटाइरहेका छन् ।"

"तपाईं जहाँ हुनुहुन्छ, त्यहीँ बस्नुस्," भन्दै उनीहरू २ मिनेटभित्रै आइपुगे ।

पुलिसले ढोका ढक्ढकाए । मैले सिसाबाट हेरेर ढोका खोलिदिएँ । म भुइँमै बसेर रोइरहेकी थिएँ, पुलिसले आएर अंकमाल गर्दै भने, "नआत्तिनुस्, केही हुँदैन ।"

म केही बोल्नै सकिनँ । उनीहरूले घाइतेलाई एम्बुलेन्समा राखेर अस्पताल लगे । मैले साहू-साहुनीलाई फोनै गर्न सकिनँ । स्टोरनजिकै को-वर्करका साथी बस्दा रहेछन्, उनैले सबैलाई फोन गरिदिएछन् ।

म्यानेजर, साहुनी, को-वर्कर, साहूका साथी सबै आए । साहू त्यतिबेला पाकिस्तान थिए । साहुनी एकदमै असल थिइन्, आउनेबितिकै छोरीलाई झैं अँगालो मारेर रोइन् । मैले त्यतिबेला ममीलाई असाध्यै मिस गरेँ । ममीलाई अँगालो हालेर 'म बाँचेँ ममी' भन्दै रुन मन लागेको थियो ।

कोठा गएर रातभरि एक्लै रुँदै बसेँ । घरिघरि त्यही गोलीको आवाजले झस्किरहें ।

भोलिपल्ट घरमा सुँक्क-सुँक्क गर्दै कुरा गरेँ । रुघा लागेको बहाना बनाएँ । हिजोको घटना म घरमा भन्नै सक्दिनथें । थाहा पाएपछि उहाँहरुको अवस्था सोचेर मनमै राखें । आमा-बाबुको प्राण त हामी छोराछोरीमै त बस्छ, केही भयो भन्नेबितिकै अत्यासले कस्तो होला ?

त्यो घटना भएको ६ वर्ष बित्यो र पनि मैले अहिलेसम्म घरमा कसैसँग भन्न सकेकी छैन ।

अनेक सपना बोकेर बिदेसिएका नेपाली बाकसमा फर्किएको धेरै सुन्छु । छोराछोरी आउलान्, लगेजभरि माया बोकेर ल्याउलान् भनेर पर्खिबस्ने आफन्तहरू काठको बाकसमा सन्तान देख्दा कसरी टुट्छन् होला ! मैले यो पीडा नजिकबाट महसुस गरें ।

यो अनुभवबाट मैले केही सिकें पनि । विदेशतिर स्टोरमा काम गर्नेहरूलाई केही सुझाव दिन्छु :

स्टोरमा काम गर्दा ध्यान दिनुहोला । आफ्नो वरिपरि कस्ता ग्राहक छन्, ख्याल गर्नुहोला । तपाईंको आँखाअगाडि नै कसैले केही चोऱ्यो भने पनि छाड्दिनुस्, साहूले त्योभन्दा धेरै कमाइसकेका हुन्छन् र कमाउने पनि छन् । सबैभन्दा महत्वपूर्ण कुरा- स्टोरमा लुट्न आए भने झगडा नगर्नुहोला । उनीहरुसँग बन्दुक हुन्छ, अरु कुनै हतियार हुन सक्छ । हाम्रो जीवन स्टोर साहूको २-४ सय डलरभन्दा धेरै मूल्यवान छ । उनीहरुले पैसा माग्छन् भने खुरुक्क दिनुस्, त्यो साहूको पैसा हो । उनीहरूले फेरि कमाउँछन् । हामीलाई केही भयो भने एकदिन पनि स्टोर बन्द गर्दैनन्, भोलि नै अरू काम गर्ने आउँछन् । तर, हाम्रा बा-आमाले हामीलाई गुमाउनुभयो भने फेरि पाउनुहुनेछैन । स्टोरको काम एउटा गए अर्को आउँछ, अमेरिकामा काम नगरी खान पाइँदैन, एउटा काम गए अर्को पाइन्छ ।

अमेरिका पक्कै पनि सपनाको देश हो । नेपालमा पूरा गर्न नसकेका सपना यहाँ आएर पूरा गर्न सकिन्छ । मैले पनि नयाँ जीवनसँगै धेरै सपना, रहरहरु पूरा गरेकी छु । तर, एउटा सपना पूरा गर्न हजारौँ सपनालाई त्याग्नुपर्छ । घरपरिवारबाट टाढिनुपर्छ । हाम्रो बाध्यता हो बिदेसिनु । यदि देशमै राम्रो पढाइ, राम्रो कमाइ, राम्रो बसोबास हुन्थ्यो भने शायद हामी बिदेसिने थिएनौं । र, आफ्नै देशमा बसेर परिवारसँगै चाडपर्व मनाउँथ्यौं !

 

तपाईंको मत