site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
लग्न स्थानमा पाप ग्रह !
Sarbottam CementSarbottam Cement

ज्योतिषीहरू अनिष्टकारी ग्रहलाई पाप ग्रह भन्दारहेछन् । आफूले नपढेको विद्या भए पनि पण्डितका घरमा जन्मेकाले सुनेका शब्दावली हुन् यी ! व्यक्तिको कुण्डलीमा लग्नमा इष्ट ग्रह भए शुभ हुने र पाप ग्रह भए अनीष्ट हुने रहेछ । लग्न भनेको महत्त्वपूर्ण स्थान । देशमा पनि महत्त्वपूर्ण स्थानमा असल व्यक्ति भए शुभ हुन्छ । शासक खराब भए भने अनीष्ट हुन्छ । मूलतः राहु, केतु र शनि अनिष्टकारक ग्रह मानिदा रहेछन् ।

देशको राजनीति अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णायक स्थानमा छन् । यिनले मालिकका स्थानमा भारतलाई राखेका छन् । यी सबैको आचरण राहु र केतुको जस्तै कपटपूर्ण अनि शनिश्चरको जस्तो कुण्ठा र दम्भयुक्त छ ।

 

Prabhu Bank
Agni Group
NIC Asia

एउटै थैलीका चट्टाबट्टा

देउवा, ओली र दाहालबीच एउटा अचम्मको समानता छ - यिनीहरू तीनै जना सिद्धान्तमा सम्झौता गर्न पटक्कै नहिचकिचाउने ‘व्यवहारवादी’ छन् । सिद्धान्तमा सम्झौता गर्नेहरू अपेक्षाकृत डरलाग्दा हुन्छन् । संसारभर यसको उदाहरण भेटिन्छ ।

Global Ime bank

ढाँट्न चाहिने आँट सजिलै जुटाउने यी तीन जना नेताको स्वार्थ, महत्त्वाकांक्षा र पाखण्डको बन्धक बनेको छ सिंगो मुलुक । धन्न यिनको आनिबानी मिले पनि यसपटक स्वार्थ मिलेको छैन  ! प्रतिस्पर्धाको साटो कुनै स्वार्थले यिनलाई एकै ठाउँमा ल्यायो भने त्यति बेला मुलुकको अवस्था के होला ? देवता बनाइएका पात्रको चरित्र दोषमा पनि रहस्य देख्ने संस्कारमा दीक्षित नेपालीले समाजमा दलका कार्यकर्ताले आआफ्ना नेतामा खोट नदेख्नु स्वाभाविकै होला तर यी तीनै जनाले जे पनि बोलेका र गरेका उदाहरण बग्रेल्ती छन् । यिनीहरूबाट लोकतान्त्रिक परम्परा, मूल्य मान्यता र नैतिकताको अपेक्षा गर्नु नै मूर्खता हुन्छ । आचार र विचारका आधारमा हेर्दा यिनीहरू नेपालको लग्न स्थानमा बसेका पाप ग्रह हुन् । यिनको प्रकोप साम्य पार्न इष्ट ग्रह बलियो हुनुपर्छ । शान्तिस्वस्ति काम लाग्दैन । मालिकलाई धेरै दान गर्न सकिने अवस्था छैन । मुलुकका हकमा नागरिक नै त इष्ट ग्रह हुन् !

अहंकारका पोका

‘सम्झौताहीन संघर्ष’को उद्घोष गरेर केपी ओलीले, औचित्य समाप्त भएको सरकारको निरन्तरताको आश्वासन दिएर केपी सिटौलाले र प्रधानमन्त्री रहेसम्म संशोधन विधेयक फिर्ता नलिने हुँकार गरेर प्रधानमन्त्री दाहालले जनतालाई दिएको एउटै सन्देश हो - उनीहरूको दम्भका सामु देश र जनताको कुनै मूल्य छैन । जे हुन् उनहरू नै हुन् र उनीहरूबाहेक अरू कोही केही हैनन् ।

पाखण्डीहरूको आडम्वर

करिब २०-३० वर्ष पहिले भारतबाट नेपाल छिरेको व्यक्ति तराईका बासिन्दासँग थर मिलेको वा नाता परेकै भरमा आरक्षणको हकदार र मधेसको आदिवासी मानिने तर सय वर्षभन्दा पनि पहिले तराईका वन फाँडेर जग्गा आवाद गर्ने चाहिँ पहाडमा बस्नेहरूसँग थर मिलेकै भरमा अतिक्रमणकारी ठानिने पाखण्ड र मधेसी सबै राष्ट्रघाती हुन्छन् र पहाडी राष्ट्रवादी हुन् भन्नु उस्तै हो । दुर्भाग्य, नेपालमा राजनीति गर्नेहरू यस्तै गलत तर्कका भरमा जनतालाई सधैँ मूर्ख बनाउन सकिने ठान्छन् ।  केपी ओली मार्काको मौसमी राष्ट्रवाद पहिले माओवादीले पनि देखाइसकेकै हो । कम्युनिस्टले राष्ट्रवादको पैरवी गर्न थालेपछि अर्थात् विश्वासै नभएका सिद्धान्तलाई बोकेपछि कसरी कायम हुन्छ इमानदारी ?

राष्ट्रिय अखण्डताको प्रश्नलाई बढी प्राविधिक र नाराको विषय बनाउँदा दल वा नेताविशेषलाई क्षणिक लाभ हुनसक्छ तर राष्ट्रलाई क्षति पुग्छ । नेपालका नेताहरूलाई यसको मतलब भए पो !

ओलीका पालामा कमल थापाले भारतका विदेश मन्त्री सुषमा स्वराजलाई बुझाएका भनेको ‘नन पेपर’ अहिलेको सरकारले दिल्लीलाई दिएको जानकारीकै अर्को अवतार न हो । अरू भ्यागुताका रिसले सर्पलाई निम्त्याएर आफू बसेको कुवामा भित्र्याउने मूर्ख गंगादत्त भ्यागुताको कथा यी सबैले पढेको हुनुपर्छ तर बुझेनन् वा बुझेर पनि बुझ पचाए ।

कांग्रेस, एमाले, माओवादी वा अरू कुनै दलले पनि भारतको प्रभावबाट चोखो देखिन खोज्नु वा ठान्नु बेइमानी हो । आफूलाई फाइदा हुँदा सबैले भारतको र भारतका आधिकारिक, घोषित र अघोषित दूतहरूको सेवा, सहयोग र सल्लाह स्वीकार गरेकै छन् ।   

 

भारतको लोकतन्त्र

भारत नेपालका मामिलामा बढी नै अनुदार छ । खासगरी भारतको बाबुतन्त्र नेपाललाई हेपेर अंग्रेजहरूको गुलामीको कुण्ठा मेटाउन चाहन्छ । विदेश नीति विशेषगरी नेपाल र पाकिस्तानसँग गर्ने व्यवहार भारतकै पनि राजनीतिक नेतृत्व निर्णायक हुन सक्तोरहेनछ । त्यहाँको बाबुतन्त्र अझ पछिल्ला दिनमा गुप्तचर निकायले विदेश सम्बन्धमा सरकारलाई निर्देश गर्नेगरेको स्पष्टै छ ।

भारतलाई संसारको सबैभन्दा ठूलो लोकतन्त्र भन्ने गरिन्छ । तर, आवधिक निर्वाचनबाहेक लोकतन्त्रका अरू गुण भारतमा भेट्न हम्मे हम्मे नै पर्छ । अनुदार पाखण्डी समाज र क्रूर अमानवीय शासन यन्त्रले भारतलाई उदार लोकतन्त्र हुनै दिँदैनन् । राजनीतिक नेतृत्वमा लोकतन्त्रप्रति खासै मोह पनि छैन । कस्मिर वा उत्तर पूर्वका राज्यहरूमा मात्र हैन माओवादी विद्रोहमा समेत सरकारले संविधान र लोकतान्त्रिक मान्यताको उल्लङ्घन गरेको छ तर विपक्षले समेत कहिल्यै दमनको विरोध गरेको देखिँदैन । चीनले लोकतन्त्रको दम्भ गरेकै छैन । त्यहाँको समाज उदार छैन वा मौलिक स्वतन्त्रता छैन भनेर टिप्पणी गर्नुको कुनै अर्थ छैन । त, यी दुई देशका बीचमा रहेको नेपाली समाज यति पनि उदार र स्वतन्त्र हुनु चानेचुने पक्कै होइन । लाग्छ, यसका लागि नेपालीले थप मूल्य चुकाउन बाँकी नै छ । 

नेपालको लोकतन्त्रका लागि भारत वा चीनबाट कुनै दिन सहयोग पुग्ला वा गुहार पाइएला भनेर नचिताए हुन्छ । चीनले २०६२/६३ को जनआन्दोलनसम्म पनि आन्दोलनकारीलाई ‘मुठीभर उपद्य्राहा’ भन्ने गर्थ्यो । भारतले पञ्चायतविरुद्ध संघर्ष गर्दा सुवर्ण शमशेर र बीपी कोइरालालाई धम्क्याएकै हो । सुवर्णजी कलकत्तामै निस्क्रिय रहे । कार्यकर्ताको बथान लिएर उनी नेपाल पसिहाल्ने आँट गरेनन् । बीपी नेपाललाई सिक्किम बनाउने भारतीय सर्त मन्जुर नभएपछि ज्यानको बाजी थापेर फर्के ।

पञ्चायत पक्षधर धेरैले २०४६ को जनआन्दोलनमा भारतका केही नेताको उपस्थितिका कारण भारतीय सहयोगमा सफल भएको ठान्छन् र भन्छन् पनि । ती भारतीय नेताले भारतीय संस्थापनको प्रतिनिधित्व गर्दैनन् । भारत सरकारले त आन्दोलन चर्कँदै गएपछि नेपालका राजासमक्ष सन्धिको प्रस्ताव गरेकै थियो । माओवादीको हिंसात्मक वितण्डा सुरु नभएको भए बिस्तारै नेपालमा लोकतन्त्रले जरो गाड्ने लक्षण देखिन थालेको थियो । देश लगभग दुई दलीय पद्धतितिर उन्मुख हुँदै थियो भने लोकतान्त्रिक संस्थाहरू क्रमशः बलिया हुँदै थिए । भारतले नेपालमा लोकतन्त्र बलियो भए आर्थिक अवस्था र राष्ट्रियता सुदृढ हुने ठानेर माओवादी उचाल्यो । माओवादी र भारतीय संस्थापनको सम्बन्ध अब रहस्यको विषय रहेन । यसमा धेरै अक्षर किन खेर फाल्नु ? नेपालको राष्ट्रियतालाई कमजोर बनाउन लोकतन्त्रमाथि पनि प्रहार गर्नुपर्छ भन्ने नेपालका वैरीलाई थाहा छ । हामीमात्र बुझेर पनि अबुझ बनेका छौँ । 

संसद् किन अवरूद्ध ?

लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव एमालेलाई नै घाँडो भएको हो कि रणनीतिक अभीष्ट पूरा भएको हो ? संविधान संशोधन प्रस्तावमा प्रस्तुत गर्नै नदिने भन्ने अधिनायकवादी सोच हो । संसद्मा त्यसका विरुद्ध मतदान गर्ने घोषणा त कांग्रेस र माओवादीकै कतिपय सदस्यले गरिसकेका छन् । तैपनि दुई तिहाइ पुग्छ भने एमालेलाई दोष कसैले दिँदैन । जनभावनाविपरीत रहेछ भने निर्वाचनमा जनताले सजाय दिन्छन् । नत्र, लोकमानसिंह कार्कीले एमाले र माओवादीका नेतामाथि कारबाही चलाउन खोजेका कारण महाभियोग दर्ता गराइएको भन्ने अनुमान  सही साबित हुनेछ ।

केपी ओली सार्वजनिकरूपमा तत्काल चुनाव घोषणा गर्न माग गरिरहेका छन् । तर, निर्वाचनसम्बन्धी कानुन बनेकै छैन । यसैगरी, महाभियोग प्रस्तावमा छलफल हुनु छ । यसै पनि संसद् अवरुद्ध पार्नु देशको हितमा हुँदैन । चुनाव नचाहने र महाभियोग पारित नहोस् भन्ने चाहने हो भनेमात्र संसद् अवरुद्ध गर्ने हो । अहिले कार्यसूचीमै नभएको संविधान संशोधन प्रस्तावका नाममा संसद्को बैठक अवरोध गर्नु संसदीय हैन बाहुबली राजनीति हो ।

सरकारलाई त संसद् चलाउन परेकै छैन । संविधान संशोधन प्रस्ताव त झन् पेस गर्नु नै छैन । प्रस्ताव विफल हुने निश्चित देखिइसक्यो । त्यस अवस्थामा दाहालमाथि पदत्यागका लागि दबाब बढ्नेछ । बरू, यत्तिकै कटाउन सके त चैतसम्म पुग्छ कि र एमालेलाई फकाउन सके अरू त्यसपछि कांग्रेसलाई पन्छाएर सरकार चलाउने उनको रणनीतिक चाहना हुनु अस्वाभाविक हैन ।

दाहालको औचित्य ?

प्रधानमन्त्री दाहाल ‘नायक’ को अभिनय गर्दागर्दै खलनायक हुनपुग्छन् । बेलाबेलामा त रबर्ट लुइस स्टेवेन्सनको उपन्यास ‘दी स्ट्रेन्ज केस अफ डाक्टर जेकिल एन्ड मिस्टर हाइड’का प्रमुख पात्रको जस्तो रूपान्तरण हुन्छ उनमा । एउटा अतिबाट अर्को अतिमा सजिलै पुग्ने उनको चरित्रले नेपालको लोकतान्त्रिक गणतन्त्रको नियतिलाई त्रासद बनाउँदै लगेको छ ।         

संसदीय मान्यताअनुसार प्रधानमन्त्रीको प्रस्ताव विफल हुनेबित्तिकै राजीनामा गर्नुपर्छ । तर, दाहाल यस पटक राजीनामा नगर्ने पक्षमा देखिएका छन् । संसद्मा संविधान संशोधन प्रस्ताव पराजित भए पनि राजीनामा नगर्ने प्रचारवाजी यसैको संकेत हो । संशोधन प्रस्तावका विपक्षमा एक तिहाइभन्दा धेरै मत देखिइसकेको छ । यसैले दाहालले अब संसद्मा शक्ति परीक्षण गर्ने वा प्रस्ताव फिर्ता लिएर केही दिन सरकार बढी चलाउने वा नैतिक जिम्मेवारी लिएर राजीनामा गर्नेमध्ये एउटा विकल्प रोज्नु आवश्यक छ । (दक्षिण कोरियाको विपक्षी पार्टीका सांसद्ले राष्ट्रपतिविरुद्धको महाभियोग पारित नभए राजीनामा गर्ने रे ! प्रधानमन्त्री दाहाल भने प्रस्ताव पारित पारित नभए पनि राजीनामा नगर्ने र प्रस्ताव फिर्ता पनि नलिने रे !)

 

संसदीय विकल्प

एमालेका लागि पनि सरकारमा गए पनि नगए पनि सबैभन्दा ठूलो दललाई सरकार बनाउन दिँदा वा स्वीकार गर्दा सहज हुन्छ । जनताले राखेका थान्कामा बस । कांग्रेसलाई जनताले कुल मत र संसद्मा स्थान दुवै बढी दिएका छन् । एमालेका लागि अहिले कांग्रेसलाई सरकारको नेतृत्व गर्न दिँदाको एउटा फाइदा चुनावमा पनि हुन्छ । कांग्रेसका नेतासँग न सपना देखाउने कला छ न शासन गने कौशल छ । सत्तामा पुगेपछि लुछाचुँडी गर्छन् । दम्भ र कपटका पोका पुष्पकमल दाहाललाई काँधमा बोकेका कारण कांग्रेसले जनाधार गुमाउँदै छ ।  मधेस छाडेरै पनि एमाले अर्को चुनावमा पहिलो पार्टी हुनसक्ने लक्षण देखियो सत्तामा जान हतार नगरे र सस्तो राजनीति नगरे । 

कांग्रेसको अग्निपरीक्षा

इटालीका प्रधानमन्त्री म्याट्यु रेन्जीले जनमत संग्रहमा पराजित भएपछि नैतिक जिम्मेवारी लिएर राजीनामा गरे । बेलायतको बहिर्गमन निर्णयपछि प्रधानमन्त्रीले राजीनामा गरेका छन् । संसदीय प्रणालीमा यो नैतिक प्रश्नमात्र हैन परम्परा र मान्यता पनि हो । दाहाललाई त संसदीय प्रणाली नै भत्काउन पाए अझ फाइदा होला । उनी यसका लागि लागिपरेका पनि होलान् र यो उनको रणनीति नै हुनसक्छ । नैतिकता उनका लागि ‘बुर्जुवा’ को पाखण्ड हो । तर, नेपाली कांग्रेसका नेता त आफूलाई संसदीय पद्धतिका संरक्षक ठान्छन् क्यारे ! नैतिकता भए संसदीय परम्परा तथा मूल्य, मान्यता नै धरापमा पार्ने  दाहाललाई दिएको समर्थन कांग्रेसले अब फिर्ता लिनुपर्छ ।

कुनै पनि तर्कसम्मत नैतिक उपाय वा मार्ग यिनले अवलम्बन गर्लान् भन्ने विश्वास छैन । लग्न स्थानका पाप ग्रहको शान्ति स्वस्ति र दानले मुलुककै स्वाभिमानमा ठेस लाग्न लागेको छ । इष्ट ग्रहहरू जागेनन् भने अनीष्टको शृंखला अनवरत हुनसक्छ ।   

र, अन्त्यमा

एउटा ऊर्दु सेर

बर्बाद गुलिस्ताँ करने को बस एक ही उल्लू काफ़ी है

हर शाख पे उल्लू बैठे हैं अंजाम ऐ गुलिस्ताँ क्या होगा।’ 

                                                    -शौक बहराइची

 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७३  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC