site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सत्य, आग्रह अनि सत्याग्रह
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

"अनि उसले सत्ते, मैले होइन भन्यो नि त ! ममी” मैले दिने जबाफ सधैँ जसो यही हुन्थ्यो । कक्षा १ पढ्दाको कुरो हो  ।  सहपाठीमध्ये अलि ढाडे एकजना साथीले मेरो खाजा सँधै लुसुक्क खाइदिँदो रहेछ । म सँधै भोको पेट स्कुलबाट क्लान्त फर्केपछि  आमाको प्रश्न उही हुन्थ्यो –“आज पनि खाजा उसैलाई खुवाएर आइस् हैन?" म जानाजान आफ्नो घ्यूमा भुटेको चिउरा र त्यसमा मिसाएको चिनीवाला खाजा किन खुवाउदो हुँ ? तर हरेक दिनजसो खाजा हराउँथ्यो र शंकाको सुई ढाडे साथी माथि सोझिन्थ्यो । म सोध्थेँ - जवाफमा ऊ सधैँ - “ सत्ते, मैले चोरेको होइन, विद्यानाश होइन, सागर! तिम्रो मासु खाउँ होइन ” भन्थ्यो । मलाई मेरो मासु खाइदेला भन्ने डर पनि लाग्थ्यो । बरु मेरो खाजा खाओस् तर मेरो मासु खाए त बर्बाद हुन्छ भन्ने बालसुलभ डर लाग्थ्यो । उसमाथि म गर्भमै हुँदा नेपाली स्कुलकी शिक्षिका बनेकी मेरी आमाले म जन्मेपछि मलाई सिकाएकी 'सत्य बोल्नुपर्छ' भन्ने ज्ञानको प्रभावले उसले 'सत्ते' भनेपछि म पत्याइदिन्थे । पछि आमाले स्कुलकै मेरी कक्षा शिक्षिकासँग मिलेर कुनै जुक्ति निकालेर 'टिफिन चोर' पत्ता लगाइदिइन् । अब भुटेको चिउरा र चिनी भाग्यमा अड्यो । र, चेतमा 'सत्य' भनेर ढाडेहरु 'असत्य' काम गर्दारहेछन् भन्ने ज्ञान पनि । अहिले मेरी आमा यो पढ्दैछिन् भने मुसुमुसु हास्दै होलिन् । 
कतै पढेको छु, सत्य सापेक्ष हुँदैन । सत्य निरपेक्ष हुन्छ । तर, अधिकाधिक मान्छेहरू आफ्ना आग्रहलाई सत्य ठान्छन्, त्यो भइदिए ठीक नभए बेठीक मान्छन् । अनि त्यही लाद्न खोज्छन्, चिच्याउँछन्, हप्काउँछन्, थर्काउँछन्, उस्तै परे मुक्याउँछन्, झुक्याउँछन् - कोही लाचार, कोही विवश । कोहि 'होला त नि'को भावमा त्यही आग्रहलाई मान्न बाध्य हुन्छन् । विश्वमा हुने हरेक अशान्तिको कारक आग्रहको बेमेलमात्रै हो, सत्यमाथिको बलमिच्याइँ हो । सत्य निस्पृह र निरपेक्ष नै हुन्छ ।

हाम्रो भूखण्डमा भौगोलिक विविधता र विकटताका कारण स्थानीय स्तरमा निर्णय गरिन्थे । स्थानीय तवरमै  विकास निर्माणको काम हुन्थ्यो । हाम्रो संस्कृतिले हामीलाई ज्ञानी, धीर, शान्तिपूर्ण सहअस्तित्वका आधारमा आआफ्ना क्षमता, शक्ति, कमजोरीसहित बाँच्न सिकाएको छ । हाम्रा पर्व, मेलापात, कुल परम्परामा त्यो स्थानीयताको महक आउँछ । कतै पढेको छु गणतन्त्र अंशुवर्माले प्रयोग गर्न खोजेका थिए, सफल भएनन् बरु आफैं 'महासामन्त' मा रुपान्तरित भए । यो असत्य पनि हुन सक्छ । यो इतिहासकारको विषय भयो । तर, सत्य के चाहिँ हो भने अहिले गणतन्त्र भनेर लागिपरेका प्रदेशका ठेकेदारहरू 'महासामन्त' जो सुकै हुन् आआफ्ना प्रदेशका 'सामन्त' बन्ने आग्रहका साथ लागिपरेका छन् । नोबेल पुरष्स्कार विजयी अमर्त्य सेन मनपर्ने लेखक हुन् मेरा । उनले लेखेका छन् "भारतवर्षमा (भारत देशको मात्र कुरो हैन) हरेक तहमा 'आर्ग्युमेन्ट' अर्थात् 'तर्क' को प्राधान्य थियो । उनी त केसम्म पनि लेख्छन् भने महाभारत युद्ध नै लामो तर्कपछि सुरु भएको थियो । श्रीमद् भागवत गीता तर्कको अभिलेखीकरण हो भनेका छन् उनले । सत्य तर्कपछि उद्बोधित हुन्छ । बुद्ध, महावीरले तार्किक विद्रोह गरे, गान्धीले सोहि बाटो पच्छ्याए । हो त्यो तर्क गर्ने आधारशीला स्थानीय तबरमा सांस्कृतिक वैभवका रूपमा हाम्रो भूखण्डमा रहेको छ । अचेल हामी तर्कभन्दा आग्रह बढी गर्ने मुढ भएका छौँ । हाम्रो समाजलाई आफैँ निर्णय गर्ने स्थानीय सरकार चाहिएको हो । प्रभावकारी प्रतिनिधि चाहिएको हो । हामीलाई चाहिएको त ‘राष्ट्र' हो, प्रदेश होइन । हाम्रो भूखण्डको सत्य त्यही हो । तर्क त गर्न सकिएला गणतन्त्रले त्यही चाहेको हो भनेर । समयको एक खण्डमा हामी सबैले 'होला त नि !’ को भंगीमा प्रस्तुत गर्‍यौँ । हाल आएर यो उदाङ्गो भयो । देश हाँक्न नसक्नेहरू प्रदेश बनाएर 'सामन्त' बन्ने आग्रहसहित हामीलाई कलहमा झोसिरहेछन् । के हो त तिनको तर्क ? सिंहदरबारको शक्ति जनताको झुपडीमा पु र्‍याउने ? कसैले सोध्यो हिजो गाविस अध्यक्ष, गाविस सचिव, स्थानीय राजनीतिक कार्यकर्ता किन काटिए? सोधेन । कसैले तर्क गरेन । भएको स्थानीय सरकार मासेर, जनताले आफ्नो स्तरको  विकास आफैँ गर्ने अधिकारलाई कुण्ठित पार्ने, त्यसको हत्या गर्नेहरू हिजो बाहिरी कित्तामा थिए, अहिले सत्तामा छन् । देउवा र प्रचण्डको अनुहारमा खोज्यौँ हामीले त्यो कलंक? खोजेनौ । सत्य तीतो हुन्छ । दिपकराज गिरी र दिपाश्री निरौलाका ‘तितो सत्य’ को कुरो गरिन मैले । उनीहरुसमेत 'लोग्ने सधैँ व्यभिचारी', 'स्वास्नी संधै शंकालु'को बजारु मसला पस्किरहे । तीतो सत्य त्यो होइन । तीतो सत्य के हो भने हाम्रा सामाजिक मान्यतामा, परम्परामा, हाम्रो चेतमा, विवेकमा दिनानुदिन आइरहेको ह्रास हो । हरेक कुरालाई राजनीतिक आँखाले हेर्ने 'दीर्घरोग' हो हाम्रो तीतो सत्य । पंचायतसँगै सतगत गरिएको अञ्चल बोकेर नेता नामक अभिनेता झन्डा हल्लाउछन्, हामी आआफ्ना पुच्छर । 

पहाड, मधेस, गामबेसी गर्ने समाज हो हाम्रो । मधेस हिजै मलिलो थियो । पहाडमा एक मुरी फलाउने मेहनतले मधेसमा तीन मुरी फलाउने देखेपछि कोही मधेस झरे त के त्यस्तो उत्पात गरे ? श्रम गर्ने मधेसी पहाड उक्ले, पहाडमा व्यवसाय गरे त के अधर्म गरे? यो जातजात भिडाएर आफ्नो दुनो सोझ्याउने तिल्के, झिल्के र मिल्केहरूको आग्रहमा टल्किने हैन मिल्किने भयो मुलुक । तीतो सत्य यो हो ।
हो, सत्य तितो हुन्छ । त्यति तिक्तता बुझेर मीठा आग्रह बुन्ने गर्छन् हाम्रा टाउकेहरु । हिजो भएका ज्यादतीको निरुपण गरौँ, सत्य निरुपण गरौँ भन्दा 'बिगत’ कोट्याएर नबल्झाउन आग्रह गर्छन् फटाहाहरु । आज सत्य निरुपण हुन्थ्यो भने अहिले जो नेता बनेर हाम्रो टाउकोमा गिर खेल्दैछन्, ती या त कालकोठरीमा हुन्थे या आआफ्नै गुटभित्र चुमुर्किन्थे । सत्य त्यो हो जो वास्तवमै तीतो छ । यही प्रसंगमा मेरो निजी घटना स्मरण भयो । एक जना भाइले हिजो कुनै भावावेशमा आएर मलाई व्यक्तिगत लाञ्छना लगाउन पुगे । समय घर्कियो, भाइको मन फर्कियो । समाजलाई सुनाए - हिजोका कुरा बिर्सियौँ, अब मिलौँ । मैले समाजलाई भने - हिजोको कुरा बिर्सने आग्रह हो, सत्य होइन । मेरो तर्क के हो भने सत्य त्यो हो  जसले हिजोलाई क्षमा दिन सक्छ तर भुल्न दिँदैन । त्यही हो हामीले बुझ्नु पर्ने । गल्ती हिजो सत्तापक्षले पनि गरे, विद्रोहीले पनि गरे । गल्ती कोट्याएर निचोड निस्किन्न, गल्ती दोहोरिन नदिन क्षमा माग्नुपर्छ, क्षमा दिनुपर्छ । र, सत्यको बाटो हिड्नुपर्छ ।  आग्रहको बाटो छोटो हुन्छ, छिटो हुन्छ तर त्यसले गन्तव्यमा पु र्‍याउँदैन । सत्यको बाटो कठिन हुन्छ । सितिमिति कोही हिँड्न मान्दैनन् । तर, त्यसले गन्तव्यमा पुर्‍याउँछ । प्रश्न गन्तव्यमा पुग्ने हो कि दिग्भ्रमित हुने भन्नेमात्रै हो । 
पछिल्ला परिघटनाले जनमत संग्रहको बाटो समाउने देखियो । त्यो आग्रहको बाटो हो । त्यसले सत्य बोलिरहेको छैन । त्यो आगो झोसेर आआफ्नो रोटि सेकाउन उद्यत छन् देशी विदेशी टपरेहरू ।  सामाजिक स्तरमा लेन्डुप प्रवृत्ति भनेर जुन प्रवृत्तिको धज्जी उडाइन्छ, त्यो प्रवृत्तिको अध्ययन गरे कुरो प्रस्टिन्छ । लेन्डुप, मैले बुझेसम्म, निर्वाचित सांसद थिए स्वतन्त्र सिक्किमको । यो अलि पुरानो कुरो भयो । भर्खरै जसोमात्र सम्पन्न क्रिमियाको जनमत संग्रहले विश्वलाई पाठ पढाएको छ कसरी विदेशी घुस्छन त्यो बाटो भएर । त्यसैले जनमत संग्रह राष्ट्र कमजोर पार्ने आर्को चाल हो भन्ने लाग्दैछ । यो फगत  मेरो आग्रह भइदेओस्, सत्य अर्कै होस् । 
हाम्रो समाजले चाहेको आत्मसम्मानपूर्ण जीवन, क्षमता अनुरूपको दैनिन्दिनी, आपसी सद्भाव, न्यूनतम सेवा, सुविधा, शान्ति र छलछामविहीन समाज हो भने त्यही हो मेरा लागि पनि सत्य । हिजो केपी सिंह डिन भए, आज जेपी अग्रवाल । सम्भवत: गोविन्द केसीको आग्रह भनेर बुझियो त्यसलाई । हामी त्यहीँनेर गलत हुन्छौँ । सत्य पृथक छ - उनले चाहेको पद्धतिको निर्माण र अनुभवी (अनुभव समेत क्षमता हो भन्ने आधारमा)को नेतृत्व हो । उनी शैयाबाट, शैया बाहिरबाट लडिरहे । उनको लडाइँ लोकतन्त्रका लागि हो । लोकतन्त्र कुनै दल विशेषको पेवा होइन । जनताको अधिकार हो ।  त्यो लोकतन्त्रको आग्रह वास्तवमै सत्याग्रह हो ।
  विश्वविद्यालयका नियम परिधि छन् । गोविन्द केसीले ती परिधिलाई चुनौती दिइरहे । उनलाई निकाल्ने हिम्मत कसैले गर्न सकेन, किन ? उनी सत्याग्रह गरिरहेथे । सत्य छोडेर आग्रहमात्रै गर्थे भने उनी भत्किसकेका हुन्थे । अहिले जसरी रमेशकान्त अधिकारीको समितिको सुझावबाट डिन बन्न पुग्नुपर्ने न्यूनतम योग्यताको मापदण्ड आयो, त्यस्तै मापदण्ड समाजका हरेक नेतृत्व अभिलाषीलाई लागु गराउन सकिन्न ? सकिन्न भने यो टालटुले नीति हुन्छ । सत्याग्रह फेरि उठ्छ । सत्य एकातिर छ । अर्कोतिर आआफ्ना आग्रह छन् । अनि सत्याग्रह मृत्युशैयामा छ । यस समयमा गम्भीर तर कठोर निर्णय लिनुपर्छ समाजले । सायद हामीले चाहेको लोकतन्त्र गोविन्द केसीजस्ता एकाधको ढुकढुकीमा छ, त्यही ढुकढुकी रहन्छ । हाम्रो लोकतन्त्र त्यहाँ रहन्छ दन्त्यकथामा जस्तै जब त्यो बन्द हुन्छ, हाम्रो लोकतन्त्र बन्द हुन्छ । अन्तिममा कटु सत्य मुलुकको अधोगतिका कारकहरु छन् । आफैँ उराल्छन्, जब देश त्यता जान खोज्छ बाउँठिन्छन्, बटारिन्छन्, टायर बाल्छन्  । हिजोको परिस्थिति बेग्लै थियो भन्छन्, म हिजो गलत थिएँ भन्न लजाउँछन्  । शंका त्यस कारण हुन्छ - के उनीहरु अहिले सही छन् ? नेतामा हुनुपर्ने गुण भएको मान्छे उपवासमा छ, हास्य अभिनेताहरूको झुसिलो डकारले गन्हाएको छ मुलुक । चोथाले र बाइलोको गुड्डीले ध्वस्त छ मुलुक । भारतीय दलालले सखाप पारे भन्ने तर आफू हुँदा भारतीय दलालको काँधमा बस्न रुचाउने लफंगोका कारण निरन्तर अधोगतिरत छ मुलुक । सामन्तहरु कमारा खोज्छन् । कमाराको घोड़ा चढ्न पाउन्जेल सब ठीक, सडकमा पैदल हिड्नु परेपछि रोइलो ? दाम चढाउने, निवेदन दिने, गोर्खाली राजाले न्याय दियो भन्ने, मालिकसँग वार्ता गर्छु भन्ने सबै फटाहा हुन् ।  फटाहाको वन बनेको छ नेपाल । डँडेलोले लुच्च्याइँको वन नमासिएसम्म नयाँ बेर्ना हुर्कन्न । सायद, गोविन्द केसीको सत्याग्रहको अन्तर्य नै त्यही हो । त्यस अन्तर्यमा संघीयताको तीतो बहस पनि छैन, बेमेलको झमेला पनि छैन । पैसो भएकाले पैसो नभएकालाई, ठूला जातकाले साना जातकालाई, यस क्षेत्रकाले त्यस क्षेत्रकालाई, अनि यो वर्गकाले त्यो वर्गकालाई हेप्ने अधिकार पनि छैन । छलछाम गरेर पदमा पुग्ने अनि ढुकुटी लुट्ने पद्धतिको स्तुतिगान पनि छैन । त्यो ध्रुवसत्य आज एकातिर कुनामा भोको लडेको छ, आग्रह  उफ्रिपाफ्री गर्छ । हो, सत्याग्रह साँच्चै मृत्युशैय्यामा छ । समाजमा तमाम फट्याइँ अनि आग्रहका बिखालु झार उम्रेका छन् ।  समाज भित्रैबाट शान्तिपूर्ण तवरले विवेकको दावानल सल्काउने सद्यत्न जरुरी छ । यो बिखालु झार नमासेसम्म नयाँ विरुवा उम्रन्न । सत्याग्रह मारिन्छ, लोकतन्त्रका लागि खर्चिएका शक्ति त्यसैको सती जानुपर्ने हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७३  ११:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC