site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
युद्ध त्रासदीका जीजिविषा : मार्टिन अमिस 
Sarbottam CementSarbottam Cement

मानव इतिहास एक आपसबीचको संघर्ष र द्वन्द्वले भरिएको छ । मानव–मानवबीचमा पैदा भएको द्वन्द्वकै कारण विश्वमा ठूला–ठूला नरसंहार भएका छन् । आपसको झगडाले करौडौंले ज्यान गुमाएका छन् । मानिसले नै इतिहास बनाउने हो र इतिहासबाट पाठ पनि सिक्नुपर्ने हो तर त्यस्तो देखिन्न । प्रथम र द्वितीय विश्वयुुद्धमा भएका नरसंहारपछि पनि मानिसले पाठ सिकेका छैनन् । अझै पनि जात, भाषा, धर्म, राष्ट्रका नाममासंघर्ष चलिरहेको छ ।

प्राचीन समयदेखि नै मानव समुदायबीच संघर्ष चल्दै आएको छ । मानिसले मानिसलाई दास बनाउने, राजामहाराजाहरुद्वारा मानव बस्तीहरु नै जलाइदिने, महिलाहरूको बलात्कार गर्ने, समुदाय नै समाप्त पार्ने, धर्मका नाममा मानिसलाई जिउँदै जलाउने होस् वा बोक्सीको आरोप लगाउँदै महिलालाई दुव्र्यवहार गर्ने काम मानव समुदायमा कायमै छ । दोस्रो विश्वयुद्धताका नाजी सेनाको होलोकास्ट (नरसंहार)को सम्झना गर्‍यौँ भने यी घटना गौण लाग्छन् । होलोकास्टका भुक्तभोगी भिक्टर फ्र्याकंल भन्छन्, “कुनै पनि सपना जति नै भयंकर र डरलाग्दो किन नहोस्, त्यो सपना यातना शिविर आसपासमा घटेका घटनाभन्दा डरलाग्दा हुनै सक्दैनन् ।”

उनको यो भनाइले पुष्टि गर्छ कि नाजी सेनाका यातना शिविरमा क्रूरताले हद नाघेको थियो । होलोकास्ट कुनै अकस्मात आएको प्रलय थिएन, यो पूरा तयारी र योजनाका साथ घटाइएको नरसंहार थियो । खासगरी यहुदी समुदायकै नश्लको अन्त्यका लागि हिटलर र उनको सेनाको संस्थागत अत्याचार नै थियो यो ।

Prabhu Bank
Agni Group
NIC Asia

४० भन्दा बढी यातना शिविर स्थापना गरी यहुदीलगायत जिप्सी समुदाय तथा कम्युनिस्ट विचारधारा बोक्ने र समलिंगी नागरिकमाथिको आततायी घटना हो होलोकास्ट । उनीहरूलाई ग्यास च्याम्बरमा थुनेर, विषालु सुइ प्रयोग गरेर हत्या गरिएको थियो । ती यातना शिविरलाई मानव बधशालाकै रूपमा चित्रण गर्न सकिन्छ । अझै पनि त्यस्ता घटना विश्वका विभिन्न देशमा भइरहेका छन् । रुवान्डाको नरसंहार होस् वा पोलपोटले गरेको नरसंहार– हाम्रो मष्तिस्कमा ताजै छन् ।

जर्मनीका यातना शिविरहरूमा मानवीय क्रूरताको प्रत्यक्षदर्शी तथा त्यो नरसंहारबाट बाँच्न सफलमध्ये थोरैले मात्र बोले । कसैले संस्मरण लेखे, कसैले उपन्यास । कसैले चलचित्रका लागि सामग्री जुटाउन सहयोग गरे । तर पनि धेरै भुक्तभोगीहरू मौन बसे । जर्मन नागरिकहरूको नश्लवादी सोचका कारण ब्रिकेलाउ, असविच, सोबिबोर तथा मेडेनेक जस्ता यातना शिविरहरूमा करिब ६० लाख मानिसको क्रूरतापूर्ण हत्या गरियो । भनिन्छ, ती शिविरमध्ये असविच सबैभन्दा विशाल थियो । यसको स्थापनाका लागि उत्कृष्ट वैज्ञानिक, इन्जिनियर तथा संयन्त्र प्रयोग गरिएको थियो ।

Global Ime bank

त्यस्ता शिविरबाट बाँचेर आएकाहरुमा मनौवैज्ञानिक समस्या देखियो । मनोविज्ञानको एक सिद्धान्तका अनुसार मानिसहरू डरलाग्दा घटना स्मरण गर्न चाहँदैनन्, बिर्सन चाहन्छन् । त्यसै पनि उनीहरूले आफ्नो मौनता तोडेनन् । होलोकास्टबाट बाँचेर आएका भिक्टर फ्र्यांकल ‘म्यान्स् सर्च फर मिनिङ’ भन्छन्, “होलोेकास्टबाट बाँचेर आउनेहरू आफ्ना अनुभव साट्न चाहँदैनन् किनकि जो होलोकास्टभित्र थिए, उनीहरुलाई यसको व्याख्याको जरुरत थिएन । जो बाहिर थिए, उनीहरूले होलोकास्टको भयावह अवस्था अनुभव गर्न सक्दैनन् ।”

त्यस्ता अनुभवहरू प्रत्यक्ष भोगेर भिक्टर फ्र्यांकल, इमरे कर्टिज, एन फ्र्यांक, प्रिमो लिवाईहरूले विभिन्न विधामा उतारे । कर्टिजले त पुस्तकका साथै चलचित्र ‘फेन्टलेस’मा पनि आफ्ना दुखद अनुभवहरू व्यक्त गरे । कतिपय लेखक तथा चलचित्र निर्माता भने घटनाको प्रत्यक्षदर्शी नभए पनि पुस्तक तथा चलचित्रमा ती आततायी घटनाको वर्णन गर्न सफल भए । त्यस्तै, एतिहासिक खोज तथा अनुसन्धान गरेर नाजी अत्याचारका बारेका विभिन्न उपन्यास लेख्ने हिम्मत गर्ने लेखक हुन्, मार्टिन अमिस ।

दोस्रो विश्वयुद्ध सकिएको केही वर्षपछि सन् १९४९ मा बेलायतको अक्सफोर्डमा जन्मेका थिए । अमिसका बुवा किंग्स्ले अमिस पनि बुकर विजेता प्रसिद्ध लेखक हुन् । मार्टिन जन्मेका बेला उनका बुवा अक्सफोर्डमा विद्यावारिधी गर्दै थिए । किंग्स्लेले स्वान्सी, प्रिन्स्टन तथा क्याम्ब्रिजजस्ता प्रसिद्ध विश्वविद्यालयमा साहित्य पढाएका थिए । त्यसैले पनि मार्टिन विश्वविद्यालय परिसरमा नै हुर्के, जसले गर्दा उनको लेखन तथा पठनमा सहयोग पुग्यो । १८ वर्षको हुँदा उनले चलचित्र ‘अ हाई विन्ड इन जमैका’मा सानो भूमिका पाए र वेस्टइन्डिज गए । चलचित्रको काम सकेर उनी सन् १९६८ मा बेलायत फर्के । त्यसपछि उनी एक्सटर कलेजमा भर्ना भए । 

कलेजमा रहँदादेखि नै उनले लन्डन अब्जर्भरका लागि पुस्तक समीक्षा लेख्न सुरु गरेका थिए । केही समय ‘दि टाइम्स’को साहित्यिक परिशिष्टाकंका लागि काम गरेका मार्टिनको पहिलो उपन्यास ‘द रसेल पेपर्स’सन् १९७३ मा प्रकाशित भएको थियो । उपन्यासले समीक्षकहरूबाट राम्रै प्रशंसा बटुल्यो । उपन्यासले बेलायतको प्रतिष्ठित साहित्यिक पुरस्कार सोमरसेट मौघाम अर्वाड पाएको थियो । यो पुरस्कार मार्टिनका बुवालाई पनि प्रदान गरिएको थियो ।

मार्टिनले १९७५ मा दोस्रो उपन्यास ‘डेड् बेबिज’ लेखे, जसलाई लेखक तथा समीक्षक औबेरोन वाघले ‘नथिङ लेस देन ब्रिलियन्ट’ भनेर टिप्पणी गरेका थिए । यो उपन्यासमा आधारित भएर सन् २००० मा निर्देशक विलियम मार्शले चलचित्र पनि बनाएका थिए । त्यस्तै सन् १९७७ मा उनको ‘सक्सेस’ उपन्यास प्रकाशनमा आयो, जसमा उनले दुई दाजुभाइले जीवनमा सफलता हात पार्न गर्नु परेको संघर्षलाई उतारेका छन् । यो उपन्यासबाटै मार्टिनले उपन्यासमा आफ्नै शैलीको विकास गरे, जसमा उनले दुई पात्रलाई एउटै परिस्थिति सामना गर्न उभ्याउँथे ।

‘मनी’, ‘लन्डन फिल्ड्स’, ‘द इन्फरमेसन’ जस्ता उपन्यास प्रकाशनसँगै मार्टिनको साहित्यिक क्षेत्रमा चर्चा परिचर्चा झनै बढ्न थालेको थियो । दर्जनौं उपन्यास तथा ‘ननफिक्सन’ पुस्तकहरु लेखेका मार्टिनको सन् १९९१ मा प्रकाशित उपन्यास ‘टाइम्स एरो’ म्यान बुकर पुरस्कारका लागि मनोनीत भएको थियो । यो उपन्यासमा नाजी सेनाको क्याम्पमा काम गरेका एउटा डक्टरको अनुभवलाई समेटिएको छ ।

यो उपन्यासमा उनले प्रयोगवादी शैली पनि अपनाएका छन् । उपन्यासको कथा ‘रिभर्स क्रोनोलोजी’मा भनिएको छ । प्रमुख पात्र टोड फ्रेन्ड्लीको नामै सांकेतिक छ । जर्मन भाषामा ‘टोड’को अर्थ ‘डेथ’ हुन्छ । यसले क्याम्पमा कार्यरत डक्टरहरू नै क्रूरतापूर्ण कार्यमा संलग्न थिए भन्ने बुझिन्छ ।

उपन्यासको सुरुका च्याप्टरहरूमा टोड विरामीहरुको स्वास्थ्यस्थिति सुधारभन्दा पनि खराब गर्नतर्फ लागेको हुन्छ । मुसुक्क मुस्कुराउँदै आएकाहरु निराश र उदेक अनुहार लिएर फर्किरहेका हुन्छन् । टोड फ्रेन्ड्लीले बिरामीका घाउमा मल्हम लगाउनुको सट्टा तिनै घाउ चलाएर यातना दिन्छ । बच्चाहरुलाई समेत निर्ममताका साथ हत्या गरिएको दर्दनाक चित्रण छ उपन्यासमा ।

एक अन्तर्वार्तामा मार्टिनले ‘होलोकास्ट’ र अरु हिंसात्मक घटनाहरुबीचको फरक भनेको बालबालिकाहरुको हत्याको अवस्था नै हो भनेका छन् । आर्यनहरूको मात्रै साम्राज्य फैलाउने हिटलरको योजना नै गलत भएको भन्दै त्यसलाई उपन्यासमार्फत सच्याउन खोजेको देखिन्छ । उपन्यासमा यसै विषयमा एक ठाउँमा भनिएको छ, “तिनीहरू सधैँ त्यही ठाउँ जान चाहन्छन्, जहाँबाट उनीहरु भर्खरै मात्र फर्केका छन् वा उनीहरू आफूले अहिलेसम्म नगरेको गल्तीको पछुतो मानिरहेका छन् । तिनीहरुले गुडबाइ भन्न खोजिरहेका छन् तर हेलो भनिरहेका छन् ।”

मार्टिनले नाजी नरसंहारका क्रूर पक्षलाई उपन्यासमा प्रस्तुत गर्न निकै नै अनुसन्धान गरेको देखिन्छ । उनले यातना शिविरमा भएका ज्यादती तथा अत्याचारलाई सुन्दर ढंगले प्रस्तुत गरेका छन् । मानिसले कल्पना नै गर्न नसक्ने विषयवस्तुमा उनले कलममात्रै चलाएनन्, पाठकहरूलाई समेत सुरुदेखि अन्त्यसम्म डोर्‍याउन सफल भएका छन् । मार्टिनले सन् २०१४ मा नाजी नरसंहारकै विषयमा आधारित भएर अर्काे उपन्यास ‘द जोन अफ इन्ट्रेस्ट’ लेखे ।

यस्ता क्रूर यातनाका घटनालाइ बाहिर नल्याउने हो भने मानिसमा रहने त्रासलाई कम गर्न सकिँदैन भन्नेहरू पनि छन् । उनीहरू यसलाई जति सामान्यीकरण गरिन्छ, त्यति नै त्रास हटाउन सकिन्छ भन्ने विचार व्यक्त गर्छन् ।

लेखक इरभिङ होव ‘होलोकास्ट’बारे लेखिएका पुस्तकले पीडाका घटनामात्रै सुनाएर पीडामात्रै दिन नहुने विचार व्यक्त गर्छन् । यस्ता साहित्यले पीडामात्रै दिने हो भने कसैले नपढ्ने उनी बताउँछन् ।

सन् १९९० को दशक अन्त्यतिर आफैं असविचलगायत ठाउँ घुमेको मार्टिनले आफ्नो संस्मरणात्मक पुस्तक ‘एक्सपेरिएन्स’मा भनेका छन् । ‘द जोन अफ इन्ट्रेस्ट’ उपन्यासको शीर्षक उनले नाजी क्याम्पबाटै लिएका हुन् । नाजीहरूका यातना शिविरमध्ये ‘क्याट जेट’ शिविरको चर्चा गरिएको छ उपन्यासमा ।

मर्टिन लेखनका विषयवस्तुले मात्रै होइन, बेला–बेलामा मुस्लिम समुदाय, महिला र वृद्धावस्थाका मानिसबारे टिप्पणी गरेर चर्चा र विवादमा आइरहेका हुन्छन् । उनका बायोग्राफर रिर्चड ब्राडफोर्डका अनुसार मार्टिनको प्रतिभा र सौन्दर्यका पछाडि धैरै महिला लागिपरेका थिए । त्यसो त उनले फेरेका महँगा दाँत, डिभोर्स र लिटरेरी एजेन्टसँगको तिक्ततापूर्ण सम्बन्ध सधैँ चर्चाको विषय बन्ने गर्छन् ।

आफ्नो उपन्यास ‘द इन्फरमेसन’का लागि प्रकाशकसँग पाँच लाख पाउन्ड एडभान्स मागे पनि प्रकाशकले तीन लाखमात्रै दिने भनेपछि प्रकाशक जोनाथन केपसँग उनको सम्बन्ध टुटेको थियो । मार्टिनले त्यसलाई आफ्नो गल्ती मानेका छन् । जेन अस्टिनको लेखनबाट प्रभावित मार्टिनका अन्य चर्चित पुस्तकहरुमा ‘द प्रेग्नेन्ट विडो’, ‘आइनस्टाइन्स मोन्स्टर्स’ तथा अन्य कथासंग्रह छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७३  १०:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC