काठमाडौं । अंग्रेजी साहित्यका विद्यार्थी उपेन्द्रराज पाण्डेय व्यावसायिक फिल्म निर्माता होइनन् न उनी वृत्तचित्र नै बनाउँछन् । फिल्ममा सामान्य रुची राख्ने पाण्डेयको वर्षदिन अघि दैनिक पत्रिकामा छापिएको एउटा समाचारले मस्तिष्क तरंगित हुन पुग्यो । समाचारमा लेखिएको थियो– कास्कीको दुर्गम गाउँ घाचोकका एक दृष्टिविहीन दैनिक २० किलोमिटर हिँडेर अन्डा बेच्न आउँछन् ।
दृष्टिविहीनको जिन्दगी आफैँमा निकै कष्टकर त हुन्छ नै तर दिनभरीको बाटो हिँडेर अन्डा बेच्न आउँदा उनले कति कठिनाइ झेल्छन् होला भन्ने विषयले उनलाई गहिरोगरी घोच्यो । दृष्टिविहीनको दैनिकी कल्पँदा कल्पँदै उनी वृत्तचित्र निर्देशक नै बने ।
पाण्डेय भन्छन्, “समाचार पढ्नेवित्तिकै मेरो मन भरंग भयो र साथी बद्रि न्यौपानेलाई तुरुन्तै भने– यही विषयलाई वृत्तचित्रमा उतारौँ, उनी पनि फुरुंग परे । बद्रि निर्माता बने भने दुवैजना मिलेर वृत्तचित्रको निर्देशन पनि गरे ।
५० वर्षीय रामप्रसाद भण्डारी थिए दृष्टिविहीन । पोखराकै पत्रकार भीम घिमिरेले उनको बारेमा छोटो आलेख तयार पारेका थिए । वृत्तचित्रको स्रोत त्यही आलेख थियो ।
पत्रिकामा प्रकाशित समाचार पछ्याउँदै घाचोक पुगेर उनलाई भेटे । तर, भण्डारी कुराकानीका लागि तयार भएनन् । भन्न थाले– तिमीहरूले मेरो फोटो लगेर बाहिर बेच्छौ र पैसा कमाउँछौ, मलाई के हुन्छ र ! उनलाई मञ्जुर गराउन पाण्डेयलाई ठूलै पापड बेल्नुपर्यो । पाण्डेय थप्छन्– गाउँहरुले उनीहरुलाई यिनीहरु भिडियो बेचेर पैसा कमाउँछन्, तिमीहरुलाई के हुन्छ र भन्दै उक्साउन भ्याएछन् !
भण्डारी जन्मजातै दृष्टिविहीन होइन रहेछन् । बिस्तारै दृष्टि धमिलो हुँदै जाँदा उनले पूर्ण रूपमा दृष्टि गुमाउन पुगेछन् । अचम्म के छ भने अहिले परिवारका १०–११ जनानै अशक्त छन्, कोही दृष्टि नभएका, कोही श्रवणशक्ति कमजोर भएका आदिइत्यादी !
तर, पारिवारिक अवस्था भने सामान्य रहेछ, खानलगाउन पुग्ने ।
पाण्डेयले त्यही दुःखद् अवस्था र रामप्रसादको जीवन–संघर्षलाई वृत्तचित्रको मुख्य विषयवस्तु बनाए । र, तयार पारे ‘बियोन्ड द ह्वाइट केन’ ।
प्रदीप पोखरेलचाहिँ वृत्तचित्र निर्माता हुन् र उनी ननफिक्सन फिल्ममा पनि काम गर्छन् । उनले यसपटक सन् २००७ देखि सन् २०१५ सम्म ०७२ को भूकम्पको केन्द्रविन्दु उत्तरी गोरखाको बारपाकको अवस्था, त्यहाँको संस्कृतिको चित्रण गरेर ‘बारपाक’ नामक वृत्तचित्र तयार पारेका छन् ।
“हामीले सन् २००७ मा बारपाक भ्रमणमा जाँदा खिचेका केही दृष्य र भूकम्प अगाडि जाँदा हामीले त्यहाँ पाएको परिवर्तनलाई वृत्तचित्रमा समेटेका छौँ, त्यस्तै भूकम्पपश्चात बारपाकीले भोग्नुपरेको पीडाका झलक त्यहाँ देख्न सकिन्छ ।”
प्रदीप र पाण्डेयले तयार पारेका वृत्तचित्रका अतिरिक्त ८० भन्दा बढी पर्वतीय लघुचलचित्र, वृत्तचित्रको प्रदर्शनी हुने काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल ९किम्फ०–२०१६ आगामी बिहीबारबाट काठमाडौंँमा सुरु हुँदैछ । पाँच दिन चल्ने महोत्सवको यो १४ औँ शृंखला हो । सन् २००२ देखि निजी क्षेत्रको पहलमा थालिएको यो महोत्सव सन् २००७ सम्म हरेक दुई वर्षमा गरिन्थ्यो भने त्यसयता वर्षेनी आयोजना हुँदै आएको छ ।
यो संस्करण कुमारी चलचित्र घर र रसियन कल्चर सेन्टरमा आयोजना हुँदैछ । २५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको किम्फ फेस्टिभलमा १४ बढी अन्तर्राष्ट्रिय लघु चलचित्र पनि प्रदर्शन हुनेछन् भने १५ वटा ‘नेपाली पानोरमा’ प्रदर्शन गरिनेछ ।
सरकारी तवरबाट कुनै सहायता प्राप्त नभए पनि पर्वतीय क्षेत्रको अवस्था चित्रण गर्न किम्फ आयोजना गरिएको आयोजक रामयता लिम्बुले जानकारी दिइन् ।
किम्फको बारेमा जानकारी गराउँदै कवी विप्लव प्रतीकले यस्ता महोत्सवले पर्वतीय जीवन–संस्कृति र त्यहाँको दूरावस्थाबारे प्रकाश पार्ने बताए । “यस्ता फिल्मले कतिपय अवस्थामा मूलधारका फिल्मलाईसमेत ओझेल पारेका छन्,” उनको भनाइ थियो ।
प्रतिष्पर्धात्मक किम्फ फेस्टिभलमा प्रथम, द्वितीय र तृतीय हुने लघु चलचित्रलाई क्रमशः १५ सय, एक हजार र पाँच सय अमेरिकी डलर पुरस्कार प्रदान गरिन्छ । त्यस्तै उत्कृष्ट नेपाली पानोरमालाई र उत्कृष्ट वृत्तचित्रलाई जनही ५० हजार प्रदान गरिने लिम्बूले बताइन् ।