"अनि उसले सत्ते, मैले होइन भन्यो नि त ! ममी” मैले दिने जबाफ सधैँ जसो यही हुन्थ्यो । कक्षा १ पढ्दाको कुरो हो । सहपाठीमध्ये अलि ढाडे एकजना साथीले मेरो खाजा सँधै लुसुक्क खाइदिँदो रहेछ । म सँधै भोको पेट स्कुलबाट क्लान्त फर्केपछि आमाको प्रश्न उही हुन्थ्यो –“आज पनि खाजा उसैलाई खुवाएर आइस् हैन?" म जानाजान आफ्नो घ्यूमा भुटेको चिउरा र त्यसमा मिसाएको चिनीवाला खाजा किन खुवाउदो हुँ ? तर हरेक दिनजसो खाजा हराउँथ्यो र शंकाको सुई ढाडे साथी माथि सोझिन्थ्यो । म सोध्थेँ - जवाफमा ऊ सधैँ - “ सत्ते, मैले चोरेको होइन, विद्यानाश होइन, सागर! तिम्रो मासु खाउँ होइन ” भन्थ्यो । मलाई मेरो मासु खाइदेला भन्ने डर पनि लाग्थ्यो । बरु मेरो खाजा खाओस् तर मेरो मासु खाए त बर्बाद हुन्छ भन्ने बालसुलभ डर लाग्थ्यो । उसमाथि म गर्भमै हुँदा नेपाली स्कुलकी शिक्षिका बनेकी मेरी आमाले म जन्मेपछि मलाई सिकाएकी 'सत्य बोल्नुपर्छ' भन्ने ज्ञानको प्रभावले उसले 'सत्ते' भनेपछि म पत्याइदिन्थे । पछि आमाले स्कुलकै मेरी कक्षा शिक्षिकासँग मिलेर कुनै जुक्ति निकालेर 'टिफिन चोर' पत्ता लगाइदिइन् । अब भुटेको चिउरा र चिनी भाग्यमा अड्यो । र, चेतमा 'सत्य' भनेर ढाडेहरु 'असत्य' काम गर्दारहेछन् भन्ने ज्ञान पनि । अहिले मेरी आमा यो पढ्दैछिन् भने मुसुमुसु हास्दै होलिन् ।
कतै पढेको छु, सत्य सापेक्ष हुँदैन । सत्य निरपेक्ष हुन्छ । तर, अधिकाधिक मान्छेहरू आफ्ना आग्रहलाई सत्य ठान्छन्, त्यो भइदिए ठीक नभए बेठीक मान्छन् । अनि त्यही लाद्न खोज्छन्, चिच्याउँछन्, हप्काउँछन्, थर्काउँछन्, उस्तै परे मुक्याउँछन्, झुक्याउँछन् - कोही लाचार, कोही विवश । कोहि 'होला त नि'को भावमा त्यही आग्रहलाई मान्न बाध्य हुन्छन् । विश्वमा हुने हरेक अशान्तिको कारक आग्रहको बेमेलमात्रै हो, सत्यमाथिको बलमिच्याइँ हो । सत्य निस्पृह र निरपेक्ष नै हुन्छ ।
हाम्रो भूखण्डमा भौगोलिक विविधता र विकटताका कारण स्थानीय स्तरमा निर्णय गरिन्थे । स्थानीय तवरमै विकास निर्माणको काम हुन्थ्यो । हाम्रो संस्कृतिले हामीलाई ज्ञानी, धीर, शान्तिपूर्ण सहअस्तित्वका आधारमा आआफ्ना क्षमता, शक्ति, कमजोरीसहित बाँच्न सिकाएको छ । हाम्रा पर्व, मेलापात, कुल परम्परामा त्यो स्थानीयताको महक आउँछ । कतै पढेको छु गणतन्त्र अंशुवर्माले प्रयोग गर्न खोजेका थिए, सफल भएनन् बरु आफैं 'महासामन्त' मा रुपान्तरित भए । यो असत्य पनि हुन सक्छ । यो इतिहासकारको विषय भयो । तर, सत्य के चाहिँ हो भने अहिले गणतन्त्र भनेर लागिपरेका प्रदेशका ठेकेदारहरू 'महासामन्त' जो सुकै हुन् आआफ्ना प्रदेशका 'सामन्त' बन्ने आग्रहका साथ लागिपरेका छन् । नोबेल पुरष्स्कार विजयी अमर्त्य सेन मनपर्ने लेखक हुन् मेरा । उनले लेखेका छन् "भारतवर्षमा (भारत देशको मात्र कुरो हैन) हरेक तहमा 'आर्ग्युमेन्ट' अर्थात् 'तर्क' को प्राधान्य थियो । उनी त केसम्म पनि लेख्छन् भने महाभारत युद्ध नै लामो तर्कपछि सुरु भएको थियो । श्रीमद् भागवत गीता तर्कको अभिलेखीकरण हो भनेका छन् उनले । सत्य तर्कपछि उद्बोधित हुन्छ । बुद्ध, महावीरले तार्किक विद्रोह गरे, गान्धीले सोहि बाटो पच्छ्याए । हो त्यो तर्क गर्ने आधारशीला स्थानीय तबरमा सांस्कृतिक वैभवका रूपमा हाम्रो भूखण्डमा रहेको छ । अचेल हामी तर्कभन्दा आग्रह बढी गर्ने मुढ भएका छौँ । हाम्रो समाजलाई आफैँ निर्णय गर्ने स्थानीय सरकार चाहिएको हो । प्रभावकारी प्रतिनिधि चाहिएको हो । हामीलाई चाहिएको त ‘राष्ट्र' हो, प्रदेश होइन । हाम्रो भूखण्डको सत्य त्यही हो । तर्क त गर्न सकिएला गणतन्त्रले त्यही चाहेको हो भनेर । समयको एक खण्डमा हामी सबैले 'होला त नि !’ को भंगीमा प्रस्तुत गर्यौँ । हाल आएर यो उदाङ्गो भयो । देश हाँक्न नसक्नेहरू प्रदेश बनाएर 'सामन्त' बन्ने आग्रहसहित हामीलाई कलहमा झोसिरहेछन् । के हो त तिनको तर्क ? सिंहदरबारको शक्ति जनताको झुपडीमा पु र्याउने ? कसैले सोध्यो हिजो गाविस अध्यक्ष, गाविस सचिव, स्थानीय राजनीतिक कार्यकर्ता किन काटिए? सोधेन । कसैले तर्क गरेन । भएको स्थानीय सरकार मासेर, जनताले आफ्नो स्तरको विकास आफैँ गर्ने अधिकारलाई कुण्ठित पार्ने, त्यसको हत्या गर्नेहरू हिजो बाहिरी कित्तामा थिए, अहिले सत्तामा छन् । देउवा र प्रचण्डको अनुहारमा खोज्यौँ हामीले त्यो कलंक? खोजेनौ । सत्य तीतो हुन्छ । दिपकराज गिरी र दिपाश्री निरौलाका ‘तितो सत्य’ को कुरो गरिन मैले । उनीहरुसमेत 'लोग्ने सधैँ व्यभिचारी', 'स्वास्नी संधै शंकालु'को बजारु मसला पस्किरहे । तीतो सत्य त्यो होइन । तीतो सत्य के हो भने हाम्रा सामाजिक मान्यतामा, परम्परामा, हाम्रो चेतमा, विवेकमा दिनानुदिन आइरहेको ह्रास हो । हरेक कुरालाई राजनीतिक आँखाले हेर्ने 'दीर्घरोग' हो हाम्रो तीतो सत्य । पंचायतसँगै सतगत गरिएको अञ्चल बोकेर नेता नामक अभिनेता झन्डा हल्लाउछन्, हामी आआफ्ना पुच्छर ।
पहाड, मधेस, गामबेसी गर्ने समाज हो हाम्रो । मधेस हिजै मलिलो थियो । पहाडमा एक मुरी फलाउने मेहनतले मधेसमा तीन मुरी फलाउने देखेपछि कोही मधेस झरे त के त्यस्तो उत्पात गरे ? श्रम गर्ने मधेसी पहाड उक्ले, पहाडमा व्यवसाय गरे त के अधर्म गरे? यो जातजात भिडाएर आफ्नो दुनो सोझ्याउने तिल्के, झिल्के र मिल्केहरूको आग्रहमा टल्किने हैन मिल्किने भयो मुलुक । तीतो सत्य यो हो ।
हो, सत्य तितो हुन्छ । त्यति तिक्तता बुझेर मीठा आग्रह बुन्ने गर्छन् हाम्रा टाउकेहरु । हिजो भएका ज्यादतीको निरुपण गरौँ, सत्य निरुपण गरौँ भन्दा 'बिगत’ कोट्याएर नबल्झाउन आग्रह गर्छन् फटाहाहरु । आज सत्य निरुपण हुन्थ्यो भने अहिले जो नेता बनेर हाम्रो टाउकोमा गिर खेल्दैछन्, ती या त कालकोठरीमा हुन्थे या आआफ्नै गुटभित्र चुमुर्किन्थे । सत्य त्यो हो जो वास्तवमै तीतो छ । यही प्रसंगमा मेरो निजी घटना स्मरण भयो । एक जना भाइले हिजो कुनै भावावेशमा आएर मलाई व्यक्तिगत लाञ्छना लगाउन पुगे । समय घर्कियो, भाइको मन फर्कियो । समाजलाई सुनाए - हिजोका कुरा बिर्सियौँ, अब मिलौँ । मैले समाजलाई भने - हिजोको कुरा बिर्सने आग्रह हो, सत्य होइन । मेरो तर्क के हो भने सत्य त्यो हो जसले हिजोलाई क्षमा दिन सक्छ तर भुल्न दिँदैन । त्यही हो हामीले बुझ्नु पर्ने । गल्ती हिजो सत्तापक्षले पनि गरे, विद्रोहीले पनि गरे । गल्ती कोट्याएर निचोड निस्किन्न, गल्ती दोहोरिन नदिन क्षमा माग्नुपर्छ, क्षमा दिनुपर्छ । र, सत्यको बाटो हिड्नुपर्छ । आग्रहको बाटो छोटो हुन्छ, छिटो हुन्छ तर त्यसले गन्तव्यमा पु र्याउँदैन । सत्यको बाटो कठिन हुन्छ । सितिमिति कोही हिँड्न मान्दैनन् । तर, त्यसले गन्तव्यमा पुर्याउँछ । प्रश्न गन्तव्यमा पुग्ने हो कि दिग्भ्रमित हुने भन्नेमात्रै हो ।
पछिल्ला परिघटनाले जनमत संग्रहको बाटो समाउने देखियो । त्यो आग्रहको बाटो हो । त्यसले सत्य बोलिरहेको छैन । त्यो आगो झोसेर आआफ्नो रोटि सेकाउन उद्यत छन् देशी विदेशी टपरेहरू । सामाजिक स्तरमा लेन्डुप प्रवृत्ति भनेर जुन प्रवृत्तिको धज्जी उडाइन्छ, त्यो प्रवृत्तिको अध्ययन गरे कुरो प्रस्टिन्छ । लेन्डुप, मैले बुझेसम्म, निर्वाचित सांसद थिए स्वतन्त्र सिक्किमको । यो अलि पुरानो कुरो भयो । भर्खरै जसोमात्र सम्पन्न क्रिमियाको जनमत संग्रहले विश्वलाई पाठ पढाएको छ कसरी विदेशी घुस्छन त्यो बाटो भएर । त्यसैले जनमत संग्रह राष्ट्र कमजोर पार्ने आर्को चाल हो भन्ने लाग्दैछ । यो फगत मेरो आग्रह भइदेओस्, सत्य अर्कै होस् ।
हाम्रो समाजले चाहेको आत्मसम्मानपूर्ण जीवन, क्षमता अनुरूपको दैनिन्दिनी, आपसी सद्भाव, न्यूनतम सेवा, सुविधा, शान्ति र छलछामविहीन समाज हो भने त्यही हो मेरा लागि पनि सत्य । हिजो केपी सिंह डिन भए, आज जेपी अग्रवाल । सम्भवत: गोविन्द केसीको आग्रह भनेर बुझियो त्यसलाई । हामी त्यहीँनेर गलत हुन्छौँ । सत्य पृथक छ - उनले चाहेको पद्धतिको निर्माण र अनुभवी (अनुभव समेत क्षमता हो भन्ने आधारमा)को नेतृत्व हो । उनी शैयाबाट, शैया बाहिरबाट लडिरहे । उनको लडाइँ लोकतन्त्रका लागि हो । लोकतन्त्र कुनै दल विशेषको पेवा होइन । जनताको अधिकार हो । त्यो लोकतन्त्रको आग्रह वास्तवमै सत्याग्रह हो ।
विश्वविद्यालयका नियम परिधि छन् । गोविन्द केसीले ती परिधिलाई चुनौती दिइरहे । उनलाई निकाल्ने हिम्मत कसैले गर्न सकेन, किन ? उनी सत्याग्रह गरिरहेथे । सत्य छोडेर आग्रहमात्रै गर्थे भने उनी भत्किसकेका हुन्थे । अहिले जसरी रमेशकान्त अधिकारीको समितिको सुझावबाट डिन बन्न पुग्नुपर्ने न्यूनतम योग्यताको मापदण्ड आयो, त्यस्तै मापदण्ड समाजका हरेक नेतृत्व अभिलाषीलाई लागु गराउन सकिन्न ? सकिन्न भने यो टालटुले नीति हुन्छ । सत्याग्रह फेरि उठ्छ । सत्य एकातिर छ । अर्कोतिर आआफ्ना आग्रह छन् । अनि सत्याग्रह मृत्युशैयामा छ । यस समयमा गम्भीर तर कठोर निर्णय लिनुपर्छ समाजले । सायद हामीले चाहेको लोकतन्त्र गोविन्द केसीजस्ता एकाधको ढुकढुकीमा छ, त्यही ढुकढुकी रहन्छ । हाम्रो लोकतन्त्र त्यहाँ रहन्छ दन्त्यकथामा जस्तै जब त्यो बन्द हुन्छ, हाम्रो लोकतन्त्र बन्द हुन्छ । अन्तिममा कटु सत्य मुलुकको अधोगतिका कारकहरु छन् । आफैँ उराल्छन्, जब देश त्यता जान खोज्छ बाउँठिन्छन्, बटारिन्छन्, टायर बाल्छन् । हिजोको परिस्थिति बेग्लै थियो भन्छन्, म हिजो गलत थिएँ भन्न लजाउँछन् । शंका त्यस कारण हुन्छ - के उनीहरु अहिले सही छन् ? नेतामा हुनुपर्ने गुण भएको मान्छे उपवासमा छ, हास्य अभिनेताहरूको झुसिलो डकारले गन्हाएको छ मुलुक । चोथाले र बाइलोको गुड्डीले ध्वस्त छ मुलुक । भारतीय दलालले सखाप पारे भन्ने तर आफू हुँदा भारतीय दलालको काँधमा बस्न रुचाउने लफंगोका कारण निरन्तर अधोगतिरत छ मुलुक । सामन्तहरु कमारा खोज्छन् । कमाराको घोड़ा चढ्न पाउन्जेल सब ठीक, सडकमा पैदल हिड्नु परेपछि रोइलो ? दाम चढाउने, निवेदन दिने, गोर्खाली राजाले न्याय दियो भन्ने, मालिकसँग वार्ता गर्छु भन्ने सबै फटाहा हुन् । फटाहाको वन बनेको छ नेपाल । डँडेलोले लुच्च्याइँको वन नमासिएसम्म नयाँ बेर्ना हुर्कन्न । सायद, गोविन्द केसीको सत्याग्रहको अन्तर्य नै त्यही हो । त्यस अन्तर्यमा संघीयताको तीतो बहस पनि छैन, बेमेलको झमेला पनि छैन । पैसो भएकाले पैसो नभएकालाई, ठूला जातकाले साना जातकालाई, यस क्षेत्रकाले त्यस क्षेत्रकालाई, अनि यो वर्गकाले त्यो वर्गकालाई हेप्ने अधिकार पनि छैन । छलछाम गरेर पदमा पुग्ने अनि ढुकुटी लुट्ने पद्धतिको स्तुतिगान पनि छैन । त्यो ध्रुवसत्य आज एकातिर कुनामा भोको लडेको छ, आग्रह उफ्रिपाफ्री गर्छ । हो, सत्याग्रह साँच्चै मृत्युशैय्यामा छ । समाजमा तमाम फट्याइँ अनि आग्रहका बिखालु झार उम्रेका छन् । समाज भित्रैबाट शान्तिपूर्ण तवरले विवेकको दावानल सल्काउने सद्यत्न जरुरी छ । यो बिखालु झार नमासेसम्म नयाँ विरुवा उम्रन्न । सत्याग्रह मारिन्छ, लोकतन्त्रका लागि खर्चिएका शक्ति त्यसैको सती जानुपर्ने हुन्छ ।