site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

प्रमुख राजनीतिक दलका नेता वार्तामा दम्भ र कुण्ठासाथै लिएर सहभागी हुने गरेकाले केही समय यता आक्रोश एवं विद्वेष आगो सल्किँदै गएको छ । राष्ट्र एकातिर अस्थिरताको भासमा झन् झन् धसिँदै गएको छ भने राजनीतिक नेतृत्व त्यसप्रति पटक्कै गम्भीर र संवेदनशील भएको देखिँदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध 'छापामार' शैलीमा महाभियोग दर्ता गराउन एक भएका अहिले सत्ता र विपक्षमा रहेका दुई ठूला कम्युनिस्ट पार्टीहरू नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एमाले)का नेताहरूको सार्वजनिक अभिव्यक्ति सुन्दा  उनीहरूको झगडालु, अहंकारी तथा कुण्ठाग्रस्त मानसिकता र मनःस्थिति दुवै उजागर हुन्छ । यस्तो बेलामा सबै पक्षलाई एकै ठाउँमा राखेर सार्थक संवादको आग्रह गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको प्रयास सराहनीय छ ।

विद्वेष विष बमन गर्न त यी दुवै कम्युनिस्ट पार्टीका अध्यक्षहरू कहलिएकै हुन् । आफूसँग असहमत हुनेबित्तिकै कसैलाई पनि 'विदेशी दलाल', 'राष्ट्रघाती' र 'परिवर्तन विरोधी' 'यथास्थितिवादी' र 'प्रतिगामीका मतियार' भनेर लाञ्छित गर्न बेरै लगाउँदैनन् । केही महिना पहिलेसम्म माओवादीको सहयोगमा प्रधानमन्त्री हुँदासम्म केपी ओलीका लागि पुष्पकमल दाहाल 'राष्ट्रवादी' थिए भने ओली दाहालका निम्ति 'परिवर्तनका मसिहा' थिए । सत्ताको समीकरण बदलिनेबित्तिकै यी दुई कम्युनिस्टहरूले एक अर्कामाथि लगाएको आरोप, लाञ्छना र आक्षेप सुन्दा ' ...लाई भन्दा देख्नेलाई लाज' भनेजस्तो हुन्छ । यथार्थ भने यी दुवैले भनेजस्तो हैन । अहिले संसद्मा प्रस्तुत गरेको प्रस्ताव पारित हुनेबित्तिकै मुलुकको विखण्डन हुने प्रचारवाजी गरेर जनतालाई उकास्नु पाखण्डको पराकाष्ठा हो । यसैगरी पाँच नम्बर प्रदेशका तराईका जिल्ला नहटाई संघीयता कार्यान्वयन नै हुन्न भन्नु अर्को चरम पाखण्ड हो ।  तराईमात्रको प्रदेश बन्दैमा नेपाल टुक्रिने पनि हैन र पहाड र तराईलाई मिसाउनेबित्तिकै राष्ट्रिय अखण्डता सुदृढ हुने पनि हैन । अहिलेका एमालेका नेताहरूले जस्तै फलाको पञ्चहरूले ३० वर्षसम्म गरिरहेका थिए । परिणाम जनता स्वतन्त्र हुनेबित्तिकै असन्तोषको आगो सल्कन थाल्यो । माओवादीले कथित 'जनयुद्ध'का नाममा एक दशकसम्म जातीय, क्षेत्रीय, लैंगिक र वर्गीय शोषणको राग अलापी रह्यो । परिणाम, शोषण त कम भएन तर जातीय  र क्षेत्रीय विद्वेषको बीजारोपण भयो । त्यही विष वृक्ष बढेर अहिले राष्ट्रिय विखण्डनको जोखिम बढ्यो । विडम्बना, तैपनि नेताहरूको मानसिकता र मनःस्थिति बदलिएको छैन । अर्थात्, अहिले गरिएका प्रचारवाजी पाखण्डमात्र हुन् र मुलुकमा विखण्डन निम्त्याउने काम त बरु यिनैले गरेका हुन् ।

अहिलेको स्थिति लामो समयसम्म रहन दिनु हुँदैन । देशको माया हुने कसैले पनि अहिलेको अवस्था लम्मियोस् भन्ने कल्पना गर्न पनि सक्तैन । यसका लागि व्यक्तिगत र दलगत स्वार्थबाट माथि उठेर सोच्न र अभ्यास गर्नसक्ने संस्था राष्ट्रपति नै हो । यसैले राष्ट्रपति भण्डारीको संसद्का सबै दललाई एकै ठाउँमा राखेर आआफ्ना कुरा राख्ने अवसर जुटाउने अग्रसरतालाई सकारात्मक दृष्टिले हेर्नुपर्छ । साथै, राष्ट्रपतिले पनि यस्ता अग्रसरतामा आफ्नो पुरानो दलको हित वा धारणा प्रतिविम्बित नहोस् भन्नेमा उत्तिकै चनाखो हुनुपर्छ । विशेषगरी, विगतदेखि नै राष्ट्रपतिले सल्लाहकार छान्दा पुरानो राजनीतिक निकटतालाई प्राथमिकता दिने र त्यस्ता सल्लाहकारहरूको दलगत संलग्नता देखिनेगरी नै कायम रहने गरेको छ । यसले राष्ट्रपतिलाई विवादमा मुछ्ने जोखिम हुन्छ । विगतमा समेत एकाध पटक यस्तो स्थिति उत्पन्न भएकाले पनि अहिले बढी नै सावधान हुनुपर्छ । संविधानको पालन र संरक्षण गर्ने प्रमुख कर्तव्य भएका राष्ट्रपति व्यक्तिमात्र नभएर सिंगो संस्था हो । यसैले यस संस्थाको साख बचाउनु देशलाई माया गर्ने सबैको दायित्व हो । जेहोस्, राष्ट्रपतिको आह्वानलाई सबैले स्वीकार गरेर उचित सामान्य नै भए पनि सुझबुझको परिचय दिएका छन् । विगतमा दाहाल र ओलीले जस्तो राष्ट्रपतिलाई निहित स्वार्थका लागि विवादमा मुछ्ने प्रयास अब कसैले गर्नु हुँदैन । राष्ट्र संकटमा परेका बेला राष्ट्रपतिले पनि रचनात्मक अग्रसरता प्रदर्शन गर्न हिचकिचाउनु हुँदैन । संविधानको कार्यान्वयन र गणतन्त्रको सुदृढीकरण निषेध र विद्वेषबाट हैन सिर्जनशील अग्रसरताबाट नै हुनसक्छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७३  २०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC