site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
केकीको करिष्मा
Sarbottam CementSarbottam Cement

“केकी तिमी म्युजिक भिडियोमा अभिनय गछ्र्यौ ?”

प्रश्न अनपेक्षित थियो । केकी आश्चर्यचकित् भइन् । सपनाजस्तो लाग्यो । मुखबाट अनायास फुत्कियो, “नो !”

किशोरवयबाट युवावयमा उक्लँदै गरेकी सानी केकीलाई त्योभन्दा बढी बोल्नै आएन । बरु सोच्न थालिन्, “मलाई जिस्क्याएको पो हो कि !”

Prabhu Bank
Agni Group
NIC Asia

प्रस्तावकर्ता त्यत्तिमै रोकिएनन्, “तिम्रो अभिनयप्रतिको लगाव र कलाकारिताप्रतिको झुकावले म्युजिक भिडियो सुट गर्छ, तिमीले खेल्नैपर्छ केकी !”

तर, उनले ‘रिजेक्ट’ गर्न छाडिनन् ।

Global Ime bank

“न मेरो अभिनय गर्ने बडी छ, न म पर्दामा फिट देखिन्छु । मेरो लागि उपयुक्त क्षेत्र होइन फिल्मी जगत !”
यस्तै सोच्थ्यो दिमाग ।

टेलिभिजन शो ‘घिन्ताङ’ मार्फत उनको बान्कीपूर्ण नृत्य कौशलले वाहवाही बटुलिरहेको थियो । त्यसैबाट आह्लादित भएर मिङमा शेर्पाले म्युजिक भिडियोमा अफर गरेका थिए उनलाई ।

मिङमा जतिपटक ‘डेब्यु’ गराउने आकांक्षा दोहोर्‍याउँथे, केकीबाट उस्तै टिठलाग्दो जवाफ पाउँथे, “म म्युजिक भिडियोमा जम्न सक्दिनँ होला, नो !”

निरन्तरको अनुरोधपछि केकी अभिनयका लागि मञ्जुर भइन् । अन्ततः आफूले आफैंलाई टेलिभिजनको पर्दामा ‘अयोग्य’

ठहर्‍याएकी केकी काँचको पर्दाको मात्र होइन, सिंगै रजतपटकी ‘स्टार’ बनिन् । त्यो पनि आधा दशकभित्रै ! उनको ‘राइजिङ’ साँच्चै लोभलाग्दो छ ।

० ० ०

नाटक तथा टेलिचित्र निर्देशक बद्री अधिकारीकी छोरी हुन् केकी । उनका बुबाले चलचित्र निर्देशन पनि गरेका छन् । विराटनगरको आरोहण गुरुकुलका संस्थापकसमेत हुन् उनी । मथिंगलमा परिवर्तनप्रतिको चेत र समाज रूपान्तरणको उत्कट अभिलाषा बोकेका बद्री विराटनगबाट काठमाडौँ हान्निए र बौद्धस्थित दोर्जे स्कुलमा पठनपाठन गर्न थाले । उनी त्यहाँको होस्टल इन्चार्जसमेत भए । त्यहीँ जन्मिएकी हुन् केकी ।

“परिवर्तनप्रति बुबाको चाहना र नाटकप्रतिको लगाव शिखरित हुँदै थियो तर आमालाई विवाह गरेर ल्याइसकेपछि उहाँलाई आर्थिक समस्याले पनि उत्तिकै गाँज्यो, त्यसपछि हाम्रो निर्विकल्प गन्तव्य काठमाडौं बन्यो,” केकी फ्ल्यासब्याकमा गइन् ।

“दोर्जे स्कुल आएको एक वर्षमा म जन्मिएकी हुँ नि,” उनको अनुहारमा अतिरिक्त खुसी झल्कियो ।

दोर्जे स्कुल बसाइ पनि लामो भएन । त्यहाँ दुई वर्ष काम गरेपछि आरुबारीमा बुबाले आफैंले बाल सिर्जनालय स्कुल स्थापना गरे र शिक्षकबाट विद्यालय सञ्चालक बने ।

त्यतिबेला नाटक सिकाउने र त्यसमार्फत विद्यार्थीका क्षमता मुखरित गर्ने गतिविधि निजी स्कुलमा हुँदैनथे । निजी विद्यालयमा विद्यार्थीलाई नाटकतर्फ आकर्षित, अभिप्रेरित गर्ने र नाटक प्रतियोगिता गराउने कार्यको थालनी उनकै बुबाले गरेका हुन् ।

सन्तानको पहिलो आदर्श नै पिता हुन् । केकीको ‘आइडल’ पनि बुबा नै थिए । भन्छिन्, “म बाल्यावस्थामा हुँदा बुबाले निकै संघर्ष गर्नुपर्‍यो । म अहिले कल्पना गर्छु– यदि म बुबाको ठाउँमा हुन्थेँ भने त्यो अवस्थालाई पार लगाउन सक्थेँ कि सक्दिनथेँ ।”

समाजको सोच र बुबाको चेतबीच पारस्परिक अन्तर्विरोध थियो । बुबा क्रान्तिकारी सोच भित्र्याउन उद्यत थिए । तर, समाज पछौटे थियो । त्यसैले हुनुपर्छ, स्थापित हुन बाबुले निकै पापड बेल्नुपर्‍यो ।

त्यतिबेला उनले निर्देशन गरेका नाटक, लेखहरूमा तिनै कुरा विम्बित हुन्थे । बहुदल आउनुभन्दा अगावै उनले निर्देशन गरेको ‘कोरस’ टेलिचलचित्र नेपाल टेलिभिजनबाट प्रसारण हुन्थ्यो । बुबाका गतिविधिबाट तत्कालीन प्रशासकहरू रुष्ट थिए । फलस्वरूप निकै धम्कीको सामना पनि गर्नुपथ्र्यो उनका बुबाले !

“त्यतिबेलाको परिस्थिति र आजको परिस्थितमा आकाश–जमिनको फरक छ । त्यतिबेला बोल्न ठूलो साहस चाहिन्थ्यो । परिवर्तनका लागि त्यो पुस्ताले गरेको अथक मेहनतको फल आज हामीले पाइरहेका छौँ । निर्धक्क बोल्न, लेख्न पाएका छौँ,” उनको अनुहारमा बेग्लै आभा छायो र क्षितिजतिर आँखा पुर्‍याइन् । लामो सास फेरिन् ।

“यसो सोच्छु– अहिले त नबोल्नका लागि पो साहस चाहिन्छ । मनका भँडास मनमै थन्क्याउनचाहिँ ठूलो हिम्मत बटुल्नुपर्छ जस्तो लाग्छ !” उनी फिस्स हाँसिन् ।

० ० ०

उनी पढ्नमा विलक्षण थिइन् । सुरुदेखि नै उनलाई कसैले उछिन्न सकेनन् । तथापि उनले कहिल्यै जस पाइनन् । ‘प्रिन्सिपलकी छोरी, किन नहोस् त फस्र्ट ?’ भन्ने वचनको सामना गरिरहनुपर्‍यो । नौलो खालको संघर्ष थियो त्यो । अन्य विद्यार्थीलाई उत्कृष्ट हुनु नै ठूलो संघर्ष हुन्थ्यो तर उनलाई त त्यो आफ्नै मेहनतको परिणाम हो भन्ने पुष्टि गर्ने चुनौती पो थपियो ।

अन्तरविद्यालय तहका प्रतियोगिताहरू आयोजना हुँदा उनकै नाम अगाडि आउँथ्यो । विद्यालयस्तरीय नृत्य, नाटकलगायत प्रतियोगितामा पनि उनलाई कसैले जित्न सक्दैनथ्यो । तथापि त्यहाँ पनि त्यसैगरी सामान्यीकरण गरिन्थ्यो, “प्रिन्सिपलको छोरी, त्यति त गर्नैपर्‍यो नि !”
बुबा स्कलुका सञ्चालक भएकाले केही फाइदा लिन सकिन्छ कि, पढाइका विषयमा आवश्यक सरसल्लाह गर्न पाइन्छ कि भनेर नजिकिने बाहेक उनका अरु साथी भएनन् ।

केटौले उमेर न पर्‍यो । प्रिन्सिपलसँग चित्त नबुझे विभिन्न उपनाम राखिदिने । आफ्नै बुबाको कुरा काटेको उनी कसरी सुन्न सक्थिन् र ! पर–पर हुन्थे साथीहरू !

उनका सामु अर्को चुनौती खडा थियो– स्कुलमा त प्रथम हुन्थिन्, एसएलसीमा कसो हुने हो ! तर, उनले ०६१ सालमा ८६ प्रतिशतसहित विशिष्ट श्रेणीमा एसएलसीको खड्को काटिन् ।

छोरीले उत्कृष्ट अंकका साथ एसएसलसी उत्तीर्ण गरेपछि बुबाआमाको अनुहारमा अनपेक्षित खुसी पोतियो । शब्दमा वर्णन गर्न नसक्ने खुसीको आभा छायो र आलोकित भयो चेहरा । त्यसबाट लोभिइन् उनी । र, बुबाआमाको अनुहारमा त्यस्तै खुसी दोहोर्‍याउने अठोट बोकिन् ।

“मलाई त एडिक्सनजस्तो पो भयो त्यो खुसी,” उनको अनुहारमा हाँसोका मिहिन धर्सा देखा परे । कपालमाथि चस्मा सिउरिइन् ।

० ० ० 

उनका रहर स–साना थिए । सानैदेखि होस्टल बसेर पढिन् । तल्लो तलामा स्कुल र माथिल्लो तलामा छात्रावास थियो । झोला बोकेर विद्यालय धाउने उनको रहर थियो ।

अरु झोला बोकेर स्कुल, कलेज गएको देख्दा उनको मन सधैँ कल्पिन्थ्यो– त्यसैगरी विद्यालय जान पाए पनि हुन्थ्यो ! आहा ! विद्यालय तहमा पढ्दा उनको त्यो रहर कहिल्यै पूरा हुन पाएन ।

त्यसैले उनी ह्वाइट हाउस कलेजमा विज्ञान संकायमा भर्ना भइन् ।

“वास्तवमा झोला बोकेर क्याम्पस जाने रहरले जोरपाटीबाट मध्यबानेश्वरसम्म पढ्न आउँथेँ । जे चिज आफूसँग हुँदैन, जुन चिज आफूले गर्न पाइँदैन, त्यो चिजको अनौठो रहर जाग्दो रहेछ मानिसमा !” मच्चिएरै हाँस्न थालिन् उनी । 

० ० ०

उनको प्रिय चिज पर्दामात्र होइन, पुस्तक पनि हो । बुबा लेखक पनि भएकाले कोर्स बुकका अतिरिक्त अन्य पुस्तक पढ्ने सुविधा पनि थियो उनलाई । घरमा नेपाली साहित्यका अतिरिक्त अनुवाद गरिएका विश्व साहित्यका ठूल्ठूला पुस्तकसमेत हुन्थे । त्यसले पठनप्रतिको अभिरुचि पैदा गर्‍यो । आँखाको क्षितिजभन्दा फराकिलो हुन्छ किताबको परिधि । त्यो उनलाई पनि ‘फिल’ भयो । साथीहरूको भन्दा आफ्नो हेराइ फराकिलो भएको प्रतीत हुन थाल्यो उनलाई ।

तर, कक्षा ११ मा भर्ना भएपछि बाह्य पुस्तकसँगको नाता अलिक टाढा भयो, करिब छुट्यो नै । अर्को रुचिको क्षेत्र नृत्यतिर पनि मनै लगाउन पाइनन् ।

सानैदेखि नृत्यमा पारंगत थिइन् । भर्खर प्लस टु सकिएको थियो । एमबीबीएस तयारी कक्षामा भर्ना भएकी थिइन् । बिहान कक्षा हुन्थ्यो । दिउँसोको समय फुर्सदमै हुन्थिन् उनी । बाटामा हिँड्दै गर्दा एउटा पोस्टरमा आँखा पुग्यो । लेखिएको थियो– राष्ट्रिय नृत्य प्रतियोगिताका लागि आवेदन आह्वान गरिएको छ ।

यो ०६४ सालको कुरा हो ।

बुबासँग कुरा चुहाउन निकै डर लाग्थ्यो उनलाई । त्यसैले आमालाई सुटुक्क भनिन् । 

“आमा नयाँ कुरा सिक्न र गर्न अभिप्रेरित गरिरहनुहुन्थ्यो, नृत्य प्रतियोगितामा सामेल हुने भनेपछि छेकबार गर्ने कुरै आएन,” अनुहारमा खुसी प्रदीप्त भयो उनको ।

‘घिन्ताङ’ उनको खुसीको ढोका थियो । प्लस टु साइन्सले उनलाई ‘मोनोटोनस’ बनाएको रहेछ । र, नृत्य प्रतियोगिता एकांकी चिर्ने हतियार पो बन्यो । 

त्यसो त उनी जहिल्यै नयाँ चुनौतीको सामना गर्न रुचाउँथिन् । उनले बाल्यकालतर्फ कुरा डोहोर्‍याइन् । कक्षा १० पढ्दा उनले एउटा नाटकमा अभिनय गरेकी थिइन् । शीर्षक ठ्याक्कै याद भएन तर उनी प्रिन्सिपलको भूमिकामा थिइन् ।

“प्रिन्सिपल, त्यो पनि महिला ! स्कुलमा होइन, नाटकमा समेत कल्पनाको विषयभन्दा टाढाको कुरा थियो । त्यसैलाई चिर्न सघाउ पुगोस् भनेर अभिनय गरेँ,” जोड दिँदै हाँस्न थालिन्, “स्क्रिप्टमा पुरुष प्रिन्सिपलकै भूमिका थियो तर मेरा लागि कुनै उपयुक्त पात्र नभएकाले निर्देशकले प्रिन्सिपलको भूमिका निभाउन मलाई जिम्मा दिनुभयो ।”

‘घिन्ताङ’को ढोकाभित्र छिरेपछि अनुभूत भयो त्यो । प्रशन्न पौडेल, प्रचण्ड पौडेललगायत थिए ‘घिन्ताङ’मा । विडम्बना भन्नुपर्छ, घिन्ताङ बीचमै गएर रोकियो । तर, केकीको करिअरको ढोका भने खुलिसकेको थियो ।

आयोजकले विभिन्न ‘गेस्ट जज’ ल्याउँथे । त्यसै क्रममा भेट भएका थिए मिङमा शेर्पा र उनैले म्युजिक भिडियोमा ‘डेब्यु’ गराए केकीलाई ।

बडो अप्ठ्यारोसँग मोडल बन्न तयार भएकी हुन् केकी । भन्छिन्, “बुबा आफैं निर्देशक हुनुहुन्थ्यो । उहाँले कहिल्यै भन्नुभएन तिमीले मोडलिङ गर्नुपर्छ, नायिका बन्नुपर्छ । आफन्त, नरनाताका मानिस कसैले पनि भन्दैनथे– तेरो हिरोइन हुने अनुहार छ भनेर ।”

बान्किलो अनुहार । वाकपटुता । आकर्षक हेराइ । रूपको माधुर्यता । छरितो जिउडाल । कुनै कोणबाट नायिका बन्न अयोग्य थिइनन् उनी । तर पनि नायिका बन्ने उनको सपना नै थिएन !

त्यतिबेलाको एउटा प्रसंग उप्काइन्–

म्युजिक भिडियोमा अभिनय गर्नु अगाडि उनी ६ बज्दा नबज्दै घर पुग्थिन् । त्यसैले उनकी आमाले साँझ ६ बजेभित्रै घर पुग्ने सर्तमा म्युजिक भिडियो खेल्ने अनुमति दिएकी थिइन् । तर, सुटिङ सिध्याएर घर पुग्दा राति अबेर भइसकेको थियो । बबाल भयो त्यो दिन !
अरु त के हुन्थ्यो, भलिभाँती गाली खाइन् ।

त्यसो त केकी सबै कुरा बुबालाई नै ‘सेयर’ गर्थिन् । आमालाई नभनी बुबालाई मात्रै सुनाएका कुरा कति छन् कति । तर, रजतपटमा प्रवेश गर्ने कुराचाहिँ बुबाको अघिल्तिर मुख फोर्नै सकिनन् ।

“बुबाले सुटिङहरूमा कहिल्यै लैजानुहुन्नथ्यो । किन–किन उहाँको अनुहारमा छोरी कलाकारितातिर नजाओस् नै भन्ने भाव पाउँथेँ । त्यसैले सीधा भन्ने आँटै गर्न सकिनँ,” उनले प्रष्ट्याइन् ।

त्यसो त कहिलेकाहीँ ‘डबिङ’हरूमा लैजान्थे बुबाले । आवाजको मधुरताबाट आह्लादित भएर उनलाई बालकलाकारको रूपमा अभिनय गर्न आग्रह गर्नेहरू पनि प्रशस्तै हुन्थे तर छोरीको जवाफ नकुर्दै बाबुले ‘नो’ भनिसकेका हुन्थे ।

उनको ‘डेब्यु’ म्युजिक भिडियो ‘कसरी भनूँ म’ हो । त्यसमा अभिनय गरेलगत्तै उनलाई एउटा विज्ञापनमा मोडलिङ गर्ने अफर आयो । थम्प्सन नेपालले तयार पारेको क्लोजअप मञ्जनको ‘तिमी किन बोल्दैनौ’ भन्ने विज्ञापनमा अभिनय गरेपछि उनको करिअर ‘बुस्ट’ भयो ।

बुबाले निर्देशन गरेको ‘साल्गीको बलात्कृत आँसु’ प्रसारण हुनुअघि उनले अभिनय गरेको विज्ञापन टेलिभिजनबाट बज्थ्यो । निकै गौरव महसुस गर्थिन् उनले !

‘वनमा फुल्यो फूल’ उनको दोस्रो म्युजिक भिडियो हो । अधिक रुचाइयो त्यो । त्यसपछि उनले पछाडि फर्केर हेर्नै परेन । 

० ० ०

चिकित्सक बन्ने सपना लत्याइन् उनले । ‘एमबीबीएस पढ्न थालेँ भने मैले एकांकी अनुभूत गर्नुपर्छ । ११–१२ पढ्दाजस्तैको जिन्दगी बेहोर्नुपर्छ । केही जान्नेवाला छैन मैले । एउटामात्र चिज जान्नु जीवन होइन’ भन्ने सोच आयो उनमा । र, डक्टर बन्ने सपनालाई उनले रछ्यानमै मिल्काइन् ।

“बुवालाई म एमबीबीएस पढ्दै छैन भन्दा क्लोज अप काट्न मिल्ने अनुहार थियो उहाँको,” उनी हाँस्न थालिन्, “छोरीको खुसीका अघिल्तिर उहाँ निरीह हुनुभयो !”

‘पढाइ छाड्दा पनि छाड्दिनँ र पढाइको ग्रेड पनि ओरालो लगाउँदिनँ’ भन्ने वचनबद्धता व्यक्त गरेरै अभिनयमा हाम फालेकी हुन् उनी ।

म्युजिक भिडियोमा जम्दै थिइन् । त्यति नै बेला परिवारमा ठूलो आर्थिक संकट खडा भयो । विद्यालय, घर आदिको ऋणले नराम्रोसँग चेपुवामा पारेको थियो उनीहरूलाई । परिवारकी जेठी छोरी हुनुको नाताले पछाडि फर्कने अवस्था पनि थिएन । कमाउनुपर्ने निर्मम बाध्यता थियो ।

म्युजिक भिडियोमा काम गर्न थालेको एक वर्षमै उनी ‘डिमान्डिड आर्टिस्ट’को रूपमा दर्ज भइसकेकी थिइन् । एकपछि अर्को म्युजिक भिडियोको ओइरो नै लाग्यो ।

कसैकसैले भन्थे– जस्तो पनि म्युजिक भिडियोमा किन अभिनय गर्छेस् तँ ?

उनी भन्छिन्, “करिअरमा यस्तो क्षण पनि आउँदो रहेछ कि तपाईं ‘नो’ भनेर अवसर लत्याउन सक्नुहुन्न ।”

हुन पनि यात्रामा हिँडेको मान्छेले यो खोला तर्दिनँ, त्यो खोला तर्छु भनेर साध्य पनि त हुँदैनथ्यो !

अहिलेसम्म सयौँ म्युजिक भिडियोमा मोडलिङ गरिसकिन् । धेरै म्युजिक भिडियोले चर्चा बटुले । ‘स्वर’देखि ‘लवसाशा’सम्म आइपुग्दा दुई दर्जनभन्दा बढी फिल्ममा जीवन्त अभिनय पस्किइन् । सिने जगतमा रुचाइएकी नायिका पनि हुन् केकी । तर, उनका कुनै फिल्मले अपेक्षाकृत व्यापार गरेनन् । उनी प्रतिप्रश्न गर्छिन्, “फिल्म चल्नु र नचल्नुमा नायिकाको मात्रै हात हुन्छ र ?”

उनी अर्को पनि कुरा भन्छिन्, “मैले कहिले पनि मेरो कामलाई व्यापारसँग तुलना गरिनँ ।” 

तथापि, चलचित्र व्यापार पनि भएकाले फिल्म चल्यो या चलेनकै आधारमा नायक/नायिकालाई सफल–असफलको दर्जा दिइन्छ ।

त्यसो त उनलाई ‘अनलक्की’ नायिका भन्नेहरू पनि छन् । “सबैको सहयोगले मैले आफूलाई भाग्यमानी अनुभूत गरिरहेकी छु ।

फिल्म चल्नु/नचल्नु आफ्नो ठाउँमा छ । अभिनयमा मैले थकाइ मार्नुपरेको छैन,” हाँस्छिन् उनी । 

लोभलाग्दो आत्मविश्वास छ उनमा । भन्छिन्, “मान्छे त्यतिबेलासम्म हार्दैन, जतिबेलासम्म उसले आफैं हार्दैन ।”

निःसन्देह आफ्नै लयमा अविराम अघि बढिरहेकी छन् केकी ।

० ० ०

स्कुल तह विद्यालयको चौघेरामै बित्यो । प्लस टुमा पनि कलेजकै बसमा आवतजावत गरिन् । अभिनय क्षेत्रमा छिरेपछि उनले सार्वजनिक यातायात प्रयोग गर्नुपर्‍यो । आँसु आउने ठेलमठेल र धक्का सहिन् उनले !

“मेरो जस्तो पीडा सबै किशोरी र युवतीहरूले भोग्नुपर्छ । म त केवल प्रतिनिधि पात्र न हुँ,” उनले सुनाइन् ।

सार्वजनिक यातायातमा थाहा नपाएजस्तो गरी छुने पाइलैपिच्छे भेटिन्थे । “त्यो उमेरमा बोल्न पनि सकिँदैनथ्यो । प्रतिवाद त परको कुरा भयो !” अनुहारमा सन्नाटा छायो । लामो सास फेरिन् उनले ।

कसैले हेर्‍यो, जिस्क्यायो भनेर आफूलाई जोगाउनतिर पो लाग्नुपर्ने भयो । कोही पुरुष गाडीभित्र छिर्‍यो भने शरीर आफैंले सजग गराउँथ्यो ! आफैंलाई मात्र परेको हो कि भनेर उनले बहिनी, सहपाठीहरूलाई पनि यो समस्या सुनाउँथिन् । ती पनि त्यसै भन्थे– परबाट कोही पुरुष आफूतिर आइरहेको छ भने शरीर आफैं ‘प्रोटेक्ट’ गर्न थाल्छ– त्यो मान्छेले छोई पो हाल्छ कि !

उनलाई कहाली लाग्छ, “बोल्न सक्ने मान्छेले त यस्तो समस्या बेहोर्नुपर्छ भने समाजमा यो प्रकारको दुव्र्यवहारको अवस्था कस्तो होला ?”

एकान्तका कहिलेकाहीँ घोत्लिन्छन्, “सार्वजनिक स्थलमा महिलामाथि हुने दुव्र्यवहार/यौनजन्य हिंसा कसरी रोक्ने होला ?”

र ‘लवसाशा’

उनी अभिनित पछिल्लो फिल्म ‘लवसाशा’ पुस २८ बाट रिलिज हुँदैछ ।

के हो त ‘लवसाशा ?’

उनको अनुहार अझै उज्यालो भयो । अन्तर्वार्ताका लागि बाहिर अरु पत्रकारहरू प्रतीक्षारत थिए ।

“लवसाशा एउटा प्रतिनिधि पात्र हो । २२–२३ वर्ष कटेकी युवती, जो सामाजिक र आफैंभित्रका अनेक प्रश्नको गोलचक्करमा फसेकी हुन्छे । पढाइ सकियो, अब त बिहे गर्ने होला नि भन्ने समाजको कौतूहलताले उसलाई पिरोलिरहेको हुन्छ, हो त्यही पात्रको कथा हो,” मुस्कुराउँदै भनिन्, “हाम्रो समाजमा युवतीको प्रेम, करिअरलाई खासै चासो दिइँदैन, जति उसको विवाहलाई महत्व दिइन्छ ।

‘लवसाशा’ आम युवतीको मनोभावना हो । चलचित्रमा ठूल्ठूला घटना घट्दैनन् । नाटक पनि छैन । युवतीको दमीत अन्तरभावना सलल बग्छ ।”
अन्तिममा आग्रह गरिन्, “कुराकानी लामै भयो, फिल्मचाहिँ हेर्न आउनूस् है !”

तस्बिर स्रोत : glamournepal.net

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २३, २०७३  ०८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC