“गीतका लागि शब्द प्राण हो भने संगीत त्यसलाई रसिलो र भरिलो बनाउने अर्को सुन्दर पक्ष,” संगीतकार राजनराज सिवाकोटी भन्छन्, “प्रकृतिसँग ‘ट्युनिङ’ हुँदा कुनै पनि बेला कम्पोजिसन जन्मिन सक्छ ।”
संगीत जन्मिन कति समय लाग्छ, त्यसको कुनै टुंगो हुँदैन । कहिले १५ दिनसम्म एकान्तमा साधना गर्दा पनि नजन्मिने संगीत कहिले भने ड्राइभिङ गरिरहेका बेला पनि दिमागमा फुत्त आइदिन्छ र त्यही लोकप्रिय बनिदिन्छ ।
धेरैले सपनामा पनि संगीतको सुरु देखेको कुरा गर्छन् । यसबाट राजनराज पनि अछुतो छैनन् । धेरैले कुनै काममा व्यस्त रहेकाबेला संगीत सिर्जना भएको बताउँछन् । यसबाट पनि उनी अलग छैनन् । अरु सपनामा देखेको बेला ब्युँझिएर झटपट रेकर्ड गर्छन्, ड्राइभिङमा भए छेउ लागेर लय खिच्छन् । राजनराजभने त्यसो गर्दैनन् । आफ्नो दिमागमा केही समयअगाडि आएको लय आफैंलाई तत्कालै यादमा आउँदैन भने कसरी त्यो लयले स्रोताको मन खिच्न सक्छ ? उनी प्रश्न गर्छन् । त्यसैले उनी त्यसलाई मर्न दिन्छन् । जबर्जस्ती जन्म दिए पनि त्यो कम्पोज स्रोताको मनमा बास गर्दैन जस्तो लाग्छ । त्यसैले उनी त्यसलाई भ्रुणमै छोड्दिन्छन् ।
उनी संगीतका लागि हतारिँदैनन् । मनमा पटक पटक खेलेको लयलाई मात्रै शब्दसँग मिसाउँछन् ।
तर, लय सिर्जनाका लागि उनी हरसमय पौंठेजोरी भने खेल्दारहेछन् । अनुप्रासयुक्तशब्दसँगै संगीत आउँछ रे । तर, कति गीतका लागि ६ महिना हरक्षण प्रयास गर्दा पनि मनले खाएको लय भेटिँदैन । त्यसैले उनी यो निष्कर्षमा पुगेछन्, “संगीत भनेको नेचरसँगको ट्युनिङ हो । जतिखेर मिल्छ, त्यही समय जन्मिन्छ ।” उनी अगाडि थप्छन्, “संगीत शोकेसमा सजाएर राखिएको वस्तु होइन । यो सरस्वतीको प्रसाद हो ।”
गीतामा कर्म गर तर फलको आश नगर भनेर भनिए पनि त्यो वास्तवमा आदर्श मात्र हो । रगत पसिना बगाएपछि त्यसको प्रतिफल सबैले खोज्छन् । राजनराज पनि अपवाद थिएनन् । रातबिरात नभनी आफूले गरेको मेहनतको फल पाउनुपर्छ भन्ने उनको पनि मान्यता थियो । गायक, संगीतकार तथा रचनाकारको चाहना गीत जतिसक्दो धेरैमा पुगोस् भन्ने नै हो । त्यो लोभ राजनराजमा पनि थियो ।
लोकप्रियताको त्यो भोक उनलाई ‘सुर्के थैली’ले मेटाइदियो । सक्कली र फेक लिंकबाट यो गीत दुई करोडभन्दा बढीले हेरिसकेपछि उनको भोक मेटिएको हो ।
यो गीत तयार भयो । कस्तो प्रतिक्रिया आउँछ भनेर उनले कान्तिपुर, इमेज र हिट्स एफएममा बजाउन पनि दिए । गीत बजिरहेको थियो ।
उनले ‘बेस्ट’ फ्रेन्ड’पछि आफ्नो दोस्रो चलचित्र ‘अझै पनि’ का लागि गीत तयार गरेका थिए । त्यही विषयमा रेडियो अडियोमा दीपाश्री निरौलाले उनको अन्तर्वार्ता लिएकी थिइन् ।
त्यो समय दीपाश्री र दीपकराज गिरी चलचित्र बनाइरहेका थिए । राजनराजले कुनै समय आवश्यकता परे सम्झिन भने ।
नभन्दै केही समयपछि उनलाई दीपाश्रीले फोन गरिन् । दीपकराज गिरीसँग पनि भेट भयो । उनले गीत चाहिएको बताए । त्यो समय राजनराजसँग जम्मा दुइटा गीत थिए । एउटा सुर्के थैली जुन भर्खर बज्न थालेको थियो । त्यसैले यसबारे उनले कुरै गरेनन् । अर्को थियो–दिलको सेन्टरमा । त्यो दीपकराजले मन पराएनन् ।
दीपकराजले अर्को छैन भनेर सोधे ।
राजनराजले ‘सुर्के थैली’ थियो तर भर्खर रेडियोमा बज्न थालेको बताए ।
‘त्यही पनि सुनौन,’दीपकले भने
गीत आधा सुन्नेबित्तिकै उनले मन पराए ।
गीतलाई रेडियोमा बजाउन रोक्न भने ।
राजनराजले पनि तीनवटै रेडियोलाई अनुरोध गरे ।
त्यसपछि कुरा आयो शब्द र समयको ।गीत लामो थियो ।
गीत परिमार्जित रूपमा चलचित्रको गीतका रूपमा सञ्चारमाध्यममा पुग्यो ।
यसभन्दा पहिले
उनी दुई–तीन वटा कम्पनीमा गए । तर, कसैले पनि गीत मन पराएनन् । गीत थन्कियो । पुरानो हुँदै गयो ।
पछि गीत भाइरल भयो । अधिकांशले चलचित्रमा लोकलयमा आधारित गीत राख्न थाले । उनलाई धेरैले यस्तै सरवस्तीको प्रसाद जस्तै गीत बनाइदिन आग्रह गर्न थाले ।
सुरुमा कम्पनीले नपत्याएको गीतलाई पछि त सरस्वतीको प्रसाद पो भन्न थालियो ।
फरक सोच
सानो छँदादेखि नै उनलाई केही फरक काम गर्न मन लाग्थ्यो । लामो सिंग भएको भैंसीले अरु बेला नहाने पनि दूध दुहुन जाँदा किन हान्छ भनेर उनी सोच्थे र फेरि दुहुन जान्थे । बूढाबूढीसँगको संगत र गफ पन पथ्र्यो ।
त्यो फरक काम गर्ने उनको रहर मेटिएकै थिएन । दर्जनौं गीत हिट भए पनि उनलाई अझै लोकप्रिय गीत दिने अन्तरमनको सोच मरेकै थिएन ।
उनलाई ‘रेशम फिरिरि’ र ‘सिन्धुृली गढी घुमेर हेर्दा’ जस्ता गीत तयार गर्ने रहर थियो । जो उनी मरेर गए पनि त्यो सिर्जना जिवितै रहोस् । त्यसका लागि उनले दश वर्ष अगाडिदेखि सोचिरहेका थिए ।
अरुजस्तै एक दिन उनलाई यो लय आयो । उनले त्यसलाई शब्दसँग घोले । राम्रो पनि लाग्यो । ठूलो अपेक्षा भने राखेनन् । गीत रेकर्ड गर्दागर्दै उनले आफ्नै मीत राजन इशानसँग भने, “यो गीत त चलचित्रमा हाल्न पाए हुने है ।” त्यसपछि यो गीतको च्याप्टर नै बन्द भयो । गीत रेडियोमा पुग्यो ।
१० वर्षमा बनेको गीत पछि करोडौंले सुने । राम्रो प्रतिक्रिया आयो । तीन वर्षपछि पनि यो गीत उत्तिकै बजिरहेको छ, दर्शक/स्रोताको माया पाइरहेको छ ।
यसैसँग जोडिएको अर्को कथा रहेछ राजनराजसँग । ‘सुर्के थैली’ सामान्यतयानेपालमा लोप भइसकेको थियो । थैलीमात्रै होइन, शब्द पनि । तर, यो गीतसँगै थैलीको व्यापार पनि बढ्यो । थैली नै गीतजस्तै लोकप्रिय भइसकेको रहेछ । आफन्त तथा प्रियजनलाई सुपारी राखेर निम्ता दिन थालियो ।
यो हल्ला सुनेका राजनराज एक दिन हल्ला मात्रै हो कि साँच्चै होभनेर भक्तपुरका दुई–चारवटा पसल पुगे । तर, त्यहाँका साहुजीहरुले थैली सकिएको जवाफ दिए ।
यो गीतमा उनले सुर्के थैली शब्द भने उनले बाल्यकालमा आफ्नी आमाले पैसा राखेको, त्यहाँबाट उनले पैसा चोरेको लगायतका घटना सम्झिएर राखेका थिए ।
उनले भने, “मान्छेको मन लोभ्याउन सक्ने ताकत त गीतमा हुन्छ भन्ने मलाई पनि थाहा थियो । तर, व्यापार प्रवद्र्धन पनि गीतले गर्दोरहेछ भन्ने मैले पहिलोपटक आफ्नै गीतबाट थाहा पाएँ ।”
त्यो मध्य रात
उनका एक असल मित्र थिए, दुर्गाबाबु पाठक । पाठकले उनलाई पटक–पटक आफ्नालागि एउटा गीत तयार गर्न आग्रह गर्थे । मन खाने साथीले भनेपछि उनले पनि नाइँ भन्न सकेनन् । पटक पटक कम्पोजका लागि बसे । जति बेला उनी कम्पोजका लागि बस्छन्, त्यही समय निद्रा लाग्थ्यो । ६ महिनामा पनि पाठकका लागि गीत कम्पोजभएन । सधैंझैं एक साँझ पनि उनी पाठकका लागि भनेर कम्पोज गर्न बसे तर पुरानै नियतिबाट गुज्रिए ।
राति १२ बजेको थियो । केही अनौठो मन्द आवाज कानमा आइपुग्यो । उठेर सुने । ढोकाबाट आवाज आउँदै थियो । झन् कौतूहल बढ्यो । तर, सँगै मनमा थोरै डर पनि पलायो । बत्ती बालेर ढोका खोले । दुई वर्षकी छोरी पो रहिछन् ।
चुक घोप्ट्याएजस्तो त्यो मध्यरातमा उनकी छोरी तोते बोलीमा भन्दै थिइन्, “ढोका खोल्यो भने बाबाले पिट्नुहुन्छ ।”
राजनराजलाई अचम्म लाग्यो । उनी भावविभोर भए । छोरीलाई उठाएर आफूसँगै सुताए । १५ मिनेटमा छोरी निदाइन् । तर, उनी निदाउन सकेनन् । र, उनले गीत कम्पोज गरे, ‘निद्रा लाग्दैन...’ । त्यही गीत उनले साथी दुर्गाबाबुलाई दिए । उनले गाए पनि ।
राजनराजले भने, “तर विडम्बना ! उहाँको गतवर्ष बाइक दुर्घटनामा निधन भयो । अझै उहाँलाई सम्झिरहन्छु ।”
० ० ०
परिवारले सरकारी जागिर खानुपर्छ भन्थ्यो । उनी पनि आज्ञाकारी छोरा, ‘हुन्छ’ भन्थे । गीतसंगीतमा चासो त थियो तर रहरै भने थिएन बालपनमा ।
कक्षा तीनमा हुँदा आफ्नै दाइले लेखिदिएको गीत गाएका थिए ।
गीत थियो राष्ट्रिय भावनाले ओतप्रोत ।
घिन्ताङ घिन्ताङ मादलु, तिरिरी बाँसुरी
मादलु बज्यो बाँसुरी बज्यो दुइटा कानैमा
तिमीले आफूलाई बनाउनु योे देश आफैं बन्नेछ
तिमीले माटोलाई चिनेमा सबैले तिमीलाई चिन्नेछ
२५ वर्षपछि यही गीत उनकी छोरी ग्रिष्मा शिवाकोटीले गाइन् ।
यो गीतले उनलाई प्रथम बनायो । तर, यही क्षेत्रमा उनलाई प्रेरित गरेन । उनी बूढापाकासँग संगत गर्थे । ठूलो मान्छे हुनुपर्छ भन्ने मनमा थियो ।
समयक्रमसँगै उनमा परिवर्तन आउन थाल्यो, गीतले उनलाई तान्न थाल्यो । गोपाल योञ्जन, नारायण गोपाल, भक्तराजका गीतले उनको मनलाई मोहनी लगाउन थाले । उनले बुबासँग सल्लाह मागे । “मलाई गीत मन पर्न थाल्यो । गायक बन्दा के हुन्छ ? ”
बाँसुरीका सोखिन र संकलक उनका हजुरबुबा बजाउन नजाने पनि एक पटक तिरिरी पार्थे र काखीमा बाँसुरी च्यापेर हिँड्थे ।
उनका बुबाले भने, “भोलिको दिनमा जिम्मेवारी तेरै काँधमा आउँछ, परिवार पाल्नुपर्छ । गीतमा भविष्य छैन । सरकारी जागिर खानुपर्छ ।”
राजनराजलाई पनि हो भन्ने लाग्यो । त्यही वर्ष उनले एसएलसी दिए ।
०५० सालमा स्नातकोत्तर पास गर्ने अभिलाषा बोकेर उनी काठमाडौं लागे । मीनभवनस्थित कमर्स क्याम्पसमा पढ्न थाले ।०५६ सालमा उनले स्नातकोत्तरको सर्टिफिकेट पनि लिए ।
विद्यार्थी युनियनले आयोजना गर्ने कार्यक्रमका लागि कलेजमा रिहर्सल हुन्थ्यो । उनी ढोकाबाट चिहाएर हेर्थे । तर, सहभागी हुँदैनथे । सांगीतिक कार्यक्रम हेर्दाहेर्दै उनी घोरिन्थे र पनि आफूलाई रोकेरै राखेका थिए ।
उनले जागिर सुरु गरे साम्बु कन्स्ट्रक्सनमा । उनका दुई जना मिल्ने साथी थिए, स्याङ्जाका चित्र गुरुङ र ओखलढुंगाका चेत श्रेष्ठ । ०५४ सालतिर उनीहरुले राजनराजलाई एउटा हार्मोनियम उपहार दिए । कारण,गोपाल योञ्जन, नारायण गोपाल, र भक्तराजका गीत उनी गुनगुनाइरहन्थे ।
हजार सपनाहरुको माया लागेर आउँछ..., बनेको छ यो छाती..., चिनारी हाम्रो पुरानो..., उनको गलामा झुण्डिएका गीत थिए । यी गीत गुनगुनाउनु उनको आदत थियो ।
उनले साम्बुमा एक वर्ष पनि काम गर्न सकेनन् । छोडे जागिर । गए डोरमी स्टुडियो र सुरु गरे संगीत सिक्न । त्यहाँ गुरुदेव कामत, ईश्वर अमात्य र भानुभक्त ढकालले सिकाउँथे । दुई वर्ष सिके ।
उनले यो बीचमा करिब चार सय गीत लेखे । त्यसमा संगीत भरे । केही समयपछि उनलाई आफ्ना गीत केही पनि मन परेनन् ।
०५९ सालमा सबै च्यातेर मिल्काए । फेरि सुरु गरे नयाँ कम्पोजिसन ।
आत्मविश्वास पलायो । आँत छिप्पियो । गीत गाउन सक्छु कि भन्ने भयो ।
एरेञ्जमा ३ हजार, स्टुडियोमा ३ हजार र बाँकी खर्च गरेर करिब १० हजारमागीत रेकर्ड गराए । गीत थियो पप, बोल थियो, ‘मायालु आउने जाने बाटो... ।’
सुनिल बर्देवाले एरेञ्ज गरेका थिए । निकै मेहनत गरेको त्यो सुनिललाई पनि मन परेको थियो । राजनराजको लागि भने त्यो गीत अग्नि परीक्षा थियो ।
उनले गीत त निकाले तर कसरी रेडियोमा बजाउने घनचक्करमा परे । २० दिन उनी सीडीर क्यासेट झोलामा बोकेर हिँडे । तर, मेसो पाएनन् । कुहिरोको काग बने ।
उनको दिमागमा एउटा नाम आयो, नरेश भट्टराई । टेलिभिजनमा प्रतिभाको डबली चलाएको देखेको र क्लाशिक एफएममा कार्यक्रम चलाएको सुनेका राजनराजलाई नरेश मन पर्ने प्रस्तोता थिए । उनैललाई भेट्ने निधो गरे ।
तर, कहाँ भेट्ने ? अर्को आपत् !
एक दिन उनी गाडी चढेर सिंहदरबार अगाडि पुगेका थिए । गाडीमा रेडियो बजिरहेको थियो । नरेश भट्टराईले कार्यक्रम चलाइरहेका थिए । उनको मनमा अचानक आयो, भट्टराई कार्यक्रम सकेर सिंहदरबारबाट निस्किन्छन्, म गेटमै भेट्छु ।
राजनराज गाडीबाट सिंहदरबार अगाडि ओर्लिए । सिंहदरबारको गेट अगाडि पुगेर उभिए । कार्यक्रम सकियो । नभन्दै उनी बाइक चढेर गेटमा आइपुगे । राजनराजले ‘नरेश दाइ नमस्ते’ भने । भट्टराईले पनि बाइक रोके । राजनराजले सबै कुरा बताए । ‘तपाईंलाई राम्रो लाग्छ भने बजाउनुस्, नराम्रो लागे बजाउनु पर्दैन’ भने ।
‘भाइ, तिम्रो गीत झुरै रहेछ भने पनि दुईपटकचाहिँ बज्छ’ भने ।
काठमाडौंमा खासै केही काम थिएन । राजनराज घर गए। उनी क्षमावतीबाट भिमसेनथान आइपुगेका थिए । उनले आफ्नो गीत रेडियोमा काउन्ट डाउनको छैटौं स्थानमा रहेको सुने । उनको खुसीको सीमा रहेन । २० दिन घरबस्न गएका उनी भोलिपल्टै फर्किए ।
आएर नरेश भट्टराईलाई भेटे । भट्टराईले पनि उनैलाई खोजिरहेका रहेछन् । उनले गीत राम्रो रहेको भन्दै काठमाडौंमा बस्न समस्या छ भने केही सहयोग चाहिए भन्न आग्रह गरे । नरेश त सोचेको भन्दा पनि कमलो रहेछन् ।
उनैले दिनेश डीसीलाई भेट्न सुझाव दिए ।
कान्तिपुर एफएममा कार्यरत डीसीलाई भेट्न उनलाई एक महिना लाग्यो । उनले गीत सुनाए । डीसीले पनि मन पराए । सम्भावना बोेकेको प्रतिभा भन्दै सहयोग गर्ने वचन पनि दिए ।
उनले त्यहीँ तत्कालीन पप स्टार नविन के भट्टराईका लागि कम्पोज गर्न सक्छौ भने । राजनराजले सक्छु भने । एक हप्तामा कम्पोजको समयसीमा तोकेर दिइएको गीत दुई दिनमै कम्पोज सकेर फिर्ता गरे । त्यो कम्पोज पनि दुवैले मन पराए ।
यसपछि उनले ‘पञ्चामृत’ एल्बम गरे, जसमा उनको शब्द र संगीत सोलो रह्यो । यसमा नविन के भट्टराई, दिपेश किशोर भट्टराई, सुगम पोखरेल, धिरज राई र अनिल सिंहको आवाज थियो । सँगै यो एल्बममा राजनराज र दिनेश डीसीले पनि एक एकवटा गीत गाए ।
० ० ०
गायक हुने भूत चढेका उनलाई विस्तारै स्वरभन्दा पनि म संगीतका लागि पो जन्मिएको रहेंछु भन्ने लाग्न थाल्यो । त्यतैतर्फ ढल्किए । राजनराजको शब्द तथा कम्पोज लोकप्रिय हुन थाले ।
दाइले काठमाडौं विश्वविद्यालयमा बोलाए । उनी पनि केही रिफ्रेस्मेन्ट हुन्छ भनेर दिउँसोतिर त्यहाँ पुगे ।
देशमा सशस्त्र द्वन्द्व थियो, वार्ता वार्ता सुरु भएको थिएन । एउटा सन्देशमूलक गीत गर्नुपर्याे भन्ने उनलाई लागिरहेको थियो । उनी दाइकोमा पुग्नेबित्तिकै दिमागमा ‘सम्धी ज्यू, सम्धी ज्यू वार्ता गराइदेऊ’ भन्ने गीतको लय फुर्यो । उनलाई त्यसले छोड्दै छाडेन । त्यही साँझ उनी काम छ भन्दै काठमाडौं फर्किए । कम्पोज तयार भयो ।
तर, यो गीत दोहोरी भने भएन, तेहेरीजस्तो भयो । उनले शब्दकोष पल्टाए, तेहेरी हुँदोरहेछ । त्यसलाई प्याकअप गरे । त्यही गीत पछि हिट भयो । पहिलो लोक तेहेरीको इतिहास पनि बनायो ।
कति गायक–गायिकाले उनकै शब्द र कम्पोजले आफूलाई स्थापित गराए ।
अञ्जु पन्तको ‘जिन्दगी फूलै फूलको थुंगा हुँदैन..., प्रकाश तिमलसेनाको ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ..., विपना धितालको ‘के दिउँ के दिउँ...’ पनि उनकै कम्पोजका गीत हुन् ।
डाँफेझैं नाच्ने...,कि फर्केर आउ...पनि राजनराजकै गीत हुन् ।
करिब चार सय गीत कम्पोज गरेका राजनराजकै गीत हो ‘छक्कापञ्जा’को पूर्वपश्चिम रेल... पनि ।
उनलाई लाग्छ, ‘सोचेजस्तो गर्न सकेकै छैन, सुरुवाती चरणमै छु । अझै गर्नुपर्ने धेरै छ ।’