site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
र, अस्ताए कुल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
(०३८–०६१)
 
अक्षर काका
 
भोकाएको सिंहको आवश्यकता आहार हो, मिष्ठान्न परिकार होइन । शायद यही सत्यलाई बुझेकैले होला, परिवारका रंगीचंगी सपना पूरा गर्न बेलायत पठाइएका कुल पोखरेल पढाइ बीचमै अलपत्र छाडेर स्वदेश फर्किए र संगीत साधनामा मरिमेटे । लन्डनको फराकिलो बाटोभन्दा उनलाई आफ्नै माटो प्रिय लाग्यो । यहाँको माटोमा उनले त्यो उर्वरता देखेका थिए, जहाँ उनले फुलाउन चाहे संगीतका सुगन्धित फूलहरू । र, त नेपाली सांगीतिक वाटिकामा उनले रोपेका फूलबाट संगीतप्रेमीहरू आजपर्यन्त आस्वादित हुन पाएका छन् ।
 
०३८ असोज ५ गते नवलपरासीको सुनवलमा जन्मिएका हुन् कुल । उनका बाबु अर्जुन पोखरेलका दुई परिवार थिए । उनी जेठीपट्टिका छोरा हुन् । कुलसँग धेरै समय बिताएका निर्भयबाबु प्रसाईंका अनुसार *उनका बाबु सरकारी जागिरे र बुटवलका प्रतिष्ठित व्यापारी थिए । उनी लुम्बिनी चिनी उद्योगमा उखुको ठेक्कापट्टा गर्थे । त्यसैले होला, बाबुले कुल पनि व्यापार व्यवसाय नै गरोस् भन्ने ठान्थे ।
 
नेपाली पप गायनमा बेग्लै स्वाद पस्किएर संगीतानुरागी आम युवालाई आकर्षित तुल्याउन सफल प्रिय गायक कुल आज हामीमाझ छैनन् । उनको भौतिक चोला अस्ताएको १२ वर्ष बितिसकेको छ । तर पनि उनका गीत हाम्रो मन मस्तिष्कमा गुञ्जिइरहेका छन् र अमिट छाप बनेर रहेका छन् । विस्मृतिको चाङमा थन्किइसकेका तिनै गायकको सांगीतिक जीवनका केही पाटाहरू यहाँ प्रकाशमा ल्याउने प्रयत्न गरिएको छ : 
 
० ० ०
 
यसपालि दसैँमा ठुल्दाइ आउने रे
बाबालाई रेडियो, आमालाई सारी, भाइलाई घडी
अनि मलाई जिनको पाइन्ट ल्याउने रे !
 
यी शब्द कुनै पनि कोणबाट ‘चलनचल्तीका गीत’ लाग्दैनन् । अनुप्रास नमिलेका, स्वर र लयमा ढाल्न नसकिने विशुद्ध गद्य रचनाजस्तो देखिने गीति हरफ दिवंगत गायक कुल पोखरेलको चर्चित गीत हो । र, प्रत्येक वर्षको दसैँले हामीलाई उनको सम्झना गाढा गराइदिन्छ । जब यो गीत गुञ्जन थाल्छ, तब हामीलाई लाग्छ– उनी यहीँ कतै छन् र यस्तै गीत गुनगुनाइरहेका छन् ।
 
शरदसँग यो गीतको कहिल्यै नमेटिने साइनो बनिसकेको छ । परदेशिएका प्रियजनहरू दसैँमा एकथान भए पनि खुसी लिएर आउलान् भनेर आँखा बिछ्याउने आफन्त र ठूलो दाइ आउने पर्खाइमा रहेका हजारौं भाइहरूको मात्र होइन, आमनेपालीकै साझा गीत हो यो ।
 
त्यही शरदले एउटा गायकलाई जन्म दियो र त्यही शरदले माझबाट फुत्त खोसेर लिएर पनि गयो । शरदले कुललाई जन्मायो, कुलले दसैँ गीत जन्माए । र त शरद, दसैँ र कुलबीच अनौठो नाता गाँसिएको छ ।
 
कुल त्यस्ता कलाकार हुन्, जसलाई आधुनिक पप गायकमात्रै भनियो भने अपूरो हुन्छ । उनीमाथि अन्याय पनि हुन्छ । यसकारण कि उनी आफैँ गीत रचना गर्थे, संगीत भर्थे र सुमधुर आवाजमा सजाउँथे । त्यसैले उनी नेपाली पप संगीतका ‘माइलस्टोन’ हुन् ।
 
यो सर्वस्वीकार्य तथ्य हो कि नेपाली पप संगीत आज जुन सुर, लय र तालमा छ, त्यो बाटो १२ वर्षअगाडि कुल पोखरेलले कोरिसकेका थिए । यसर्थ पनि उनी नेपाली आधुनिक पप संगीतका स्वप्नद्रष्टा थिए फन्दा फरक पर्दैन ।
 
लोक गायक झलकमान गन्दर्भ उनका आदर्श पुरूष थिए । उनका समकालीनहरू भन्छन्, “कुल प्रायः झलकमानका लोकभाकाहरू सुनिराखेका हुन्थे, कति त गुनगुनाउँथे पनि ।”
भुइँका शब्द टिपेर लयमा सजाउन झलकमानकै सिको गरेका हुन् उनले । फरक यत्ति हो– झलकमानले सारंगी रेटे, कुलले गितार भेटे । झलकमान लोक लयमा आजीवन भिडे, कुल सुरुवातमै पप गायनको बाटो हिँडे ।
 
हिँड्दाहिँड्दै शब्द बटुल्न र तिनैमा संगीत भरेर मन्त्रमुग्ध पार्न अब्बल थिए कुल । यति हुँदाहुँदै पनि उनी व्यावसायिक ‘रेस’मा थिएनन् । उनलाई गीत–संगीतमा लागेर ‘उन्नति’ गर्नु थिएन । नाम र दाम कमाउने मोह पनि उनमा थिएन । पप गायन उनको ‘प्यासन’ थियो र जति बाँचे, त्यसैमा दत्तचित्त भए ।
 
साधारण बोलीचालीका शब्दलाई पनि संगीतको आकारमा ढाल्न सक्नु कुलको सबैभन्दा ठूलो विशेषता थियो । सन् १९९९ देखि सन् २००४ सम्म नेपाली सांगीत आकाशमा उज्ज्वल नक्षत्रका रूपमा देखा परेका कुलले पप गायनमा बेग्लै छाप छाडेका छन् । र, उनको त्यो मिठास नेपाली पपसंगीत पारखीले अहिलेसम्म अरुबाट पाउनै सकेनन् । कुल जसरी सामान्य ‘इन्स्ट्रुमेन्टमा’ पनि जीवन्त प्रस्तुति दिन सक्ने, त्यसरी भावमा डुबेर गाउन सक्ने पप गायक नेपाली सांगीतिक उद्योगमा छैनन् नै भन्छन् उनका समकालीनहरू । 
 
प्रहरी महाविद्यालयबाट निष्कासित भएका हुन् कुल
उनको पारिवारिक आर्थिक हैसियत उच्च थियो । त्यसैले उनलाई बाबुले दीपेन्द्र प्रहरी आवासीय महाविद्यालयमा भर्ना गरिदिए । उनी त्यहाँ उच्च शिक्षा अध्ययन गर्दै थिए । तर, प्रहरी अधिकारीको छोरासँग झगडा पर्यो । निर्भय भन्छन्, “ती अधिकारीको छोरो पनि कुललाई दबाउन खोज्थ्यो, युवा जोसको ऊ पनि के कम थियो र ! हात हालाहालकै अवस्था भएपछि कुल त्यहाँबाट निष्कासित भए ।”
 
प्रहरी विद्यालयबाट निष्कासित भएपछि पितालाई निकै ठूलो चोट पर्यो र उनले कुललाई बिजनेस स्टडिज पढ्न लन्डन पठाए । तर, कुलले त्यहाँ पनि परिवारको इच्छा लत्याए ।
गायक सुगम पोखरेल भन्छन्, “बिजनेस स्टडिज पढ्न लन्डन पुगेका कुल त्यहाँ झलकमान गन्धर्वको गीत सुनेर बस्थे । गीतप्रतिको मोहकै कारण उनले लन्डनमा संगीत नै पढे । र, नेपाल फर्किएर गीतसंगीतको साधनामा लागे ।”
 
नेपाल फर्किएको छोटो समयमै बेग्लै सिर्जना र पृथक बाटो बनाएर तमाम युवा पुस्ताको मुटुको स्पन्दन बने कुल । भर्खर रक पपको स्वादमा डुब्न थालेका संगीतपारखी युवालाई सर्लक्कै आफूतिर ताने र उनीहरूकै संयुक्त आवाज बनिदिए । कलेजका क्यान्टिन, गाडीमा उनकै गीत गुञ्जन थाले । एकान्तमा युवाहरू उनकै गीत गुनगुनाउन थाले ।
 
सरल शब्द र सरस भावमा डुबेर गाउने र बेग्लै ‘फिल’ दिनसक्ने खुबीका कारण तमाम तन्नेरीको प्रिय गायक बन्न कुलले धेरै समय पर्खनै परेन ।
 
सन् १९९९ मा कुलले ‘सुन् मेरी मायालु’ गीत रेकर्डिङ गराएका थिए । त्यो नै उनको पहिलो ‘रेकर्डेड’ गीत हो । त्यसपछि उनले सन् २००० मा ‘आमा’ भन्ने एल्बम ल्याए । त्यो उनको पहिलो एल्बम थियो । त्यस्तै २००२ मा ‘हुन्न र’ भन्ने दोस्रो एल्बम निकाले । २००४ मा तेस्रो एल्बमको तयारी गर्दै थिए, उनी नियतिको निर्मम सिकार बन्न पुगे ।
 
संगीतको चार वर्षे दौरानमा उनले दर्जन जति गीत गाएका छन्, ती सबैले चर्चा कमाएका छन् । ‘सुन् मेरी मायालु’, ‘बोलाउँदा खेरी बोल्दिनौ’, ‘स्कुल’, ‘मृत्युको क्षण’, ‘नेपाली जीवन’, ‘म त तिमीलाई नै’, ‘किन उदास बसेकी ?’, ‘एकछिन बरालिँदा’, ‘हुन्न र’, ‘यसपालि दसैँमा’, ‘कुखुरी कहाँको’, ‘साथ हुँदा शान्त हुन्छ’ आदि गीत पारखीहरू अहिले पनि उत्तिकै सुन्छन् ।
 
कुल होइन, अभिमन्यु
पुतलीसडकमा जेम्स प्रधानको स्टुडियो थियो । सन् २००० तिर रेकर्डिङको सिलसिलामा कुल त्यहाँ पुगे । भर्खरको युवा जोससहित आएको देखेर जेम्सलाई सुरुमै लाग्यो– यसले गीत–संगीतमा पक्कै केही नयाँ गर्छ ।
 
कुलले त्यतिखेर एउटा कलेक्सन एल्बमको तयारी गरिरहेका थिए । अरुभन्दा पृथक आवाज र बेग्लै ‘कम्पोजिसन’को गीत पाएपछि जेम्सले त्यसलाई ‘गेटटुगेदर’ एल्बममा समावेश गरिदिए । कुलको सांगीतिक करिअर त्यहीँबाट प्रारम्भ भयो । एल्बम रिलिज हुनेबित्तिकै गीतले राम्रै बजार पायो र कुल त्यसबाट उत्साहित पनि देखिए । त्यसपछि उनले केही समयको अन्तरालमा दुइटा एल्बम निकाले । ती सबैमा जेम्सले उनलाई राम्रै सघाए । 
 
जेम्स भन्छन्, “सामान्य शब्दलाई पनि मेलोडियस बनाउने र अरुभन्दा बेग्लै तरिकाले गाउन सक्ने क्षमता देखेर नै मैले उसको एल्बममा काम गरेको हुँ । त्यस्तो कलाको संरक्षण र प्रवद्र्धन गर्नु मेरो कर्तव्य थियो, त्यसमा कुनै कसर बाँकी राखिनँ ।”
 
त्यसो त कुल जेम्सकै घरमा बसेका हुन् । उनी सम्झन्छन्, “त्यस्तै दुई वर्ष उनी सोल्टीमोडस्थित मेरो घरमा बहाल तिरेर बसेका हुन् । संगीत साधना पनि गर्न मिल्ने हुनाले उनलाई मैले नै त्यहाँ बस्न भनेको थिएँ ।”
 
जेम्सका अनुसार कुल नेपाली सांगीतिक क्षेत्रले पाएको बहुआयामिक प्रतिभा हुन् । समकालीन गायकहरूसँग उनको तुलनै हुन सक्दैनथ्यो । सिर्जना र भावमा लीन भएर प्रस्तुति दिन सक्ने खुबीलाई कसैले माथ खुवाउन सक्दैनथ्यो । कुलसँगका हरेक क्षण मनमा सजाएर राखिरहेका जेम्स उनको नाम सुनेपछि एक्कासि भावुक हुन्छन् ।
 
एकदिन कुरैकुरामा सन्दर्भ निस्कियो– कुल पोखरेलको नामै कुल पोखरेल हो त ? जेम्सलाई नामले उत्सुक बनायाो । हुन पनि उनी नामजस्तै ‘कुल’ थिए । बिन्दास पाराका थिए । उनलाई कोही कसैसँग मतलबै हुँदैनथ्यो ।
 
कुलले जवाफ फर्काएछन्, “कहाँ हुनु नि जेम्स दाइ, मेरो नाम त अभिमन्युप्रसाद पोखरेल हो । तर मैले कुल बनाइदिएँ ।”
यति भनेर उनी हाँसे ।
 
उनको न्वारानको नाम कुलप्रसाद पोखरेल हो । अंग्रेजी वर्णमालाको  KUL उच्चारण हुने नामलाई उनले COOL बनाएका थिए भन्छन् जेम्स ।
 
‘वान टेक सिंगर’
त्यसबेला कुललाई प्रायःजसोले ‘वान टेक सिंगर’ भन्थे । उनी स्टुडियोमा प्रवेश गर्नेबित्तिकै त्यहाँ बस्नेहरू भन्थे, “ऊ वान टेक सिंगर आयो ।”
 
यसकारण कि उनले गाएपछि दोहोर्याएर रेकर्ड गर्दैनथे । जे गाइयो, त्यो ठीक गाइयो भन्ने ‘मुडी’ स्वभावका थिए उनी । साथीहरूको माझमा मिलनसार र सहृदयी भए पनि गीत–संगीतको मामिलामा उनी कसैले भनेको खाँदैनथे । उनको आफ्नै हठ थियो ।
 
जेम्सकै स्टुडियोमा रेकर्डिस्टको काम गर्थे मोहित मुनाल । कुलका प्रायः गीत मुनालले नै रेकर्ड गरेका हुन् । गाउँदागाउँदै गीत, सुर र तालबाट चिप्लिएपछि मुनाल सम्झाउँथे, “कुल, त्यहाँनेर अलिकति मिलेन, यसलाई दोहोर्याएर गाऊ ।”
 
उनको जवाफ हुन्थ्यो, “पर्दैन दोहोर्याउन, त्यहाँनेर मैले अलि फिल दिएको हुँ, स्रोतालाई त्यही अनुभूति हुन्छ ।”
 
उनी गीत–संगीतमा सिंगारपटार गर्न आवश्यक छैन भन्थे । हृदयबाट निस्किएको आवाज नै संगीतको श्वर हो भन्न रुचाउने गायक कुल गीतलाई भावनाको प्रतिध्वनि मान्थे । कृत्रिम होइन, प्राकृतिक लयलाई संगीतको आत्मा ठान्थे । मुनाल अगाडि थप्छन्, “उनका हरेक गीत सुनियो भने त्यही पाइन्छ र अरू गायकभन्दा निकै फरक भेटिन्छ ।”
 
पानी पर्यो, त्यसैको गीत बनाइदिए
काठमाडौंमा एम–थ्री (मुभिज, मःम र म्युजिक) कन्सर्ट आयोजना भएको थियो । त्यहाँ कुल पनि थिए । उनको अर्को अचम्मको बानी थियो– उनी ट्र्याकमा गीत गाउन सक्दैनथे । बायाँ हातले गितार बजाउन खप्पिस उनी अरु कसैको गीत गाउन पनि सक्दैनथे । त्यसैले त्यहाँ समस्या निम्तियो । साथीहरूको मनमा ढ्यांग्रो बज्यो । एकछिनपछि कुल एक्लै गितार बोकेर मञ्चमा उक्लिए । सिमसिम पानी परिरहेको थियो, उनैले त्यस्तै गीत गाइदिए । माहोल संगीतमा झुमिहाल्यो ।
 
“ऊ त्यस्तो प्रतिभा हो,” र्यापर गिरीश खतिवडा भन्छन्, “जस्तोसुकै सिच्वेसनलाई पनि म्युजिकमा ढाल्न सक्ने खुबी उसमा थियो । कुल नेपाली म्युजिक इन्ड्रस्टिजका अद्वितीय प्रतिभा हो । उसको असामयिक निधनले हामीले असल साथीमात्र गुमाएनौँ, देशले एउटा होनहार प्रतिभा गुमायो ।”
 
गिरीशसँग कुलको भेट अनिल स्थापितसँगै म्युजिक डटकममा भएको हो । उनी त्यतिबेला ‘हुन्न र’ को कभर डिजाइनका लागि आएका रहेछन् । उनका अधिकांश गीत म्युजिक डटकममार्फतै बाहिर आएका छन् ।
 
भर्खर बेलायतबाट आएको फ्रेस र संगीतमा केही गरौँ भन्ने भावना पाउँदा गिरीशलगायत अरु गायक÷संगीतकार प्रभावित थिए । गिरीशसँग छोटै समयमा उनको हिमचिम बढ्यो । सँगै कोठामा बस्ने, हाँसो ठट्टा गर्ने र संगीतमा डुब्ने उनीहरूको दिनचर्या हुन थाल्यो । एडरे, सुदिन पोखरेल, सुगम पोखरेल, आसिफ साह, गिरीशसम्मिलत ‘द युनिटी’ ब्यान्ड थियो । कुल पनि त्यसैको अभिन्न अंग बनिसकेका थिए । 
 
जानु छ मलाई, जान्छु नि है
जानु छ मलाई, जान्छु नि है
फर्केर फेरि आउँदिन है
यी हरफ कुलले नै लेखे, आफैं गाए । समयको खेल पनि त्यस्तै भइदियो– कसैलाई थाहै नदिई गए ।
 
सुदिन भन्छन्, “बिदामा गएका छन् कुल पोखरेल । यस्तो बिन्दास मान्छे यति चाँडै कसरी मर्न सक्छ ?”
 
यस्तै भनाइ छ गायक सुगम पोखरेलको पनि । सुगमसँग उनको भेट रेडियो सगरमाथामा भएको हो । सुगम त्यतिबेलाका चर्चित आरजे थिए । कुल ‘आमा’ भन्ने एल्बम प्रमोसनका लागि रेडियो सगरमाथा पुगेका रहेछन् । सुगम भन्छन्, “कुल जेन्युन आर्टिस्ट हो । थुप्रै रमाइला पल हामीले सँगै बिताएका छौँ । उनीसँगका पलहरू ‘द युनिटी’ले बिर्सनै सकेन । बिर्सूं भन्दा पनि मन मस्तिष्कमा अझ गाढा भएर आउँथे कुल । त्यसैले ‘द युनिटी’ले उनकै सम्झना ‘ट्रिब्युट’ निकाल्यो ।”
 
उनको अप्रत्याशित निधनबाट निकै मर्माहत बनेका आसिफका शब्दमा ‘ट्रिब्युट’ कुलप्रतिको श्रद्धाञ्जली हो ! यो गीतको संयोजन आसिफले नै गरेका हुन् । कुलले लेखेर छाडेका शब्दमा केही अन्तरा थपेर युनिटीले ‘ट्रिब्युट’ निकालेको थियो ।
 
कुलसँगका पल सम्झिँदा सुगम अहिले पनि उत्तिकै भावुक हुन्छन् । मनबाट कुलको सम्झना औंस पनि पातलिएको छैन, झन् बाक्लिएको छ । भन्छन्, “मृत्यु अवश्यम्भावी छ, एकदिन त सबैले छोडेर जाने हो तर कुल समयअघि नै गयो । हामी मर्न नै जन्मिएका हौँ, के चिन्ता गर्नु ? तर ईश्वरले गुनासो गर्नु नै पर्ने गरी कुललाई हामीसँग छुटायो ।”
 
यति भनिरहँदा सुगमका आँखा भरिए । एकछिन रोकिए र फेरि भने, “कुल नेपाली संगीतको कर्णाधारमात्रै होइन, ऊ त हाम्रो बाँच्ने आधारजस्तै भइसकेको थियो ।”
 
कुनै विशेष क्षणमात्र नभई कुलसँगका हरेक पल जीवनभर यादगार रहिरहने सुगम बताउँछन् । “ऊ उदात्त हृदयको मानिस हो । ऊसँग लुकाउनुपर्ने र पर्दापछाडि भन्नुपर्ने कुराहरू केही नै हुँदैनथे,” सुगम थप्छन्, “उसका हरेक कुरा कर्णप्रिय संगीतझैं मीठा हुन्थे, घण्टौँ सुनिरहूँ जस्तो ।”
 
सुदिनको मन मस्तिष्कले पनि कहिल्यै सोचेन, “कुल बितेर गए !” त्यसैले होला– उनले ‘ट्रिब्युट’मै भनेका छन्, “कहिलेकाहीँ त लाग्छ, तँ बिदामा गएको छस्, बिदा सकेर फर्कन्छस् र मलाई बोलाउँछस् ।”
 
आसिफको आँखामा कुल
कभर डिजाइनर अनिल स्थापितले कुल र आसिफको चिनजान गराए । त्यतिबेला न्युरोडमा अनिलको कार्यालय थियो । कार्यालयमा आउजाउ हुने क्रममै अनिलसँग आसिफले एकजना नौलो मानिस देखे । लेघ्रो तानेर बोल्ने, बोलीमा सांगीतिक भावको छनक दिने त्यो व्यक्ति गायक हो भन्ने बुझ्न समय लागेन । त्यो व्यक्ति अरु कोही नभएर कुल थिए । कुललाई भेट्नुअगावै आसिफले उनको ‘सुन् मेरी मायालु’ गीत सुनिसकेका थिए । एकदमै थोरै बाजा (गीतार र मादलमा)मा मात्रै गाइएको त्यो गीत सबैको जिब्रोमा झुन्डिएको थियो । एक किसिमले भन्नुपर्दा त्यो ‘ट्रेन्ड’भन्दा बाहिरकै भएकाले आसिफलाई लाग्थ्यो, “केटाले केही नयाँ गरेकै हो ।”
 
आसिफले पनि पहिलो भेटमै सोधे, “तिम्रो नाम कुल पोखरेलचाहिँ कसरी रहन गयो ?” 
 
कुलले हाँस्दै जवाफ फर्काए, “सबैले मलाई यही प्रश्न गर्छन् । मेरो वास्तविक नाम अभिमन्यु हो । अभिमन्यु रे ! त्यसमाथि प्रसाद पनि झुन्ड्याएर पोखरेल भन्दा लामो भयो, अनि कुल राखेँ ।”
 
त्यसले आसिफलाई अझै नजिक बनायो । कुल खुला किताब थिए । आफ्ना कुरा खुलस्त भन्ने र बनिबनाउ कुरा नगर्ने शैली आसिफलाई पनि मन नपर्ने कुरै भएन ।
 
पहिलो भेटबाटै आसिफ र कुलबीच घनिष्टता बढ्यो । आसिफ त्यतिबेला नेपाल वान टिभीमा सांगीतिक कार्यक्रम चलाउँथे । थुप्रै कलाकारसँग उनको उठबस हुन्थ्यो । तर, कुलसँग उनको विशेष सम्बन्ध गाँसियो । आसिफले कलाकारको एकदिन कसरी बित्छ ? भनेर पनि सुटिङ गर्थे र टेलिभिजनबाट प्रसारण गर्थे । उनले कुलको पनि ‘एकदिन’ क्यामरामा कैद गरे । त्यसपछि उनीहरूको आत्मीयता अझै झाँगियो ।
 
आसिफलाई उनी मन पर्नुको अर्को कारण थियो– कुलका गीतमा कुनै ‘कमर्सियल एलिमेन्ट्स’ भेटिँदैनथे । ‘गीतमा यस्तो थपियो भने गीत अझै धेरै युवाले मन पराउँछन्, मैले कन्सर्टहरू पाउँछु र व्यावसायिक दौडमा अघि बढ्छु’ भन्ने नै थिएन ।
 
आसिफ भन्छन्, “एउटा चित्रकारले चित्र कोरेर मनको भँडास पोखेझैँ ऊ आफ्ना लागि गीत गाउँथ्यो र भावमा डुबेर मेलोडी निकाल्थ्यो । जहाँ स्वच्छन्द भावले कला सिर्जना/साधना गरिन्छ, त्यो निकै स्वादिष्ट हुँदोरहेछ ।”
 
आसिफ त्यतिबेला आफैँ एक–दुइटा गीतमा संगीत गरिरहेका थिए । आसिफको गीत कुललाई पनि मन पथ्र्यो र उनी गितारको धुनसँगै गुनगुनाउँथे र अरुलाई पनि सुनाउँथे, “यो आसिफको गीत हो, सुन त कति राम्रो छ !”
 
आसिफले नै उनलाई गिरीशसँग भेटाइदिए । गिरीशसँगको भेटपछि कुल झनै उत्साहित भए । “त्यसपछि उसले आफूलाई ‘अ पार्ट अफ युनिटी’ भन्दै हिँड्थ्यो, हामीलाई खुसी लाग्थ्यो,” आसिफले सम्झिए, “उसका हरेक कुरा दार्शनिक लाग्थे ।”
 
कुल प्रायः बायाँ हातले गितार बजाउँथे । उसले त्यसरी गितार बजाएको देख्दा अप्ठ्यारो मान्दै आसिफ सोध्थे, “तिमी किन बायाँ हातले गितार बजाउँछौ कुल ?”
 
उनी हाँस्दै जवाफ फर्काउँथे, “होस्टेलमा गितार बजाउँदा केटाहरूले मागेर हैरान गर्थे, दिक्क लगाएपछि मैले स्ट्रिङ नै चेन्ज गरेर बायाँ हातले बजाउन थालेँ ।”
 
र, अस्ताए कुल
आसिफ उठेका पनि थिएनन्, ०६१ असोज १८ गते सुदिन पोखरेलले फोन गरेर सुनाए, “ओए, थाहा पाइस् ? कुल गयो । डेथ बडी पाटन हस्पिटलमा लगेको छ रे !”
 
उनी छाँगाबाट खसेजस्तै भए । त्यो खबर आउनु केही दिनअघिदेखि नै कुल बेखबर थिए । उनी बुटवल थिए कि काठमाडौँमै बस्थे, आसिफलाई थाहा थिएन । जसलाई सोधे पनि थाहा छैन भन्थे । मनमनै सोचे, “यो खबर साँचो नभइदिए हुन्थ्यो !”
 
उनी हतार–हतार पाटन अस्पताल पुगे । आसिफसँगै सुदिन, सुगम र अरु एक–दुई आफन्त अस्पतालमा थिए । त्यहाँ पूरै सन्नाटा छायो । आसिफले भित्र गएर हेर्ने आँटसमेत गरेनन् । 
सुदिन सरासर भित्र पसेर कुललाई हेरे, उनका आँखा मान्न तयार भएनन् । मनले भन्यो, “उठ् कुल, छक्याइदे सारालाई, तँ हामीलाई छाडेर जान सक्दैनस् । ओई ! सुनिनस् तैँले ? छिटो उठ्, यहाँ छ तेरो गितार र अझै गाउनु छ तैँले तेरा मनका गीतहरू !”
 
सुदिनले आसिफसँग पनि भने, “ह्या यार ! आँखा हेरिरहेको छ एकछिनपछि उठ्छ होला !”
 
उनको अन्त्येष्टि परिवारले चितवनमा गर्यो ।
 
मृत्युको कारण
कुलको मृत्युलाई लिएर अनेक टीकाटिप्पणी चले । उनी सुरुदेखि नै लागूपदार्थ दुव्र्यसनको सिकार भएको खबर बाहिर आइरहन्थे । तर, आसिफ भन्छन्, “हामीसँग सम्पर्कबिच्छेद भएपछि ऊ त्यतातिर लागेको हुनुपर्छ । हामीसँग छँदा ऊ दुव्र्यसनी भएको कहिल्यै थाहा पाएनौँ ।”
 
कुलसँग लामो समय सँगै रहेका निर्भय भन्छन्, “मृत्युको केही अघिदेखि कुल निकै तनावमा थिए । संगीतमा भनेजस्तो गर्न नपाएकाले हो कि के हो, उनमा एक किसिमको निराशा छाएको थियो ।”
 
निर्भयको घर स्वयम्भूमा थियो । उनकै सहयोगमा कुलले सोल्टीमोडमा आफ्नै स्टुडियो खोलेका थिए । त्यहाँको स्टुडियो राम्रो नचलेपछि निभर्यकै सहयोगमा त्यो स्टुडियो अनामनगर सारे ।
 
अनामनगरको स्टुडियो चल्ने तरखरमै थियो । प्रीति कौर, अविनास घिसिङलगायत केही गायक/गायिकाको एल्बममा पनि काम हुँदै थियो । 
 
कुलको निराशामा पनि कमी आएको थिएन । 
 
अघिल्लो दिन उनी निर्भयको घरमा सुतेका थिए । भोलिपल्ट बिहानै उनी कुपण्डोलस्थित फुपूका छोरा अरविनको घर जान्छु भन्दै हिँडे । निर्भय सम्झन्छन्, “त्यही रात ओभरडोज लिएछन् र भोलिपल्ट उनको निधन भयो । उनले पछिल्लो समय ‘ड्रग्स’ लिन निकै कम गरिसकेका थिए । हुने हार दैव नटार भनेजस्तो भयो ।”
 
आसिफले सुनेसम्म उनी एक युवतीसँग प्रेम सम्बन्धमा पनि थिए । उसले बीचमै ‘रिलेसन कटअफ’ गरेपछि कुल विरिक्तएर दुव्र्यसनीको बाटो समातेका हुन सक्छन् । यो आसिफको अनुमान हो ।
 
उनको मृत्यु आत्महत्या नभएको र ‘ओभरडोज’कै कारण भएकोमा आसिफ ढुक्क छन् । भन्छन्, “आत्महत्या गरेको भए सुसाइड नोट भेटिन्थ्यो या केही पूर्वछनक दिन्थ्यो ।”
 
कुल कुलतमा लागेको जेम्स पनि स्वीकार्छन् । भन्छन्, “मेरो घरमा बस्दा छिमेकीहरू उसको आनीबानी ठीक छैन भन्थे । लागूपदार्थ सेवन गर्छ, राति होहल्ला गर्छ भनेर छिमेकीहरू गुनासो गर्थे ।”
 
त्यो सुनेपछि जेम्सले कुललाई नसम्झाएका पनि होइनन् । पटक–पटक सम्झाइबुझाइ गरे, “तिमी करिअर बनाउँदै गरेको मान्छे, त्यस्तो कुलतमा फस्नु हुनन । यो बाटो छाडेनौ भने तिमीलाई यसले खान्छ ।”
 
कुलले दुव्र्यसन त्यागेनन्, बरु जेम्सको घर छाडेर उनी बानेश्वरतिर बस्न थाले । जेम्सको घर छाडेको एक महिना पनि नबित्दै उनी संसारबाटै बिदा भए ।
 
र्यापर गिरीश भन्छन्, “ऊ बीचमा एकपटक मोटरसाइकल दुर्घटनामा परेको थियो । उसको अनुहार नै बिग्रिएको थियो । ऊसँगैको साथीको त होश नै हरायो र धेरै पछि अलिअलि फर्कियो । दुर्घटनापछि ऊ विक्षिप्तजस्तै भयो । आज कुलले यसो गर्यो, पशुपतिमा यस्तो अवस्थामा फेला पार्यौँ भनेर उसका साथीहरू सुनाइरहन्थे ।”
 
उनको निधन भएको खबर पाउँदा गिरीश अमेरिकामा थिए । सुदिनले नै उनलाई त्यो खबर सुनाएका हुन् ।
 
उनी भन्छन्, “म काठमाडौँमा हुँदा ऊ डराउँथ्यो, ड्रग्स लिन्छ भन्ने त सुनेको थिएँ तर आँखाले देखिनँ । मेरो डरले ऊ हाम्रो अगाडि त्यसरी प्रस्तुत हुँदैनथ्यो ।”
गिरीशलाई कुल बेलाबखत घरपरिवारसँग राम्रो सम्बन्ध नभएको बताउँथे । 
 
“परिवारको इच्छा लत्याएपछि उसले आफ्ना कुरा परिवारलाई खुलस्त राख्न सक्नुपथ्र्यो । कि परिवारका कुरामा कन्भिन्स हुनुपथ्र्यो कि आफूले कन्भिन्स गराउन सक्नुपथ्र्यो,” गिरीश भन्छन्, “ती दुवै गर्न नसकेकाले होला, उसमा केही निराशा छाएको प्रष्ट देखिन्थ्यो । कहिलेकाहीँ ‘यार मेरो बाले गितार नै लुकाइदिनुभयो, अब म त गाउन छाडिदिन्छु, घरपरिवारले मेरो कुरै सुन्दैन’ भन्दै आउँथ्यो । हामी पनि योङ भएकैले होला, उसका कुरामा खासै ध्यान दिँदैनथ्यौँ ।”
 
कुलको मृत्युसँगै नेपाली सांगीतिक आकाशको एक महत्वपूर्ण तारा अस्ताएको गिरीशको ठम्याइ छ । भन्छन्, “द युनिटीले धावक गुमायो । तर, देशले एक संगीत साधक गुमायो ।”
 
स्व. पोखरेलको तस्बिर बाह्रखरीका लागि राजाराम केसी  ले तयार पारिदिएका हुन् । 
 

*सम्पादन गरिएको

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १, २०७३  ०६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC