site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
#सेभधृतराष्ट्र
Sarbottam CementSarbottam Cement

 

मेरो दाह्री काट्दिँदै गर्दा ऊ अडियो । मैले घडी हेरेँ, ९ बजिसकेको छ । अफिस जानु छ, अनि मेरो दाह्री आधामात्र काटिएको छ । झनक्क रिस उठ्यो । मेरो घरबाट सबैभन्दा नजिकैको सलुन, सधैं आउँछु । उसलाई मेरो समय थाहा छ । त्यही पनि अड्किन्छ ।

“के भो ?” झर्केकै स्वरमा सोधेँ ।

Prabhu Bank
Agni Group
NIC Asia

“न्युज हेर्नू न !” ऊ उत्साहित देखियो ।

“मेरो अफिस जानु छ ! चाँडो गर न यार !” मलाई उसको टिभीमा आएको न्युजमा कुनै चासो छैन ।

Global Ime bank

बूढीले खाना पस्केर मेरो मोबाइलमा 'छिटो आउनू' भनेर म्यासेज गरेको पाँच मिनेटजति भयो । मैले पाँच मिनेट नै भनेर रिप्लाई गरेको थिएँ । त्यो रिसाएको अनुहारदेखि मलाई सबैभन्दा डर लाग्छ । राजाभन्दा नि !

“खोइ आज अफिस जानुहोला जस्तो लागेन, कर्फ्यु लाग्ने हल्ला छ हस्तिनापुरमा !” ऊ खिस्स हाँसिदियो । रिसाएजस्तो पनि कसरी गरौँ । छुरा उसैको हातमा छ । दाह्रीसँगै गाला पनि काटिदियो भने ? थोरै डर पनि लाग्यो ।

“किन के भो र ?” अलि नरम भएर सोधेँ ।

उसले टिभीको भोल्युम बढायो । टिभीमा द्रौपदीका अर्धनग्न तस्बिरहरू छ्यापछ्याप्ती आएका थिए । हस्तिनापुर न्युजमा राजदरबारको रिपोर्टर हिजोको घटनाबारे बेलीविस्तार लाउँदै थियो । युधिष्ठिरले भाइहरुसहित द्रौपदीलाई नि जुवामा हारेछन् । त्यो खेलेको खाल टिभीमा पटक-पटक जुम-इन, जुम-आउट हुँदै थियो । ऊ चिच्याउँदै थियो, “यही हो त्यो जुवाको खाल, जसमा द्रौपदीलाई बाजी थापियो !”

द्रौपदीमाथि जोरजबर्जस्ती नै भएछ । भित्रैबाट कसैले सीसीटीभीको फुटेज लिक गरेपछि महिला अधिकारवादीहरु बाहिर निक्लेछन् । एकजनालाई गोली पनि लागेछ । अहिले राजदरबार नजिकैको स्थिति तनावग्रस्त हुँदैछ । कर्फ्यु लाग्लाजस्तो छ भनेर तलका स्क्रोलहरु बताउँदै थिए । म आधा दाह्रीमै सोचमग्न भएँ । के हुन लाग्या हो यो द्वापर युगमा ! घोर द्वापर युग !!

मोबाइल फेरि भाइब्रेट गर्‍यो ।

“पाँच मिनेट भएन ?” घरबाट टेक्स्ट आएछ । आज घरकी लक्ष्मी रिसाउली जस्तो छ।

“छिटो काट्दे यार !” मैले टेक्स्ट हेर्दै ऊसँग अनुरोध गरेँ । ऊ मुन्टो टिभीतिरै राखेर भए नि मेरो नजिकै आयो ।

“ध्यान दिएर काट ल, गाला नि काटिएला !”

मैले सुस्तरी अनुरोध गरेँ ।

“हुन्छ,” मुन्टो टिभीतिरै राखेर उसले 'हुन्छ' भन्ने आशयमा हल्लाइदियो !

 

० ० ०

 

“किन ढिलो ?” ऊ थोरै ठुस्किई । आँखामा हेरेँ, ठुस्के पनि त्यो ठुस्काइ क्षणिक र झुटो थियो । उसको बोलीले त सधैं ढाँट्छ, त्यही भएर आँखा पढ्न मन लाग्छ । उसलाई मैले चिल्लिएको गाला देखाएँ ।

“अब कहीँ नभएर नाराबाजी, बन्द, कर्फ्यु भएकै दिन दाह्री काट्नुपर्ने है तपाईंलाई ?”

हुन त अझै खुसी देखिएकी थिइनँ तर उसको ठुस्काइ बिस्तारै मायामा परिणत हुँदै थियो ।

“मलाई के थाहा त त्यस्तो हुन्छ भनेर ? अनि नजिकै पनि त छ ।”

“तपार्इं त त्यही काम गर्ने राजदरबारमा थाहा हुनुपर्ने नि ! त्यसमाथि राजाको खास भन्ने सुनेकी मैले त ।”

“अनि सबै कहाँ थाहा हुन्छ त हामी साना कर्मचारीलाई ?”

“युवराज सधैं त्यस्तै हुन् ? आशक्त ? टाढै बस्नुस् ती भोगीबाट !!”

“मलाई त पहिला त्यस्तो गर्ने जस्तो लागेको थिएन ! कहिलेकाहीँ मिडियामा बढी नि आउँछ !” मैले अडेस लाग्दै जवाफ फर्काएँ ।

“कसरी हुन्छ बढी ? न्युजमा देखाएको देखायै छ !! राजाको चाकडी गर्ने कर्मचारी !” ऊ थोरै रिसाई । उभित्रको स्त्री जागेको हुनुपर्छ ।

“मिडियामा बढी देखाउन सक्छ के, मलाई त थाहा थिएन कमसेकम ! हामी त्यहीँ काम गरिरहेका हुन्छौँ, अहिलेसम्म त्यस्तो भएको थाहा छैन !” मैले आफ्नो बचावट गर्ने प्रयास गरेँ ।

“लोग्ने मान्छेको जातै त्यस्तै, कहिल्यै थाहा नहुने के हुन्छ भनेर !!” अचानक उसको भाव बदलियो ।

ऊ अब मलाई नि आरोप लाउँदै थिई । म घरबाट दरबार, दरबारबाट घरबाहेक अरु केही नगर्नेलाई !!!

“हजुर !!!” मलाई उत्तर फुरेन ।

“महारानीलाई नै हेर्नू न, बूढाले जुवामा हार्ला, देवरहरु मिलेर खिल्ली उडाउलान्, के थाहा थियो होला र त्यस्तो ?”

“ठूलाबडासँग दाँजेर हुन्छ त हामीलाई ?” मैले प्रसंग बदल्न चाहेँ । यो प्रसंगबाट तनाव नै थपिनेछ मलाई– थाहा छैन ।

“ठूलो होस् कि सानो पुरुष पुरुष नै रहन्छ, स्त्रीलाई सधैं वस्तुसँग दाँज्ने !” ऊ अझै झोँक्किई

मसँग अझै उत्तर थिएन । चुप नै बसेँ ।

 

० ० ०

 

उसको मौनताका धेरै अर्थ हुन्छन् । कुनै मौनपल प्यारा हुन्छन्, महजस्तै गुलियो चुहिने हुन्छन् । कुनै भने तिनै माहुरीले चिलेजस्तो । आज ऊ त्यत्तिकै रिसाइदिई । दरबारको घटनालाई उसले हाम्रो जीवनमा दाँजी होला, दरबारका घटनाहरु सामान्य मान्छेले सोच्न सक्दैन । तर, उसले बुझिन । मसँग रिसाइदिए ठीक हुन्छ द्रौपदी काण्ड भन्ने ठानी ।

दिनभर टेलेभिजनमा हिजोकै घटना परिघटना आइरहे । ऊ भने बोलिन । छेवैको कोठामा घाम छिर्छ । जाडोको घाम उसलाई मभन्दा प्यारो भयो आज ! गएर घामतिर फर्केर पल्टिदिई । मलाई पनि उसलाई बोलाउन खासै मन लागेन ।

रिमोट घुमाइरहेँ १ देखि ४८, अनि ४८ देखि १ । बीचमा एकचोटि आफैं किचनमा गएर ग्रिन टी बनाएँ । बहिर सुनसान थियो । घामका किरणमात्र थिए सुनसान सडकमा ! अचानक करिब १ बजेतिर एउटा च्यानलले एक्सक्लुजिभ भनेर एउटा फुटेज चुहायो । प्रष्ट भाषामा इन्द्रप्रस्थ दरबारमा द्रौपदीले हाँसेर दुर्योधनलाई गिज्याएको दृश्य, “अन्धाको छोरो अन्धो !!!”

मलाई झनक्क रिस उठेर आयो । यताउता हेरें । बूढी अर्को कोठामा सुतिरहेकी थिई, दिउँसोको घाम ताप्दै । गएर उठाएर यो न्युज देखाऊँझैं लाग्यो । भन्न मन लाग्यो, “हेर सधैं पुरुषको गल्ती हुन्न, तिम्री अबला नारीले सम्पत्तिको आडम्वरमा यही दुर्योधनलाई गिज्याएकी रहिछन् । अगाडि जे समाचार आयो, सबै झुटो पनि त हुन सक्छ । समाचारलाई एक ढंगले प्रकाशित गरिएको रहेछ ।"

तर, सकिनँ । रिमोट खेलाएरै बसेँ । द्रौपदीको अट्टहास त्यो च्यानलमा गुन्जिरह्यो । हामी सामान्य युवकलाई एउटा सम्भ्रान्त परिवारकी युवतीको अभिमान । त्यसमाथि अपांगता भएका वृद्ध पुरुषलाई अन्धा भनेर कसरी भन्न सकिन् ?

एकैछिनमा छ्यापछ्याप्ती पाण्डवको तर्फमा भएका निर्णयहरु कति एकतर्फी थिए भनेर प्यानलहरुमा आवाज उठ्न थाल्यो । धेरै पुराना कुराहरु समाचारमा खोतलिए । किन जेठो हुँदाहुँदै पनि धृतराष्ट्रलाई राजगद्दी दिइएन ? कसरी पाण्डवले साम्राज्यमा जरो गाडे र त्यसमा के-के गलत थियो भनेर केलाइन थाले । जति-जति म हेर्दै गएँ, उति पाण्डव र द्रौपदीप्रति रिस उठ्दै गयो । धृतराष्ट्र आँखा नदेख्ने भएकै भरमा राजा चुनिएनन् । राजाले आँखा देख्नैपर्ने के बाध्यता छ र त्यस्तो ? उसका सल्लाहकारहरुले जे सल्लाह दिन्छन्, त्यहीअनुसार कानुन र न्यायको पक्षमा रहे त पुगिहाल्यो । अहिलेको द्रौपदी काण्ड पनि पक्कै पनि प्रोपोगन्डा मात्रै हुनुपर्छ । कौरवहरुलाई गलत देखाउने !

आजकल मिडिया बिकेका हुन्छन् । मेरो मनले निर्क्यौल गर्यो, हो आजकल मिडिया बिकेका हुन्छन् ।

ऊ उठेर आर्इ । अनि बिस्तारै सोधी, “के हेर्दै हो ?”

“न्युज !”

“चिया खाने ?”

“भख्खरै खाएँ !” अनि च्यानल चेन्ज गरेर उसलाई फुटेज देखाएँ ।

“अन्धाको छोरा अन्धा !!”

“यो सब मिडियाको प्रोपोगन्डा हो, कौरवहरुको हिजोको कुकर्म लुकाउन !” उसले भनी ।

“पाण्डवले गरेको चाहिँ सबै चोखो ?” यसपालि भने म झनक्क रिसाइदिएँ । ऊ मेरो मौनतालाई मेरो समर्थन ठान्छे । त्यो सत्य होइन ।

“जे भए नि नारी अस्मिता !!!”

“अनि त्यो वृद्ध पुरुषलाई अन्धा भनेको नि ?” मैले उसको वाक्य समाप्त हुन दिइनँ । मलाई रिसको पारो चढेको थियो ।

“धृतराष्ट्रलार्इ अन्धा भन्नु र यो घटना उत्तिकै हो ?”

“होइन, तर धेरै यस्ता घटनाले यो घटना जन्माएको हो, पाण्डवहरुको नि कम गल्ती छैन । त्यो युधिष्ठिरले दाऊ किन थापे ? जुवामा लागेको मान्छेले देश चलाउन सक्छ ? देश, जनता नै दाउमा लाउने ?”

“दुर्योधनजस्तो अज्ञानीभन्दा त युधिष्ठिर नै ठीक !” ऊ फेरि च्याँठ्ठिई ।

“चिया नखाने भए एक्लैलाई पकाउँछु !”

“खान्नँ !!”

“तिम्रा राजाले पछि चिया दिँदैनन् !”

“तिम्री द्रौपदीले ग्यास पनि त किन्दिन्नन् !!” उसले सुनिन । जवाफ यसपालि भने मनमनै फर्काएँ ।

टिभी बन्द गरिदिएँ । झ्यालको छेउमा गएँ । बाहिर ननिस्किन माइकिङ भइराखेको छ । घाम पनि कर्फ्युले होला, बादलभित्र छिरेछ । यसो मोबाइल हेरेँ- ह्यासट्याग ट्रेन्डमा छ । मैले पनि ट्विटिदिएँ, “जुवाडेले देश नचलाएकै बेस #सेभधृतराष्ट्र !”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७३  १०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC