site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सहन सिके बाँचिदो रहेछ
Ghorahi CementGhorahi Cement

२२ वर्षको उमेरमा म मेरो ‘बोस’सँग प्रेममा परें अनि २४ वर्षको उमेरमा त्यसको भयानक परिणाम भोगें । मैले जीवनमा धेरै अँध्यारा दिन बिताएकी छु । मेरा परिवार, साथीभाइ र आफन्त अनि कहिलेकाहीँ अञ्जान व्यक्तिको सहानुभूति र संवेदनाले नै मलाई मर्नबाट जोगाए । सहानुभूतिले मानिसलाई बाँच्न सिकाउने रहेछ ।

तपाईंहरू अहिले एक महिलालाई देखिरहनुभएको छ, जो एक दशकदेखि गुमनाम थिई ।

धेरै महिनाअघि मैले पहिलो पटक ‘फोर्ब्स थर्टी अन्डर थर्टी’मा सार्वजनिक भाषण दिएँ, जहाँ ३० वर्षभन्दा मुनिका १५ सय प्रतिभाशाली व्यक्तिहरू थिए । सन् १९९८ मा उनीहरू बढीमा १४ वर्षका र थोरैमा ४ वर्षका थिए । मैले उनीहरूसँग ठट्टा पनि गरेकी थिएँ । उनीहरूमध्ये केहीले मेरो नाम र्‍याप गीतहरूमा मात्र सुनेका थिए होलान् ।

Agni Group

हो ! म र्‍याप गीतहरूमा छु, झन्डै ४० वटामा । तर, त्यो भाषण गरेको रातमा एउटा आश्चर्यजनक घटना भयो । म एक ४१ वर्षीय महिला । एकजना २७ वर्षीय व्यक्तिले मसँग नजिकिने प्रयास गरे । उनी आकर्षक थिए । उनले मेरो सौन्दर्यको बढाइचढाइ प्रशंसा गरे तर मैले अस्वीकार गरेँ । उनले मलाई भने, “म तपाईंलाई पुनः २२ वर्षको जस्तै महसुस गराउन सक्छु ।”

शायद संसारमा म एकमात्र त्यस्तो व्यक्ति हुँला, जो पुनः २२ वर्षमा फर्किन चाहँदैन ।

Global Ime bank

२२ वर्षको उमेरमा म मेरो ‘बोस’सँग प्रेममा परें अनि २४ वर्षको उमेरमा त्यसको भयानक परिणाम भोगें ।

त्यस्ता मान्छे थोरै हुन्छन्, जसले २२ वर्षको उमेरमा कुनै गल्ती नगरेको होस् ! जुन बिर्सन चाहेको होस् । कसैले २२ वर्षको उमेरमा गलत बाटो रोजेको होला । गलत मान्छेसँग प्रेम गरेको हुन सक्ला । र, त्यो व्यक्ति जो–कोही पनि हुन सक्छ । कसैको ‘बोस’ नै पनि हुन सक्छ । तर, मैले प्रेम गरेजस्तो सबैका प्रेमी अमेरिकाका राष्ट्रपति नहुन सक्छन् ।
जीवन यस्तै आश्चर्यहरूले भरिपूर्ण हुने रहेछ ।

मैले त्यो गल्ती नसम्झिएको कुनै दिन छैनन् होला । मलाई अहिले पनि त्यसको ग्लानीबोध छ । पछुतो छ ।

सन् १९९८ मा म असम्भवजस्तै लाग्ने रोमान्सको भूमरीमा फसेँ । साथै, भयानक राजनीतिक र कानुनी उल्झनमा अल्झिएँ । लामो समयसम्म सञ्चारमाध्यमको आँखामा परिरहें । पहिले–पहिले समाचार तीन तरिकाबाट थाहा पाइन्थ्यो– पत्रपत्रिका वा म्यागजिन, रेडियो वा टेलिभिजनबाट । तर, दुर्भाग्य ! संसार डिजिटल युगमा प्रवेश गरिसकेपछि मेरो खबर संसारसामु आयो । डिजिटल आन्दोलनले सबैसामु त्यो काण्ड ल्याइपु¥यायो । 

हामीले सबै सूचना जुनै बेला जहाँबाट पनि प्राप्त गर्न सक्छौं । र, मेरो समाचार पहिलो पटक अनलाइनले नै ब्रेक गरेको थियो । एक क्लिकमै म गुमनाम व्यक्तिबाट रातारात सार्वजनिक रूपमा विश्वभर अपमानित भएँ । म उत्तिखेरै विश्वभर प्रतिष्ठा गुमाउने रोगी भएँ ।

यो घटना सामाजिक सञ्जाल आउनुभन्दा अगाडिको कुरा थियो । तैपनि मानिसहरूले कमेन्ट गर्न सक्थे, समाचारलाई इमेलबाट पठाउन सक्थे । समाचार संस्थाहरूले मेरो तस्बिर चारैतिर छाप्थे, अनलाइनमा ब्यानर बनाउँथे र टिभीमा मानिसहरू सुनेर बस्थे । त्यो बेला मेरो खास तस्बिर कस्तो थियो भनेर सम्झनुहुन्छ ? बेरेट लगाएको तस्बिर थियो ।

मलाई लाग्छ– बेरेट लगाएर मैले गल्ती गरेकी थिएँ । तर, मैले प्राप्त गरेको ध्यानाकर्षण तथा मप्रति बनेको धारणा अभूतपूर्व थियो । मलाई आवारा, वेश्याको संज्ञा दिइयो । मलाई धेरैले देखे तर थोरैले मात्र चिने ।

१७ वर्षअघि यो घटना हुँदा यसको नाम थिएन । तर, आज यसलाई साइबर धम्की र अनलाइन उत्पीडन भन्न सकिन्छ । आज म मेरा केही अनुभव साट्न चाहन्छु । त्यो अनुभवले पीडालाई कसरी परिवर्तनतिर लैजान सकिन्छ भनेर केही मार्गदर्शन गर्नेछ । कमसेकम अरुले मजस्तो पीडा नभोगून् ।

सन् १९९८ मा मैले क्षणभरमै सम्मान र इज्जत गुमाएँ । मैलै सबथोक गुमाएँ । र, झन्डै जीवन नै गुमाएँ ।

म एउटा परिदृश्य कल्पना गर्छु । सन् १९९८ को सेप्टेम्बर महिना । म इन्डिपेन्डेन्ट काउन्सिलको झ्यालरहित कार्यालयभित्र बसिरहेकी छु । त्यहाँ चर्को उज्यालोमा एक वर्षअघि मेरो साथी भनाउँदोले टेप गरेको म आफ्नै आवाज सुनिरहेकी छु । म यहाँ त्यो कुराकानीलाई कानुनी रूपमा प्रमाणित गर्न उपस्थित छु । निजी कुराकानी गरिएको २० घण्टा लामो ती टेपका कुराकानी आठ महिनादेखि रेकर्ड गरिएका थिए । त्यो टेप रेकर्ड मेरा लागि मेरो टाउकोमाथि राखिएको नांगो तरवार थियो । तर, मैले कसरी सम्झिन सक्छु– एक वर्षअघि के भनेकी थिएँ । मैले भयभित भएर सुनिरहेकी छु । जब म टेपमा राष्ट्रपतिप्रति प्रेम अभिव्यक्त गरिरहेकी छु, लाग्छ– समुद्रमा तैरिरहेका पानीजहाजका टुक्राका बारेमा बकबक गरिरहेकी छु र मेरो मन उनले दुखाएको गुनासो गरिरहेकी छु । कहिलेकाहीँ म दुव्र्यवहार गर्छु, गुनासोपूर्ण कुरा गर्छु, कहिले निकै नराम्रो व्यवहार गर्छु र कहिले ज्यादै असभ्य हुन्छु । भित्रसम्मै लाज लागिरहेको छ । मेरो सबैभन्दा खराब स्वरूप यस्तो पनि रहेछ भन्ने आफैँलाई चिनेर छक्क परिरहेकी छु ।

केही दिनपछि एक रिपोर्ट कंग्रेससामु सार्वजनिक गरिन्छ । मानिसहरूले सजिलै पढ्न सक्ने हुनाले ती ट्रान्स्क्रिप्टहरू डरलाग्दा लाग्छन् । केही दिनपछि अडियो टेप टेलिभिजनमा पनि प्रसारण गरिन्छ । यही कुरा अनलाइनमा छापिन्छ । यो सार्वजनिक अपमान खपिनसक्नु थियो । जीवन लगभग असहनीय थियो ।

१९९८ ताका यस्ता घटना हरेक दिन घट्दैनथे । कसैको निजी कुराकानी र क्रियाकलाप चोरी हुँदैनथ्यो । बिनास्वीकृति, बिनासन्दर्भ, बिनासंवेदना सार्वजनिक हुँदैनथ्यो ।

यो घटनाको १२ वर्षपछि सन् २०१० मा र आज सोसल मिडियाको जन्म भइसकेको छ । मेराजस्ता घटना सामान्य भइसकेका छन् । चाहे कसैले कुनै गल्ती गरेको होस् या नहोस् र चाहे त्यो सार्वजनिक व्यक्ति होस् वा सर्वसाधारण– केही मानिसका लागि यसको परिणाम ज्यादै नराम्रो साबित भएको छ ।

म २०१० को सेप्टेम्बरमा आमासँग फोनमा कुरा गर्दा रुटगेर्स युनिभर्सिटीका युवा छात्र टेलर क्लेमेन्टीबारे कुरा निस्कियो । उनी प्यारा, संवेदनशील र रचनात्मक थिए । उनले एक अर्का पुरुषसँग प्रेमालाप गरिरहेको दृश्य वेबक्यामबाट रुम पार्टनरले गोप्य रूपमा खिच्यो । जब उक्त भिडियो अनलाइनमा प्रकाशित भयो, तब बेइज्जती र साइबर बुलिङले चरम सीमा पार गर्यो । केही दिनपछि टेलरले जर्ज वासिङ्टन पुलबाट हामफाली आत्महत्या गरे । त्यतिबेला उनी १८ वर्षका थिए ।

घटना सुनेर मेरी आमा निकै दुःखी हुनुभयो । मैले सुरुमा त बुझिनँ तर पछि बिस्तारै महसुस गरेँ । मेरी आमाले सन् १९९८ मा त्यो पीडा कसरी सहनुभयो होला ? त्यो बेला मेरो ओछ्यानमा हरेक रात बसिरहनु हुन्थ्यो आमा । नुहाउन जाँदा मलाई बाथरुमको ढोका बन्दसमेत गर्न दिनु हुन्नथ्यो । कसरी सहें होला त्यो समय, जति बेला मेरा आमाबुबालाई सधैँ डर लागिरहन्थ्यो– यो बदनामीले छोरीको ज्यान कतिबेला लैजाने हो !

आज निकै कम भाग्यमानी अभिभावक छन्, जसले यस्तो पीडाका बेला सन्तानलाई साथ दिएका र उद्धार गरेका छन् । आफ्ना सन्तानको यस्तो पीडा अधिकांश अभिभावकले त धेरै ढिलामात्र चाल पाउँछन् ।

टेलरको पीडादायक मृत्यु मेरो जीवनको एक मोडका रूपमा आयो । त्यो घटनाले मेरो अनुभवलाई एउटा नयाँ सन्दर्भ दियो र मैले आफ्ना वरिपरि फैलिएको शोषण र जोरजबर्जस्तीलाई महसुस गरेँ अनि त्यसलाई फरक कोणबाट हेर्न थालेँ ।

सन् १९९८ मा हामीलाई इन्टरनेट नामको प्रविधिले स्थान लिन्छ होला भन्ने कुनै सुइँकोसमेत थिएन । हामीले सोच्दै नसोचेको तरिकाबाट इन्टरनेटले मानिसहरूलाई जोड्ने काम गरेको छ । यसले हराएका दिदीभाइ भेट गराएको छ, ज्यान बचाएको छ, कैयौँ आन्दोलन गराएको छ । तर, एउटा अँध्यारो पाटो पनि छ, जो साइबर उत्पीडन हो । यसैले मलाईजस्तै धेरैलाई बिनाकारण वेश्या बनाएको छ र त्यसको लज्जाबोध कैयौँ गुणाले बढाएको पनि छ ।

हरेक दिन विशेषगरी कम उमेरका युवायुवती अनलाइनलाई ह्यान्डल गर्ने असक्षमताका कारण शोषित र अपमानित भएका छन् । त्यसपछि त उनीहरू एकदिन पनि बाँच्न चाहँदैनन् । केही त बाँचे पनि ज्युँदो रहँदैनन् ।

‘चाइल्ड लाइन’ नामक ब्रिटेनको संस्थाले गएको वर्ष एउटा तथ्य जारी गरेको थियो, जसमा २०१२ देखि २०१३ का बीचमा इमेल र फोन कलसँग सम्बन्धित साइबर बुलिङका घटना ८७ प्रतिशतले बढेको देखाएको छ । नेदरल्यान्डमा अफलाइन बुलिङको तुलनामा साइबर बुलिङ आत्महत्याको सबैभन्दा ठूलो कारण बनिरहेको पहिलो पटक देखिएको छ ।

दुई दशकयता हामी बिस्तारै लाजमर्दो र सार्वजनिक बेइज्जतीको बीउ रोपिरहेका छौँ । गसिप वेबसाइट, पापाराजी, रियालिटी कार्यक्रम, राजनीति, समाचार संस्था र कहिलेकाहीँ ह्याकर पनि यसकोे अंशियार बन्ने गर्छन् । 

यसको संवेदनहीनता र अनुमोदक वातावरणका कारण अनलाइनले दादागिरी, प्राइभेसीको हनन, साइबर बुलिङजस्ता कुरालाई बढावा दिएका छन् । यसलाई प्राध्यापक निकोलस मिल्स ‘अपमानको संस्कृति’ भन्छन् ।

विगत ६ महिनाका उदाहरणलाई मात्रै लिऊँ । स्न्यापच्याट युवाका लागि लक्षित गरिएको भनिएको छ र सन्देश केवल केही सेकेन्डको लागिमात्र रहन्छ । तर, एक तेस्रो पक्ष एप (जसले स्न्यापच्याट प्रयोगकर्ताहरूको सन्देश अवधि संरक्षण गर्छ) ह्याक गरियो र एक लाख व्यक्तिगत कुराकानी, फोटो र भिडियो अनलाइनमा लिक भयो भने त्यसको अवधि सधैंका लागि हुन्छ ।

जेनिफर लरेन्स तथा धेरै कलाकारका क्लाउड एकाउन्ट ह्याक भए । उनीहरूका नांगा तस्बिर, निजी कुराकानी इन्टरनेटभरि बिनाअनुमति छापिए । एक गसिप वेबसाइटमा उक्त समाचार ५० लाखले पढे । सोनी पिक्चर साइबर आक्रमणलाई के भन्ने ? त्यस्ता विवरणलाई महत्व दिइन्छ, जसको सबैभन्दा बढी सार्वजनिक अपमानको मूल्य हुन्छ ।

तर, अपमानको यो संस्कृतिमा सार्वजनिक लज्जाको पनि प्राइस ट्याग झुन्डिएको छ । यो मोल पीडितले चुकाएको मूल्यसँग कहिल्यै नापिँदैन । टेलर र अरुले चुकाउने मूल्यको कहिल्यै हिसाब गरिँदैन । हिजोआज प्रताडना एउटा बजार बनेको छ, उद्योग बनेको छ । जति बढी लज्जा, उति बढी क्लिक र जति बढी क्लिक, उति बढी विज्ञापनबाट आउने पैसा ।

हामी यस्तो खतरनाक चक्रमा छौँ, जहाँ जति बढी क्लिक गर्छौं, उति बढी मानिसहरू पाउछौं र जति बढी मानिसहरू पाउँछौं, त्यति बढी क्लिक गर्छौं । यसो गर्दा कसैको दुःख, पीडा र उत्पीडनबाट कसैले पैसा कमाइरहेको हुन्छ । हरेक क्लिक गर्दा हामी विकल्प चुनिरहेका हुन्छौँ, कति बढी लज्जाहीन हुने भनेर । जति बढी लज्जाहीन हुन्छौँ, उति बढी साइबर बुलिङ भइरहन्छन् । त्यस्ता चिज जति बढी हेरिरहन्छौँ, त्यति नै बढी ह्याकिङ र धम्की बढाइरहेका हुन्छौँ ।
किन त ?

किनभने सबैको केन्द्रमा अपमान छ । यो व्यवहार हामीले सिर्जना गरेको संस्कृतिको उपज हो । यसबारेमा सोचौं न !

हामीले लज्जाबोध नै त्यागिसकेपछि यही संस्कृति बढ्नु स्वाभाविक पनि हो । हामी सुसंस्कृत छौँ, त्यसैले आज कतिपय रेसिजम, होमोफोयिबा इतिहास बनिसकेका छन् । समलैंगिक बिहेलाई लिएर हाम्रा दृष्टिकोण परिवर्तन हुनाले बढीभन्दा बढी मानिसले आनन्दको सास फेर्न पाएका छन् । हामीले रिसाइकल गरिएका सामग्री प्रयोग गर्न थालेका छौँ । अब हामीले अर्को एउटा सांस्कृतिक आन्दोलन थाल्नुपर्ने बेला भएको छ ।

सुरुवात कुनै सानो कुराबाट हुन सक्छ तर यो सजिलो हुँदैन ।

हामीले संवेदनशीलता र सहानुभूतिलाई पुनः हासिल गर्नुपर्ने बेला आएको छ । अनलाइन संसारमा सहानुभूति र संवेदनाको गहिराइ निकै कम छ । म त भन्छु, खडेरी नै छ । 

अनुसन्धानकर्ता बर्नी ब्राउनले भनेका छन्, “लज्जाबोधले सहानुभूतिलाई बचाउन सक्दैन ।”

मैले जीवनमा धेरै अँध्यारा दिन बिताएकी छु र मेरो परिवार, साथीभाइ र आफन्त अनि कहिलेकाहीँ अञ्जान व्यक्तिको सहानुभूति र संवेदनाले नै मलाई मर्नबाट बचाए ।

सहानुभूतिले मानिसमा निकै ठूलो परिवर्तन ल्याउन सक्छ ।

समाजिक मनोवैज्ञानिक सेर्गेई मोस्कोविस्कीको ‘माइनोरोटी इन्फ्लुएन्स’को सिद्धान्तले भन्छ, “अल्पसंख्यकले पनि लामो समयसम्म केही कुरा अगाडि बढाए भने ठूलो परिवर्तन ल्याइदिन सक्छ ।” अनलाइनको संसारमा हामी यही अल्पसंख्यकले प्रभाव ल्याउन सक्छौँ ।

कुनै कुराको विरोध नगर्नुको अर्थ चुपचाप उभिनु होइन ।

हामी कसैप्रति सकारात्मक कमेन्ट गर्न सक्छौँ, साइबर बुलिङ भइरहेको देखेर गुनासो दर्ता गर्न सक्छौँ । विश्वास गर्नुस्, सकारात्मक कमेन्टले नकारात्मकता कम गर्न सहयोग गर्न सक्छ । विभिन्न संस्थाहरूको सहयोगमा साइबर बुलिङविरुद्धको एउटा संस्कृति खडा गर्न सक्छौँ, जस्तो अमेरिकाको टेलर क्लेमेन्टी फाउन्डेसनले गरिरहेको छ । त्यस्तै बेलायतमा एन्टीबुलिङ प्रोग्राम छ र अस्ट्रेलियामा त्यसका लागि प्रोजेक्ट रोकिट छ ।

हामी अभिव्यक्ति स्वतन्त्रताका बारेमा धेरै कुरा गर्छाैं तर हामीले आफ्नो कर्तव्य के हो भनेर बुझ्न सकेका छैनौं ।

हामी चाहन्छौँ– हाम्रा कुरा सबैले सुनून् । तर, उद्देश्यपूर्ण तरिकाले बोल्नु र अर्काको ध्यान आकर्षित गर्न बोल्नुमा फरक छ । इन्टरनेट एउटा दु्रतमार्ग हो । अनलाइन सहानुभूतिले हामी सबैको हित हुन्छ र एउटा सुरक्षित र राम्रो संसार बन्छ ।

हामीले अनलाइन व्यवहारमा संवेदना ल्याउनुपर्छ । समाचारहरूलाई ग्रहण तथा क्लिक गर्दा संवेदनाका साथ गर्नुपर्छ । विगत ९ महिनायता मलाई सबैभन्दा बढी सोधिएको प्रश्न नै ‘किन ?’ हो ।

म यत्तिका वर्षसम्म किन घरभित्र सीमित रहनुपर्यो ? यो प्रश्नमा राजनीतिसँग मेरो कुनै लेनदेन छैन । मेरो उत्तर के हो भने अब समय आइसक्यो । विगतका घटनामा दबिएर बस्ने होइन, अपमानित भएर बाँच्ने होइन, अधिकार फिर्ता पाउने हो ।

यो मेरोमात्रै कुरा होइन, मैले जस्तै पीडा भोगेका सबैको हो । सहन सके बाँच्न सकिन्छ । तर, यो सजिलो र छिटो बाटो पक्कै होइन । हामीले आफ्नो कथालाई फरक तरिकाले अन्त्य गर्न सक्नुपर्छ । त्यसका लागि आफैंमा सहानुभूति राख्नुपर्छ ।

(मोनिकाले सन् २०१५ मार्चमा ‘टेड टक’मा दिएको अभिव्यक्तिको सम्पादित अंश । पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७३  ०७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC